Saturday, 10 January 2015

No 221 अझ पनि पहिलो श्लोकको नै वांकी अंश 'वासुदेवः सर्वम्' -- यसमा 'सर्वम्' असत् हो र 'वासुदेवः' सत् हो ।

No 221 

अझ पनि पहिलो श्लोकको नै वांकी अंश 

'वासुदेवः सर्वम्' -- यसमा 'सर्वम्' असत् हो र 'वासुदेवः' सत् हो । सत् को अभाव विद्यमान छैन र असत् को भाव विद्यमान छैन -- 'नासतो विद्यते भावो नाभावो विद्यते सतः' । तात्पर्य, सत् नै सत् छ, असत् छँदै छैन । वासुदेव नै वासुदेव छ, 'सर्वम्' छँदै छैन । परन्तु भन्ने, सुन्ने र पढ्ने साधकहरुको दृष्टिमा 'सर्वम्' (संसार) रहन्छ, यसैले भगवान 'सर्वम्'को धारणा मेटाउन 'वासुदेवःसर्वम्' भन्नुहुन्छ । 

शास्त्रमा वर्णन भएका कर्मयोगी, ज्ञानयोगी ध्यानयोगी, लययोगी, हठयोगी, राजयोगी, मन्त्रयोगी, अनासक्तयोगी जस्ता अनेक प्रकारका योगीहरुलाई भगवान अति दुर्लभ भन्नुहुन्न, 'सबै भगवान नै हो' -- भन्ने अनुभव गर्ने महात्मालाई नै अत्यन्त दुर्लभ भन्नुहुन्छ ।

भगवान सम्पूर्ण संसारको वीज हुनुहुन्छ -- 'यच्चापि सर्वभूतानाम् वीजं तदहमर्जुंन', 'वीजं मां सर्वभूतानाम् विद्धि पार्थ सनातनम्' । वीजले पैदा भएका समस्त चीज पनि वीजरूप  नै हुन् । जस्तो, गहुँवाट पैदा हुने खेतीलाई पनि गहुँ नै भन्छन् । किसानहरु भन्छन्, गहुँको खेती धेरै राम्रो भयो । हेर, खेतमा गहुँ खडा छ, गहुँले खेत भरिएको छ । तर, शहरमा रहने कुनै व्यापारी छ भने ऊ तिनलाई कसरी गहुँ कसरी मान्ला ? उसले भन्ला -- मैले बोरा-का-बोरा गहुँ किनिसकें र वेचिसकें, के म जान्दिन गहुँ कस्तो हुन्छ ? यी र डांठ र पात हुन्, गहुँ होइन । परन्तु खेती गर्ने व्यक्तिले भन्नेछ -- यो त पशुले खाने घास होइन, गहुँ हो । खेतीलाई कुनै गाइले खाइदियो भने भनिन्छ, तिम्रो गाइले मेरो गहुँ खायो, जवकि गाइले एक दाना गहुँ पनि खाएन । खेतमा गहुँको एक दाना नदेखिए पनि यो गहुँ हो भन्नेमा सन्देह रहँदैन । किनकि यो पहिले पनि गहुँ नै थियो, अन्तमा पनि गहुँ नै रहन्छ; अतः वीचमा खेतीरूपले छुट्टै देखिए पनि गहुँ नै हो । अहिले त हरियो घास देखिन्छ, तर पछि, पाकेपछि यसवाट गहुँ नै निस्कनेछ । यसै गरी यो संसारमा पहिले पनि परमात्मा नै हुनुहुन्थ्यो, अन्तमा पनि परमात्मा नै रहनुहुनेछ । अतः वीचमा पनि सबै परमात्मा नै हुनुहुन्छ --'वासुदेवःसर्वम्' ।

साधकमा अहम् रहुन्जेल ऊ भोगी हो । म योगी हुँ -- यो योगको भोग हो, म ज्ञानी हुँ -- यो ज्ञानको भोग हो, म प्रेमी हुँ -- यो प्रेमको भोग हो । साधकमा भोग रहुन्जेल उसको पतनको सम्भावना रहन्छ । योगको भोगी कुनै वेला विषयको भोगी पनि हुन सक्छ, ज्ञानको भोगी कुनै वेला अज्ञानको भोगी पनि हुन सक्छ र प्रेमको भोगी कुनै वेला रागको भोगी पनि हुन सक्छ । कारण, उसमा पहिलेदेखि नै भोगको प्रवृत्ति, आदत रहेको छ । भोगी नरहेपछि केवल योग रहन्छ । योग रहेपछि मनुष्य मुक्त हुन्छ । परन्तु मुक्त भएपछि पनि त्यो महापुरुषले जुन साधनले मुक्ति पाएको हो, त्यो साधनको संस्कार (अहम् को सूक्ष्म गन्ध) रहन्छ । यो गन्धले अरु दार्शनिकहरुसँग एकता हुन दिंदैन । यही संस्कारको कारण नै दार्शनिकहरुमा र उनका दर्शनहरुमा मतभेद रहन्छ । आफ्नो मतको संस्कार अरु दार्शनिकहरुको मतहरुलाई समान आदर गर्न दिंदैन । परन्तु प्रतिक्षण वर्धमान (वढ्ने) प्रेमको प्राप्ति भएपछि आफ्नो मतको संस्कार पनि रहँदैन र अरु सबैसँग एकता हुन्छ अर्थात् सम्पूर्ण मतभेद मेटिन्छन् र 'वासुदेवः सर्वम्'को अनुभव हुन्छ । वास्तवमा 'वासुदेवःसर्वम्'को अनुभव गर्ने, यसलाई जान्ने, भन्ने पनि नरहेपछि एउटा वासुदेव मात्रै रहन्छ । यही वासुदेव अनादिकालदेखि जस्ता-को-तस्तो छ । सबैमा परमात्मा देखेपछि सम्पूर्ण मतहरुमा समान आदरभाव हुन्छ; किनकि आफ्नो इष्ट परमात्मासँग विरोध सम्भव नै छैन ।                                                         
                . 
ईश्वर र जीवको विषयमा दुई किसिमको वर्णन छ -- (१) ईश्वर समुद्र हो र जीव उसको (समुद्रको) तरंग हो अर्थात् तरंग समुद्रको हो र (२) जीव (स्वरूप) समुद्र हो र ईश्वर उसको तरंग हो अर्थात् समुद्र तरंगको हो । यी दुई मध्ये तरंग समुद्रको हो -- भन्ने मान्नु ठीक देखिन्छ । समुद्र तरंगको हो -- यसो भन्नु ठीक देखिंदैन; किनभने समुद्र अपेक्षाकृत नित्य छ र तरंग अनित्य (क्षणभंगूर) छ । अतः तरंग समुद्रको हुन्छ, समुद्र तरंगको होइन । यदि आफूलाई समुद्र र ईश्वरलाई तरंग मान्छौं भने यो मान्यताले अनर्थ हुन्छ; किनकि यस्तो मान्दा अभिमान पैदा हुन्छ तथा अहम् (चिज्जडग्रन्थि) नित्य रहिदिन्छ र ईश्वर अनित्य भइदिन्छ । कारण, जीवमा अनादिकालदेखि नै अहम् (व्यक्तित्व)को अभ्यास परेको छ । हामीले स्वरूपलाई अहम् भन्ने वित्तिकै अहम् त्यहीं आइहाल्छ । यो अहम् अनादिकालदेखि छ र त्यो अहम् मेटिएपछि मुक्ति हुन्छ । ती दुवै कुराहरु वाहेक तेस्रो विलक्षण कुरो छ, जल-तत्वमा न समुद्र छ, न तरंग छ अर्थात् त्यहाँ समुद्र र तरंगको भेद छैन । यही वास्तविक कुरो हो । समुद्र र तरंग त सापेक्ष हुन्, तर जल-तत्व निरपेक्ष हो । 

जल-तत्वमा समुद्र, नदी, वर्षा, ओस, कुहिरो, वाफ, वादल सबै मेटिएर यौटै भए जस्तै 'वासुदेवः सर्वम्' मा सबै साधन, योगमार्ग मेटिएर एक (वासुदेवरुप) हुन्छन् । जल-तत्वमा कुनै भेद नभए जस्तै 'वासुदेवःसर्वम्'मा पनि भेद छैन मतभेदले असन्तोष हुन्छ, तर 'वासुदेवःसर्वम्'मा कुनै मतभेद नभएकोले यसमा सर्वथा सन्तोष हुन्छ । वासुदेवःसर्वम् मा न योगी छ, न ज्ञानी छ, न प्रेमी छ, यसैले यसको अनुभव गर्ने महात्मा अत्यन्त  दुर्लभ छ ।  

यौटै जल वरफ, कुहिरो, वादल, असिना, वर्षा, नदी, तलाउ, समुद्र आदि अनेक रूपमा हुन्छ । कराहीमा वरफ हालेर त्यसलाई आगोमा राखियो भने वरफ पग्लिएर पानी हुन्छ । त्यसपछि पानी पनि वाफ हुन्छ र वाफ परमाणु भएर निराकार हुनेछ । जल नै कुहिरोरूप हुन्छ, त्यही वादलरूप हुन्छ, त्यही निराकाररूप हुन्छ, त्यही वरफरुप हुन्छ, त्यही वर्षारूप भएर पृथ्वीमा खस्छ, त्यही नदीरूप हुन्छ, त्यही समुद्ररूप हुन्छ ।  अनेक रूपले हुँदा पनि तत्वले जल एउटा नै रहन्छ । यस्तै प्रकारले एउटा नै भगवान अनेक रूप वन्नु हुन्छ । जल ठण्डीले जमेर वरफ वने जस्तै र गर्मीले पग्लेर तथा वाफ वनेर परमाणुरुप वने जस्तै अज्ञानरूपी ठण्डीले भगवान स्थूल तथा जड संसाररूपले देखिनुहुन्छ र ज्ञानरूपी अग्निले सूक्ष्म तथा चेतन वासुदेवरूपले देखिनुहुन्छ । जल चाहे वरफ रूपले देखियोस्, चाहे वाफ, वादल आदि रुपहरुले देखियोस्, त्यो जल नै हो जल सिवाय केही छैन । त्यस्तै भगवान चाहे संसाररूपले देखिनुहोस्, चाहे अन्यरूपले देखिनुहोस्, हुनुहुन्छ त उहाँ भगवान नै । भगवान सिवाय केही छैन । 

साधकवाट यस्तो गल्ति हुन्छ, ऊ आफूलाई छुट्टै राखेर संसारलाई भगवतस्वरूप देख्ने चेष्टा गर्छ अर्थात् 'वासुदेवःसर्वम्'लाई आफ्नो बुद्धिको विषय वनाउँछ । वास्तवमा देखिने संसार हो, भगवतस्वरूप होइन, तर देख्ने पनि भगवतस्वरूप नै हो । अतः साधकले यस्तो मान्नु पर्छ, आफ्नो देह सहित सबै भगवान नै हो अर्थात् शरीर पनि भगवतस्वरूप हो, इन्द्रियहरु पनि भगवतस्वरूप हुन्, मन पनि भगवतस्वरूप हो, बुद्धि पनि भगवतस्वरूप हो, प्राण पनि भगवतस्वरूप हो र अहम् (मपना) पनि भगवतस्वरूप हो । सबै भगवान नै हो -- यसलाई मान्न साधकलाई बुद्धिले जोर लगाउनु हुँदैन, सहजरूपले जस्तो छ, त्यस्तै स्वीकार गर्नु छ ।

'सबै भगवान नै हो' भन्ने निश्चय भएपछि साधक यो अध्यात्मविद्या (ब्रह्मविद्या) द्वारा सबै प्रकारले संशयरहित भएर सबै ठाउँमा भगवानलाई भलीभाँती देख्दै उपराम हुनु अर्थात् 'सबै भगवान नै हो' -- यो चिन्तन पनि नरहोस्, प्रत्युत साक्षात् भगवान नै देखिन लागोस् । 

तात्पर्य, 'सबै भगवान नै हो' -- यस्तो भावले पनि उपराम हुनु अर्थात् न द्रष्टा (देख्ने) रहोस्, न दृश्य (देखिने) रहोस् र न दर्शन (देख्ने वृत्ति) नै रहोस्, खालि भगवान मात्रै रहोस्  । 

'वासुदेवः सर्वम्'को अनुभव अनेक दृष्टिहरुले हुन सक्छ, जस्तो 

(१) क्रिया, पदार्थ र व्यक्तिको त आदि र अन्त हुन्छ, तर सत्ता निरन्तर जस्ता-को-तस्तो रहन्छ । यसैले सम्पूर्ण मनुष्यलाई क्रिया, पदार्थ र व्यक्तिको अभावको त अनुभव हुन्छ, तर आफ्नो सत्ताको अभावको अनुभव कहिले कसैलाई हुँदैन । यो नित्य-निरन्तर रहने सत्ताको अनुभव हुनु विवेकको दृष्टिले 'वासुदेवःसर्वम्' हो । 

(२) सृष्टि भन्दा पहिले पनि खालि भगवान हुनुहुन्थ्यो र पछि पनि केवल भगवान रहनुहुन्छ, फेरि वीचमा भगवान वाहेक अर्को कसरी आउन सक्छ ? -- यो युक्तिको दृष्टिले 'वासुदेवः सर्वम्' हो । 

(३) मेरो त एउटा भगवान मात्रै हुनुहुन्छ, भगवान सिवाय मेरो कोही छँदै छैन, अरु कोही भए पो हुने, मलाई त्यसमा के मतलव ? -- यो सीधा-सरल विश्वासी भक्तहरुको दृष्टिले 'वासुदेवःसर्वम्' हो । व्रजमा जल भर्न एउटा गोपीले यस्ता कुराहरु सुनी र अर्को गोपीसँग सोधी -- हे साथी ! यी ब्रह्म, जीव आदि के हुन्छन् ? अर्की गोपीले भनी -- यी हाम्रो लालाको नै कुनै नातेदार होलान्, त्यसैले साधुहरु यिनको कुरा गर्दैछन्, हैन भने साधुहरुलाई लाला सिवाय अरुसँग के मतलव ?

(४) भगवततत्व जान्ने व्याकुलता भएकालाई दिनमा भोक लाग्दैन, राती निद्रा लाग्दैन, ऊ कुनै सन्तवाट सुनेर अथवा पुस्तकमा पढेर दृढतापूर्वक मान्छ, सबै भगवान नै हो भन्ने । भगवान कस्तो हुनुहुन्छ भन्ने कुरो त थाहा छैन, तर भगवान भन्दा अरु केही छैन भन्ने सन्तको वचनमा विश्वासको दृष्टिले 'वासुदेवः सर्वम्' छ । सन्त वचनमा प्रत्यक्ष भन्दा पनि वढी विश्वास भएपछि त्यस्तै देखिन थाल्छ अर्थात् अनुभव हुन्छ । 

दार्शनिक दृष्टिले विचार गर्दा, सत्ता एउटा मात्रै हुन सक्छ, दुइटा होइन । श्रद्धा-विश्वास (भक्ति)ले सबै भगवान मात्रै हुनुहुन्छ, भगवान सिवाय केही छैन । भक्तको दृष्टि भगवान छोडेर अर्कोतिर जाँदै जाँदैन र भगवान सिवाय अर्को कुनै उसको दृष्टिमा आउँदै आउँदैन ।

No comments:

Post a Comment