Saturday 29 November 2014

Gita: Chapter 5: Slok 10: श्लोक १० भक्तियोगी सम्पूर्ण कर्महरु परमात्मालाई अर्पण गरेर र आसक्ति त्यागेर कर्म गर्छ, त्यो (भक्तियोगी) जलसँग कमलको पात जस्तो पापसँग लिप्त हुँदैन ।

No.150

श्लोक १० 

भक्तियोगी सम्पूर्ण कर्महरु परमात्मालाई अर्पण गरेर र आसक्ति त्यागेर कर्म गर्छ, त्यो (भक्तियोगी) जलसँग कमलको पात जस्तो पापसँग लिप्त हुँदैन । 

शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण आदि सबै भगवानका नै हुन्, आफ्ना हुँदै होइनन् । त्यसैले यीद्वारा हुने क्रियाहरुलाई भक्तियोगी आफ्नो कसरी मानोस् ?  त्यो भक्तियोगीको भाव रहन्छ, 'सबै क्रियाहरु भगवानद्वारा नै भइरहेछन् र भगवानकोलागि नै भइरहेछन्, म त निमित्त मात्र हुँ ।'   

भगवान नै मेरो इन्द्रियहरुद्वारा आफू नै सम्पूर्ण क्रियाहरु गर्नुहुन्छ -- यो कुराको ठीक-ठीक धारण गरेर सम्पूर्ण क्रियाहरुको कर्तापन भगवानमा नै मान्नु पर्छ भन्ने माथिका शब्दहरुको अर्थ हो ।

शरीर आदि वस्तुहरु आफ्ना हुँदै होइनन्, खालि मिलेका हुन् र हामीवाट छुटिरहेका छन्। यी त खालि भगवानकोलागि, भगवानको प्रीतिकोलागि, अरुको सेवा गर्नकोलागि हामीलाई उपलब्ध छन् । यी वस्तुहरुमा हाम्रो स्वतन्त्र अधिकार छैन अर्थात् यी वस्तुलाई आफ्नो इच्छा अनुसार न त हामी राख्न सक्छौं, न यी वस्तुलाई वदल्न सक्छौं, न हामी मर्दा यिनीहरुलाई सँगै लग्न सक्छौं । यसैले यी शरीर आदिलाई, यी द्वारा हुने क्रियाहरुलाई आफ्नो मान्नु इमान्दारी होइन । अतः हामीले हामीसँग भएका जसका हुन्, उसैको, अर्थात् भगवानको भन्ने मान्नु पर्छ ।
                  
सम्पूर्ण क्रियाहरु र पदार्थहरु कर्मयोगी 'संसार'लाई, ज्ञानयोगी 'प्रकृति'लाई र भक्तियोगी 'भगवान'लाई अर्पण गर्छ । प्रकृति र संसार -- दुबैको स्वामी भगवान हुनुहुन्छ । अतः क्रियाहरु र पदार्थहरुलाई भगवानमा अर्पण गर्नु नै श्रेष्ठ छ । 

कुनै पनि प्राणी, पदार्थ, शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण, क्रिया आदिमा अलिकति मात्रै पनि राग, खिंचाव, आकर्षण, लगाव, महत्व, ममता, कामना आदि नरहनु नै आसक्तिको पूरापूर त्याग हो ।

शास्त्रीय दृष्टिले 'अज्ञान' जन्म-मरणको कारण हुँदा हुँदै पनि साधनको दृष्टिले 'राग' नै जन्म-मरणको मुख्य हेतु हो । रागमा नै अज्ञान टिक्छ, यसैले राग मेटियो भने अज्ञान पनि मेटिन्छ । यो राग या आसक्तिवाट नै कामना उत्पन्न हुन्छ ।कामना नै सम्पूर्ण पापहरुको जड हो । यसैले यहाँ पापहरुको मूल कारण आसक्ति त्याग्ने कुरो आएको छ; किनकि यो आसक्ति रहँदा मनुष्य पापहरुदेखि वच्न सक्तैन र यो नरहँदा ऊ पापहरुसँग लिप्त हुँदैन। 

कुनै पनि क्रिया गर्दा, क्रियाजन्य सुख लिंदा तथा त्यो क्रियाको फलमा आसक्त रहँदा त्यो क्रियासँगको सम्बन्ध छुट्दैन, झन् झन् वढ्छ । कुनै पनि सानो र या ठूलो क्रियाको फलरूपमा कुनै वस्तु चाहनु मात्रै आसक्ति नभएर क्रिया गरेको समयमा पनि आफ्नो महत्वको, राम्रोपनको आरोप गर्नु र अरुले आफूलाई राम्रो भनोस् भन्ने भाव रहनु पनि आसक्ति नै हो । यसैले आफ़्नोलागि केही पनि गर्ने होइन । कुनै पनि कर्मवाट आफ्नोलागि कुनै किसिमको अलिकति मात्रै सुख पाउने इच्छा छ भने त्यो कर्म आफ्नोलागि हुन्छ । आफ्नो सुख-सुविधा र सम्मानको इच्छाको सर्वथा त्याग गरेर कर्म गर्नु पर्छ ।

भगवानको सम्मुख भएर भक्तियोगी संसारमा नै वसेर सम्पूर्ण कर्महरु भगवानमा अर्पण गरिरहँदा कर्महरुदेखि वाँधिंदैन । कमलको पात जलमा उत्पन्न भएर र जलमा रहेर पनि जलदेखि निर्लिप्त रहन्छ, त्यस्तै भक्तियोगी संसारमा वसेर सम्पूर्ण क्रियाहरु गरिरहँदा पनि भगवानको सम्मुख भएको कारण संसारमा सँधै, सबै प्रकारले निर्लिप्त रहन्छ ।

भगवानसँग विमुख भएर संसारको कामना गर्नु नै सबै पापहरुको मुख्य हेतु हो । कामना आसक्तिले उत्पन्न हुन्छ । आसक्तिको पूरै अभाव भयो भने कामना रहन सक्तैन, यसो हुँदा पाप हुने सम्भावना नै रहँदैन ।
  
अग्निसँग धुवाँ रहे जस्तै सबै कर्म कुनै-न-कुनै दोषले युक्त हुन्छन् । परन्तु आशा, कामना, आसक्ति त्याग गरेको व्यक्तिलाई यी दोषहरु लाग्दैनन् । आसक्तिरहित भएर भगवानकोलागि कर्म गरेको प्रभावले उसका सम्पूर्ण संचित पाप विलीन हुन्छन् । अतः भक्तियोगीलाई कुनै प्रकारको पापसँग सम्बन्ध रहँदैन । किनभने भक्तियोगी पाप-पुण्यरूपी फलदेखि कहिले पनि लिप्त हुँदैन अर्थात् बाँधिदैन । यहाँ यो श्लोकमा सगुण ईश्वरलाई 'ब्रह्म' भनिएको छ । तात्पर्य, ईश्वर सगुण, निर्गुण, साकार, निराकार सबै हुनुहुन्छ; किनकि उहाँ समग्र हुनुहुन्छ । समग्रमा सबै आउँछन् । तात्पर्य, 'सगुण' अन्तर्गत ब्रह्म, परमात्मा र भगवान -- तीनै पर्छन्, तर 'निर्गुण' अन्तर्गत केवल ब्रह्म मात्रै आउँछ, किनकि निर्गुणमा गुणहरुको निषेध छ । अतः निर्गुण सीमित छ र सगुण समग्र छ ।  

xx 
गीताको अहिले भइरहेको अध्ययन हामीहरुलाई कहिले त अलि boring पनि लाग्छ । त्यसैले हाम्रो वैदिक ज्ञान गुरुवाट सिक्नु पर्ने कुरा पनि आउँछ हाम्रो उपनिषद् हरु र गीतामा पनि । कुरा सत्य पनि हो, हाम्रो आफ्नो जीविकाकोलागि उपयुक्त ज्ञान सिक्न पनि हामीलाई गुरुहरुकहाँ नै जानु पर्छ भने यो ज्ञान सिक्न पनि गुरुको आवश्यकता पर्ने नै भयो हामीलाई । आफूले किताव पढ्दा त साधारण ज्ञान मात्रै बुझ्न सकिन्छ तर अरु ज्ञान बुझ्न त गाह्रो नै पर्छ हामीलाई । हामीलाई यस्तो पनि भ्रम छ, अहिले हामीले सकुन्जेल, शरीरमा वल रहुन्जेल त भौतिक ज्ञान नै लिने हो, भौतिक सुख गर्ने हो, भौतिक सम्पत्ति कमाउने हो, पछि, बुढो अथवा बुढी भएपछि मात्रै यता, धर्म कर्मतिर, तीर्थ व्रततिर लाग्ने हो । तर यो विचार अलि impractical जस्तो देखिन्छ । किनभने हामी बुढो भएपछि, हाम्रो कान सुन्न छोडेपछि, हाम्रा आँखाले राम्ररी देख्न छोडेपछि, हाम्रा खुट्टा राम्रोसँग हिंड्न नसक्ने भएपछि हामी कसरी यस्तो ज्ञानको अध्ययन गर्ने ? अहिलेसम्म संसारका गतिविधिमा चाख लिइरहेको हाम्रो बुद्धिले बुढो भएपछि विल्कुलै अर्कै विषय यो अध्यात्म कसरी बुझ्ने ? बुढो भएपछि, आफ्नो दैनिक क्रियाकलाप नै चलाउन अरुमा आश्रित हुनु पर्ने हाम्रो शरीरलाई लिएर हामीलाई तीर्थ, व्रत कसले लगिदिने, ज्ञानको चर्चा भइरहेको भएको ठाउँमा हामीलाई कसले पुर्याइदिने ? यस्तो कुरा सम्झंदा हाम्रो यो सोच त असम्भव नै हो जस्तो लाग्छ । 

शिवपुरी बाबाको जीवनी वारे लेखिएको The Long Pilgrimage भन्ने कितावमा उहाँ भन्नुहुन्छ, प्रत्येक व्यक्तिले यस्ता ज्ञानका कुराहरु भनौं, moral teachings भनौं, उसको जीवनको पाँच वर्षको उमेरदेखि नै सिक्नु पर्छ । एउटा अर्को foreigner को प्रश्नको जवाफमा उहाँ भन्नुहुन्छ, केही गरी उसले यो ज्ञान ढिलो सिक्न थाल्यो भने पनि अरुले पाँच वर्षदेखि के के सिकेका छन्, त्यो ढिलो सिक्ने व्यक्तिले पनि, पछि सिक्न थालेको भए पनि, ती सबै ज्ञान सिक्नु पर्छ । यसको अर्थ, हामीलाई भौतिक ज्ञान सिक्न प्रौढ कक्षामा जान पर्ने जस्तै भयो ।

मुख्य कुरो, अहिले मैले हजुरहरुलाई mail गरिरहेको ज्ञान सामान्य अवस्थामा, हाम्रो जीवन सुखमय, शान्तिमय किसिमले चलाउन निकै उपयोगी छ । यसले हामीलाई नैतिक जीवन विताएर, अर्को शब्दमा भन्नु पर्दा, धर्म शास्त्रले भनेको जस्तो जीवन विताएर वाँच्न सिकाउँछ । त्यही जीवन विताउँदा विताउँदै कहिले, कुनै वेला आफूलाई प्रतिकूल परिस्थिति आइपर्यो भने धैर्य लिएर आफ्नो जीवन अघि वढाउन सिकाउँछ । सानो सानो दुःख पर्दा नआत्तिन, उत्तेजित नहुन, आफूलाई आइपरेको घटनाको राम्रोसँग अध्ययन गरेर त्यही अनुसार समस्याको समाधान गर्ने शक्ति प्रदान गर्छ । पछि बुढेसकालमा पनि आफ्ना छोराछोरीसंग, आफ्ना नातापरिवारसँग कुनै किसिमले पनि आश्रित नभई शान्तिमय र आनन्दमय जीवन यापन गर्न सिकाउँछ । छोटोमा भन्नुपर्दा, एउटा सन्तको शब्दमा, यो ज्ञानले 'zero percent complain level ' मा वाँच्ने साहस र धैर्य दिन्छ । 

मेरो विचार यही हो हजुर । राम्रो लागे ग्रहण गरिदिनु होला । अरु त म के नै भन्न सक्छु र !  

No comments:

Post a Comment