No. 232
तात्पर्य
यो भयो, भगवानको आश्रय लिएर आचरण गर्नेहरु ब्रह्म, अध्यात्म र कर्मको
वास्तविक तत्व जान्दछन् अर्थात् भगवानले भन्नुभएको छ, 'यो सम्पूर्ण संसार
ममा नै ओतप्रोत छ' र 'सबै वासुदेव मात्रै हो' । ब्रह्म, अध्यात्म र कर्म --
यी सबै भगवतस्वरूप नै हुन्, भगवान सिवाय यिनीहरुमा अर्को कुनै सत्ता नै
छैन भन्ने व्यक्तिहरु भगवानको समग्ररुप जान्दछन् ।
श्लोक २९
वृद्धावस्था
र मृत्युवाट मुक्ति पाउन मेरो आश्रय लिएर प्रयत्न गर्नेहरु त्यो ब्रह्म,
सम्पूर्ण अध्यात्म र सम्पूर्ण कर्महरु जान्दछन् ।
'जरामरणमोक्षाय
मामाश्रित्य यतन्ति ये' -- यहाँ जरा (वृद्धावस्था) र मरणवाट मुक्ति पाउने
तात्पर्य यो हैन कि ब्रह्म, अध्यात्म र कर्मको ज्ञान भएपछि वृद्धावस्था
हुँदैन, शरीरको मृत्यु हुँदैन । यसको तात्पर्य, बोध भएपछि शरीरमा आउने
वृद्धावस्था र मृत्यु त आइहाल्छ, तर यी दुवै अवस्थाहरु उसलाई (त्यो
व्यक्तिलाई) दुःखी गर्न सक्तैनन् । यहाँ 'जरामरणमोक्षाय' भन्ने तात्पर्य
हो, जरा, मृत्यु आदि शरीरका विकारहरुसँग सम्बन्ध विच्छेद हुनमा छ ।
सोचौं,
कुनै नौजवान छ, उसलाई अहिले न वृद्धावस्था छ र न मृत्यु छ; त्यसैले ऊ
अहिले जरा-मरणवाट मुक्त छ । परन्तु वास्तवमा त्यो व्यक्ति जरा-मरणदेखि
मुक्त छैन; किनकि जरा-मरणको कारण शरीरसँग सम्बन्ध रहुन्जेल जरा-मरणदेखि
रहित भए पनि ऊ यिनवाट मुक्त छैन । तर जीवन्मुक्त महापुरुषहरुको शरीरमा
जरा-मरण हुँदा पनि उनीहरु यीदेखि मुक्त छन् । अतः जरा-मरणदेखि मुक्त हुने
भनेको तात्पर्य हो -- जरामरण हुने प्रकृतिका कार्य शरीरसँग सर्वथा
सम्बन्ध-विच्छेद हुनु हो । मनुष्यले शरीरसँग तादात्म्य (म यही
हुँ) मानेपछि शरीर वृद्ध भएपछि 'म वृद्ध भएँ' र शरीर मर्नेलाई लिएर 'म मर्न
लागें' भन्ने मान्छ । यो मान्यता 'शरीर म हुँ र मेरो शरीर हो' भन्नेमा नै
टिकेको छ । मनुष्य 'म' र 'मेरोपन'वाट मुक्त भएपछि ऊ जरा, मरण आदिदेखि पनि
मुक्त हुनेछ; किनकि शरीरसँग मानिएको सम्बन्ध नै वास्तवमा जन्मको कारण हो ।
शरीरसंग यसको सम्बन्ध नै नभएकोले नै सम्बन्ध मेटिने हो । सम्बन्ध मेटिने
त नभएकोसँग नै हो ।
यहाँ
'मामाश्रित्य यतन्ति ये' पदहरुमा आश्रय लिनु र यत्न गर्नु -- यी दुई
कुराहरु भन्नुको अर्थ, मनुष्यले आफैं यत्न गर्छ भने उसमा अभिमान आउँछ 'मैले
यस्तो गरें र यस्तो भयो भन्ने' र स्वयं यत्न नगरेर 'भगवानको आश्रयले सबै
हुनेछ' भन्ने मान्छ भने ऊ प्रमाद र आलस्यमा तथा भोग र संग्रहमा लाग्छ ।
यसैले यहाँ दुई कुराहरु वताइयो, शास्त्रको आज्ञा अनुसार स्वयं तत्परताले
उद्योग गर्ने र त्यो उद्योग हुनमा तथा उद्देश्यको सफलताको कारण भगवानलाई
मान्ने ।
नित्य-निरन्तर
वियुक्त भइरहेको शरीर-संसारलाई मनुष्य पाइएको र स्थायी मान्छ । शरीर र
संसारलाई स्थायी मानेर सत्ता र महत्ता दिइरहुन्जेल जति साधन गरे पनि उसलाई
भगवतप्राप्ति हुँदैन । तर यदि उसले शरीर र संसार स्थायी नमानेर त्यसलाई
सत्ता र महत्ता दिएन भने भगवतप्राप्ति हुन उसलाई समय लाग्दैन । अतः यी दुई
वाधाहरु अर्थात् शरीर-संसारको स्वतन्त्र सत्ता र महत्तालाई विचारपूर्वक
हटाउने यत्न नै गर्ने हो । तर यो यत्न गर्दा पनि भगवानको आश्रय लिएर यत्न
गर्ने व्यक्ति नै श्रेष्ठ छ । त्यस्ता मनुष्यहरुमा यस्तो भाव हुन्छ, त्यही
प्रभुको कृपाले नै साधन भजन भइरहेको छ । भगवानको कृपाको आश्रय लिनाले
उनीहरु भगवानको समग्ररुपलाई जान्दछन् ।
भगवानको
आश्रय नलिएर आफ्नो कल्याण चाहँदै उद्योग गर्नेहरुलाई आफ्नो आफ्नो साधन
अनुसार भगवतस्वरूपको बोध त हुन्छ, तर भगवानको समग्ररूपको बोध उनीहरुलाई
हुँदैन । कुनै प्राणायाम आदि द्वारा योगको अभ्यास गर्नेलाई अणिमा, महिमा
आदि सिद्धिहरु त मिल्छ र त्यो भन्दा माथि उठेपछि परमात्माको निराकार
स्वरूपको बोध हुन्छ अथवा आफ्नो स्वरूपमा स्थिति हुन्छ । त्यस्तै, बौद्ध,
जैन आदि सम्प्रदायमा लाग्ने र ईश्वर नमान्ने मनुष्यहरु पनि आफ्नो-आफ्नो
सम्प्रदायका सिद्धान्तहरु अनुसार साधन गरेर असत्-जडरूप संसारसँग
सम्बन्ध-विच्छेद गरेर मुक्त हुन्छन् । परन्तु संसारवाट विमुख भएर भगवानको
आश्रय लिएर यत्न गर्नेहरुलाई भगवानको समग्ररूपको बोध भएर भगवत्प्रेमको
प्राप्ति हुन्छ -- भन्ने विलक्षणता वताउन नै भगवानले यहाँ 'मामाश्रित्य
यतन्ति ये' भन्नुभएको हो ।
'ते
ब्रह्म तत् (विदुः)' -- यसरी यत्न (साधन) गरे उनीहरु (ती साधकहरु) मेरो
स्वरूप अर्थात् मन-बुद्धि-इन्द्रियहरुको विषय नभएको र आफ्नो अगाडि नभएको
(नदेखिने), शास्त्रहरुले पनि परोक्षरूपले वर्णन गर्ने निर्गुण- निराकाररुप,
सच्चिदानन्दघन ब्रह्म जान्दछन् ।
'ब्रह्म'सँग
'तत्' शब्द दिनुको तात्पर्य हो, प्रायः सबै 'तत्' शब्दले भनिने
परमात्मालाई परोक्षरूपले नै देख्नेहरु यस्तो परमात्मालाई (केही अघि वर्णन
गरिएको परमात्मालाई) पनि उनीहरु साक्षात् अपरोक्षरूपले नै अनुभव गर्छन् ।
त्यो
परमात्माको सत्ता सम्पूर्ण प्राणीहरुमा स्वतःसिद्ध छ । कारण, त्यो
परमात्मा कुनै देशमा नहुने, कुनै समयमा नहुने, कुनै वस्तुमा नहुने र कुनै
व्यक्तिमा नहुने भन्ने छैन । यो परमात्मा सबै देशमा छ, सबै कालमा छ, सबै
वस्तुहरुमा छ र सबै व्यक्तिहरुमा छ । यस्तो हुँदा पनि त्यो परमात्मा
अप्राप्त देखिने कारण के हो ? पहिले नभएको, पछि पनि नहुने, अहिले मौजूद
रहँदा पनि प्रतिक्षण वियुक्त भइरहेको, अभावमा गइरहेको शरीर-संसारको महत्ता
स्वीकार गरियो, यही कारण नित्य प्राप्त (सँधै पाइरहिएको) परमात्म-तत्व
अप्राप्त (नपाइएको) देखिइरहिएको छ ।
'कृत्स्नमध्यात्मम्
(विदुः)' -- उनीहरु (ती व्यक्तिहरु) सम्पूर्ण अध्यात्म जान्दछन् अर्थात्
सम्पूर्ण जीवहरु तत्वले के हुन् भन्ने कुरा उनीहरु जान्दछन् । पन्ध्रौँ
अध्यायमा भगवान भन्नुहुन्छ, 'जीवले एउटा शरीर छोडेर अर्को शरीर लिने कुरा
विमूढ जान्दैनन् र ज्ञानचक्षु भएकाहरु जान्दछन् । 'जीव कति छन्, उनीहरु के
के गर्छन् र उनीहरुको के के गति भइरहेको छ' भनेर ज्ञान चक्षु भएकाहरुले
जान्दछन् भन्ने यो प्रसंगको तात्पर्य होइन । उनीहरुले
(ज्ञानचक्षुहरुले) आत्मा शरीरदेखि छुट्टै छ भन्ने तत्व राम्रोसँग जान्दछन् र
अनुभव पनि गर्छन् भन्ने तात्पर्य हो प्रसंगको छ ।
भगवानले
चारै वर्णहरुको रचना गर्नुभयो । त्यो रचनामा जीवहरुका गुण र कर्म
अनुसार अर्थात् उनीहरुको भाव र उनीहरुले गरिएका कर्म अनुसार नै उनीहरुको
शरीरहरुको रचना गरिएको छ । ती वर्णहरुमा जन्म हुन स्वयं भगवान तर्फवाट कुनै
सम्बन्ध छैन, यसैले भगवानमा कर्तृत्व छैन, फलेच्छा पनि छैन । अर्थ हो,
सृष्टिको रचना गर्दा पनि भगवान कर्तृत्व र फलासक्तिवाट सँधै निर्लिप्त
रहनु हुन्छ । यस्तै सम्पूर्ण मनुष्यहरुलाई देश, काल, परिस्थिति अनुरुप
प्राप्त भएका कर्तव्य-कर्म उनीहरुले कर्तृत्व र फलासक्तिले रहित भएर पालन
गरे त्यो कर्म उसलाई फलजनक वन्दैन । अर्को शब्दमा, कर्महरुसँग हाम्रो आफ्नो
कुनै सम्बन्ध छैन; यसरी ती कर्महरुसँग निर्लिप्तताको अनुभव गर्नु नै अखिल
कर्म जान्नु हो ।
अनन्यभावले
केवल भगवानको मात्रै आश्रय लिनेलाई प्राकृत क्रियाहरु र पदार्थहरुसँग उसको
आश्रय छुट्छ । यस्तो किसिमले आश्रय छुटेपछि साधकलाई राम्रोसँग ज्ञान
हुन्छ, यी सबै क्रियाहरु र पदार्थहरु परिवर्तनशील र नाशवान् छन् अर्थात्
क्रियाहरुको पनि आरम्भ र अन्त हुन्छ तथा पदार्थहरुको पनि उत्पत्ति र
विनाश, संयोग र वियोग हुन्छ । ब्रह्मलोकसम्मका सबै क्रियाहरु र पदार्थहरु
नित्य रहने हैनन् । अतः कर्महरुसँग मेरो अलिकति पनि सम्बन्ध छैन -- यो
पनि अखिल कर्मलाई जान्नु हो ।
No comments:
Post a Comment