No. 225
श्लोक २३
परन्तु
ती तुच्छ बुद्धि भएका मनुष्यहरुलाई देवताहरुका आराधनाको फल अन्त हुने
(नाशवान्) नै मिल्छ । देवताहरुको पूजन गर्नेहरु देवताहरु नै पाउँछन् र मेरो
भक्त मलाई नै पाउँछन् ।
'अन्तवत्तु
फलम् तेषाम् तद्भवत्यल्पमेधसाम्' -- देवताहरुको उपासना गर्ने
अल्पबुद्धियुक्त मनुष्यहरुलाई अन्त हुने अर्थात् सीमित र नाशवान् फल पाइन्छ
। यहाँ एउटा शंका आउँछ, भगवानको विधानवाट पाइने फल त नित्य हुनुपर्ने, तर
अनित्य फल किन पाइन्छ उनीहरुलाई ? यसको उत्तर, एउटा त त्यस्ता भक्तमा
नाशवान् पदार्थहरुको कामना छ र अर्को, उनीहरु देवताहरूलाई भगवानदेखि छुट्टै
मान्छन् । यसैले उनीहरुलाई नाशवान् फल नै मिल्छ । तर उनीहरुलाई दुई
उपायहरुले अविनाशी फल मिल्न सक्छ -- एक त उनीहरुले कामना नराखेर
(निष्कामभावले) देवताहरुको उपासना गरे भने उनीहरुलाई अविनाशी फल मिल्छ
र अर्को, उनीहरुले देवताहरुलाई भगवानदेखि भिन्न नसम्झेर, अर्थात्
भगवतस्वरूप नै सम्झेर उनीहरुको (देवताहरुको) उपासना गरे भने त्यस्ता
साधकहरुमा कामना रहिहाले पनि उचित समयमा उनीहरुलाई अविनाशी फल मिल्न सक्छ
अर्थात् भगवात्प्राप्ति हुन सक्छ ।
यहाँ 'तत्' भन्नुको अर्थ, मैले विधान गरिएको फल त मिलिहाल्छ, तर कामना भएपछि त्यो फल नाशवान् हुन्छ ।
यहाँ
'अल्पमेधसाम्' भन्नुको तात्पर्य, त्यस्ता अल्पबुद्धि भएकालाई नियम त धेरै
धारण गर्नुपर्छ, तर फल मिल्छ सीमित र अन्त हुने । परन्तु मेरो आराधना
गरेदेखि यति धेरै नियमहरु पालना गर्नु पर्दैन तथा त्यति विधिहरुको आवश्यकता
पनि छैन, तर फल मिल्छ असीम र अनन्त । यसरी देवताहरुको उपासनामा नियम हुन्
धेरै, तर फल होस् थोरै र जन्म-मरणरूप बन्धन होस् । तर मेरो आराधनामा नियम
कम होस्, फल धेरै होस् र कल्याण होस् -- यस्तो हुँदा पनि ती व्यक्तिहरु
देवताहरुको उपासनामा लाग्छन् र मेरो उपासना गर्दैनन् । यसैले यिनीहरुको
बुद्धि अल्प छ, तुच्छ छ ।
'देवान्देवयजो यान्ति मद्भक्ता यान्ति मामपि' -- देवताहरुको पूजन
गर्ने
देवताहरु पाउँछन् र मलाई पूजन गर्ने म नै पाउँछन् । यहाँ 'अपि' पदले यो
सिद्ध हुन्छ , मेरो उपासना गर्नेको पनि कामना पूर्ति हुन सक्छ र मेरो मेरो
प्राप्ति त भइ नै हाल्छ अर्थात् मेरो भक्त सकाम हुन् या निष्काम, यी सबै नै
मलाई पाउँछन् । परन्तु भगवानको उपासना गर्नेको सबै कामना पूरा हुन्छन्
भन्ने नियम छैन । भगवानले उचित ठान्नु भयो भने कामना पूरा गरि पनि दिनु
हुन्छ, नगरि पनि दिनु हुन्छ अर्थात् उनीहरुको हित हुने भए पूरा गरिदिनु हुन्छ र अहित नहुने भए कति पुकारा गरे पनि, रोए पनि पूरा गरिदिनु हुन्न ।
यो
नियम हो, भगवानको भजन गरे भगवानसँग नित्य-सम्बन्धको स्मृति हुन्छ; किनकि
भगवानको सम्बन्ध सँधै रहने खालको छ । अतः भगवान प्राप्ति भएपछि फेरि
संसारमा फर्केर आउनु पर्दैन -- 'यद्गत्वा न निवर्तन्ते' । परन्तु
देवताहरुको सम्बन्ध सँधै रहने खालको होइन; किनकि त्यो कर्मजनित हो । अतः
देवतालोकको प्राप्ति भएपछि संसारमा फर्केर आउनै पर्छ । -- 'क्षीणे
पुण्ये मर्त्यलोकं विशन्ति' ।
मेरो
भजन गर्ने मलाई नै प्राप्त गर्छन् -- यही भावलाई लिएर भगवानले अर्थार्थी,
आर्त, जिज्ञासु र ज्ञानी -- यी चार किसिमका भक्तहरुलाई सुकृती र उदार
भन्नुभएको हो ।
यहाँ
'मद्भक्ता यान्ति मामपि'को तात्पर्य हो, जीव जस्तो नै आचरणको भए पनि
अर्थात् ऊ दुराचारी भन्दा दुराचारी भए पनि, आखिर हो त मेरो नै अंश । यदि
संसारको आसक्ति र आग्रह नभए उसलाई मेरो प्राप्ति हुनेछ ।
सबै
भगवतस्वरूप नै हो र भगवानको विधान पनि भगवतस्वरूप छ -- यस्तो हुँदा हुँदै
पनि भगवानदेखि भिन्न संसारको सत्ता मान्नु र आफ्नो कामना राख्नु -- यी दुवै
पतनका कारण हुन् । यिन मध्ये कामनाको सर्वथा नाश भयो भने संसार भगवतस्वरूप
देखिन लाग्नेछ र संसार भगवतस्वरूप देखिन लाग्यो भने कामना मेटिनेछ ।
त्यसपछि क्रियाहरुवाट मात्रै भगवानको सेवा हुन थाल्नेछ । यदि संसार
भगवतस्वरूप देखिनु र कामनाको नाश हुनु एकै चोटी भयो भने भन्नु नै के पर्यो र
!
देवताहरुको
उपासना गर्नेहरु वढी भन्दा वढी देवताहरुका पुनरावर्ती लोकहरुमा नै जान
सक्छन्, तर भगवानको उपासना गर्नेहरु भगवान नै प्राप्त गर्छन् । हो, यदि
साधकको देवताहरुमा भगवदबुद्धि भए र आफूमा निष्कामभाव भए उसको उद्धार हुनेछ
अर्थात् उसले पनि भगवान पाउनेछ । परन्तु देवताहरुमा भगवदबुद्धि नभए र आफूमा
निष्कामभाव पनि नभए त उद्धार हुने छैन ।
देवताहरुको
उपासनाको दोष यो हो, त्यसको फल अन्त हुने खालको र नाशवान् छ; किनकि देवता
आफैं पनि सीमित अधिकार भएका छन् । अतः भगवानलाई छोडेर अन्य देवताहरुको
उपासना गर्ने अल्प बुद्धि भएका हुन् । यदि उनीहरुको अल्प बुद्धि नभएको भए
नाशवान् फल दिने देवताहरुको उपासना किन गर्थे ? भगवानको मात्रै उपासना
गर्थे अथवा देवताहरुमा भगवदबुद्धि गर्थे । भगवानको उपासना त धेरै सुगम छ,
त्यसमा विधिको, नियमको, परिश्रमको जरुरत छैन । त्यसमा त खालि भावको मात्रै
प्रधानता छ । परन्तु देवताहरुको उपासनामा क्रिया, विधि र पदार्थको प्रधानता
छ ।
मनुष्यलाई
संसारका जति नै विद्याहरुको, कला कौशलको ज्ञान भए पनि त्यो 'अल्पमेधा'
(तुच्छ बुद्धि भएको) नै हो । त्यो ज्ञानले वास्तवमा अज्ञानलाइ दृढ गर्छ ।
परन्तु भगवान जान्नेलाई सांसारिक विद्या, कला-कौशल आदिको ज्ञान नहुँदा पनि ऊ
'सर्ववित्' (सबै जान्ने) हो ।
No comments:
Post a Comment