Saturday, 10 January 2015

No. 236 सातौँ अध्यायको सार भगवानका दुई प्रकृतिहरु छन् -- अपरा र परा । संसार 'अपरा' प्रकृति हो र जीव 'परा प्रकृति हो ।

No. 236

सातौँ अध्यायको सार 

भगवानका दुई प्रकृतिहरु छन् -- अपरा र परा । संसार 'अपरा' प्रकृति हो र जीव 'परा प्रकृति हो । अपरा प्रकृति जड तथा परिवर्तनशील छ र परा प्रकृति चेतन तथा नित्य परिवर्तनशील छ । भगवानले अपरा र परा -- दुबैलाई आफ्नै प्रकृति अर्थात् स्वभाव वताउनु भएको छ -- 'इतीयं मे', 'मे पराम्' । भगवानको स्वभाव भएकोले अपरा प्रकृतिको स्वतन्त्र (भगवान भन्दा छुट्टै) सत्ता छैन; परन्तु जीवले (परा प्रकृति) अपरा लाई सत्ता र महत्ता दिएर उसँग आफ्नो सम्बन्ध जोड्छ । यो सम्बन्ध जीव दुई प्रकारले मान्छ -- (१) अहंतापूर्वक, जस्तो -- म शरीर हुँ र (२) ममतापूर्वक, जस्तो  शरीर मेरो हो । यो मानिएको सम्बन्ध नै सम्पूर्ण प्राणीहरु उत्पन्न हुनमा कारण छ -- 'कारणम् गुणसंगोस्य सदसदयोनिजन्मसु'। 

वास्तवमा सम्पूर्ण जगतको कर्ता, कारण तथा कार्य एउटा भगवान मात्रै हुनुहुन्छ । भगवान सिवाय अर्को कुनै छँदै छैन -- 'मत्त: परतरं नान्यदकिन्चिदस्ति' । यो सिद्धान्त छ, सत्ता एउटा मात्रै हुन्छ, दुइटा हुँदैन । अतः एक भगवान नै अनेक रूपहरूमा प्रकट हुनु भएको छ । आकाश, वायु, तेज, जल र पृथ्वी -- यी पाँच महाभूत तथा यिनका कार्य शब्द, स्पर्श, रुप, रस र गन्ध -- यी पाँच विषय -- यी सबैको मूल कारण भगवान मात्रै हुनुहुन्छ । भगवान नै सम्पूर्ण प्राणीहरुको अनादि तथा अविनाशी वीज हुनुहुन्छ । तात्पर्य, सृष्टिमा जुन सुकै क्रिया, पदार्थ, भाव आदि देख्न-सुन्न-सम्झनमा आउँछन्, ती सबैको वीज (मूल कारण) एक मात्र भगवान हुनुहुन्छ । कारण नै कार्यरूपमा परिणत हुन्छ । अतः कारणको त स्वतन्त्र सत्ता हुन्छ, कार्यको स्वतन्त्र सत्ता हुँदैन । कुनै साधकले कार्यवाट संसार प्राप्त गर्न खोज्छ भने उसले भगवान पाउंदैन -- 'न त्वहं तेषु ते मयि'। कारणरूप भगवानको शरण हुनेलाई नै भगवान पाइनु हुन्छ । परन्तु कारणरूप भगवानको शरण नभएर कार्यरूप सत्वादि गुणहरुमा अल्झिनेहरु जन्म-मरणको चक्रमा परिरहन्छन् । यस्ता मनुष्य कार्यरूप शरीर संसारको सम्बन्धले हुने कामनाहरुको पूर्ति गर्न देवताहरुको शरण लिन्छन् । यस्ता भक्तहरुका पनि चार भेद छन् -- अर्थार्थी, आर्त, जिज्ञासु र ज्ञानी । यी शरणागत भक्तहरुमा पनि 'सबै भगवान नै हो' -- भनेर शरण हुने महात्मा भक्त मुक्त पुरुषहरु भन्दा श्रेष्ठ हुनाले अत्यन्त दुर्लभ छ । त्यो महात्मा भक्त भगवानको कृपाले परा-अपरा सहित भगवानको समग्ररुप जान्दछ । यो समग्ररूप जानेपछि फेरि कुनै कुरो जान्न शेष रहँदैन; किनकि त्यो सिवाय अरु कुनै चीज छँदै छैन । भगवानसँग उसको आत्मीय सम्बन्ध हुन्छ, जसवाट प्रतिक्षण वर्धमान प्रेमको प्राप्ति (जागृति) हुन्छ । यो प्रेमको जागृतिमा नै मनुष्यजन्मको पूर्णता छ ।                                       
एउटा अपरा प्रकृति छ, एउटा परा प्रकृति छ र एउटा परा-अपराको मालिक परमात्मा हुनुहुन्छ । सम्पूर्ण शरीर-संसार (अधिभूत) अपरा प्रकृति अन्तर्गत र सम्पूर्ण शरीरी (कृत्स्न अध्यात्म) परा प्रकृति अन्तर्गत आउँछन् । यसको तात्पर्य हो, सम्पूर्ण शरीर (संसार) पनि एक छ र सम्पूर्ण शरीरी पनि एक छ तथा परा र अपरा-- यी दुवै शक्तिको मालिक पनि एक छ । अतः शरीरहरुको दृष्टिले, आत्माको दृष्टिले र परमात्माको दृष्टिले -- तीनै दृष्टिहरुले हामी सबै एकै हौँ, अनेक छैनौं ।  

सम्पूर्ण शरीरहरुको एकता स्वीकार गरेपछि कुनै पनि प्राणीसँग राग अथवा द्वेष हुने छैन र सम्पूर्ण प्राणीहरुको हितको भाव हुनेछ । यस्तो भएपछि 'कर्मयोग' सुगमतापूर्वक स्वतः सिद्ध हुनेछ । कारण कि आफूदेखि भिन्न अर्को कुनै छँदै छैन र आफ्नो व्यक्तिगत केही छँदै छैन भने पछि आफ्नो भएको वस्तुमा ममता हुनेछैन र आफूसँग नभएको वस्तुमा कामना हुने छैन । ममता र कामना नभएपछि आफूसँग भएका वस्तु पाउने कामना हुँदैन । ममता र कामना नभएपछि आफूसँग भएका वस्तुहरु स्वतः अरुको सेवामा लाग्छन् । 

सम्पूर्ण जीवहरुमा एकता स्वीकार गरेपछि सर्वत्र  आत्मभाव अथवा ब्रह्मभाव हुनेछ -- सर्वं खल्विदम् ब्रह्म', आत्मैवेदम् सर्वम्' । यस्तो भएपछि 'ज्ञानयोग' सुगमतापूर्वक स्वतः सिद्ध हुनेछ । कारण, अनेक रुपहरुमा रहेको जीव एक रूपले ब्रह्म हो अर्थात् जीव र ब्रह्म एक नै हुन् -- 'अयमात्मा ब्रह्म' ।                   
अपरा र परा -- यी दुवै प्रकृतिहरुको स्वतन्त्र सत्ता छैन; किनकि यी दुवै भगवानका शक्तिहरु, स्वभाव भएकाले भगवतस्वरूप नै हुन् । यस्तो स्वीकार गरेपछि सर्वत्र भगवदभाव हुनेछ । 'वासुदेवः सर्वम्' ।यस्तो भएपछि 'भक्तियोग' सजिलोसँग स्वतः सिद्ध हुनेछ । कारण कि 'सबै भगवान नै हो' -- यही वास्तविक शरणागति हो । 
 
तात्पर्य यो निस्कियो, जगत्,जीव र परमात्मा --  तीनैको दृष्टिले हामी सबै एकै हौँ । यो समतालाई गीताले 'योग' भनेको छ -- 'समत्वं योग उच्यते' । भेद विषमता केवल व्यवहारकोलागि हो र यो विषमता अनिवार्य पनि छ; किनकि व्यवहारमा समता सम्भव छैन । अतः साधकको दृष्टि (भावना) सम हुनु पर्छ -- 'सर्वत्र समदर्शन:', 'पण्डिताः समदर्शिनः', 'समबुद्धिर्विशिष्य्ते', 'सर्वत्र समबुद्धय' । व्यवहारको भिन्नता त स्वाभाविक हो, तर भावको भिन्नता मनुष्यले आफ्नै राग-द्वेषले पैदा गरेको छ । राग-द्वेषको कारण नै मनुष्यले जगत्, जीव र परमात्मा -- तीनैमा अनेक भेद गरेको छ । यही भेदले उसलाई जन्म-मरण गराउँछ -- 'मृत्यो: स मृत्युं गच्छति य इह नानेव पश्यति' । कसैलाई अर्को मान्ने, कसैको नराम्रो चाहने, देख्ने र गर्ने र संसारवाट केही चाहने व्यक्ति न त कर्मयोगी हुन सक्छ, न ज्ञानयोगी नै हुन सक्छ र न भक्तियोगी नै हुन सक्छ । 

जगत, जीव र परमात्मा -- यी तीनैमा विचार गर्दा स्वतन्त्र सत्ता परमात्माको मात्रै छ । जगत् र जीवको स्वतन्त्र सत्ता छैन । जगतलाई जीवले नै धारण गरिरहेको छ -- 'ययेदम् धार्यते जगत्' अर्थात् जगतलाई सत्ता  जीवले नै दिएको हो, यसैले जीवको स्वतन्त्र सत्ता छैन । तात्पर्य हो, जगतको सत्ता जीवको अधीन छ  र जीवको सत्ता परमात्माको अधीन छ, यसैले एक परमात्मा सिवाय अरु केही छैन -- सदसच्चाहमर्जुन' । जगत र जीव -- दुवै परमात्मामा नै भासित भइरहेछन् ।  

सातौं अध्याय समाप्त भयो ।                        

No comments:

Post a Comment