Saturday 29 November 2014

176. No. 145 श्लोक ४ अबुझहरु सांख्ययोग र कर्मयोगलाई छुट्टा छुट्टै फल दिने भन्छन्,

No. 145 

श्लोक ४ 

अबुझहरु सांख्ययोग र कर्मयोगलाई छुट्टा छुट्टै फल दिने भन्छन्, पण्डितहरु त्यसो भन्दैनन्; किनकि यी दुईमध्ये एउटा साधनमा राम्रोसँग लागेको मनुष्य दुबैको फलरूप परमात्मा पाउँछ । 

यही अध्यायको पहिलो श्लोकमा अर्जुनले कर्महरु पूर्णरूपले छोडी तत्वदर्शी महापुरुषकहाँ गएर गर्ने साधनलाई 'कर्मसंन्यास' भनेका थिए । भगवानले पनि त्यसपछिको दोस्रो श्लोकमा आफ्नो सिद्धान्तको मुख्यता राख्दै ज्ञान पाउने साधनलाई 'संन्यास' र 'कर्मसंन्यास' नै भन्नुभयो । अव त्यही साधनलाई भगवान यहाँ 'सांख्य' नामले भन्नुहुन्छ । भगवान शरीर-शरीरीको भेद विचार गरेर स्वरूपमा स्थित हुनुलाई 'सांख्य' भन्नुहुन्छ । भगवानको मतमा 'संन्यास' र 'सांख्य'का उही अर्थ छन् । यो साधनमा कर्मको स्वरूपले नै त्याग गर्ने आवश्यकता छैन । 

अर्जुनले भनेको 'कर्मसंन्यास' पनि भगवानले भन्नुभएको 'सांख्य'को अवान्तर भेद हो । कारण कि गुरुसँग सुनेर पनि साधक शरीर-शरीरीको भेदको नै विचार गर्छ ।     
        
भगवान भन्नुहुन्छ, आयु र बुद्धिमा ठूलो भए पनि सांख्ययोग र कर्मयोगको छुट्टा  छुट्टै फल मान्ने व्यक्तिहरु वालक अर्थात् अबुझ नै हुन् । 

सांख्ययोग र कर्मयोगको तत्वलाई ठीक ठीक जान्ने व्यक्ति नै पण्डित अर्थात् बुद्धिमान् हुन् । उनीहरु दुवै (साधन)लाई छुट्टा छुट्टै फल दिने भन्दैनन् ; किनकि उनीहरु दुवै साधनका प्रणालीहरु नहेरेर ती दुबैको वास्तविक परिणाम हेर्छन् । 

साधन-प्रणाली हेर्दै स्वयं भगवानले सांख्ययोग र कर्मयोगलाई दुई किसिमको साधन स्वीकार गर्नु भएको छ । यी दुईको साधन प्रणाली त छुट्टा छुट्टै छ, तर साध्य (परमात्मा) छुट्टै छैन । 

गीतामा ठाउँ ठाउँमा सांख्ययोग र कर्मयोगको परमात्मा प्राप्तिरुप फल एक नै वताइएको छ । तेरहौं अध्यायमा दुवै साधनहरुवाट आफैंमा परमात्मतत्वको अनुभव हुने वताइएको छ । यस्तो प्रकारले भगवानको मतमा दुवै साधन एकै फल दिने छन् ।

अरु शास्त्रीय कुराहरु जान्ने, तर सांख्ययोग र कर्मयोगको तत्वलाई गहिराइले नजान्ने व्यक्ति वास्तवमा वालक अर्थात् अबुझ हो ।

गीतामा अविनाशी तत्वकोलागि 'फल' शब्द यही एक ठाउँमा मात्रै आएको छ ।'फल' शब्दको अर्थ हो -- परिणाम । कर्मयोग र ज्ञानयोग -- दुवै साधनहरुले प्राप्त हुने तत्वको फल भन्नुको तात्पर्य, यी दुवै साधनहरुमा मनुष्यको आफ्नो उद्योग मुख्य छ -- ज्ञानयोगमा विवेकरूप उद्योग मुख्य छ र कर्मयोगमा परहितको क्रियारूप योग मुख्य छ । साधकलाई आफ्नो उद्योग, परिश्रम सफल भयो, यसैले यसलाई 'फल' भनियो । यो फल नष्ट हुने होइन । कर्मयोग तथा ज्ञानयोग -- दुबैको फल आत्मज्ञान अथवा ब्रह्मज्ञान हो ।

कर्तव्य-कर्म गर्नु कर्मयोग हो र केही नगर्नु ज्ञानयोग हो । केही नगर्दा हुने तत्वको प्राप्ति कर्तव्य-कर्म गर्दा हुन्छ । 'गर्नु' र 'नगर्नु' साधन हुन्, र यीवाट हुने तत्वको प्राप्ति चाहिं साध्य हो                         


xx 
पहिलेदेखि नै भनिंदै आइएको छ, कर्म के हो ? अकर्म के हो ? विकर्म के हो ? भन्ने जान्ने, र त्यही अनुसार काम गर्ने मनुष्य कर्मयोगी हो ।

गीता भन्छ, "हामीवाट हुने सम्पूर्ण कर्म 'कामना' द्वारा हुन्छन् । हामीलाई कामना कुनै अभाव, अपूर्णताले हुन्छ" । शास्त्र भन्छ, "परमात्मा पूर्ण, परमात्माको अंश भएकोले जीव पनि पूर्ण छ ।" हामी मनुष्य पनि जीव नै हौँ । त्यसैले पूर्ण हुँदा हुँदै पनि हामीलाई अपूर्णताको अनुभव भयो । यस्तो हुनु हाम्रो अज्ञान हो । सत्, चित्, आनन्दघन भए पनि हामीलाई त्यो कुराको अनुभव नहुनुको कारण हामीमा भएको अज्ञान हो । कसैले, अझ कुनै ज्ञानीले, हामीलाई भन्छ, 'हे बाबु, तिमी परमात्मा नै हौ । तिमीमा र परमात्मामा कुनै भेद छैन ।' तर हामी त्यो कुरा मान्न तयार हुँदैनौं । यही प्रसंगमा एउटा कथा निवेदन गर्न मन लाग्यो ।         

एक जना सन्त कहाँ एउटा व्यक्ति ज्ञान सिक्न गएछ । ती महात्माले भनेछन्, 'तिमी ब्रह्म हौ ।' तर त्यो व्यक्तिले आफू ब्रह्म भएको हो भन्ने विश्वास गर्न सकेन । यस्तो विश्वास नहुनु भनेको श्रद्धा नहुनु हो । 

त्यसपछि त्यही व्यक्ति अर्को महात्माकहाँ गएछ । उसले भनेछ, 'म अर्को सन्तकहाँ गएको थिएँ, उहाँले मलाई 'तिमी परमात्मा हौ।' भन्नुभयो । मलाई त्यो कुरा विश्वास लागेन । त्यसैले मलाई ज्ञान दिनुहोस् ।' ती महात्माले भन्नुभयो, 'ए, तिमीलाई त्यस्तो लागेछ, ठीकै छ, मेरो आश्रममा तिमी वारह वर्ष वस, यहाँ पालिएका गाईहरुको गोवर सोहोर । त्यसपछि म तिमीलाई ज्ञान भन्नेछु ।' 

ती सन्तको आज्ञा अनुसार त्यो व्यक्तिले वारह वर्ष त्यो आश्रममा वसेर गाईको गोवर सोहोरेर वसेछ । त्यसपछि वारह वर्ष पुगेको दिन त्यो मानिस महात्मासँग ज्ञान लिन गएछ । ती महात्माले भन्नुभएछ, 'बाबु, तिमी परमात्मा हौ ।' अव त्यो व्यक्तिको हाल के भयो होला, हजुरहरु विचार गर्नुहोस् । बुझ्नु भो त हजुर, यस्तै छ हाम्रो हाल ! वारह वर्ष गोवर सोहोर्छौँ, तर जस्ताको तस्तै ।

No comments:

Post a Comment