Saturday, 10 January 2015

No. 234 यो अध्याय सम्बन्धी विशेष कुरो भगवानले यो अध्यायमा पहिले परिवर्तनशीललाई 'अपरा' र अपरिवर्तनशीललाई 'परा' भन्नुभयो

No. 234 

यो अध्याय सम्बन्धी विशेष कुरो 

भगवानले यो अध्यायमा पहिले परिवर्तनशीललाई 'अपरा' र अपरिवर्तनशीललाई 'परा' भन्नुभयो ।त्यसपछि यी दुबैको संयोगले सम्पूर्ण प्राणीहरुको उत्पत्ति हुने कुरा वताउनु भयो र आफूलाई सम्पूर्ण संसारको प्रभव र प्रलय वताउनु भयो अर्थात् संसारको आदि र अन्तमा खालि 'म मात्रै रहन्छु' भन्नु   भयो । यही प्रसंगमा भगवानले सत्र विभूतिहरुको रूपमा कारणरूपले आफ्नो व्यापकता वताउनु भयो । फेरि भगवानले भन्नु भयो, 'तीन गुणहरुले मोहित अर्थात् निरन्तर परिवर्तनशील प्रकृतिसँग आफ्नो सम्बन्ध मानेको व्यक्ति गुण भन्दा श्रेष्ठ मलाई जान्न सक्तैन । यो गुणमयी माया तर्न ज्यादै दुष्कर छ । मेरो शरण हुनेहरु मात्रै माया तर्न सक्छन् । परन्तु मदेखि विमुख भएर निषिद्ध आचरणहरुमा लाग्ने दुष्कृती मनुष्यहरु मेरो शरण हुँदैनन् ।' 

शरण हुनेहरु पनि दुई प्रकारका छन् -- एक थरी, भगवानलाई भगवान सम्झेर अर्थात् भगवानको महत्ता सम्झेर भगवानको शरण हुन्छन् र अर्का थरी भगवानलाई साधारण मनुष्य मानेर देवताहरुलाई सबै भन्दा ठूलो मान्छन्, यसैले भगवानको आश्रय नलिएर कामनापूर्तिकोलागि देवताहरुको शरण पर्छन् ।

देवताहरुको शरण हुनमा पनि दुई हेतुहरु छन् -- कामनाहरु वढ्नु र भगवानको महत्ता नजान्नु । यस्तो शंका हुन सक्छ, के भगवान पनि मायाले ढाकिनु भएको छ त ? त्यसैले भगवान भन्नु हुन्छ, 'हैन मेरो ज्ञान ढाकिएको छैन । मलाई नजान्नमा राग-द्वेष नै मुख्य कारण हो । यो द्वन्द्वरुप मोहले रहित हुने व्यक्तिहरु दृढव्रती भएर मेरो भजन गर्छन् । मेरो आश्रय लिएर यत्न गर्नेहरु मेरो समग्ररूपलाई जान्दछन र अन्तमा मलाई नै पाउँछन् ।' 

यो अध्यायको आदिदेखि अन्तसम्म विचार गर्दा, भगवानदेखि विमुख र सम्मुख हुनु पर्ने कुराको  नै वर्णन छ । तात्पर्य हो, जडतातिर वृत्ति राख्दा मनुष्यहरु वारम्वार जन्मिरहन्छन् र मरिरहन्छन् । जडतादेखि विमुख भएर भगवानको सम्मुख भए भने उनीहरु सगुण-निराकार, निर्गुण-निराकार र सगुण-साकार भगवानलाई जानेर अन्तमा भगवान नै पाउँछन् । 

यो अध्यायको आरम्भमा भगवानले अर्जुनसँग भन्नुभएको थियो, 'म यो विज्ञान सहितको ज्ञान भन्नेछु, यो ज्ञान जानेर तिमी मेरो समग्ररूप जान्नेछौ र यो समग्ररुप जानेपछि अरु केही जान्न वांकी रहँदैन । त्यसपछिको श्लोकमा भगवानले 'वासुदेवःसर्वम्' भनेर आफ्नो समग्ररूपको संक्षेपमा वर्णन गर्नुभयो । अव अध्यायको अन्तमा भगवान त्यो कुराको खुलासा गर्नुहुन्छ । 

साधकको जन्म त भइसकेको छ र व्याधि अवश्यम्भावी छैन, तर वृद्धावस्था र मृत्यु अवश्यम्भावी छ र यिनवाट मनुष्यलाई धेरै दुःख हुन्छ । यसैले यहाँ 'जरामरणमोक्षाय' भन्नुको अर्थ हो, भगवानको आश्रय लिने भक्तहरु जरा र मरण -- दुवैवाट मुक्त हुन्छन् अर्थात् उनीहरुलाई शरीर रहँदा रहँदै वृद्धावस्थाको पनि दुःख हुँदैन र गतिको विषयमा पनि दुःख हुँदैन कि मरेपछि मेरो के गति होला ? भगवानको आश्रय लिएर प्रयत्न गर्नाले  उनीहरु परा-अपरा सहित भगवानको समग्ररुप जान्दछन् अर्थात् विज्ञानसहित ज्ञान जान्दछन् । 

कर्मयोगी र ज्ञानयोगी पनि जन्म-मरणवाट मुक्त हुन्छन्, तर भक्तहरु जरा-मरणवाट मुक्त हुनुको साथै भगवानको समग्ररुप पनि जान्दछन् । कारण, कर्मयोगी र ज्ञानयोगीको त आरम्भदेखि नै आफ्नो साधनमा निष्ठा हुन्छ, तर भक्त शुरुदेखि नै भगवन्निष्ठ अर्थात् भगवतपरायण हुन्छ । भगवन्निष्ठ भएपछि भगवान उसलाई आफ्नो समग्ररूपको ज्ञान गराइदिनुहुन्छ । 

यही अध्यायको शुरुमा नै भगवानले भन्नु भएको थियो, 'कुनै कुनै मनुष्यले मात्रै मेरो समग्ररूपको ज्ञान गर्छ -- 'कश्चिन्माम् वेत्ति तत्वतः' । यहाँ वताउनु हुन्छ, मेरो शरण पर्ने मनुष्य मलाई समग्ररूपले जान्दछ । अतः भगवानको समग्ररुप (विज्ञानसहित ज्ञान) जान्ने  मुख्य साधना हो -- शरणागति (मामाश्रित्य) । किनकि समग्रको ज्ञान विचारले हुँदैन, श्रद्धा-विश्वासपूर्वक शरणागत भएपछि भगवतकृपाले नै हुन्छ । यही कारण, भगवानले सातौँ अध्यायको आरम्भमा नै 'मदाश्रय' भनेर अन्तमा 'मामाश्रित्य' पदले प्रसंगको उपसंहार गर्नु भएको हो ।

ब्रह्म (निर्गुण-निराकार), कृत्स्न अध्यात्म (अनन्त योनिहरुको अनन्त जीव) तथा अखिल कर्म (उत्पत्ति-विनाश-प्रलय आदिका सम्पूर्ण क्रियाहरु) -- यो ज्ञानको विभाग हो । यो विभागमा निर्गुणको मुख्यता छ ।

'अधिभूत' (आफ्नो शरीरसहित सम्पूर्ण पान्चभौतिक जगत) अधिदैव' (मन-इन्द्रियहरुका अधिष्ठातृ देवतासहित ब्रह्माजी आदि सबै देवता) तथा अधियज्ञ (अन्तर्यामी विष्णु र उहाँका सबै रूप) -- यो 'विज्ञान'को विभाग  हो ।  यो विभागमा सगुणको मुख्यता छ । 

अधिभूत, अधिदैव र अधियज्ञ सहित भन्नुको तात्पर्य हो, सत्-असत्, परा-अपरा, सबै भगवान मात्रै हो । भगवान सिवाय अलिकति पनि अरु केही छैन । सत्-असत् लाई छुट्याउँदा  ज्ञानमार्ग हुन्छ -- नासतो विद्यते भावो नाभावो विद्यते सतः । उभयोरपि ……. र यौटै गर्दा भक्तिमार्ग हुन्छ -- 'सदसच्चाहमर्जुंन'। 

'ब्रह्म'को कुरो पहिले  पाँचौं अध्यायमा तेर्हौदेखि छाव्विसौं श्लोकसम्म भनिएको छ । 'कृत्स्न अध्यात्म'को कुरो पहिले नै छैठौँ अध्यायको उन्नाइसौं  श्लोकमा 'सर्वभूतास्थमात्मानम्' पदले भनिएको छ । 'अखिल' कर्मको कुरो पहिले चौथो अध्यायको अठारौँ, तेइसौं श्लोकमा क्रमश 'कृत्स्नकर्मकृत्', 'कर्म समग्रम्' र 'सर्व कर्माखिलम्' पदले भनिएको छ ।          

अभाव कर्मको हुन्छ, आत्मा या ब्रह्मको होइन । अतः मनुष्य जुन ज्ञानले कर्महरु जान्दछ (कर्म चाखिलम्) त्यही ज्ञानले कर्महरुको अभाव र अकर्म पनि जान्दछ -- 'कर्मण्यकर्म यः पश्येत्' । ब्रह्म, आत्मा र अकर्म -- यी तीनै यौटै हुन्, यसैले जान्नु नै 'ते ब्रह्म तद्विदु: कृत्स्नमध्यात्मं कर्म चाखिलम्' पदहरुको तात्पर्य हो । 

'कर्म' सीमित छ, कर्म भन्दा व्यापक 'अध्यात्म' छ, र अध्यात्म भन्दा व्यापक 'ब्रह्म' छ । परन्तु 'माम्' (समग्र) त्यो ब्रह्म भन्दा पनि श्रेष्ठ छ; किनकि ब्रह्म अन्तर्गत समग्र आउँदैन, तर समग्र अन्तर्गत ब्रह्म आउँछ । 

'अध्यात्म'सँग 'कृत्स्न' शब्द दिनुको तात्पर्य हो -- भगवानले आफ्नो परा प्रकृति भन्ने वताउनु भएको अनेक रुपहरुले देखिने सम्पूर्ण जीव । 'कर्म'सँग 'अखिल' दिनुको तात्पर्य हो --  जसको फलस्वरूप जीव अनेक योनिहरुमा र अनेक लोकहरुमा जान्छन्, त्यस्ता शुभ-अशुभ सम्पूर्ण कर्म, तर 'ब्रह्म'सँग 'कृत्स्न' या 'अखिल' शब्द नदिनुको तात्पर्य हो, ब्रह्म अनेक छैन, एक मात्रै छ । 

गीतामा भगवानले दुई निष्ठाहरु वताउनु भएको छ -- कर्मयोग र ज्ञानयोग । यी दुवै निष्ठाहरु लौकिक हुन् -- 'लोकेस्मिन् द्विविधा निष्ठा'; परन्तु भक्तियोग अलौकिक निष्ठा हो । कारण, कर्मयोगमा 'क्षर' (संसार) को प्रधानता छ र ज्ञानयोगमा 'अक्षर' (जीवात्मा) को प्रधानता छ । क्षर र अक्षर -- दुवै लोकमा छन् -- 'द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च' यसैले कर्मयोग र ज्ञानयोग -- दुवै लौकिक निष्ठाहरु हुन् । तर भक्तियोगमा 'परमात्मा'को प्रधानता छ । यो परमात्मा क्षरदेखि अतीत र अक्षरदेखि उत्तम छ । यसैले भक्तियोग अलौकिक निष्ठा हो । भगवानको समग्ररूपलाई ब्रह्म, अध्यात्म तथा कर्म -- यीमध्ये लौकिक निष्ठा (कर्मयोग तथा ज्ञानयोग) को कुरा आएको छ र अधिभूत, अधिदैव र अधियज्ञ -- यीमध्ये अलौकिक निष्ठा -- भक्तियोगको कुरा आएको छ । 'ज्ञान' लौकिक छ -- न हि ज्ञानेन सद्रिशम् पवित्रमिह विद्यते' र विज्ञान अलौकिक छ । लौकिक तथा अलौकिक -- दुवै समग्र भगवानका रुप  हुन् -- वासुदेवः सर्वम्'  ।

'लोक' शब्दमा जड पनि हो र चेतन पनि । केवल जड अथवा केवल चेतनको वाचक 'लोक' हुन सक्तैन । अतः 'लौकिक'मा जड-चेतन दुबै आउँछन्, तर अलौकिकमा चेतन मात्रै आउँछ । किनकि अलौकिक सँधै चिन्मय मात्रै हुन्छ । परन्तु 'समग्र'मा लौकिक र अलौकिक -- दुवै आउँछन् । 

यहाँ ध्यान दिनुपर्ने कुरो, निर्गुण-निराकार 'ब्रह्म'को नाम भगवानको समग्ररूप अन्तर्गत आएको छ । सर्व साधारणमा यो कुराको प्रसिद्धि छ, 'निर्गुण-निराकार' ब्रह्म अन्तर्गत सगुण ईश्वर छ । ब्रह्म मायारहित छ र ईश्वर मायासहित छ । त्यसैले ब्रह्मको एक अंशमा ईश्वर छ ।' यस्तो मान्नु शास्त्रसम्मत र युक्तिसंगत छैन;  ब्रह्ममा माया हुँदै नभएको भए मायासहित ईश्वर ब्रह्म अन्तर्गत कसरी भयो ? ब्रह्ममा माया कहाँवाट आयो ? परन्तु गीतामा भगवान भनिरहनु भएको छ. 'मेरो समग्ररूपको एक अंशमा ब्रह्म छ !' यसैले भगवानले आफूलाई ब्रह्मको आधार वताउनु भएको छ -- 'ब्रह्मणों हि प्रतिष्ठाहम्' 'म ब्रह्मको प्रतिष्ठा हुँ ।' तथा 'मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना' 'यो सबै संसार मेरो अव्यक्त स्वरूपले व्याप्त छ ।' भगवानको यो कथनको तात्पर्य हो, ब्रह्मको अंश म होइन, मेरो अंश ब्रहम हो । अतः निष्पक्ष भएर विचार गर्दा थाहा हुन्छ, गीतामा ब्रहमको मुख्यता होइन, ईश्वरको मुख्यता छ । पूर्ण तत्व समग्र हो, समग्रमा सगुण-निर्गुण, साकार-निराकार सबै आउँछन् ।           

No comments:

Post a Comment