Saturday, 10 January 2015

श्लोक २४ बुद्धिहीन मनुष्य मेरो परम, अविनाशी र सर्वश्रेष्ठ भाव नजानेर अव्यक्त

No. 226 

श्लोक २४ 

बुद्धिहीन मनुष्य मेरो परम, अविनाशी र सर्वश्रेष्ठ भाव नजानेर अव्यक्त (मन-इन्द्रियहरु भन्दा श्रेष्ठ) म (सच्चिदानन्दघन परमात्मा)लाई सामान्य मनुष्य जस्तो शरीर धारण गर्ने मान्छन् । 

'अव्यक्तं व्यक्तिमापन्नं ….. ममाव्ययमनुत्तमम्' -- निर्बुद्धि, ममा श्रद्धा भक्ति नभएका व्यक्तिहरु अल्पमेधा भएको कारण अर्थात् समझको कमीको कारण मलाई साधारण मनुष्य जस्तो अव्यक्तवाट व्यक्त हुने अर्थात् जन्मने-मर्ने मान्दछन् । मेरो अविनाशी भाव अव्यय छ अर्थात् यो भाव जस्तो  ठूलो अर्को कुनै भाव नै छैन । यो अविनाशी अव्यय भाव देश, काल, वस्तु, व्यक्ति आदिमा परिपूर्ण रहँदै यी सबै भन्दा अतीत, सँधै एकरूप रहने, निर्मल र असम्वद्ध छ । यस्तो मेरो अविनाशी भाव त्यस्ता व्यक्ति जान्दैनन् र मैले अवतार लिने तत्व पनि जान्दैनन् । यसैले उनीहरु मलाई साधारण मनुष्य मानेर मेरो उपासना गर्दैनन्, देवताहरुको उपासना गर्छन् ।

'अबुद्धय:' पदको अर्थ यो होइन कि उनीहरुमा बुद्धिको अभाव छ, तर उनीहरुको बुद्धिमा विवेक रहँदा रहँदै पनि, अर्थात् संसारलाई उत्पत्ति-विनाशशील जान्दा जान्दै पनि यो कुरा उनीहरु मान्दैनन् -- यही उनीहरुमा हुने बुद्धिरहितपना हो, मूढता हो । 

अर्को भाव हो, कामनालाई कोही पनि राख्न सक्तैनन्, कामना रहन सक्तैन, किनकि कामना पहिले थिएन र कामनापूर्तिपछि पनि कामना रहँदैन । वास्तवमा कामनाको सत्ता नै छैन, तैपनि त्यसको त्याग गर्न सकिंदैन -- यही अबुद्धिपना हो । 

मेरो स्वरूप नजान्नाले ती व्यक्तिहरु अन्य देवताहरुको उपासनामा लागे र उत्पत्ति-विनाशशील पदार्थहरुको कामनामा लाग्नाले ती बुद्धिहीन मनुष्य मवाट विमुख भए । यद्यपि उनीहरु मवाट छुट्टै हुन सक्तैनन् तथा म पनि उनीहरुसँग छुट्टिन सक्तिनं, तथापि कामनाको कारण ज्ञान ढाकिएकोले उनीहरु देवतातिर खिंचिन्छन् । उनीहरुले मलाई (मेरो स्वरूप) बुझेको भए खालि मेरो मात्रै भजन गरिहाल्थे ।

(१) मेरो शरण हुने मनुष्य नै बुद्धिमान हुन्छन् । उनीहरु भगवानलाई मात्रै सर्वोपरि मान्छन् ।

(२) अल्पमेधा मनुष्य देवताहरुको शरण हुन्छन् । उनीहरु देवताहरुलाई आफू भन्दा ठूला ठान्छन् । यसो हुँदा उनीहरुमा अलि अलि नम्रता, सरलता रहन्छ । 

(३) अबुद्धि मनुष्य भगवानलाई देवता जस्तो पनि मान्दैनन्, तर साधारण मनुष्य जस्तो मान्छन् । उनीहरु आफूलाई नै सर्वोपरि, सबैभन्दा ठुलो मान्छन् ।   

'परं भावमजानन्तः' -- को अर्थ हो, म अज रहँदा रहँदै, अविनाशी हुँदा हुँदै र लोकहरुको ईश्वर हुँदा हुँदै पनि आफ्नो प्रकृतिलाई वशमा गरेर योगमाया द्वारा प्रकट हुन्छु -- यो मेरो परमभाव बुद्धिहीन मनुष्य जान्दैनन् । 

'अनुत्तमम्' -- भन्नुको तात्पर्य, पन्ध्रौँ अध्यायमा वर्णन गरिएको क्षर भन्दा अतीत र अक्षर भन्दा उत्तम अर्थात् यो भन्दा राम्रो मार्ग कुनै छैन, यस्तो मेरो अनुत्तम भाव उनीहरु जान्दैनन् ।

यो श्लोकको अर्थ अरु कोही यस्तो पनि गर्छन्, '(ये ) अव्यक्तं व्यक्तिमापन्नं मन्यन्ते (ते) अबुद्धय:' अर्थात् सँधै निराकार रहने मलाई केवल साकार मान्नेहरु निर्बुद्धि हुन्; किनकि उनीहरु मेरो अव्यक्त, निर्विकार र निराकार स्वरूप जान्दैनन् । अरु कोही यस्तो पनि अर्थ लगाउँछन्, '(ये) व्यक्तिमापन्नं माम् अव्यक्तं मन्यन्ते (ते) अबुद्धयः' अर्थात् म अवतार लिएर तिम्रो सारथि वनेको छु -- यस्तो मलाई खालि निराकार मान्छन्, तिनीहरु निर्बुद्धि हुन्; किनकि उनीहरु मेरो सर्वश्रेष्ठ अविनाशी भाव जान्दैनन् । 

माथिका दुवै अर्थहरूमा कुनै पनि अर्थ ठीक छैन । कारण, यस्तो अर्थ मान्दा केवल निराकार मान्नेहरु साकार रूपको उपासकहरुको निन्दा गर्नेछन् र केवल साकार मान्नेहरु निराकाररूपका उपासकहरुको निन्दा गर्ने छन् । यो सबै एकदेशीयपना हो । 

पृथ्वी, जल, तेज, आदि महाभूतहरु विनाशी र विकारी हुन्, ती पनि दुई किसिमका हुन्छन् -- स्थूल र सूक्ष्म । जस्तो, स्थूलरूपले पृथ्वी साकार छ र परमाणुरूपले निराकार छ; जल वरफ, थोपा, वादल र वाफरूपले साकार छ र परमाणुरूपले निराकार छ; तेज (अग्नितत्व) काठ र सलाइ रहंदा निराकार छ र प्रज्वलित हुँदा साकार छ । यही किसिमले भौतिक सृष्टिको पनि दुई रुप हुन्छन् र दुई रुप भए पनि तिनीहरु दुई हुँदैनन् । साकार हुँदा पनि निराकारले कुनै वाधा दिंदैन । फेरि परमात्मा साकार र निराकार दुवै हुन के वाधा हुन्छ ? अर्थात् कुनै वाधा छैन । उहाँ साकार पनि हुनुहुन्छ र निराकार पनि हुनुहुन्छ, सगुण पनि हुनुहुन्छ र निर्गुण पनि ।


गीता साकार-निराकार, सगुण-निर्गुण -- दुवै मान्छ । नवौं अध्यायमा भगवानले आफूलाई 'अव्यक्तमूर्ति' भन्नुभएको छ । चौथो अध्यायमा उहाँले भन्नुभएको छ, म अज हुँदा हुँदै पनि प्रकट हुन्छु, अविनाशी हुँदा हुँदै पनि अन्तर्धान हुन्छु र सबैको ईश्वर हुँदा हुँदै पनि आज्ञापालक पुत्र  र शिष्य वन्छु । अतः निराकार हुँदा हुँदै साकार हुन र साकार हुँदा हुँदै निराकार हुन भगवानमा अलिकति पनि अन्तर आउँदैन । भगवानको यस्तो स्वरूपलाई नजान्नाले व्यक्तिहरु उहाँको विषयमा धेरै थरी कल्पनाहरु गर्छन् ।

भगवान व्यक्त पनि हुनुहुन्छ र अव्यक्त पनि, लौकिक पनि हुनुहुन्छ र अलौकिक पनि -- 'वासुदेवः सर्वम्', 'सदसच्चाहमर्जुन' । परन्तु बुद्धिहीन मनुष्य भगवानलाई ती प्राणीहरु जस्तो अव्यक्तवाट व्यक्त हुने अर्थात् लौकिक (जन्मने-मर्ने) मान्छन्, जसकोलागि भगवान भन्नुहुन्छ ।'अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत । अव्यक्तनिधनान्येव तत्र का परिदेवना ।।'
'हे भारत! सबै प्राणी जन्मभन्दा पहिले अप्रकट थिए र मरेपछि अप्रकट हुनेछन्, केवल वीचमा मात्रै प्रकट देखिन्छन्; अतः यसमा शोक गर्ने कुरै के छ ?'

भगवान मनुष्य जस्तो अव्यक्तवाट व्यक्त हुनुहुन्न, तर अव्यक्त रहँदा रहँदै व्यक्त हुनुहुन्छ र व्यक्त हुँदा हुँदै अव्यक्त रहनुहुन्छ ।

'परम्' -- भगवान देवताहरुको उपासना गर्नेहरुलाई श्रद्धा पनि दिनुहुन्छ र उनीहरुको उपासनाको फल पनि दिनुहुन्छ -- यो भगवानको परम अर्थात् पक्षपातरहित भाव हो ।

'अव्ययम्' -- देवता सापेक्ष अविनाशी (अमर) हुन्, सर्वथा अविनाशी होइनन् । परन्तु भगवान निरपेक्ष अविनाशी हुनुहुन्छ । उहाँ जस्तो अविनाशी अर्को कुनै छैन र हुन पनि सक्तैन । 

'अनुत्तमम्' -- भगवान सम्पूर्ण प्राणीहरुको हित चाहनुहुन्छ -- यो भगवानको सर्वश्रेष्ठ भाव हो । यो भन्दा श्रेष्ठ अर्को कुनै भाव हुनै सक्तैन ।  

No comments:

Post a Comment