Saturday 29 November 2014

Gita: Chapter 5: Slok 12: श्लोक १२ कर्मयोगी कर्मफल त्यागेर नैष्ठिकी शान्ति प्राप्त गर्छ । परन्तु सकाम मनुष्य कामनाको कारणले फलमा आसक्त भएर बाँधिन्छ ।

No.152

श्लोक १२ 

कर्मयोगी कर्मफल त्यागेर नैष्ठिकी शान्ति प्राप्त गर्छ । परन्तु सकाम मनुष्य कामनाको कारणले फलमा आसक्त भएर बाँधिन्छ । 

यही अध्यायको आठौँ श्लोकमा आफूलाई अकर्ता मान्ने सांख्ययोगीलाई युक्त भनिएको छ । यहाँ कर्मफल त्याग्ने कर्मयोगीलाई पनि युक्त भनिएको छ ।

'समता'को  उद्देश्य भएको व्यक्ति युक्त अथवा योगी हो । यो प्रसंग कर्मयोगको भएकोले यहाँको युक्त पद त्यस्तो कर्मयोगीलाई प्रयोग भएको छ । त्यस्तो कर्मयोगीको    व्यवसायात्मिका बुद्धि भएकोले उसमा समस्त संसारिक कामनाहरुको अभाव हुन्छ । 

कर्मफलको त्याग भन्दा फलको इच्छा, आसक्तिको त्याग गर्ने हो, किनकि वास्तवमा त्याग कर्मफलको होइन, कर्मफलको इच्छाको हुन्छ । कर्मफलको इच्छाको त्याग गर्ने अर्थ, कुनै पनि कर्म र कर्मफलवाट आफ़्नोलागि कहिले अलिकति मात्रै पनि कुनै प्रकारको सुख लिने इच्छा नराख्नु । कर्म गर्दा तात्कालिक फल (सुख) पाइन्छ र अर्को फल परिणाममा पाइन्छ । कर्मयोगमा आस्था राख्ने व्यक्तिले यी दुवै फलको इच्छाको त्याग गर्नु पर्छ । आफ्नो केही होइन, आफ़्नोलागि केही गर्ने होइन र आफूलाई केही पनि चाहिंदैन -- भन्ने कर्ता पूर्ण निष्काम हुन्छ र उसको कर्मफलको इच्छा पूरापूर त्याग हुन्छ ।

संचित-कर्म अनुसार प्रारब्ध वन्छ, प्रारब्ध अनुसार मनुष्यको जन्म हुन्छ र मनुष्य-जन्ममा नयाँ कर्म हुने हुँदा नयाँ कर्म-संस्कार संचित हुन्छन् । परन्तु कर्मफलको आसक्ति त्यागेर कर्म गरेर कर्म गर्दा ती कर्मले भुटिएको वीज जस्तो अरु नयाँ संस्कार वनाउन असमर्थ हुन्छन् । त्यस्ता कर्मलाई अकर्म भन्छन् । वर्तमानमा निष्कामभावपूर्वक गरिएका कर्महरुको प्रभावले उसका पुराना कर्म-संस्कार (संचित कर्म) पनि समाप्त हुन्छन् । यसरी त्यो कर्मयोगीको पुनर्जन्मको कारण नै खतम हुन्छ । 

कर्मफल चार किसिमका हुन्छन् -- 

(१) दृष्ट कर्मफल -- वर्तमानमा गरिने नयाँ कर्महरुको फल, यस्तो फल प्रत्यक्ष पाइएको जस्तो देखिन्छ । जस्तो -- भोजन गर्दा हुने तृप्ति ।

(२) अदृष्ट कर्मफल -- वर्तमानमा गरिने नयाँ कर्महरुको फल । यस्ता फल अहिले त संचितरूपले संगृहीत हुन्छ, तर भविष्यमा यो लोक र परलोकमा अनुकूलता अथवा प्रतिकूलताको रूपमा मिल्नेछ । 

(३) प्राप्त कर्मफल -- प्रारब्ध अनुसार वर्तमानमा पाइएका शरीर, जाति, वर्ण, धन, सम्पत्ति, अनुकूल या प्रतिकूल परिस्थिति आदि । 

(४) अप्राप्त कर्मफल -- प्रारब्ध-कर्मको फलरूपमा भविष्यमा पाइने अनुकूल अथवा प्रतिकूल परिस्थिति |   

माथि वर्णित चार प्रकारका कर्महरुमा दृष्ट र अदृष्ट कर्मफल 'क्रियमाण कर्म'का अधीन छन् तथा प्राप्त र अप्राप्त कर्मफल 'प्रारब्ध-कर्म'का अधीन छन् । कर्मफल त्याग्ने अर्थ हो -- दृष्ट कर्मफलको आग्रह नराख्ने तथा त्यो कर्मफल पाइए पनि, नपाइए पनि प्रसन्न या अप्रसन्न नहुने । त्यस्तै, अदृष्ट कर्मफलको आशा नराख्ने, पाइएको कर्मफलमा ममता नगर्ने तथा कर्मफल पाउँदा सुखी या दुःखी नहुने र नपाइएको कर्मफलको कामना नगर्ने कि 'मेरो दुःख मेटियोस् र सुख होस्' भनेर ।

साधारण मनुष्य कुनै-न-कुनै कामना लिएर नै कर्म गर्न थाल्छ र कर्मको अन्तसम्म ऊ आफूले गरेको कामनाको चिन्तन गरिरहन्छ । सबै मनुष्य स्त्री, पुत्र, धन, मान, बडाई जस्तो कुनै न कुनै अनुकूल फलको इच्छा राखेर नै कर्म गर्छन् । परन्तु कर्मयोगी फलको इच्छा छोडेर कर्म गर्छ । 

यहाँ प्रश्न उठ्छ: यदि कुनै इच्छा नै नभए किन कर्म गर्ने ? यही सन्दर्भमा गीता भन्छ, कुनै पनि मनुष्य कुनै पनि अवस्थामा कर्महरुको पूर्णरूपले त्याग गर्न सक्तैन । मनुष्यको अन्तःकरणमा संसारप्रति राग रहुन्जेल ऊ शान्तिसँग कर्म नगरी वस्न सक्तैन । उसले गर्ने विषय चिन्तन वास्तवमा कर्म नै हो । विषयहरुको चिन्तन हुँदा व्यक्ति क्रमश: पतनतिर जान्छ । यसैले रागको सबै नाश नहुन्जेल मनुष्य कर्महरुवाट छुट्न सक्तैन । कर्म गर्दा पुराना राग मेटिन्छन् र निःस्वार्थभावले खालि परहितकोलागि कर्म गर्दा नयाँ राग पैदा हुँदैन । 

कर्मफलको इच्छा राखेर कर्म गर्नु ठूलो वेसमझी हो । सबै कर्म आरम्भ र अन्त हुने स्वभावका छन् भने त्यसको फल नित्य कसरी होला ? फल पनि पाइएर नष्ट भइहाल्छ । तात्पर्य, कर्म र कर्मफल -- दुवै नाशवान् छन् । कि त फल सँधै नरहला या फल भोग्ने हाम्रो भनिने शरीर सँधै नरहला । अर्को कुरा, हामीले इच्छा राखौं या नराखौं, जे पाइनु छ, पाइहालिन्छ, जे पाइंदैन, त्यो पाइंदै पाइंदैन । इच्छा गरेर धेरै फल पाइने र इच्छा नगरेर थोरै फल पाइने भन्ने कुरा होइन । त्यसैले फलको इच्छा गर्नु वेवकुफी मात्रै हो ।

निष्कामभावले अर्थात् फलको कामना नराखेर लोकहितकोलागि कर्म गर्दा कर्महरुसँग सम्बन्ध-विच्छेद हुन्छ । कर्मयोगीको कर्म उद्देश्यहीन अर्थात् पागलको जस्तो हुँदैन । ऊवाट हुने कर्म परमात्मतत्व प्राप्तिको महान् उद्देश्य राखेर नै भएको हुन्छ । अर्को, उसले गर्ने सबै कर्म लोकहितकोलागि हुन्छ । उसको कर्महरुको लक्ष परमात्मतत्व हुन्छ, संसारिक पदार्थ होइन । शरीरमा ममता नरहँदा उसमा आलस्य, अकर्मण्यता आदि हुँदैनन् । तर त्यो कर्मयोगी आफूले सबै कर्महरु सुचारुरूपले र तत्परताले गर्छ । 

जुन कर्महरु गर्दा नाशवान् पदार्थहरुको प्राप्ति हुन्छ, तिनै कर्म निष्कामभावपूर्वक परमात्मतत्वको उद्देश्य राखेर लोक हितकोलागि  गरे नित्यसिद्ध परमात्मतत्वको अनुभूति  हुन्छ । 

वास्तवमा परमात्माको प्राप्ति कुनै कर्मले हुने होइन । परमात्मा कुनै कर्मको फल पनि होइन । परमात्मा प्रत्येक देश, काल, वस्तु, व्यक्ति, घटना, परिस्थिति आदिमा सदा-सर्वदा विद्यमान हुनुहुन्छ । उहाँ सदा-सर्वदा सवैलाई प्राप्त हुनुहुन्छ र सबै प्राणीहरुको सदा-सर्वदा उहाँमा नै स्थिति छ । परमात्मादेखि कुनै पनि मनुष्य कहिले छुट्टै छँदै थिएन, छँदै छैन, हुँदै हुँदैन र हुन पनि सक्तैन । परन्तु जड प्रकृतिको कार्य शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ आदिसँग अहंता-ममतापूर्वक आफ्नो सम्बन्ध मानी रहँदा मनुष्य परमात्मादेखि विमुख हुन्छ र वास्तवमा आफ्नो परमात्मालाई आफ्नो नमानेर आफूसँग सम्बन्ध नै नभएको नाशवान् पदार्थहरुलाई आफ्नो मान्न थाल्छ । त्यसैले जड पदार्थहरुसँग सम्बन्ध रहेको जीवको रागयुक्त सम्बन्ध मेटाउन नै सबै साधनहरुको सार्थकता छ ।

जडतासँग सर्वथा सम्बन्ध-विच्छेद हुने वित्तिकै नित्यप्राप्त परमात्माको अनुभव हुन्छ । त्यसैले तप आदि साधन गरिरहँदा जडतासँग सम्बन्ध भएपछि परमात्मप्राप्ति हुन्छ ।निष्कामभावले खालि अरुको हितकोलागि कर्तव्य-कर्म गरियो भने त्यस्तो सम्बन्ध-विच्छेद सजिलोसँग हुन्छ । 

परमात्मा कुनै साधनले किन्न सकिंदैन । प्रकृतिका सम्पूर्ण पदार्थ जोड्दा पनि चिन्मय र अविनाशी परमात्मासँग अलिकति मात्र पनि समानता गर्न सकिंदैन । अर्को कुरो, मूल्य दिएर किनिने वस्तु मूल्य भन्दा कमजोर (कम मूल्यको) नै हुन्छ । कर्महरुवाट परमात्मा पाइने हो भने परमात्मा कर्महरु भन्दा कमजोर हुनुभयो ।

साधकले कर्म गर्दा उसले कर्म गरिने शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि साधनहरुसँग सम्बन्ध मानेर नै ऊ कर्म गर्छ ।  गीता भन्छ, शरीर आदिसँग सम्बन्ध रहुन्जेल जडतासँग सम्बन्ध वनिरहन्छ । जडतासँग सम्बन्ध राखेर परमात्मतत्वको अनुभव हुँदैन । परमात्मतत्वको प्राप्ति जडतासँग हुँदैन, जडताको त्यागले हुन्छ ।

हाम्रो सामुन्नेको संसार र हाम्रा शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि एकै जातिका हुन् । त्यसैले यिनीहरुलाई संसारको नै मानेर, संसारको नै सेवामा लगाइदिने हो । यही प्रकृयालाई कर्मयोग भनिन्छ । तर यी शरीर आदिसँग अलिकति मात्रै पनि आफ्नो सम्बन्ध नमान्ने, यिनलाई महत्व नदिने, यिनसँग आफ्नो आश्रय नराख्ने, किनकि असत् सँग सम्बन्ध राखी राखी असत् पूरापूर छुट्न सक्तैन । असत् सँग सम्बन्ध-विच्छेद गर्नलाई निष्कामभावले गरिएका सबै कर्म सहायक हुन्छन् । असत् सँग पूर्णरूपले सम्बन्ध-विच्छेद हुने वित्तिकै परमात्मतत्वसँगको विमुखता छुट्छ र नित्यप्राप्त परमात्मतत्वको अनुभूति हुन्छ ।

अनुभव-सिद्ध कुरो हो, सांसारिक पदार्थहरुको कामना र ममता छोडेपछि हामीलाई शान्ति मिल्छ । सुषुप्तिमा (गाढा निद्रामा) संसारको विस्मृति हुँदा शान्तिको अनुभव हुन्छ हामीलाई । यदि जाग्रत अवस्थामा नै संसारसँग सम्बन्ध-विच्छेद भइदिए (कामना ममताको त्याग) भइदिए के नै भन्नु पर्ला र ! त्यस्तै निद्रा लाग्दा, कुनै काम पूरा हुँदा पनि एक किसिमको शान्ति पाउँछौं हामी ।  तात्पर्य, संसारिक कामना, ममता र आसक्तिको त्याग गर्ने वित्तिकै शान्ति पाइँदो रहेछ । तर यो शान्तिको उपभोग गरे अर्थात् त्यो शान्तिवाट सुख लिए र यसैलाई आफ्नो लक्ष माने साधक यो शान्तिवाट पाइने 'नैष्ठिकी शान्ति' अर्थात् परमात्मप्राप्ति गर्न सक्तैन । कारण, शान्ति ध्येय होइन, यो शान्ति त परमशान्तिको कारण हो । 

संसारसँग सम्बन्ध-विच्छेदवाट हुने शान्ति सत्व-गुणसँग सम्बन्ध राख्ने शान्ति हो । साधकले यो सम्बन्ध राख्ने शान्तिको भोग गरुन्जेल र यो शान्तिले 'ममा शान्ति छ' भन्ने मानुन्जेल उसमा परिच्छिन्नता रहन्छ । त्यो वेलासम्म अखण्ड एकरस रहने वास्तविक शान्तिको अनुभव हुँदैन ।

कर्मयोगीलाई होइन, कर्मीलाई, सकाम पुरुषलाई यहाँ 'अयुक्त' भनिएको छ । सकाम पुरुष नयाँ-नयाँ कमानाहरुले गर्दा फलमा आसक्त भएर जन्म-मरणरुप बन्धनमा पर्छ ।  कामना मात्रै गरेर कुनै पदार्थ पाइने होइन, पाइई हाले पनि त्यो पदार्थ सँधै हामीसँग रहने होइन । यस्तो कुरा आफूलाई अनुभव हुँदा हुँदै पनि पदार्थहरुको कामना गर्नु प्रमाद हो । 

पदार्थहरुलाई स्वरूपले नै छोड्नु पर्ने भन्ने आशय छैन गीताको । स्वरूपले छोडेर मुक्ति हुने भए प्राण गएका सबै व्यक्ति मुक्त हुन्थे । पदार्थ त आफ आफैं स्वरूपदेखि छुटी नै रहेका छन् ।  ती पदार्थमा हुने र भएका कामना, ममता र आसक्ति नै छोड्ने हो । किनकि पदार्थहरुसँग आसक्तिपूर्वक मानिएको सम्बन्ध नै बन्धनको कारण हो । कर्मयोगको आचरणवाट, (कर्महरुको प्रवाह खालि परहितकोलागि हुँदा) यो मानिएको सम्बन्ध पनि सजिलोसँग छुट्छ ।

साँचो भन्नु पर्दा, मुक्तिकोलागि अथवा परमात्मप्राप्तिकोलागि साधन गर्नु पनि फलासक्ति हो । हरेक काम फलको कामनाले गर्ने वानी नै परेको छ हाम्रो । यसैले प्राथमिक अवस्थामा मुक्तिकोलागि, परमात्मप्राप्तिकोलागि कर्म गर भन्छ शास्त्र । वास्तवमा साधन पनि असाधन मेटाउन नै हो । मुक्ति स्वतःसिद्ध छ । परमात्मा नित्यप्राप्त हुनुहुन्छ । परमात्मा प्राप्ति कुनै क्रियाको फल होइन । अतः केही गरे परमात्मप्राप्ति होला भन्ने इच्छा राख्नु पनि फलेच्छा हो ।

साधकले यो विचार गर्ने होइन -- 'मैले यो साधन गरें भने मलाई यो फल मिल्ला' । फलतिर दृष्टि हुनु नै फलासक्ति हो । यसले गर्दा वर्तमानमा गरिने साधन पनि ठीक हुँदैन । त्यसैले फल नहेरेर साधन हेर्नु पर्छ, तत्पर भएर साधन गर्नु पर्छ, त्यसपछि सिद्धि आफैं हुनेछ । यदि साधकले फल हेर्यो भने सिद्धि हुँदैन । 

'हामी निर्विकल्प, निष्काम भयौं भने धेरै सुख पाउँछौं' भनेर सुख लिने इच्छा पनि फलेच्छा नै हो । सस्तो इच्छाले साधकलाई निर्विकल्प, निष्काम हुन दिंदैन ।      

No comments:

Post a Comment