No. 227
अवतारकालमा
भगवान लौकिक रूपमा देखिंदा पनि वास्तवमा सँधै अलौकिक नै रहनु हुन्छ ।
परन्तु राग-द्वेषले गर्दा अज्ञानी मनुष्यहरुलाई भगवान लौकिक नै देखिनु
हुन्छ अर्थात् भगवानरूपले नदेखिएर मनुष्यरूपले नै देखिनुहुन्छ ।
श्लोक २५
यो
मूढ मनुष्य समुदाय मलाई अज र अविनाशी भनेर ठीक किसिमले जान्दैन, मान्दैन ।
त्यस्ता मनुष्यको सामुन्ने योगमायाले राम्रोसँग ढाकिएको हुनाले म प्रकट
हुन्न ।
म
अज र अविनाशी हुँ अर्थात् जन्म-मरणदेखि रहित हुँ । यस्तो भए पनि म प्रकट र
अंतर्धान हुने लीला गर्छु अर्थात् जव म अवतार लिन्छु, तव अज (अजन्मा)
रहँदा रहँदै अवतार लिन्छु र अव्ययात्मा रहँदा रहँदै अन्तर्धान हुन्छु ।
सूर्य भगवान उदय हुँदा हाम्रो सामुन्ने आउनु हुन्छ र अस्त हुँदा हाम्रो
नेत्रहरुदेखि ओझेल हुनुहुन्छ, त्यस्तै म केवल प्रकट र अंतर्धान हुने लीला
गर्छु । मलाई यस्तो प्रकारले जन्म-मरणदेखि रहित मान्ने असम्मूढ़ हुन् । तर
मलाई साधारण प्राणीहरु जस्तो जन्मने-मर्ने मान्नेहरु तिनीहरु मूढ़ हुन् ।
भगवानलाई
अज, अविनाशी नमान्नमा कारण हो, यो मनुष्यको भगवानसँगको आफ्नोपनलाई विर्सेर
मनुष्यले शरीरलाई आफ्नो मान्यो 'यो शरीर नै म हुँ' भन्ने ।यसैले उसको
अगाडि पर्दा आयो । यो पर्दाले गर्दा उसले भगवानलाई पनि जन्मने-मर्ने मान्न
थाल्यो ।
मूढ़
मनुष्य मलाई अज र अविनाशी भन्ने जान्दैनन् । त्यो नजान्नमा दुई कारण हुन्
-- (१) म योगमायाले लुकेर वस्ने, (२) उनीहरुको मुडता । जस्तो, आफ्नो
कुनै घरमा मनुष्य वन्द छ, शहरका सबै घरहरु शहरका चार दीवारमा वन्द छन् ।
यदि कुनै मनुष्य आफ्नो घरवाट निस्कन खोज्यो भने ऊ आफ्नो घरवाट त निस्कन
सक्छ तर शहरको चार दीवारहरुवाट निस्कन सक्तैन । तर त्यही शहरको राजाले
चाह्यो भने ऊ चार दिवारहरुको ढोकाहरु पनि खोल्न सक्छ र उसको घरको ढोका पनि
खोल्न सक्छ । यदि त्यो मनुष्य आफ्नो घरको ढोका खोल्न सक्तैन भने राजा त्यो
ढोका फुटाउन पनि सक्छ । त्यस्तै यो प्राणी आफ्नो मूढ़तालाई हटाएर आफ्नो
नित्य-स्वरूप जान्न सक्छ । परन्तु भगवततत्वको बोध त भगवतकृपाले नै हुन सक्छ
। भगवान जसलाई बुझाउन चाहनु हुन्छ, त्यही व्यक्ति मात्रै त्यो तत्व जान्न
सक्छ । मनुष्यले पूर्णतया भगवानको शरण हुन सक्यो भने भगवान उसको अज्ञान पनि
हटाइ दिनु हुन्छ र आफ्नो माया पनि हटाइदिनु हुन्छ ।
'नाहं
प्रकाशः सर्वस्य योगमायासमावृतः' -- ती सबैको सामुन्ने अर्थात् त्यो मूढ
समुदायको सामुन्ने म भगवतरूपले प्रकट हुन्न । कारण, उनीहरु मलाई अज-अविनाशी
भगवतरूपले मान्न नै चाहँदैनन् । उनीहरु त मलाई साधारण मनुष्य मानेर मेरो
अवहेलना गर्छन् । अतः उनीहरुको सामुन्ने म कसरी प्रकट हुने ? तात्पर्य,
मलाई अज-अविनाशी नमान्ने, मलाई जन्मने-मर्ने मान्नेहरुको अगाडि म योगमाया
द्वारा लुकिरहन्छु र सामान्य मनुष्य जस्तो नै रहन्छु । परन्तु मलाई
अज-अविनाशी र सम्पूर्ण प्राणीहरुको ईश्वर मान्ने, ममा मात्रै श्रद्धा
राख्नेलाई उनीहरुको भाव अनुसार म उनीहरुको सामुन्ने प्रकट रहन्छु ।
भगवानको योगमाया विचित्र, विलक्षण, अलौकिक छ; भगवानप्रति मनुष्यहरुको भाव अनुसार नै उनीहरु योगमाया समावृत भगवानलाई देख्छन् ।
यहाँ
भगवानले भन्नुभएको छ, मलाई अज-अविनाशी नजान्नेहरु मूढ़ हुन् र दसौं
अध्यायमा भगवान भन्नुहुन्छ, देवता र महर्षि मेरो प्रभव जान्दैनन् । यसमा
शंका हुन्छ, भगवानलाई अज-अविनाशी भन्ने नजान्नु उहाँको प्रभाव नजान्नु --
यी दुई कुराहरु यौटै भए, परन्तु यहाँ नजान्नेहरुलाई मूढ़ भनियो, यस्तो किन ?
यसको समाधान हो, भगवानको प्रभव अर्थात् प्रकट हुने कुरो नजान्नु दोषी छैन;
किनकि त्यहाँ भगवान स्वयंले भन्नुभएको छ, सबै किसिमले देवताहरु र
महर्षिहरुको म आदि हुँ । जस्तो, वालक आफ्नो पिताको जन्म कसरी देख्न सक्छ ?
किनकि ऊ त्यो वेला जन्मेकै थिएन । ऊ त पितावाट पैदा भएको छ । अतः उसले
पिताको जन्म नदेख्नु दोषी हैन । यस्तै किसिमले भगवान प्रकट हुने हेतुहरु
नजान्ने देवताहरु र महर्षिहरुलाई मूढ़ भनिएको छैन । मनुष्य भगवानलाई
अज-अविनाशी जान्न सक्छन् अर्थात् मान्न सक्छन् । यदि भगवानलाई अज-अविनाशी
मान्दैनन् भने यो उनीहरुको दोष हो । यसैले उनीहरुलाई यहाँ मूढ़ भनिएको हो ।
जो
बुद्धिहीन मनुष्यहरू भगवान मान्दैनन्, भगवान अवतारकालमा सबैको अगाडि प्रकट
हुँदा पनि त्यस्ता मनुष्यहरुको अगाडि प्रकट हुनुहुन्न -- 'ये यथा मां
प्रपद्यन्ते तान्स्तथैव भजाम्यहम्' । वास्तवमा भगवान अप्रकट रहन खोज्नु
हुन्न, तर उहाँलाई नमान्ने मनुष्यको अगाडि उहाँ कसरी प्रकट हुने ?
No comments:
Post a Comment