Saturday, 10 January 2015

No. 235 अझ पनि सातौँ अध्यायकै वांकी अंश यथार्थमा समग्ररूप सगुणको नै हुन्छ; किनकि सगुण शब्द अन्तर्गत निर्गुण आउन सक्छ, तर निर्गुण शब्द अन्तर्गत सगुण आउन सक्तैन ।

No. 235

अझ पनि सातौँ अध्यायकै वांकी अंश 

यथार्थमा समग्ररूप सगुणको नै हुन्छ; किनकि सगुण शब्द अन्तर्गत निर्गुण आउन सक्छ, तर निर्गुण शब्द अन्तर्गत सगुण आउन सक्तैन । कारण कि सगुणमा निर्गुणको निषेध छैन, जवकि निर्गुणमा गुणहरुको निषेध छ । अतः निर्गुणमा समग्र शब्द लाग्नै सक्तैन । यसैले यहाँ 'अध्यात्म' र 'कर्म'सँग क्रमशः 'कृत्स्न' र 'अखिल' शब्द आएका छन् । यो समग्रको वाचक हो, तर 'ब्रह्म'सँग समग्रताको वाचक कुनै शब्द कहिं पनि आएको छैन । अतः समग्रता सगुणमा नै छ, निर्गुणमा छैन ।

प्रश्न -- ब्रह्म, अध्यात्म र कर्म -- यी तीनै लौकिक कसरी हुन् ?

उत्तर -- भगवानले ब्रह्मलाई 'अक्षर' भन्नु भएको छ -- 'अक्षरं ब्रह्म परमम्' र जीवलाई पनि 'अक्षर' भन्नु भएको छ -- 'द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च' । जीव र ब्रहम -- दुवै एकै हुन् -- 'अयमात्मा ब्रह्म' । प्रकृति (शरीर)सँग सम्बन्ध हुँदा 'जीव' (अध्यात्म) नै प्रकृतिसँग सम्बन्ध नहुनाले सामान्य 'ब्रह्म' हो । अतः गीता अनुसार जीव लोकमा भए जस्तो ब्रह्म पनि लोकमा छ अर्थात् ब्रह्म लौकिक निष्ठा (कर्मयोग तथा ज्ञानयोग)ले पाइने तत्व हो ।

'अध्यात्म' अर्थात् जीवले जगतलाई धारण गरेको छ -- 'ययेदम् धार्यते जगत' । जीवको आफ्नो स्वतन्त्र सत्ता छैन । यसैले जगतको संगले जीव पनि जगत अर्थात् लौकिक हुन्छ । लोकमा भएको कारणले पनि जीव लौकिक हो -- 'मवैवांशो जीवलोके', 'द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च' ।

'कर्म' दुई प्रकारका हुन्छन् -- सकामभावले र निष्कामभावले । यी दुवै प्रकारका कर्म लोकमा हुनाले लौकिक हुन् । 

प्रश्न -- अधिभूत, अधिदैव र अधियज्ञ -- यी तीनै अलौकिक कसरी हुन् ?

उत्तर -- 'अधिभूत' अर्थात् सम्पूर्ण पान्चभौतिक जगत तत्वले भगवानको नै स्वरूप हुँदा       
अलौकिक छ -- 'अमृतं चैव मृत्युश्च सदसच्चाहमर्जुन' 'अमृत र मृत्यु तथा सत् र असत् म नै हुँ' ।भगवानले अर्जुनलाई देखाउनु भएको विराटरूप पनि दिव्य तथा अलौकिक थियो । यो दिव्य विराटरुप भगवानले आफ्नै दिव्य विराट शरीरको एक अंगमा देखाउनु भएको थियो अर्जुनलाई । अतःभगवानको नै विराटरूप भएकोले यो पान्चभौतिक जगत पनि अलौकिक नै हो । भगवानले संसारमा आफ्ना विभूतिहरुलाई पनि दिव्य र अलौकिक भन्नु भएको छ -- 'दिव्या ह्यात्मविभूतय:', 'मम दिव्यानाम् विभूतिनाम्' । तर जीवलाई अज्ञानवश आफ्नो बुद्धिले (राग-द्वेषको कारण) यो जगत लौकिक देखिन्छ । यसैले अज्ञान मेटिएपछि जडता रहँदै रहँदैन, चिन्मयता मात्रै रहन्छ । 

'अधिदैव' अर्थात् ब्रह्माजी आदि सबै देवता अलौकिक छन् । 

'अधियज्ञ' अर्थात् अन्तर्यामी भगवान सबैको हृदयमा रहँदा रहँदै पनि निर्लिप्त भएकोले अलौकिक हुनुहुन्छ ।

भगवानले 'साधिभूताधिदैवम् मां साधियज्ञम्' पदहरुमा आफूलाई अधिभूत, अधिदैव तथा अधियज्ञ सहित जान्ने कुरा गर्नु भएको छ । यसवाट सिद्ध हुन्छ, परमात्मा सहित हुनाले यी तीनै अलौकिक हुन्, अन्यथा लौकिक हुन् । भगवानसँग सम्बन्ध नहुन्जेल सबै लौकिक नै हुन्छन् ; परन्तु भगवानसँग सम्बन्ध भयो भने सबै अलौकिक हुन्छन् । यसैले आफ्नो उद्योग मुख्य हुनाले कर्मयोग तथा ज्ञानयोग 'लौकिक निष्ठा' हो र भगवानको आश्रय मुख्य भएकोले भक्तियोग 'अलौकिक निष्ठा' हो ।

वास्तवमा लौकिक भन्ने कुनै तत्व छैन । वास्तविक तत्व त अलौकिक नै हो । परन्तु साधकको दृष्टिले लौकिक र अलौकिक -- यी दुई भेद भएका हुन् । तात्पर्य हो, लौकिक-अलौकिक विभाग अज्ञानवश हुने राग-द्वेषको कारण नै हो । राग-द्वेष नभए सबै अलौकिक, चिन्मय, दिव्य नै छन् -- 'वासुदेवः सर्वम्' । कारण कि लौकिकको स्वतन्त्र सत्ता नै छैन । राग-द्वेषको कारण नै लौकिक सत्ता र महत्ता देखिन्छ ।राग-द्वेषको कारण नै जीवले भगवतस्वरूप संसारलाई पनि लौकिक वनाइदियो र आफैं पनि लौकिक भयो । 

विज्ञानसहित ज्ञानको अर्थात् भगवानको समग्ररूपको वर्णन गर्ने तात्पर्य यही हो, जड-चेतन, सत्-असत्, परा-अपरा, क्षेत्र-क्षेत्रज्ञ आदि जे सुकै पनि भगवानका नै समग्र रूप हुन् । यसैले भगवानले यहाँ समग्ररुप वर्णनको आदि र अन्तमा 'माम्' पद दिइएको छ र यो पद समग्रताको वाचक हो -- 'मामाश्रित्य' र 'मां ते विदुः' ।

भगवानले कर्महरुको गति (तत्व) गहन वताउनु भएको छ -- 'गहना कर्मणो गतिः', तर भक्त त्यो (कर्मको गति)  पनि जान्दछ ।  कर्ममा अकर्म र अकर्ममा कर्म -- भक्त दुवै जान्दछ । तात्पर्य, ऊ कर्म पनि जान्दछ र कर्मयोग पनि जान्दछ । कर्मयोगी कर्मयोग मात्रै जान्दछ र ज्ञानयोगी ज्ञानयोग मात्रै जान्दछ, तर भक्त भगवतकृपाले कर्मयोग र ज्ञानयोग -- दुवै जान्दछ । 

यही अध्यायको पहिलो श्लोकमा आएको 'योगं युञ्जन्मदाश्रयः'लाई 'मामाश्रित्य यतन्ति ये'  पदहरुले र 'मय्यासक्तमनाः'लाई यहाँ 'युक्तचेतसः' पदहरुले भनिएको छ । तात्पर्य, मेरो आश्रय लिंदा भक्तलाई कर्मयोग र ज्ञानयोगको पनि सिद्धि हुन्छ अर्थात् ती भक्तहरु दुबैको फल (लक्ष)रुप ब्रह्म पनि जान्दछन् -- 'ते ब्रह्म तदविदु:' र मेरो समग्ररुप पनि जान्दछन् -- 'मां ते विदुः। 

'प्रयाणकालेपि'मा 'अपि' पद दिइएको तात्पर्य, ती भक्तहरु मलाई पहिले पनि जान्दछन र अन्तकालमा पनि जान्दछन् अर्थात् उनीहरुको ज्ञान कहिले पनि लुप्त हुँदैन । यस्ता भक्तहरु 'युक्तचेता:' हुन्छन् अर्थात् उनीहरुको मनको स्वतन्त्र सत्ता नै रहँदैन, भगवान  मात्रै रहनुहुन्छ । भगवानसँग उनीहरुको (ती भक्तहरुको) अभिन्नता (नित्ययोग) हुँदा उनीहरु भगवानवाट न वियुक्त हुन्छन् , न भगवान उनीहरुवाट वियुक्त हुनुहुन्छ । यस्ता युक्तचेता भक्तहरु अन्तकालमा जे सुकै चिन्तन हुँदा पनि योगभ्रष्ट हुँदैनन्, भगवान नै पाउँछन् -- 'प्रयाणकालेपि च मां ते विदुर्युक्तचेतसः।' कारण ती भक्तहरुको दृष्टिमा जव भगवान सिवाय केही पनि छैन भने उनीहरुको मन भगवान छोडेर अन्त कहाँ जाला ? कसरी जाला ? उसको मनमा कुनै चिन्तन होला भने भगवानको नै होला । त्यसपछि उनीहरुको मन कसरी विचलित होला र मन विचलित नभई ऊ योगभ्रष्ट कसरी होला ? कारण, करणसापेक्ष साधनमा योगवाट मन विचलित भएपछि मनुष्य योगभ्रष्ट हुन्छ -- 'योगाच्चलितमानसः'; परन्तु सबै ठाउँमा भगवान देख्नेहरुको भगवानसँग नित्ययोग रहन्छ ।

भगवानका कोही भक्त मुक्ति चाहन्छन् -- 'जरामरणमोक्षाय' र कुनै भक्त प्रेम चाहन्छन् -- मां ते विदुर्युक्तचेतसः'। मुक्ति चाहने भक्तहरु स्वयं आफैं समग्र भगवान जान्दछन् -- 'मां ते विदुः' । भगवान आफ्नो प्रेमी भक्तहरुलाई कर्मयोग (बुद्धियोग) र ज्ञानयोग -- दुवै प्रदान गरिदिनुहुन्छ । जरा-मरणरूप बन्धन र मुक्ति -- दुवै लौकिक हुन्, तर प्रेम अलौकिक हो । साधन भक्ति पनि लौकिक हो, तैपनि उद्देश्य अलौकिक हुनाले त्यही अलौकिक साध्य-भक्ति हुन्छ ।  

No comments:

Post a Comment