Saturday 29 November 2014

175 No. 144 श्लोक ३ हे महाबाहो ! कसैसँग द्वेष पनि नगर्ने र न कसैसँग आशा

No. 144 

श्लोक ३ 

हे महाबाहो ! कसैसँग द्वेष पनि नगर्ने र न कसैसँग आशा पनि नगर्ने कर्मयोगी सँधै संन्यासी भन्ने बुझ्नु पर्छ; किनकि द्वन्द्वदेखि रहित मनुष्य सुखपूर्वक संसार-बन्धनवाट पार गर्छ । 

'महावाहो' भन्ने सम्बोधनको दुई अर्थ हुन्छ -- (१) लामा हातहरु भएका वलवान् र शूरवीर मनुष्य र (२) जसको मित्र तथा दाजुभाई ठूला अथवा प्रभावशाली व्यक्तित्व हुन्छन् । अर्जुनका मित्र सम्पूर्ण प्राणीहरुको सुहृद भगवान श्रीकृष्ण र दाजु धर्मराज युधिष्ठिर । यसैले यस्तो  सम्बोधन गरेर भगवान अर्जुनलाई भनिरहनुभएको छ, 'कर्मयोग अनुसार सबैको सेवा गर्ने वल तिमीमा छ । त्यसैले तिमी सुगमताले कर्मयोगको पालन गर्न सक्छौ ।'

कुनै पनि प्राणी, पदार्थ, परिस्थिति, सिद्धान्तसँग द्वेष नगर्ने व्यक्ति कर्मयोगी हो । कर्मयोगीको काम सबैको सेवा गर्ने, सबैलाई सुख पुर्याउने हो । यदि उसलाई कसैसँग अलिकति मात्र पनि द्वेष भए ऊ द्वारा कर्मयोगको आचरण राम्रोसँग हुन सक्तैन । त्यसैले, कर्मयोगीले कुनै द्वेष भएको व्यक्तिमा सबभन्दा पहिले कर्मयोगको आचरण गर्नुपर्छ ।कसैलाई पनि खराव ठान्ने र कसैलाई पनि अहित चाहने व्यक्ति कर्मयोगको तत्व बुझ्नै सक्तैन ।

सम्पूर्ण प्राणीहरुको हितको उद्देश्यले कर्मयोगीलाई खरावी त्याग्न जति आवश्यक छ, भलाइ गर्न त्यति आवश्यक छैन । भलाइ गर्दा केवल समाजको हित हुन्छ, परन्तु खरावीरहित भए विश्वमात्रको हित हुन्छ । कारण, भलाइ गर्न सीमित क्रियाहरु र पदार्थहरुको मुख्यता रहन्छ, परन्तु खरावीरहित हुन भित्रको असीम भावको प्रधानता रहन्छ । भित्रवाट खराव भाव नहटे र बाहिरवाट भलाइ गरे अभिमान पैदा हुन्छ । यो अभिमान आसुरी सम्पत्तिको मूल हो ।भित्र केही न केही खरावी नभई भलाइ गर्ने अभिमान हुँदैन । अपूर्णतामा (कमी) नै अभिमान पैदा हुन्छ । परन्तु पूर्णता मा अभिमानको प्रश्न नै रहँदैन ।                    

अझ विचार गर्ने हो भने नाशवान् वस्तुहरुको सहायता नलिई भलाइ गर्न सकिंदैन । हामीवाट भलाइ हुने वस्तुहरु हाम्रा हुँदै होइनन् । ती वस्तुहरु हामीवाट भलाइ गरिने व्यक्ति अथवा प्राणीका नै हुन् । तैपनि हामीलाई भलाइ गरेको अभिमान हुन्छ भने त्यो अभिमान नाशवान् पदार्थहरुको आसक्तिले नै हो । नाशवान् वस्तुहरुको आसक्ति रहुन्जेल 'योग'को सिद्धि हुँदैन । 'मैले भलाइ गरें' भन्ने अभिमान खरावी भन्दा पनि भयङ्कर हो;किनकि यो भाव 'मपना'मा वस्छ । कर्म र फल त मेटिन्छन् तर 'मपना' वनिरहुन्जेल 'मपना'मा वसेको भलाइको अभिमान हट्दैन । अर्को कुरा, खरावीलाई त हामी खरावीरूपले जानिहाल्छौं, तर भलाइलाई खरावीरूपले जान्दैनौं । यसैले भलाइको अभिमानको त्याग गर्न ज्यादै गाहारो छ । जस्तो, हामी फलामको हत्कडीको त्याग त गर्न सक्छौं, तर सुनको हत्कडीको त्याग गर्न सक्तैनौं; किनकि त्यो हत्कडी गहनारूपले देखिन्छ । यसैले खरावीरहित भएर नै भलाइ गर्नुपर्छ ।वास्तवमा खरावीको त्याग भएपछि समस्त विश्वको भलाई आफैं हुन थाल्छ; गर्नु पर्दैन ।यसैले खरावीरहित महापुरुष यदि हिमालयको एकान्त गुफामा वसे पनि ऊ द्वारा विश्वको धेरै हित हुन्छ । 

कर्मयोगमा कामनाको त्याग नै मुख्य हो । कर्मयोगी कुनै पनि प्राणी, पदार्थ, परिस्थितिको कामना गर्दैन । कामना-त्याग र परहितमा परस्पर घनिष्ठ सम्बन्ध छ । निष्काम हुन अरुको हित गर्नु पर्छ । अरुको हित गर्दा कामनाको त्याग गर्न वल पुग्छ ।                     

कर्मयोगमा कर्ता निष्काम हुन्छ, कर्म होइन; किनकि जड भएकोले कर्म आफैं सकाम अथवा निष्काम हुन सक्तैन । कर्म कर्ताको अधीन हुन्छ, यसैले कर्महरुको अभिव्यक्ति कर्तामा नै हुन्छ । निष्काम कर्ता द्वारा निष्काम कर्म हुन्छन् । निष्काम कर्मलाई नै कर्मयोग भनिन्छ । अतः चाहे 'कर्मयोग' भनौं अथवा 'निष्काम कर्म', दुबैको अर्थ एकै हुन्छ । सकाम कर्मयोग हुँदै हुँदैन । निष्काम भएपछि कर्ता कर्मफलसँग असंग रहन्छ । कर्तामा सकामभाव आएपछि ऊ कर्मफलसँग वाँधिन्छ । कर्ताले कुनै पनि कर्म आफ़्नोलागि नगरे, सम्पूर्ण कर्म अरुको हितकोलागि गरे उसको सकामभाव नष्ट हुन्छ । यसैले कर्ताको भाव नित्य-निरन्तर निष्काम हुनु पर्छ । कर्तामा जति जति निष्कामभाव हुन्छ, त्यति त्यति नै कर्मयोगको सही आचरण हुन्छ । कर्ता पूरापूर निष्काम भएपछि कर्मयोग सिद्ध हुन्छ । 

अर्जुनले युद्ध नगर्ने र भिक्षा मागेर जीवन-निर्वाह गर्ने इच्छा प्रकट गरेका थिए । उनलाई गुरुहरुलाई नमारेर संन्यास लिनु श्रेष्ठ लाग्यो । भगवान अर्जुनको गलत धारणाको उत्तर दिंदै भन्नुहुन्छ, 'हे अर्जुन ! तिम्रो यो संन्यास त गुरुहरु मर्ने डरले गरिने वाहिरी संन्यास हो । तर कर्मयोगको संन्यास राग-द्वेषको त्यागवाट हुने नित्य संन्यास अर्थात् एवम् साँचो संन्यास हो । 

गीताका अरु अध्यायमा पनि भगवान अग्निको त्याग गर्ने अर्थात् संन्यास-आश्रम मात्रै लिने पुरुषलाई संन्यासी नभनेर भित्रैवाट संसारको आश्रयको त्याग गर्ने कर्मयोगीलाई नै संन्यासी भन्नुहुन्छ । यसरी भगवानको मनमा कर्मयोगी नै सँधै संन्यासी छ ।

कर्मयोगको अनुष्ठान नगरी सांख्ययोगको पालन गर्न कठिन छ । यसैले सांख्ययोगको साधक पहिले कर्मयोगी हुन्छ, त्यसपछि संन्यासी (सांख्ययोगी) हुन्छ । परन्तु कर्मयोगको साधकलाई सांख्ययोगको अनुष्ठान गर्नु पर्दैन । यसैले कर्मयोगी शुरुदेखि नै संन्यासी छ ।

राग-द्वेष विल्कुलै नभएको व्यक्तिलाई संन्यास आश्रममा जाने आवश्यकता छैन ।कुनै पनि व्यक्ति, वस्तु, शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि आफ्ना होइनन् र आफ़्नोलागि पनि होइनन् -- यस्तो निश्चय भएपछि राग-द्वेष मेटिएर यस्तै यथार्थ अनुभव हुन्छ । त्यसपछि व्यवहारमा संसारसँग सम्बन्ध देखिंदा पनि भित्रवाट (राग-द्वेष नरहँदा) सम्बन्ध नै हुँदैन ।यसैलाई 'नित्यसंन्यास' भनिन्छ । लौकिक अथवा पारलौकिक प्रत्येक कार्य गरेको वेला कर्मयोगीको संसारसँग पूर्णरूपले संन्यास रहन्छ, यही कारण ऊ नित्यसंन्यासी नै हो । 

साधनाको आरम्भमा साधकको अन्तःकरणमा द्वन्द्व रहन्छ ।सत्संग, स्वाध्याय, विचार आदि गरेपछि ऊ परमात्मप्राप्ति आफ्नो ध्येय त मान्छ , तर उसको आफ्नो भनिने शरीर, मन, इन्द्रियहरुको रुचि चाहिं स्वाभाविक नै भोग भोग्न तथा संग्रह गर्नमा रहन्छ । यसैले साधक कहिले परमात्मतत्व प्राप्त गर्न खोज्छ, कहिले भोग-संग्रह गर्न । उसले गर्ने मनुष्य र वातावरणको संगत अनुसार उसका भावहरुमा परिवर्तन भइरहन्छन् । यस्तो हुँदा ऊ भोगहरु शान्तिसँग भोग्न पनि सक्तैन; किनकि सत्संग आदिको संस्कार उसको अन्तःकरणमा वैराग्य (भोगहरुदेखि अरुचि) पैदा गरिरहन्छन् । यस्तो प्रकारले साधकको अन्तःकरणमा द्वन्द्व (भोग भोगूँ अथवा साधन गरूँ) चलिरहन्छ । यही द्वन्द्वमा नै अहंभाव टिकेको छ । हामीलाई 'सांसारिक भोग र संग्रहमा लाग्नु छैन; परमात्मतत्व नै प्राप्त गर्नु छ' भन्ने दृढ निश्चय भएपछि द्वन्द्व रहँदैन र अहंभाव परमात्मतत्वमा लीन हुन्छ ।

खासै भन्ने हो भने संसारको महत्व अन्तःकरणमा अंकित भएर नै द्वन्द्व रहन्छ । भोग भोगिरहँदा, अरुवाट सुख खोजिरहँदा संसारका प्राणी-पदार्थहरुको महत्व अन्तःकरणमा गढेको हुन्छ । प्राणी-पदार्थवाट सुख लिइरहेपछि त्यो महत्व वढ्दै जान्छ । अनि ती चिजहरु अझ पाउने रुचि प्रवल हुन्छ । त्यही रूचिले परमात्म प्राप्तिको उद्देश्य स्थायी र दृढ हुन दिंदैन । यसैवाट साधकमा द्वन्द्व वनिरहन्छ । 

उद्देश्यको दृढताकोलागि साधकले पक्का विचार गर्नु पर्यो, कति नै सुख, आराम, भोग मिले पनि मलाई ती भोगहरु लिनु नै छैन, परहितकोलागि ती भोगहरुको त्याग गर्नु छ । यो विचार जति दृढ हुन्छ, साधक त्यति नै निर्द्वन्द्व हुन्छ । 

कसैसँग द्वेष पनि नगर्ने र न कसैसँग केही आशा पनि नगर्ने पुरुष निर्द्वन्द्व हो ।यसको तात्पर्य, राग-द्वेषदेखि रहित हुनु । राग-द्वेष मेट्न यस्तो विचार गर्नुपर्छ, आफूले नखोज्दा पनि अनुकूलता र प्रतिकूलता आइ नै हाल्छ अर्थात् आफूले चाहँदा अनुकूलता आइहाल्छ भन्ने कुरो होइन र नचाहँदा प्रतिकूलता आउँदैन भन्ने कुरो पनि होइन । अनुकूलता-प्रतिकूलता त प्रारब्धको फलस्वरूप आइ-गइ रहन्छ भने तिनीहरु आउने अथवा जानेको चाहना किन गर्ने ? अनुकूलतामा राग र प्रतिकूलतामा द्वेष हाम्रो भूलले हुने हो । यसरी विचार गर्दा भूल मेटिएर राग-द्वेष पूरै नष्ट हुन्छ । 

अर्को कुरो, आफ्नो (स्वयं)को सत्ता स्वतन्त्र छ, कुनै पदार्थ, व्यक्ति, क्रियाको अधीन छैन; किनकि सुषुप्ति-अवस्थामा हामीले संसारलाई विर्संदा पनि संसारको सत्ता रहिरहन्छ । जाग्रत र स्वप्न-अवस्थामा पनि हामी प्राणी, पदार्थ विना रहन सक्छौं । आफ्नो (स्वतन्त्र सत्ता हुँदा हुँदै पनि) ती प्राणी, पदार्थहरुमा राग-द्वेष गरेर हामी किन उनीहरुको अधीन हुने ? यसरी विचार गर्दा पनि राग-द्वेष मेटिन्छन् । 

संसारको राग उत्पन्न र नष्ट हुन्छन् । यो राग कहिले स्थायी रहँदैन; किन्तु हामी नयाँ नयाँ प्राणी, पदार्थहरुसँग राग गरेर यसलाई अड़ाइ रहने कोशीश गर्छौं । परन्तु परमात्माको अभिलाषा उत्पन्न र नष्ट हुने होइन; किनकि परमात्माको नै अंश भएकोले जीवको परमात्मासँग अखण्ड सम्बन्ध छ । परमात्माको अभिलाषा कहिले घट्ने वढ्ने गर्दैन । खालि संसारको धेरै राग हुँदा त्यो अभिलाषा घटेको जस्तो र राग कम हुँदा त्यो अभिलाषा वढेको जस्तो देखिन्छ । यसैले 'म सँधै वांची रहूँ, म सबै कुरा जानौं, म सँधै सुखी रहुँ' भन्ने रूपमा सत्-चित्-आनन्दस्वरूप परमात्माको अभिलाषा रहन्छ, त्यो वेला द्वन्द्व रहँदैन । कर्मयोग, ज्ञानयोग र भक्तियोग -- यी तीनै योगमार्गमा निर्द्वन्द्व हुनु धेरै आवश्यक छ । द्वन्द्व रहुन्जेल मुक्ति हुँदैन । परमात्मतत्वको प्राप्तिमा राग-द्वेष दुई शत्रु छन् । निर्द्वन्द्व भएपछि दुवै मेटिन्छन् र यिनीहरु मेटिएपछि परमात्मतत्वको प्राप्ति सुखपूर्वक हुन्छ । 

हामी संसारमा अल्झिने दुई कारण हो -- राग र द्वेष । हाम्रा सबै साधन राग-द्वेष मेटाउनकैलागि हुन् । राग-द्वेष मेटिएपछि नित्यप्राप्त परमात्मतत्वको अनुभूति स्वतःसिद्ध छ । यसमा परिश्रम छँदै छैन । कारण, परमात्मतत्वको अनुभूति असत् द्वारा हुँदैन, असत् को त्यागले हुन्छ । असत् को सत्ता राग-द्वेषमा टिकेको हुन्छ । असत् संसार स्वतः नै मेटिइरहेछ, तर आफूले राग-द्वेष समात्दा संसार स्थिर देखिन्छ । अतः निरन्तर मेटिइरहेको संसारमा राग-द्वेष नरहँदा मुक्ति नभए के हुन्छ ? यसैले निर्द्वन्द्व अर्थात् राग-द्वेषदेखि रहित पुरुष संसार-बन्धनदेखि सुखपूर्वक मुक्त हुन्छ ।

वाहिरको सुख-दुःख (सुखदायी-दुःखदायी परिस्थिति ) मा सम र भित्रको सुख-दुःखदेखि रहित हुनु 'निर्द्वनद्व' अर्थात् द्वन्द्वरहित हुनु हो । 

तादात्म्यमा चेतन-अंशको मुख्यताले 'जिज्ञासा' रहन्छ र जड-अंशको मुख्यताले 'कामना' रहन्छ । मनुष्यमा भोक त अविनाशी तत्वको रहन्छ, रुचि नाशवान् को रहन्छ; किनकि अविनाशीको भोक मनुष्य नाशवान् द्वारा मेटाउन चाहन्छ । भोक र रुचिको यो द्वन्द्व मनुष्यको संसार-बन्धन दृढ गर्छ । मनुष्यले संसारमा राग-द्वेष नगरे उसको जिज्ञासा पूर्ण हुन्छ र कामना मेटिन्छ अर्थात् ऊ  निर्द्वन्द्व हुन्छ ।        

No comments:

Post a Comment