Saturday 29 November 2014

Gita: Chapter 5: Slok 11: श्लोक ११ कर्मयोगी आसक्तिको त्याग गरेर खालि इन्द्रियहरु, शरीर, मन र बुद्धिद्वारा अन्तःकरणको शुद्धिकोलागि मात्रै कर्म गर्छ ।

No. 151

श्लोक ११ 

कर्मयोगी आसक्तिको त्याग गरेर खालि इन्द्रियहरु, शरीर, मन र बुद्धिद्वारा अन्तःकरणको शुद्धिकोलागि मात्रै कर्म गर्छ ।

सम्पूर्ण पदार्थहरु भगवानमा अर्पण गर्नुपर्छ भन्ने बुद्धिले कर्म गर्ने व्यक्तिलाई भक्तियोगी भनिन्छ । तर संसारको सेवाकोलागि निष्कामभावले कर्म गर्ने व्यक्तिलाई कर्मयोगी भनिन्छ । कर्मयोगी आफ्नो भनिने शरीर, इन्द्रियहरु, मन, बुद्धिले कर्म गरिरहँदा पनि ती कर्महरु आफ्नो मान्दैन, संसारको नै मान्छ । किनकि शरीर आदिको एकता संसारसँग छ ।

हामीले आफ्नो मान्ने शरीर, इन्द्रियहरु, मन, बुद्धि कुनै पनि दृष्टिले आफ्ना होइनन्, हामीले पाइएका हुन्, त्यसैले हामीसँगवाट छुट्ने किसिमका हुन् । यिनीहरुलाई आफ्नो मान्नु सर्वथा भूल हो । यी सबैको संसारसँग स्वतःसिद्ध एकता छ । 

विचारपूर्वक हेर्दा, शरीर आदि पदार्थ कुनै पनि दृष्टिले हाम्रा आफ्ना होइनन् । मालिकको दृष्टिले हेर्दा यी भगवानका हुन्, कारणको दृष्टिले हेर्दा यी प्रकृति हुन्, र कार्यको दृष्टिले हेर्दा यी संसारका (संसारदेखि अभिन्न) हुन् । यसरी कुनै पनि दृष्टिले यिनलाई आफ्नो मान्नु, यिनमा ममता राख्नु हाम्रो भूल हो । ममता पूरापूर मेट्न नै यो श्लोकको तात्पर्य हो ।शरीर आदिको सम्बन्ध समष्टि संसारसँग छ । व्यष्टि कहिले पनि समष्टिसँग छुट्टै हुन सक्तैन ।यसैले व्यष्टि (शरीर आदि)सँग सम्बन्ध जोड्दा समष्टि (संसार)संग स्वतः सम्बन्ध जोडिन्छ । विवाह भएपछि अर्थात् सम्बन्ध जोडिएपछि केटाको अथवा केटीको सासु, ससुरा आदि ससुरालीका अथवा घरका सबै नाता गोतासँग जोडिए जस्तै संसारको कुनै पनि वस्तु (शरीर आदि)सँग सम्बन्ध जोडिएपछि अर्थात् ती वस्तुलाई आफ्नो मानेपछि पुरा संसारसँग सम्बन्ध आफैं जोडिन्छ । यहाँ, यो श्लोकमा शरीर, इन्द्रियहरु, मन, बुद्धि सबैमा ममता हटाउने प्रेरणा दिइएको छ । 

वास्तवमा कर्ताले आफू निर्मम हुनु नै आवश्यक छ । कर्ता स्वयं निर्मम भए शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि सबै ठाउँवाट ममता पूर्णरूपले मेटिन्छ । किनभने शरीर, इन्द्रियहरु, आदि स्वरूपसँग सर्वथा छुट्टै छन्; अतः यिनमा ममता केवल मानिएको हो, वास्तवमा ममता छँदै छैन ।

कर्मयोगको साधनामा कर्मफलको इच्छाको त्याग मुख्य छ । साधारण व्यक्ति फल प्राप्तिकोलागि कर्म गर्छन्, तर कर्मयोगी फलको आसक्ति मेटाउनकोलागि कर्म गर्छ । परन्तु शरीर, इन्द्रियहरु, मन, बुद्धि प्राणलाई आफ्नो मानी रहने व्यक्ति फलको इच्छा त्याग्नै सक्तैन । उसको भाव रहन्छ, शरीर आदि आफ्ना भएपछि तिनद्वारा गरिएका कर्मका फल पनि आफूलाई नै मिल्नु पर्छ । यसरी शरीर आदिलाई आफ्नो मान्दा कर्म  फलको इच्छा स्वतः उत्पन्न हुन्छ । फलको इच्छा मेट्न कहिले पनि शरीर आदिलाई आफ्नो मान्नु हुँदैन ।

वर्षा हुन्छ, प्राणीहरुको हित हुन्छ; तर वर्षालाई  'म वर्सन्छु, मेरो वर्षा हो, म वर्संदा अरुलाई  हित हुन्छ अथवा अरुलाई  दुःख हुन्छ' भन्ने भाव हुँदैन । यसैगरी इन्द्रियहरु द्वारा हुने हितमा पनि आफ्नोपनको भाव नहोस् । परन्तु शरीर, मन, बुद्धि, इन्द्रियहरुद्वारा कसैलाई राम्रो भयो, आफूले भनेको जस्तो भयो भने पनि यी क्रियाहरु थाहा पाउँदा मन, बुद्धिमा अनासक्ति रहेन भने ती क्रियाहरुसँग सम्बन्ध जोडियो, ममता भयो ।

साधारणतया मल, विक्षेप र आवरणको दोष हट्नुलाई अन्तःकरणको शुद्धि मानिन्छ । परन्तु वास्तविक शुद्धि अन्तःकरणको हो -- शरीर-इन्द्रियहरु, मन, बुद्धिवाट ममता पूर्णरूपले हट्नु । शरीर आदिले कहिले पनि भन्दैनन्, 'हामी तिम्रा हौँ र तिमीहरु हाम्रा हौ' । हामीले नै उनीहरुलाई आफ्नो मानेका हौँ । उनीहरुलाई आफ्नो मान्नु नै अशुद्धि हो । त्यसैले शरीर आदि प्रति अहंता-ममतापूर्वक मानिएको पूर्णतः अभाव नै आत्मशुद्धि हो ।

यो श्लोकमा शरीर-इन्द्रियहरु-मन-बुद्धि आफ्नो नमान्नु पर्ने कुरो आएको छ ।आफ्नोपन हटाउने उद्देश्य छ यहाँ । अन्तःकरणको शुद्धिकोलागि शरीर-इन्द्रियहरु-मन-बुद्धिलाई आफ्नो नमान्दा पनि यिनीहरुमा सूक्ष्मरूपले आफ्नोपन रहन सक्छ ।  त्यो सूक्ष्म अहम् पनि पूरापूर मेटिनु नै आत्मशुद्धि अर्थात् अन्तःकरणको शुद्धि हो ।

अहंतामा पनि ममता रहन्छ । ममता पूर्णतया मेटिएपछि ममतामा अहंता पनि नरहेपछि अन्तःकरणको सर्वथा शुद्धि हुन्छ ।

शरीर-इन्द्रियहरु-मन-बुद्धिमा रहने सूक्ष्म आफ्नोपन हटाउन कर्मयोगी कर्म गर्छन् । मनुष्य कर्म गरिरहँदा आफ्नोलागि कुनै प्रकारको सुख चाहन्छ अर्थात् फलको इच्छा राख्छ र शरीर, इन्द्रियहरु, मन आदि कर्म-सामग्रीलाई आफ्नो मान्छ, त्यो वेलासम्म ऊ कर्मबन्धनदेखि मुक्त हुन सक्तैन । यसैले कर्मयोगी फलको इच्छा त्यागेर र कर्म-सामग्रीलाई आफ्नो नमानेर अरुको हितकोलागि कर्म गर्छ । योगारूढ़ हुने इच्छा भएको मननशील योगीकोलागि अरुको हित हुने कर्म गर्नु नै हेतु भनिएको छ । यस्तो प्रकारले ऊ जति जति अरुको हितकोलागि कर्म गर्छ, त्यति त्यति उसको ममता-आसक्ति घट्दै जान्छ र अन्तःकरणको शुद्दि हुँदै जान्छ ।

अन्तःकरण शुद्ध गरेर हुने होइन; शुद्ध गर्न खोज्दा पनि अन्तःकरणसँग सम्बन्ध वनिरहन्छ । 'मेरो अन्तःकरण शुद्ध होस्' भन्ने भाव रहुन्जेल अन्तःकरणको शुद्धि हुन सक्तैन; किनकि ममता नै अन्तःकरणको मूल अशुद्धि हो । भगवानले यहाँ अन्तःकरणमा ममता नराख्ने कुरा गर्नुभएको छ । शरीर, इन्द्रियहरु, मन र बुद्धिमा ममताको पूर्णरूपले अभाव हुनु नै अन्तःकरणको शुद्धि हो । त्यसैले आफ्नो अन्तःकरणवाट ममता हटाउन नै कर्मयोगी अनासक्त भावले कर्म गर्छ । ऊ आफ्नोलागि कुनै कर्म गर्दैन । ममता राख्दा कर्म हुन्छ, कर्मयोग हुँदैन । आफ़्नोलागि कुनै कर्म नगर्दा कर्मयोगीको गति स्वरूपतिर हुन्छ ।

कर्मयोगी पहिले ममतारहित हुने उद्देश्य वनाएर कर्म गर्छ, त्यसपछि उसको उद्देश्यको सिद्धि हुन्छ ।                  

xx
मैले पहिले पनि निवेदन गरेकै हो, हामीले हालै अध्ययन गरिरहेको ज्ञान वैदिक ज्ञान हो ।
वैदिक ज्ञान हाम्रो सनातन संस्कृतिको अन्तिम ज्ञान हो । वेदले सबभन्दा पहिले कर्मकाण्ड पक्षको ज्ञान प्रस्तुत गर्छ, त्यसपछि उपासनाकाण्ड प्रस्तुत गर्छ, र अझ त्यसपछि ज्ञानकाण्ड प्रस्तुत गर्छ । यी तीन थरीका ज्ञान अधिकारी भेदले हाम्रो समझमा आउँछन् । भनाइको मतलव, पहिले शास्त्रले, अझ धर्मशास्त्रले आदेश गरेका पद्धति अनुसार हामीले आफ्नो जीवन चलाउनु पर्यो, त्यसपछि धर्मशास्त्र भन्दा माथिको ज्ञान (उपासना) द्वारा हामीले परमात्माको खोजी गर्नु पर्यो । धर्मशास्त्र अनुसार कर्म गर्दा हाम्रो कर्म शास्त्रीय त हुन्छ, तर हामीले गरिने कर्मको फलको अपेक्षा हामीमा हुन्छ । धेरैसम्म यसरी फलको आशा  लिएर हामी कर्म गर्छौं । हाम्रो आफ्नो श्रद्धा अनुसार हाम्रो कर्म सफल हुन्छ, कहिले असफल पनि हुन्छ । कर्म राम्रोसँग सम्पन्न भए हामीलाई पुण्य हुन्छ, पुण्यको फल सुख हुन्छ । हैन, कर्म गर्दा हामीमा श्रद्धामा कमी भए हामीलाई पाप लाग्ने भयो, हाम्रो कर्म असफल हुने भयो, असफल कर्मको फल दुःख हुने भयो । यही सुख र दुःखको भुमरीमा हामी परिरहने भयौं ।धेरै समय यस्तो धर्मशास्त्रीय कर्म गरिरहेपछि हामीलाई आफूले गरिरहेको कर्मवाट कुनै वेला वैराग्य हुन्छ । अहिलेसम्म कर्म र कर्मको फल, कि सुख, कि दुःखमा लागिरहने हामी आफूवाट भएको कर्ममा नै शंका गर्ने हुन्छौं । अव हामी कर्मको फलमा होइन कि हाम्रो कर्मको फल दिने भगवान कस्तो होला भन्ने खोजी गर्नतिर लाग्छौं । त्यो वेलादेखि हाम्रो उपासना शुरु हुन्छ । अव त्यो भगवानको दर्शनको प्रवल इच्छा उठ्छ हामीमा । त्यसपछि हामीलाई हाम्रा पुराणहरु हामीले इच्छा गरेको भगवानको वयान गर्छन् । त्यही वयानको क्रममा उहाँको रुप, गुण, ऐश्वर्य, ज्ञान, वैराग्य, सामर्थ्य आदिको चर्चा गर्छन् । यसो हुँदा भगवानमा हाम्रो आकर्षण र श्रद्धा वढ्दै जान्छ । जति जति श्रद्धा वढ्दै गयो, उति उति हामीमा शान्ति पनि वढ्दै जान्छ । तर यो शान्ति सँधै रहने नभएर आउने जाने स्वभावको अथवा कहिले हुने कहिले नहुने हुन्छ । यही शान्तिको अनुभव गर्दै, तर त्यो शान्तिको अस्थायीपनाको पनि अनुभव गर्दै हामीलाई कहिले पनि नहराउने शान्ति पाउने इच्छा जाग्रत हुन्छ । त्यो शान्तिकोलागि वेदले हामीलाई वेदको, उपनिषद् को र गीताको ज्ञान जान्न र सुन्न लगाउँछ । 

अहिले प्रस्तुत ज्ञानले परमात्मा यस्तो छ, उस्तो छ भन्दैन; त्यो परमात्मालाई हामीले आफ्नै विचार द्वारा जान्न र बुझ्न सिकाउँछ, बिभिन्न संकेतहरु द्वारा ।गुरुले आफ्नो उपदेश भन्दा त्यो परमात्माको कुरा नभनी त्यो परमात्मालाई ढाक्ने धेरै किसिमका कुरा भन्छन् । गुरु भन्छन्, 'परमात्मा जान्न तिमीले परमात्मा विरोधी धेरै झ्यास झुस हटाउनु पर्छ। ती झयास झुस हुन्, तिम्रा नै अन्तःकरणका राग द्वेष आदि आदि ।यसै गरी गुरुले आफ्नो ज्ञान र अनुभवद्वारा आफ्नो शिष्यलाई धेरै युक्ति र अनुभूतिले सम्झाउँछन्, आफ्नो शिष्यको अनेक शंकाहरु झर्को नमानीकन निवारण गरिदिन्छन् ।                                            
माथिका कुरावाट स्पष्ट हुन्छ, परमात्माको ज्ञान हुन हामीले हामीमा भएका दुर्गुण, खरावीहरु हटाउने कोशीश गर्नुपर्छ । वेदले भन्छ, 'तिमीहरु आफैं परमात्मा हौ, तिमीहरुको राग, द्वेष, आसक्ति, ममताले तिमीहरु आफूले नै आफूलाई चिन्न सकेनौ । विचार गर, प्रयास गर, श्रद्धा गर, विश्वास गर, आफूमा रहेको उर्जा तिमी आफैं विकसित गर । तिमीलाई आफ्नो स्वरूपको ज्ञान आफैं, आफैंमा हुन्छ । त्यो वेला तिमी आफूले आफैंलाई परमात्मा रहेछु भन्ने अनुभव गर्नेछौ ।'     

छोटोमा भन्नु पर्दा, आफ्नो स्थितिको मुल्यांकन हामी आफैंले गर्नु पर्यो, आफ्नो सामर्थ्य र कमजोरीको मुल्यांकन गर्न सक्ने साहस हामीमा हुनु पर्यो । पहिले आफूमा भएको सामर्थ्य खोज्न थाल्नु पर्यो, आफ्नो दोष पहिचान गरेर त्यो दोषलाई कसरी हटाउने भन्ने उपाय पनि खोज्नु पर्यो, त्यसपछि आफ्नो दोष हटाउन तयार पनि हुनु पर्यो र सफल हुनु पर्यो । आफ्नो दोषको विचार गरेर त्यो दोष मेट्ने क्रमलाई 'अन्तर्मुखी वृत्ति' भन्छन् । शास्त्र भन्छ, अन्तर्मुखी वृत्ति नभई हाम्रो साधना शुरु नै हुँदैन । साधना शुरु हुन ढिलो होला, तर यो साधना शुरु भएपछि यसले हाम्रो लक्षमा पुर्याएर नै छोड्छ हामीलाई । 

यस्तै छन् हजुर, मेरा कुरा, अरु पछि ।

No comments:

Post a Comment