Saturday 29 November 2014

Gita: Chapter 5: Slok 22: श्लोक २२ किनकि हे कुन्तिनन्दन ! इन्द्रियहरु र विषयहरुको संयोगवाट पैदा हुने भोग (सुख) आदि-अन्त हुने खालका र दुःखका नै कारण हुन् ।

No. 159

श्लोक २२ 

किनकि हे कुन्तिनन्दन ! इन्द्रियहरु र विषयहरुको संयोगवाट पैदा हुने भोग (सुख) आदि-अन्त हुने खालका र दुःखका नै कारण हुन् । अतः विवेकशील मनुष्य तिनमा रमाउँदैनन् । 

शब्द, स्पर्श, रुप, रस, गन्ध -- यी विषयहरुसँग इन्द्रियहरुको रागपूर्वक सम्बन्ध हुँदा प्रतीत हुने (देखिने) सुखलाई भोग भन्छन् । सम्बन्ध-जन्य अर्थात् इन्द्रिय-जन्य भोगमा मनुष्य कहिले स्वतन्त्र छैन । सुख-सुविधा र मान-वड़ाईमा प्रसन्न हुनु भोग हो । आफ्नो बुद्धिमा आदर भएको सिद्धान्तको प्रशंसा अर्को व्यक्तिवाट सुन्दा हुने प्रशंसावाट सुख हुने भएकोले त्यो पनि भोग नै हो । तात्पर्य, परमात्मा सिवाय समस्त प्रकृतिजन्य प्राणी, पदार्थ, परिस्थितिहरु, अवस्थाहरुद्वारा सुखको अनुभूति गर्नु भोग नै हो ।

शास्त्रनिषिद्ध (शास्त्रले मनाही गरेको) भोग कुनै पनि हालतमा त्याग्नु नै पर्ने छ, शास्त्र-विहित भोग पनि परमात्मप्राप्तिमा वाधा दिने भएकोले त्याग्नु पर्ने नै हो । कारण जडतासँग सम्बन्ध नभई भोग हुँदैन । तर परमात्मप्राप्तिकोलागि जड़तासँग सम्बन्ध-विच्छेद गर्नु आवश्यक छ ।

सम्पूर्ण भोगहरु आउने-जाने खालका छन्, अनित्य छन् र परिवर्तनशील छन् । यिनीहरु कहिले एकरूप हुन सक्तैनन् । तात्पर्य, यी भोगहरुको स्वयंसँग कुनै पनि अंशमा एकता छैन । भोग आउने-जाने स्वभावका हुन् र स्वयं सँधै रहने स्वभावको हो। भोग जड हो र स्वयं चेतन हो । भोग विकारी हो र स्वयं निर्विकार हो । भोगको आदि-अन्त हुन्छ र स्वयं आदि-अन्तदेखि रहित छ । यसैले स्वयंलाई भोगवाट कहिले सुख मिल्न सक्तैन । जीव परमात्माको अंश भएकोले उसलाई परमात्मावाट नै अक्षय सुख मिल्न सक्छ ।
                            
भोग आउने-जाने हुन् भन्ने तथ्यतिर ध्यान जाने वित्तिकै सुख-दुःखको प्रभाव कम हुन्छ । सबै सम्बन्ध-जन्य सुख दुःखका नै उत्पत्तिस्थान हुन् । सम्बन्धजन्य सुख दुःखवाट नै उत्पन्न हुन्छ र दुःखमा नै परिणत हुन्छ । पहिले वस्तुको अभावको दुःख हुन्छ, त्यसपछि त्यो वस्तु पाइंदा सुख हुन्छ | वस्तुको अभावको दुःख जति नै वस्तु पाइने सुख हुन्छ । 

भोगी व्यक्ति दुःखहरुवाट वच्न सक्तैन । कारण, भोग जडताको सम्बन्धले हुन्छ र जडताको सम्बन्ध नै जन्म-मरणरुप महान् दुःखको कारण हो ।

सम्पूर्ण विषयभोग आरम्भमा सुख जस्तो देखिए पनि परिणाममा दुःख नै दिने खालका हुन्छन् । भोगहरु भोगेपछि परिणाममा आफ्नो शक्तिको ह्रास र भोग्य-पदार्थहरुको नाश हुन्छ । यो परिणाम दुःख हो । 

अरु व्यक्तिहरुसँग आफ्नो भन्दा धेरै भोग देख्दा, आफ्नो इच्छानुसार पूरा भोग नमिल्दा, आफू भित्र भोगहरुको आसक्ति हुँदा पनि भोग भोग्ने सामर्थ्य नहुँदा तथा प्राप्त भोगहरु छुट्ने आशंकाले गर्दा भोगहरु आफूसँग रहँदा पनि हृदयमा सन्ताप रहन्छ । यो तापदुःख हो । 

कुनै कारणवश भोगहरुको वियोग हुँदा मनुष्य ती भोगहरु सम्झी सम्झी दुःखी हुन्छ । यो संस्कारदुःख हो ।

भोगहरुमा रुचि रहिरहेको कारण मन ती भोगहरु भोग्न चाहन्छ, तर, विवेकको कारण बुद्धि मनलाई ती भोगहरु भोग्नवाट रोक्छ । त्यस्तै सत्संग गरेको वेला तामसी वृत्तिले गर्दा निद्रा लाग्छ र निद्राको सुख मनुष्यलाई आफूतिर खिंच्छ, तर सात्विक वृत्तिले गर्दा उसलाई विचार आउँछ, अव सप्ताह गरौँ, किनकि यो मौका फेरि फेरि आउँदैन । यो गुणवृत्ति-विरोध हो । यसले साधकलाई धेरै दुःख हुन्छ ।

भोगहरु पाउनु आफ्नो वशको कुरा होइन; यसमा प्रारब्धको प्रधानता र आफ्नो परतन्त्रता छ । तर भगवानको प्राप्ति प्रत्येक मनुष्य गर्न सक्छ, किनकि उहाँको प्राप्तिकोलागि नै मनुष्यशरीर पाइएको हो । भोग त सबै मनुष्यलाई समानरूपले प्राप्त हुन सक्तैन, तर भगवान मनुष्यलाई समानरूपले प्राप्त हुन सकिनुहुन्छ । सत्ययुग आदिमा ठूला-ठूला ऋषिहरुले पाएको भगवान अहिले कलियुगमा  पनि सबैलाई प्राप्त हुन सक्छ । तर भोगहरुको प्राप्ति सँधैकोलागि हुँदैन र सबैकोलागि पनि हुँदैन । तर भगवानको प्राप्ति सँधैलाई र सबैलाई हुन्छ । तात्पर्य, भोगहरु (जडता)को प्राप्तिमा विभिन्नता रहि नै हाल्छ, तर तिनको त्यागमा सबै एक हुन्छन् । 

यो श्लोकमा भन्न खोजिएको हो, भोग दुःखको कारण हो, तिनमा सुख देखिंदा पनि वास्तवमा सुखको लेश पनि छैन । 

साधारण मनुष्यलाई भोगहरुमा देखिने सुख विवेकशील मनुष्यलाई  दुःखरुप नै हुन्छ । यसैले ऊ ती भोगहरुमा रमण गर्दैन, तिनीहरुको अधीन हुँदैन । 

विवेकी मनुष्यलाई यो कुराको ज्ञान रहन्छ, संसारका समस्त दुःख, सन्ताप, पाप, नरक संयोगजन्य  सुखमा नै आधारित छन् । आफ्नो यो ज्ञानको महत्व दिनाले नै ऊ बुद्धिमान हो । तर यदि कोही मनुष्य सबै भोग दुःखप्रद (दुःख दिने) छन् भन्ने जान्दा-जान्दै पनि ती भोगहरुमा नै रमण गर्छ भने ऊ वास्तवमा आफ्नो ज्ञानलाई पूर्णरूपले महत्व नदिएको कारण बुद्धिमान भनिन योग्य छैन । आफ्नो ज्ञानको महत्व दिने बुद्धिमान मनुष्य भोगहरुको कामना गर्न र त्यो भोगमा रमण गर्न सक्तैन ।

वस्तु, व्यक्ति र क्रियाको सम्बन्धले हुने सुख दुःखहरुको कारण हो । सुखको भोगीलाई नियमले दुःख भोग्नै पर्छ । सुखको आशा, कामना र भोगले वास्तवमा सुख पाइंदैन, दुःख नै पाइन्छ । भोगहरुको संयोग अनित्य र वियोग नित्य छ । मनुष्य अनित्यले अनित्यलाई महत्व दिएर नै दुःख पाउँछ । उसले विचार गर्नु पर्छ, के सुख खोजेर सुख पाइन्छ र दुःखको नाश हुन्छ ? सुखको इच्छा गर्दा न सुख पाइन्छ र न दुःख मेटिन्छ । दुःख हटाउन सुखको इच्छा गर्नु नै दुःखको जड हो । 

एउटा दुःखको भोग हुन्छ, एउटा दुःखको प्रभाव हुन्छ । मनुष्यले दुःखको भोग गरेको वेला उसमा सुखको इच्छा उठ्छ र उसमा दुःखको प्रभाव परेको वेला उसको सुखको इच्छा मेटिन्छ, सुखमा उसको अरुचि हुन्छ । दुःखको भोगले मनुष्य दुःखी हुन्छ र दुःखको प्रभावले ऊ दुःखवाट माथि उठ्छ । दुःखको प्रभावले ऊ दुःखमा तल्लीन नभएर त्यो दुःखको कारणमा विचार गर्न थाल्छ, 'मलाई दुःख किन पर्यो ?' विचार गर्दा उसलाई थाहा हुन्छ, सुखको आसक्ति सिवाय दुःखको अर्को कुनै कारण नै छैन । परिस्थिति पनि दुःखको कारण होइन, किनकि परिस्थिति एक क्षण पनि अड्न सक्तैन । कुनै प्राणी पनि दुःखको कारण छैन, किनकि ऊ हाम्रो पुरानो पापको नाश गरेर हामीलाई अझ वढी विकसित गर्छ । संसार पनि दुःखको कारण होइन; किनकि सबै परिवर्तन हामीलाई दुःख दिने नभएर विकासकोलागि नै हुन्छ । परिवर्तन नभए विकास कसरी हुने ? परिवर्तन नभई वीज कसरी वृक्ष हुने ? रज-वीर्यवाट शरीर कसरी वन्ने ? वालक जवान कसरी हुने ? मूर्ख विद्वान् कसरी हुने ? रोगी व्यक्ति निरोगी कसरी हुने ?  तात्पर्य, स्वाभाविक परिवर्तनले  विकास गर्छ । संसारमा परिवर्तन नै सार हो । परिवर्तन विना संसार एउटा अचल, स्थिर, चित्र जस्तो हुने थियो । त्यसैले परिवर्तन दोषी होइन, त्यसमा सुखबुद्धि गर्नु दोषी हो । भगवान पनि दुःखको कारण होइन, उहाँ त आनन्दघन हो, उहाँकहाँ दुःख नै छैन । 

विवेकी मनुष्य भोगहरुमा रमण गर्दैन; किनकि भोगहरुको कामना विवेकीहरुको नित्य वैरी हो । अविवेकीलाई भोग राम्रा लाग्छन्, किनकि दोषहरुमा गुणबुद्धि अविवेकले नै हुन्छ । सबै भोग दोषजनित हुन्छन् । अन्तःकरणमा कुनै दोष नभई कुनै भोग हुँदैन । दोष विवेकीलाई नै देखिन्छ । यसैले ऊ भोगहरुमा रमण गर्दैन अर्थात् तिनवाट सुख लिंदैन । 

विवेकी मनुष्य ऊसँग सँधै नरहने वस्तु खोज्दैन । आफ्नो विवेकले ऊ यो सत्य स्वीकार गर्छ, पाइएका वस्तु, व्यक्ति, योग्यता र सामर्थ्य मेरा होइनन् र मेरालागि पनि होइनन् । यति मात्र होइन, अनन्त सृष्टिमा मेरो र मेरोलागिका कुनै पनि वस्तु छैनन् । राम्रो भन्दा राम्रो वस्तु पनि सँधैकोलागि मेरा होइनन्, मसँग सँधै रहने होइनन् ।यसैले विवेकी मनुष्य यो गर्छ, सँधै मसँग नरहने वस्तु र व्यक्ति विना पनि सँधैकोलागि खुशीसाथ रहन सक्छु । 

No comments:

Post a Comment