Saturday, 10 January 2015

No. 222 श्लोक २० ती ती कामनाहरुले ज्ञान हरिएका मनुष्य आफ्नो आफ्नो प्रकृति अर्थात् स्वभावले नियन्त्रित भएर

No. 222 

श्लोक २० 

ती ती कामनाहरुले ज्ञान हरिएका मनुष्य आफ्नो आफ्नो प्रकृति अर्थात् स्वभावले नियन्त्रित भएर ती ती अर्थात् देवताहरुकालागि तिनै तिनै नियमहरु धारण गर्दै अरु देवताहरुको शरण हुन्छन् । 

'कामैस्तैस्तैर्ह्रितज्ञानाः' -- ती ती अर्थात् यो लोकको र परलोकको भोगहरुको कामनाले ज्ञान ढाकिएकाहरु, आच्छादित भएकाहरुलाई यो पद आएको छ । तात्पर्य, परमात्मा प्राप्ति गर्न पाइएको विवेकयुक्त मनुष्यशरीरमा आएर परमात्मा नपाइकन उनीहरु आफ्नो कामनाहरु पूर्ति गर्नमा नै लागिरहन्छन् । संयोगजन्य सुखको इच्छालाई कामना भन्छन् । कामना दुई किसिमका हुन्छन् -- पहिलो, यहाँ चाहे जसरी भोग भोगौं, जहिले चाहे, जहाँ चाहे, जति धन खर्च गरौँ, सुख-आरामले दिन वितून् भन्ने विचारले संयोगजन्य सुखकोलागि धन-संग्रहको कामना हुन्छ । त्यस्तै, पुण्य संग्रहको कामना पनि दुई किसिमको हुन्छ -- पहिलो, यो लोकमा म पुण्यात्मा भनिऊँ, र दोस्रो, परलोकमा मलाई भोग मिलोस् । यी सबै कामनाहरुले सत्-असत्, नित्य-अनित्य, सार-असार, बन्ध-मोक्षको विवेक ढाकिएको हुन्छ । विवेक आच्छादित बुद्धिले यो बुझ्न सकिंदैन, हामी जुन पदार्थहरुको कामना गरिरहेका छौं, ती पदार्थहरु हामीसँग कहिलेसम्म रहन्छन् र हामी ती पदार्थहरुसँग कहिलेसम्म रहन्छौं । 

'प्रकृत्या नियता: स्वया' -- कामनाहरुले विवेक छोपिएकोले उनीहरु (त्यस्ता व्यक्तिहरु) आफ्नो प्रकृतिद्वारा नियन्त्रित रहन्छन् अर्थात् आफ्नो स्वभावको परवश रहन्छन् । यहाँ 'प्रकृति' शब्द व्यक्तिगत स्वभावको वाचक हो । समष्टि प्रकृतिको वाचक होइन । यो व्यक्तिगत स्वभाव सबैमा मुख्य हुन्छ । अतः व्यक्तिगत स्वभाव कोही छोड्न सक्तैन । परन्तु स्वभावमा हुने दोष त मनुष्य छोड्नै सक्छ । ऊ यी दोषहरु छोड्न सक्तैन भने मनुष्यजन्मको महिमा  नै के भयो ? मनुष्य आफ्नो स्वभावलाई निर्दोष, शुद्ध वनाउन समर्थ छ । तर मनुष्य भित्र कामना पूर्तिको उद्देश्य रहुन्जेल ऊ आफ्नो स्वभाव सुधार्न सक्तैन र त्यो वेलासम्म उसलाई आफूमा निर्वलता देखिन्छ । परन्तु कामना मेटाउने उद्देश्य भएकोले ऊ आफ्नो प्रकृति (स्वभाव) सुधार्न सक्छ अर्थात् उसमा प्रकृतिको परवशता रहँदैन ।

'तं तं नियममास्थाय' -- कामनाहरुले गर्दा आफ्नो प्रकृतिको परवश भएपछि कामनापूर्तिका अनेक उपायहरु र विधिहरु (नियमहरु) त्यो व्यक्ति खोजिरहन्छ । फलानो यज्ञ गरे मेरो कामना पूरा हुन्छ कि फलानो तप गरे ? फलानो दान दिएर कामना पूरा हुन्छ कि फलानो जप गरे ? आदि आदि उपायहरु ऊ खोजिरहन्छ । ती उपायहरुका विधिहरु अर्थात् नियमहरु छुट्टा छुट्टै हुन्छन् । जस्तो -- कामनापूर्ति गर्न फलानो विधिले यज्ञ गर्नुपर्छ र फलानो ठाउँमा गर्नुपर्छ आदि, आदि । यसरी मनुष्य आफ्नो कामनापूर्तिगर्न अनेक उपायहरु र नियमहरु धारण गर्छ । 

'प्रपद्यन्तेन्यदेवताः' -- कामनापूर्ति गर्न अनेक उपायहरु र नियमहरु धारण गरेर मनुष्य अरु देवताहरुको शरण लिन्छन्, भगवानको शरण लिंदैनन् । यहाँ 'अन्यदेवता:' भन्नुको तात्पर्य, उनीहरु ती देवताहरुलाई भगवतस्वरूप मान्दैनन्, उनीहरुको छुट्टै सत्ता मान्छन्, यसवाट उनीहरुलाइ अन्त हुने (नाशवान्) फल मिल्छ -- 'अन्तवत्तु फलम् तेषाम्'। उनीहरुले देवताहरुको छुट्टै सत्ता नमानेर उनीहरुलाई पनि भगवतस्वरूप नै माने त उनीहरुलाई अन्त हुने फल मिल्ने थिएन, अविनाशी फल मिल्ने थियो । 

यहाँ देवताहरुको शरण लिनमा दुई कारण मुख्य भए -- एउटा कामना र एउटा आफ्नो स्वभावको परवशता ।

भगवानका अर्थार्थी र आर्त भक्तहरुमा हुने कामनाहरु यो श्लोकमा वर्णित मनुष्यहरुमा पनि छन् । तर यी दुईमा फरक यति हो, अर्थार्थी भक्तहरुमा कामनाहरुको मुख्यता छैन, भगवानको मुख्यता छ । यसैले उनीहरुलाई 'हृतज्ञाना:' होइनन् । तर यहाँ वर्णित कामनाहरु हुने मनुष्य 'हृतज्ञाना:'  हुन् ।

अर्थार्थी र आर्त भक्त त खालि भगवानका नै शरण हुन्छन्, तर यी मनुष्य भगवान छोडेर अरु देवताहरुको शरण हुन्छन् । कामनाहरु, देवता, मनुष्य र नियम -- यी सबै धेरै हुने गर्छन् ।अनेक कामनाहरु हुँदा पनि उपास्यदेव एउटा परमात्मा मात्रै भए उहाँले उपासकको उद्धार गरिदिनुहुन्छ । परन्तु कामनाहरु पनि अनेक छन् र उपास्यदेव पनि अनेक छन् भने कसले उद्धार गर्ने ?

यौटा भगवान वाहेक अर्को कुनै वस्तु नै छैन -- भन्ने ज्ञान सुखको कामनाले ढाकिन्छ । यो कामना न प्रकृतिले वनाएको हो र न परमात्माले वनाएको हो, मनुष्य आफैंले वनाएको हो । यसैले यो कामना हटाउने जिम्मेवारी पनि मनुष्यमा नै छ । 'हृतज्ञाना:' भन्नुको तात्पर्य, यो ज्ञान नष्ट भएको होइन, कामनाले हरिएको छ । यो कुरालाई 'माययापहृतज्ञाना:', 'अज्ञानेनावृतं ज्ञानम्' आदि शब्दहरुले पनि भनिएका छन् ।

यही अध्यायको पन्ध्रौँ श्लोकमा आएको 'माययापहृतज्ञाना:' पदमा तमोगुणको प्रधानता र रजोगुणको गौणता छ, तर यहाँ आएको 'कामैस्तैस्तैहृतज्ञाना:' पदमा रजोगुणको प्रधानता र तमोगुणको गौणता छ । 'माययापहृतज्ञाना:'मा अर्थको इच्छा मुख्य छ र 'कामैस्तैस्तैह्रितज्ञाना:'मा भोगहरुको इच्छा मुख्य छ । दुबैमा फरक यति हो, मायाले अपहृत ज्ञान भएकाहरु देवताहरुको पूजन गर्दैनन्, तर कामनाले अपहरित ज्ञान भएकाहरु देवताहरुको पूजन गर्न सक्छन् । कारण, अर्थदेखि अरूचि हुँदैन, तर भोगहरुदेखि अरूचि हुन्छ नै । 'माययापहृतज्ञाना:'मा आसुरभावको झूठ, कपट, वेइमानी आदिको आश्रय छ तर 'कामैस्तैस्तैर्ह्रितज्ञाना:' पदमा देवताहरुको आश्रय छ । अतः 'माययापहृतज्ञाना:'मा विशेष जड़ता छ, 'कामैस्तैस्तैह्रितज्ञाना:'मा पहिलोको भन्दा चेतनताको प्रधानता छ ।

No comments:

Post a Comment