Saturday, 10 January 2015

No. 220 अझ पनि पहिलो श्लोकको वांकी अंश 'वासुदेवः सर्वम्' -- यो तत्व बुझ्ने दुई तरिकाहरु छन्

No. 220 

अझ पनि पहिलो श्लोकको वांकी अंश 

'वासुदेवः सर्वम्' -- यो तत्व बुझ्ने दुई तरिकाहरु छन् -- (१) संसारको अभाव गरेर आफ्नो मनमा परमात्मालाई राख्ने अर्थात् संसार छैन र परमात्मा छ भन्ने  (२) सबै भगवान नै भगवान हुनुहुन्छ । यसमा देखिने परिवर्तन पनि भगवानकै स्वरूप हो; किनकि भगवान सिवाय अर्को कुनै स्वतन्त्र सत्ता छैन । 

माथि वर्णन गरिएका दुवै किसिम साधकहरुकोलागि हो । पदार्थलाई लिएर संसारमा आकर्षण (राग) भएका साधकले 'यो सबै होइन, खालि परमात्मा मात्रै हो' -- भन्ने प्रणाली लिनुपर्छ । पदार्थलाई लिएर अलिकति पनि आकर्षण नभएका र केवल भगवानको स्मरण, चिन्तन, जप, कीर्तन आदिमा लागिरहने साधकलाई 'संसाररूपले सबै भगवान नै हो' -- भन्ने प्रणाली ठीक हुन्छ । वास्तवमा हेर्दा यी दुवै प्रणाली एकै हुन् । यी दुईमा फरक यत्ति हो, सुनका गहना र गहनाको नाम, रुप, आकृति छुट्टा छुट्टै भए पनि सबै सुन-नै-सुन भन्ने जान्नु । संसारको अभाव गरेर परमात्मा जान्न 'विवेक'को प्रधानता छ । संसारलाई भगवदस्वरूप मान्न 'भाव'को प्रधानता हुन्छ । निर्गुणका उपासकहरुमा विवेकको प्रधानता रहन्छ र सगुणका उपासकहरुमा भावको प्रधानता हुन्छ ।                

संसारलाई अभाव गरेर परमात्मतत्व जान्नु पनि तत्वले जान्नु हो र संसारलाई भगवतस्वरूप मान्नु नै तत्वले जान्नु हो । कारण, वास्तवमा तत्व यौटै छ । फरक यति मात्रै हो, ज्ञानमार्गमा जान्ने प्रधानता रहन्छ । यसैले भगवानले ज्ञानमार्गमा मान्नुलाई पनि जान्नुको अर्थमा नै लिनुभएको छ -- 'इति मत्वा न सज्जते' र भक्तिमार्गमा जान्नुलाई पनि मान्नुको नै अर्थमा लिनुभएको छ । यहाँ बुझ्नु पर्ने कुरो,परमात्मालाई जान्नु र मान्नु -- दुवै ज्ञान हो तथा संसारलाई सत्ता दिएर संसारलाई जान्नु र मान्नु -- दुवै अज्ञान हो ।

संसारलाई तत्वले जानेपछि संसारको स्वतन्त्र सत्ताको अभाव हुन्छ र परमात्मालाई तत्वले जानेपछि परमात्माको अनुभव हुन्छ । त्यस्तै संसार भगवतस्वरूप हो -- भन्ने दृढताले मानेपछि संसारको स्वतन्त्र सत्ताको अभाव हुन्छ, त्यसपछि संसार संसाररूपले नदेखिएर भगवतस्वरूप देखिन थाल्छ । तात्पर्य, परमात्मतत्वको अनुभव भएपछि जान्नु र मान्नु -- दुवै एक हुन्छन् । 

'इति ज्ञानवान्मां प्रपद्यते' -- प्रतिक्षण वदलिने संसारको सत्ता मान्ने व्यक्ति अज्ञानी हुन्, मूढ हुन्, परन्तु कहिले पनि नवदलिने भगवततत्व तर्फ दृष्टि रहने ज्ञानवान्, असम्मूढ हुन् । 

'ज्ञानवान्' भन्नुको तात्पर्य, ज्ञानी तत्वले जान्दछ, सबै ठाउँमा, सबैमा र सबैको रूपमा वस्तुतः एउटा भगवान मात्रै हुनुहुन्छ । यस्ता ज्ञानवानलाई पन्ध्रौँ  अध्यायमा 'सर्ववित्' भनिएको छ । 

ज्ञानवान् को शरणागति अर्थार्थी, आर्त र जिज्ञासु भक्तहरुको जस्तो होइन । भगवानले ज्ञानीलाई आफ्नै आत्मा भन्नुभएको छ -- 'ज्ञानी त्वात्मैव मे मतम्' । ज्ञानी भगवानको आत्मा भए भगवान पनि ज्ञानीको आत्मा हुनुभयो । यही कारण, एउटा भगवत तत्व सिवाय अर्को सत्ता छँदै छैन । यसैले ज्ञानीको शरणागति ती तीनहरुको भन्दा विलक्षण हुन्छ । उसको अनुभवमा, एक भगवततत्व सिवाय अर्को सत्ता छँदै छैन -- यही उसको शरणागति हो ।  

भगवानको दृष्टिमा आफू सिवाय कुनै अर्को तत्व नै छैन -- 'मयि सर्वमिदं प्रोतं सूत्रे मणिगणा इव' । सूतको मालामा मणिहरुको ठाउँमा सूतको डल्लो राख्दा मालामा सूत सिवाय अरु के रह्यो ? केवल सूत मात्रै रह्यो । हो, देख्नमा डल्लो छुट्टै देखिन्छ र धागो छुट्टै देखिन्छ, परन्तु तत्वले एकै चीज सूत मात्रै छ । त्यस्तै परमात्मा संसारमा व्यापक देखिनुहुन्छ; परन्तु तत्वले परमात्मा र संसार एक नै छन् । तिनमा व्याप्य-व्यापकको भाव छैन । अतः सबै एक वासुदेव मात्रै हो -- यस्तो अनुभव हुने व्यक्ति पनि भगवतस्वरूप नै भयो । भगवतस्वरूप हुनु नै शरणागति हो ।

'स महात्मा सुदुर्लभ:' -- धेरै मनुष्यहरु त 'मलाई परमात्मा प्राप्त गर्नु छ' भन्ने तर्फ दृष्टि नै दिंदैनन् र दृष्टि दिन पनि चाहँदैनन् । यसमा दृष्टि राख्नेहरु पनि उत्कण्ठापूर्वक अनन्यभावले आफ्नो जीवन सफल गर्नतिर लाग्दैनन् ।आफ्नो कल्याण गर्नमा लाग्ने पनि मूर्खताको कारण परमात्मप्राप्तिदेखि निराश भए आफूलाई आएको राम्रो अवसर गुमाउँछन् । यसो हुँदा उनीहरु परम लाभदेखि वन्चित रहन्छन् ।

यही अध्यायको तेस्रो श्लोकमा भगवानले भन्नुभएको छ, मनुष्यमा हजारौं मध्ये पनि कुनै एउटा मात्रै मनुष्य वास्तविक सिद्धिकोलागि यत्न गर्छ । यत्न गर्ने ती सिद्धहरुमा पनि कुनै एउटा मात्रै मनुष्य 'सबै वासुदेव नै हो' भन्ने तत्वले जान्दछ । यस्तो तत्वले जान्ने महात्मा अत्यन्त  दुर्लभ छ । यसको तात्पर्य यो होइन, परमात्मा दुर्लभ हुनुहुन्छ, तर साँचो हृदयले परमात्मप्राप्तिकोलागि लाग्ने व्यक्ति दुर्लभ छ । । साँचो हृदयले परमात्माप्राप्तिकोलागि मनुष्यलाई परमात्माप्राप्ति हुन सक्छ ; किनकि उहाँको प्राप्तिकोलागि नै मनुष्य शरीर पाइएको छ ।                                    

संसारमा सबै मनुष्य धनी हुन सक्तैनन् । सांसारिक भोग-सामग्री सबैलाई समान रीतिले पाइंदैनन् । परन्तु भगवान शंकरले पाउनुभएको परमात्मतत्व सनकादि ऋषिहरुलाई प्राप्त छ, नारद, वशिष्ठ आदि देवर्शीलाई पनि प्राप्त छ । त्यही तत्व हामी सबैलाई पनि अवश्य प्राप्त प्राप्त हुन सक्छ ।  यसैले मनुष्यले यस्तो दुर्लभ अवसर छोड्नु हुँदैन ।

भगवानको एउटा यस्तो विलक्षणता छ, उहाँ भोको व्यक्तिकोलागि अन्नरूपले, तिर्खाएको व्यक्तिकोलागि जलरूपले र विषयीहरुकोलागि शब्द, स्पर्श रुप, रस र गन्धरूप वनेर आउनुहुन्छ । उहाँ नै मन, बुद्धि-इन्द्रियहरु वनेर आउनुहुन्छ । उहाँ नै संकल्प-विकल्प वनेर आउनुहुन्छ । उहाँ नै व्यक्ति वनेर आउनुहुन्छ ।  तर साथसाथै दुःखरूपले आएर मनुष्यलाई चेताउनु हुन्छ, 'यदि तिमी यी वस्तुहरुलाई भोग्य मानेर यिनको भोक्ता वन्छौ भने यसको फलस्वरूप तिमीलाई दुःख नै दुःख भोग्नु पर्नेछ ।' यसैले मनुष्यलाई लाज लाग्नु पर्छ, मैले भगवानलाई भोग सामग्री वनाएँ भने मेरो सुखकोलागि भगवानलाई सुखको सामग्री वन्नुपर्छ । भगवान कति विचित्र दयालु हुनुहुन्छ, प्राणीले जे खोज्छ, भगवान त्यस्तै वनिदिनु हुन्छ ।

देख्न, सुन्न, बुझ्नमा आएका सबै चीज मन-बुद्धि-इन्द्रियहरुको विषय होइनन्, ती सबै भगवान नै हुन् र भगवानका नै हुन् -- यस्तो भाव हुनुपर्छ हाम्रो । यसरी वास्तविकताले अनुभव गरियो भने मनुष्य विलक्षण हुन्छ, 'स महात्मा सुदुर्लभ:' हुन्छ । 

एक जना वैरागी वावाजी थिए । उनी गणेशजीको पूजन गर्ने गर्थे । उनीसँग एउटा गणेशजीको र एउटा मुसाको मूर्ति थियो । ती दुवै मूर्तिहरू तौलमा वरावर थिए । एक चोटी वावाजीले तीर्थ जाने विचार गरे र ती मूर्तिहरू वेच्न सुनारकहाँ गए । सुनारले ती दुवै मूर्तिहरुलाई तौलेर दुबैलाई वरावर दाम दिए । तर ती वावाजी रिसाए, 'तिमी के भनिरहेछौ ? गणेशजी त देवता हुनुहुन्छ र मुसा उहाँको वाहन हो । तर तिमी दुबैको मूल्य वरावर भनिरहेका छौ ।' सुनारले भन्यो, 'वावाजी ! म गणेश र मुसा किन्दिन । सुनको तौल जति हुन्छ, त्यही अनुसार मुल्य हुन्छ ।' यदि सुनारले गणेश र मुसा देख्छ भने ऊ सुन देख्दैन र यदि सुन देख्छ भने गणेश र मुसा देख्दैन । यसैले सुनार न गणेश देख्छ, न मुसा, ऊ त खालि सुन मात्रै देख्छ । त्यस्तै भगवानसँग अभिन्न भएको महात्मा संसार देख्दैन, ऊ त केवल भगवान मात्रै देख्छ ।     

एक जना सन्त वाटोमा हिंड्दा हिंड्दै (कुनै कारण ?) कुनै खेतमा गए । त्यो खेतको मालिकले उनलाई देख्यो र 'तर्वुजा चोर्ने मान्छे यही हो' भन्ने ठानेर पछाडिवाट आएर उनको ढाडमा लठ्ठीले हान्यो । एक छिनपछि आफूले भन्ठानेको चोर त वावाजी रहेछ भन्ने थाहा पाएर भन्यो -- 'मैले हजुरलाई चिनिनं र चोर भन्ठानेर लठ्ठीले हानें । यसैले महाराज ! मलाई माफ गरि दिनु होस् ।' सन्तले भने -- 'के माफ गर्नु, तिमीले त मलाई पिटेनौ,चोरलाई पो पिट्यौ ।' त्यो व्यक्तिले भन्यो, -- 'अव के गरौँ महाराज !' सन्तले भने, 'तिमीलाई जे गर्न मन लाग्छ, त्यही गर ।' त्यो व्यक्तिले आफ्नो वैलगाडामा हालेर सन्तलाई अस्पतालमा भर्ना गर्यो । त्यहाँ मलम पट्टी गरिसकेपछि कुनै व्यक्तिले उनलाई दूध पिउन दियो र भन्यो -- 'महाराज ! दूध पिउनु होस् ।' सन्तले भने -- 'तिमी वडो वाठो रहेछौ, तिमी विचित्र-विचित्र लीलाहरू गर्छौ । पहिले तिमीले मलाई लठ्ठीले हान्यौ अव दूध पिउन भन्छौ ।' त्यो दूध दिने व्यक्ति डरायो र भन्न लाग्यो -- 'बाबाजी ! मैले हजुरलाई पिटेको छैन ।' सन्तले भने -- 'यो कुरो एकदम झूठो हो । म चिन्दछु, तिमी नै थियौं । मलाई पिट्ने तिमी नै हौ । तिमी सिवाय अरु को आयो ? कहाँवाट आयो ? कसरी आयो ? पहिले लठ्ठीले पिट्ने, अहिले दूध पिलाउन आउने ?' यसरी बाबाजी त आफ्नो 'वासुदेवः सर्वम्' भाषामा वोलिरहेका थिए र व्यक्ति चाहिं बाबाजीले कहाँ फसाउने हुन् भनेर डराइरहेको थियो । यसको तात्पर्य, सन्त खालि भगवान मात्रै देख्छन् कि लठ्ठीले पिट्ने पनि उही, मलम पट्टी लगाउने र दूध पिउन दिने पनि उही ।

महात्माहरुको महिमा 

सन्त-महात्माहरुको वर्णन आउँदा भनिन्छ -- 

(१) माथिल्लो दर्जाका तत्वज्ञ जीवनमुक्त महापुरुषहरु अभिन्नभाव र अखण्डरूपले खालि आफ्नो स्वरूपमा अथवा भगवत्तत्वमा स्थित रहन्छन् । उनको जीवनले, उनको दर्शनले, उनको चिन्तनले, उनको शरीरको स्पर्श गरेको वायुले जीवहरुको कल्याण भइरहन्छ । 

(२) ती महापुरुषको महिमा नजान्ने मनुष्यको अगाडि ती महापुरुष आफ्नो भावहरुदेखि तल ओर्लन्छन् र भनिदिन्छन्, जस्तो -- सन्त-महात्माहरुले यस्तो गरे, उनीहरुले गरिएका आचरण र भनिएका वचनले शास्त्र बन्छन् आदि ।

(३) ती सन्त-महात्माहरु यसवाट पनि तल ओर्लंदा भन्छन्, महात्माहरुको आज्ञा पालन गर्नु पर्छ । 

(४) अहिले माथि वर्णन गरिएका कुराहरुको पालन नगर्ने साधकहरुलाई उनीहरु यस्तो विधान गरिदिन्छन् कि यस्तो गर्नु पर्छ, यस्तो गर्नु हुन्न । 

(५) साधकहरु यो स्तर भन्दा पनि तल गिरेपछि ती महात्माहरु 'यस्तो गर, यस्तो नगर' भनिदिन्छन् ।
[सन्तहरुको आज्ञामा भरिएका सिद्धान्त आज्ञा पालकमा उत्रिन्छ । उहाँको आज्ञापालन विना पनि उहाँको सिद्धान्त पालना गर्नेहरुको कल्याण हुन्छ । तर, तिनै महात्माले आज्ञाको रूपमा कसैलाई केही भनिदिए भने ती आज्ञामा एउटा विलक्षण शक्ति आउँछ । आज्ञा पालन गर्नेलाई विशेष परिश्रम गर्नु पर्दैन र ऊ द्वारा स्वतः-स्वाभाविक त्यस्तै आचरण हुन थाल्छ ।] 

(६) ती महात्माहरुको आज्ञा पालन गर्नेलाई कहिले कहिले श्राप र आज्ञा पालन नगर्ने, नीच दर्जाका साधकहरुलाई कहिले कहिले वरदान पनि दिनुहुन्छ ।

यो परम्परामा विचार गर्दा, (१) का महात्मा केही गर्दैनन्, निरन्तर आफ्नो स्वरूपमा नै स्थित रहन्छन् -- यो ती महापुरुषहरुको ऊँचो दर्जा भयो, (२) शास्त्रहरुले भने, सन्त-महात्माहरुले यस्तो गरे -- यसरी संकेत गर्दा ती सन्तहरुको दोस्रो दर्जा भयो, (३) सन्त-महात्माहरुको आज्ञा पालन गर्नु पर्छ भन्दा ती महात्माहरुको तेस्रो दर्जा भयो, (४) यस्तो गर्नु पर्छ र यस्तो गर्नु हुँदैन -- यस्तो विधान गर्दा ती सन्त महात्माहरुको चौथो दर्जा भयो, (५) तिमी यस्तो गर र यस्तो नगर -- यस्तो भन्दा ती महात्माहरुको कुरो पाँचौं दर्जाको भयो, (६) श्राप र वरदान दिंदा ती सन्तहरुको दर्जा छैठौं भयो । यी सबै महात्माहरु मध्ये तल तल ओर्लने महात्माहरुमा क्रमश: धेरै भन्दा धेरै दयालुता छ । श्राप र वरदान दिने, तालिम दिने सन्तहरुको ज्यादै ज्यादै त्याग छ । कारण कि उनीहरुले जीवहरुको उद्धारकोलागि नै नीचो दर्जा स्वीकार गरेका छन् । यसमा उनीहरुको लेश मात्रै पनि आफ्नो स्वार्थ छैन ।

त्यस्तै भगवान पनि आफ्नो स्वरूपमा नित्य-निरन्तर स्थित रहनुहुन्छ, यो उहाँको ऊँचो दर्जाको कुरा हो, परन्तु  त्यही भगवान अत्यधिक कृपालुताको कारण, कृपा परवश भएर जीवहरुको उद्धार गर्न अवतार लिएर आदर्श लीला गर्नुहुन्छ । उहाँको लीला देख्दा, सुन्दा मनुष्यको उद्धार हुन्छ । भगवान अझ तल ओर्लनु हुन्छ र उपदेश दिनुहुन्छ । त्यो भन्दा पनि तल ओर्लेर उहाँ आज्ञा दिनुहुन्छ । अझ तल ओर्लंदा उहाँ शासन गरेर व्यक्तिहरुलाई ठीक वाटोमा ल्याउनु हुन्छ । त्यो भन्दा पनि तल ओर्लेर उहाँ श्राप र वरदान दिनुहुन्छ अथवा उसको र संसारको हितकोलागि उसको शरीरवाट वियोग पनि गराइदिनुहुन्छ । 

सोरहौं श्लोकमा भगवानले अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी -- यी चार प्रकारका भक्तहरु द्वारा आफ्नो भजन गर्ने कुरा भएको थियो -- 'चतुर्विधा भजन्ते माम्' । तिन मध्ये ज्ञानीको स्वरूप के हो -- त्यो कुरोलाई यो श्लोकमा वताउनु हुन्छ, 'सबै वासुदेव मात्रै हो' -- यस्तो अनुभव गर्नु नै ज्ञानीको भजन हो, शरणागति हो । सक्कली शरणागति त्यही हो, जसमा शरणागतको सत्ता नै नरहोस्, शरण्य मात्रै रहोस् । 

'महात्मा' शब्दको अर्थ हो -- महान् आत्मा अर्थात् अहंभाव व्यक्तित्व, एकदेशीयतादेखि सर्वथा रहित आत्मा । अहंभाव व्यक्तित्व, एकदेशीयता भएको 'अल्पात्मा' हो ।

No comments:

Post a Comment