No.233
...
श्लोक ३०
अधिभूत
तथा अधिदैवसहित र अधियज्ञसहित मलाई जान्ने, ममा नै चित्त लागेका मनुष्य
अन्तकालमा पनि मलाई नै जान्दछन् (सम्झन्छन्) अर्थात् म नै प्राप्त गर्छन् ।
'साधिभूताधिदैवं
मां साधियज्ञम् च ये विदुः' -- पूर्वश्लोकमा निर्गुण-निराकार जान्ने वर्णन
गरेर अव सगुण-साकार जान्ने कुरो भन्नुहुन्छ भगवान यो श्लोकमा ।
यहाँ
'अधिभूत' नाम भौतिक स्थूल सृष्टिको हो । यो सृष्टिमा तमोगुणको प्रधानता छ ।
समस्त भौतिक सृष्टिको स्वतन्त्र सत्ता छैन । तिनको स्थायित्व एक क्षण पनि
छैन । तैपनि यो भौतिक सृष्टि सत्य देखिन्छ अर्थात् यसमा सत्यता, स्थिरता,
सुखरूपता, श्रेष्ठता र आकर्षण देखिन्छ । यो सत्यता आदि सबै वास्तवमा
भगवानका नै हुन्, क्षणभंगूर संसारको होइन । तात्पर्य, वरफको सत्ता जल विना
हुन सक्तैन, त्यस्तै भौतिक स्थूल सृष्टि अर्थात् अधिभूतको सत्ता भगवान विना
हुन सक्तैन । यसरी, तत्वले यो संसार भगवतस्वरूप मात्रै हो -- यस्तो जान्नु
नै अधिभूत सहित भगवान जान्नु हो ।
'अधिदैव'
नाम सृष्टिको रचना गर्ने हिरण्यगर्भ ब्रह्माजीको हो । हिरण्यगर्भमा
रजोगुणको प्रधानता छ । भगवान नै ब्रह्माजीको रूपमा प्रकट हुनुहुन्छ अर्थात्
तत्वले ब्रह्माजी भगवतस्वरूप नै हुनुहुन्छ -- भन्ने जान्नु नै अधिदैवसहित
भगवान जान्नु हो ।
'अधियज्ञ'
नाम भगवान विष्णुको हो । भगवान विष्णु अन्तर्यामीरूपले सबैमा परिपूर्ण
हुनुहुन्छ -- भन्ने जान्नु नै अधियज्ञ सहित भगवान जान्नु हो ।
अधिभूत,
अधिदैव र अधियज्ञ सहित भगवान जान्ने तात्पर्य हो, भगवान श्रीकृष्णको
शरीरको कुनै अंशमा विराटरूप छ र त्यो विराटरूपवाट अधिभूत (अनन्त
ब्रह्माण्ड), अधिदैव (ब्रह्माजी) र अधियज्ञ (विष्णु) आदि सबै छन् । यही
क्रममा अर्जुन भन्छन् -- हे देव ! म हजुरको शरीरमा सम्पूर्ण प्राणीहरुलाई,
नाभिवाट कमल निस्केका विष्णुलाई, कमलमा विराजमान ब्रह्माजीलाई र शंकर
आदिलाई देखिरहेछु ।अतः तत्वले अधिभूत, अधिदैव र अधियज्ञ भगवान श्रीकृष्ण नै
हुनुहुन्छ । श्रीकृष्ण नै समग्र भगवान हुनुहुन्छ ।
'प्रयाणकालेपि
च मां ते विदुर्युक्तचेतसः' -- संसारको भोगहरुमा र संग्रहको
प्राप्ति-अप्रप्तिमा समान रहने तथा संसारवाट सर्वथा उपरत भएर भगवानमा
लागेका पुरुष युक्तचेता हुन् । यस्ता युक्तचेता मनुष्य अन्तकालमा पनि ममा
नै अटल विश्वासले स्थित रहन्छन् । उनीहरुको स्थिति यति दृढ हुन्छ, उनीहरु
स्थूल र सूक्ष्म शरीरमा जति नै हलचल भए पनि कहिले किन्चित् र विचलित
हुँदैनन् ।
प्रकृति
र प्रकृतिको कार्य -- क्रिया, पदार्थ आदिसँग आफ्नो सम्बन्ध मान्दा सबै
विकार पैदा हुन्छन् र ती क्रिया, पदार्थ आदिको प्रकटरूपले सत्ता देखिन
थाल्छ । परन्तु प्रकृति र प्रकृतिको कार्यवाट सर्वथा सम्बन्ध-विच्छेद गरेर
भगवतस्वरूपमा स्थित भइयो भने तिनीहरुको स्वतन्त्र सत्ता भगवानमा नै लीन
हुन्छ । त्यसपछि उनीहरुको आफ्नो स्वतन्त्र सत्ता देखिंदैन ।
जस्तो
कुनै व्यक्तिको विषयमा हुने र भएका हाम्रा राम्रा या नराम्रा मान्यताहरु
हामीले नै वनाएका हुन् । तत्वले त त्यो व्यक्ति भगवानको नै स्वरूप हो
अर्थात् त्यो व्यक्तिमा तत्व सिवाय अर्को कुनै स्वतन्त्र व्यक्तित्व नै छैन
। त्यस्तै, संसारमा 'यो ठीक हो, यो वेठीक हो' भन्ने ठीक-वेठीकको मान्यता
हामीले नै गरेका हौँ । तत्वले त संसार भगवानको स्वरूप नै हो । संसारमा भएको
वर्णाश्रमको व्यवस्थामा 'यस्तो गर्नु पर्छ, यस्तो गर्नुहुँदैन' भन्ने विधि
निषेधको मर्यादालाई महापुरुषहरुले जीवहरुको कल्याणकोलागि व्यवहार गर्न
मान्यता दिएका हुन् ।
यो
भौतिक सृष्टि हुनुभन्दा पहिले पनि भगवान हुनुहुन्थ्यो र यो सृष्टि लीन
भएपछि पनि भगवान रहनु हुनेछ -- यसरी वास्तविक भगवततत्वको बोध भएपछि भौतिक
सृष्टिको सत्ता परमात्मामा नै लीन हुन्छ अर्थात् यो सृष्टिको स्वतन्त्र
सत्ता रहँदैन । यसको तात्पर्य यो होइन, संसारको स्वतन्त्र सत्ता नरहेपछि
संसारको सत्ता मेटिन्छ, त्यसको अभाव हुन्छ, तर तात्पर्य यो हो, हाम्रो
अन्तःकरणमा रहेको संसारको सत्यत्व बुद्धिको नाश हुन्छ अर्थात् हाम्रो
अन्तःकरणमा रहेको संसारको सत्ता र महत्ता रहँदैन । सुनका गहनाहरुका अनेक
तरहका आकृति र छुट्टा छुट्टै उपयोग हुँदा पनि ती सबैमा केवल सुन मात्रै छ,
त्यस्तै भगवद्भक्त द्वारा यथायोग्य सांसारिक व्यवहार हुँदा पनि ती सबैमा
यौटै भगवततत्व छ भन्ने अटल बुद्धि रहन्छ भगवदभक्तहरुको । यो तत्व बुझ्नलाई
नै योभन्दा अघिको र यो श्लोकमा समग्ररूप भगवानको वर्णन भएको छ ।
उपासनाको
दृष्टिले भगवानका प्रायः दुई रूपहरुको विशेष वर्णन आउँछ -- एक सगुण र
अर्को निर्गुण ।यिनमा पनि सगुणको दुई भेद हुन्छन् -- एक सगुण-साकार र अर्को
सगुण-निराकार । परन्तु निर्गुणका दुई भेद हुँदैनन्, निर्गुण-निराकार
मात्रै हुन्छ । निराकारको चाहिं दुई भेद हुन्छन् -- एक सगुण-निराकार र
अर्को निर्गुण-निराकार ।
उपासना
गर्नेहरु पनि दुई रूचिका हुन्छन् -- एक सगुणविषयक रूचि भएका र अर्को
निर्गुण-विषयक रूचि भएका । तर यी दुबैको उपासना भगवानको
'सगुण-निराकार'रूपले नै शुरु हुन्छ; जस्तो -- परमात्मा प्राप्तिकोलागि
लागेको साधकले पहिले 'परमात्मा छ' भन्ने परमात्माको सत्ता मान्छ र
'परमात्मा सबै भन्दा श्रेष्ठ हुनुहुन्छ, सब भन्दा दयालु हुनुहुन्छ, उहाँ
भन्दा ठूलो अर्को कोही छैन' भन्ने भाव ऊ भित्र रहन्छ । यसरी उसको उपासना
सगुण-निराकारवाट शुरु भयो । यसको कारण यो हो, बुद्धि प्रकृतिको कार्य
(सगुण) भएकोले निर्गुणलाई पक्डन सक्तैन । यसैले निर्गुण उपासकको लक्ष त
निर्गुण-निराकरको हुन्छ; तर बुद्धिले ऊ सगुण-निराकारको नै चिन्तन गर्छ ।
सगुणको
नै उपासना गर्नेहरु पहिले सगुण-साकार मानेर उपासना गर्छन् । परन्तु मनमा
साकार रूप दृढ नहुन्जेल 'प्रभु हुनुहुन्छ र उहाँ मेरो सामुन्ने हुनुहुन्छ'
भन्ने मान्यता मुख्य हुन्छ । यो मान्यतामा सगुण भगवानको अभिव्यक्ति जति
धेरै हुन्छ, त्यति नै साधकको उपासनाको स्तर ऊँचो हुन्छ । अन्तमा साधकले
सगुण-साकाररूपले भगवानको दर्शन, भाषण, स्पर्श र प्रसाद प्राप्त गरेपछि उसको
उपासनाको पूर्णता हुन्छ ।
निर्गुण
उपासना गर्ने व्यक्तिहरु परमात्मालाई सम्पूर्ण संसारमा व्यापक भन्ने
मान्दै चिन्तन गर्छन् ।जति जति उनीहरुको वृत्ति सूक्ष्म हुँदै जान्छ, त्यति
त्यति उनीहरुको उपासनाको स्तर माथिल्लो हुन्छ । अन्तमा सांसारिक आसक्ति र
गुणहरुको पूर्णतया त्याग भएपछि 'म', 'तिमी' भन्ने केही पनि रहँदैन, खालि
चिन्मय-तत्व शेष रहन्छ । त्यसपछि उसको उपासनाको पूर्णता हुन्छ ।
यसरी
दुवै किसिमका साधकहरुको आफ्नो-आफ्नो उपासनाको पूर्णता भएपछि दुबैको एकता
हुन्छ अर्थात् दुबैलाई एकै तत्वको प्राप्ति हुन्छ ।
सगुण-साकारका उपासकहरुलाई त भगवतकृपाले निर्गुण-निराकारको पनि बोध हुन्छ ।
निर्गुण-निराकारका उपासकमा यदि भक्तिको संस्कार भए र भगवानको दर्शनको
अभिलाषा छ भने उसलाई भगवानको दर्शन हुनेछ अथवा भगवानलाई त्यो व्यक्तिसँग
कुनै काम लिनु छ भने भगवान आफ्नो तर्फवाट पनि उसलाई दर्शन दिन सक्नुहुन्छ ।
जस्तो, निर्गुण-निराकारका उपासक मधुसूदनाचार्यलाई भगवानले आफ्नो तर्फवाट
दर्शन दिनुभएको थियो ।
वास्तवमा
परमात्मा सगुण-निर्गुण, साकार-निराकार सबै हुनुहुन्छ । सगुण-निर्गुण त
उहाँको विशेषण हो, नाम हो । साधक परमात्मालाई गुणहरु सहित मान्छ भने
उसकोलागि उहाँ सगुण हुनुहुन्छ र साधक यदि निर्गुण मान्छ भने उहाँ निर्गुण
हुनुहुन्छ । वास्तवमा परमात्मा सगुण र निर्गुण -- दुवै हुनुहुन्छ र ती दुवै
भन्दा माथि पनि हुनुहुन्छ । तर साधकलाई बोध भएपछि मात्रै यो वास्तविकताको
बोध हुन्छ ।
भगवानका
सौन्दर्य, माधुर्य, ऐश्वर्य, औदार्य आदि दिव्य गुणहरु सहित सर्वत्र व्यापक
परमात्मालाई 'सगुण' भनिन्छ । यो सगुणका पनि दुई भेद हुन्छन् --
(१)
सगुण-निराकार -- आकाशको गुण 'शब्द' हो, तर आकाशको कुनै आकार (आकृति) छैन,
यसैले आकार सगुण-निराकार भयो । यस्तै प्रकृति र प्रकृतिको कार्य संसारमा
परिपूर्णरूपले व्यापक नाम सगुण-निराकार हो ।
(२)
सगुण-साकार -- त्यही सगुण-निराकार परमात्मा नै आफ्नो दिव्य प्रकृतिलाई
अधिष्ठित गरेर आफ्नो योगमायाले व्यक्तिहरु अगाडि प्रकट हुनुहुन्छ; उनीहरुको
इन्द्रियहरुको विषय भइदिनुहुन्छ । त्यस्तो परमात्मालाई साकार भनिन्छ ।
सगुण त उहाँ हुँदै हुनुहुन्छ, आकृतियुक्त भएर प्रकट भएकोले उहाँ साकार
भनिनुभयो ।
साधकले
परमात्मालाइ दिव्य अलौकिक गुणहरुदेखि पनि रहित मानेपछि अर्थात् साधकको
दृष्टि खालि परमात्मा तर्फ रहेपछि परमात्माको त्यो स्वरूपलाई 'निर्गुण
निराकार' भनिन्छ ।
गुणहरुका
पनि दुई भेद हुन्छन् -- (१) परमात्माको स्वरूपभूत सौन्दर्य, माधुर्य,
ऐश्वर्य आदि दिव्य, अलौकिक अप्राकृत गुण; र (प्रकृतिको सत्व, रज र तम गुण ।
परमात्मा चाहे निराकार हुनुहोस्, चाहे सगुण साकार हुनुहोस्, उहाँ
प्रकृतिको सत्व, रज र तम -- यी तीनै गुणहरुदेखि सर्वथा अतीत हुनुहुन्छ ।
उहाँ प्रकृतिको गुणहरुलाई स्वीकार गरेर सृष्टिको उत्पत्ति, स्थिति र
प्रलयको लीला गर्नुहुन्छ, तैपनि उहाँ प्रकृतिको गुणहरुदेखि सर्वथा रहित नै
रहनुहुन्छ ।
गुणहरुले
कहिले पनि नबाँधिने, गुणहरुमा पूर्ण आधिपत्य हुने परमात्मा निर्गुण
हुनुहुन्छ । यदि परमात्मा गुणहरुले बाँधिने भए र गुणहरुको अधीन रहने भए
उहाँ कहिले पनि निर्गुण-निराकार हुन सक्नु हुने थिएन । गुणहरुदेखि सर्वथा
अतीत नै परमात्मा हुन सक्छ । यस्तो परमात्मामा नै सम्पूर्ण गुणहरु
रहन सक्छन् । यसैले परमात्मालाई सगुण-निर्गुण, साकार-निराकार आदि सबै भन्न
सकिन्छ । यस्तै परमात्माको वर्णन भइरहेछ यहाँ, यो प्रसंगमा ।
No comments:
Post a Comment