Saturday 29 November 2014

Gita: Chapter 5: Slok 13: श्लोक १३ इन्द्रियहरु र मन वशमा भएका देहाधारी पुरुष नौ ढोका भएको (शरीररूपी) पुरमा सम्पूर्ण कर्महरु (विवेकपूर्वक) मनले नै त्यागेर निःसन्देह न गरी गरी र न गराई गराई सुखपूर्वक आफ्नो स्वरूपमा स्थित रहन्छ ।

No. 153

श्लोक १३ 

इन्द्रियहरु र मन वशमा भएका देहाधारी पुरुष नौ ढोका भएको (शरीररूपी) पुरमा सम्पूर्ण कर्महरु (विवेकपूर्वक) मनले नै त्यागेर निःसन्देह न गरी गरी र न गराई गराई सुखपूर्वक आफ्नो स्वरूपमा स्थित रहन्छ । 

इन्द्रियहरु, मन, बुद्धि आदिमा ममता-आसक्ति हुँदा नै यिनले मनुष्यमा आफ्नो अधिकार जमाउँछन् । हामीमा ममता आसक्ति भएन भने हाम्रा इन्द्रियहरू, मन, बुद्धि स्वतः आफ्नो वशमा रहन्छन् । यसैले त्यस्तो मनुष्यलाई यहाँ 'वशी' भनिन्छ । 

प्रकृतिको कुनै पनि कार्य (शरीर, इन्द्रियहरु) सँग मनुष्यको अलिकति मात्रै पनि प्रयोजन रहुन्जेल ऊ प्रकृतिको 'अवश' अर्थात् वशीभूत रहन्छ । प्रकृति सदैव क्रियाशील रहन्छ । अतः प्रकृतिमा सम्बन्ध वनिरहेको कारण मनुष्य कर्मरहित हुनै सक्तैन । परन्तु प्रकृतिको कार्य स्थूल, सूक्ष्म र कारण -- तीनै शरीरहरूदेखि ममता-आसक्तिपूर्वक कुनै सम्बन्ध नराखेकोले सांख्ययोगी ती क्रियाहरुको कर्ता वन्दैन । सांख्ययोगीको शरीरसँग कुनै पनि सम्बन्ध हुँदैन । तर अरुको दृष्टिमा ऊ शरीरधारी नै देखिन्छ । यसैले उसलाई (सांख्ययोगी) यहाँ 'देही' भनिएको हो । 

शब्द आदि विषयहरु सेवन गर्न दुई कान, दुई नेत्र, दुई नासिका छिद्र तथा एक मुख -- यी सात द्वारहरू शरीरको माथिल्लो भागमा छन् र मल-मूत्रको त्याग गर्न गुदा र उपस्थ -- यी दुई द्वार शरीरको तल्लो भागमा छन् । यी नौ ढोका भएका शरीरलाइ 'पुर' अर्थात् नगर भन्ने तात्पर्य, नगर र त्यसमा रहने मनुष्य -- दुवै छुट्टा-छुट्टै भए जस्तै यो शरीर र त्यसमा रहने जीवात्मा -- दुवै छुट्टा-छुट्टै हुन् । कुनै नगरमा वस्ने मनुष्य नगरमा हुने क्रियाहरुलाई आफ्ना क्रियाहरु भन्ने मान्दैन, त्यस्तै सांख्ययोगी शरीरमा रहने आफ्ना क्रियाहरुलाई आफ्ना क्रियाहरु मान्दैन ।

यही कारण, मनद्वारा विवेकपूर्वक क्रियाहरु त्याग्ने अर्थात् कर्तापनसँग मानिएको सम्बन्ध त्याग्ने । कर्तापनको सम्बन्ध जहाँवाट मानिएको हो, त्यहींवाट त्यो सम्बन्ध त्याग्ने । सांख्ययोगी आफूमा कर्तृत्व नमानेर त्यो कर्तापनलाई शरीरमा छोडिदिन्छ अर्थात् कर्तापन शरीरमा नै छ, आफूमा कहिले पनि छैन ।

सांख्ययोगीमा कर्तृत्व र कारयितृत्व दुवै हुँदैनन् अर्थात् ऊ गर्ने पनि होइन र गराउने पनि होइन। 

शरीर, इन्द्रियहरु, मन, बुद्धि आदिवाट अलिकति पनि अहंता-ममताको सम्बन्ध नहुनाले सांख्ययोगी ती द्वारा हुने क्रियाहरुको कर्ता आफूलाई मान्दैन । 

यहाँ एक शंका हुन सक्छ: जीवात्मा स्वयं कुनै कर्म त गर्दैन, किन्तु ऊ प्रेरक वनेर कर्म त गराउन सक्छ कि ? यसको समाधान: सूर्यनारायणको उदय हुँदा सम्पूर्ण जगत प्रकाशले भरिन्छ, सबै प्राणी आफ्ना आफ्ना काममा लाग्छन्, कोही खेति गर्छ, कोही वेदपाठ गर्छ, कोही व्यापार गर्छ । परन्तु सूर्य भगवान विहित या निषिद्ध कुनै पनि क्रियाको प्रेरक हुनुहुन्न । उहाँवाट सबैलाई प्रकाश मिल्छ, तर त्यो प्रकाशको कसैले सदुपयोग गरून् या दुरुपयोग, यसमा सूर्यनारायणको कुनै प्रेरणा छैन । यदि उहाँको प्रेरणा हुँदो हो त पाप-पुण्यकर्महरुको भागी पनि उहाँले नै हुनुपर्थ्यो । त्यस्तै, चेतनरूपवाट प्रकृतिलाई सत्ता र शक्ति त प्राप्त हुन्छ, तर त्यो चेतन शक्ति कुनै क्रियाको प्रेरक हुँदैन ।

सम्पूर्ण मनुष्यको स्वरूपमा स्वाभाविक स्थिति छ; परन्तु उनीहरु आफ्नो स्थिति शरीर, इन्द्रियहरु, मन, बुद्धि प्राण आदिमा मान्छन् । यही कारण उनीहरुलाई यो साधारण स्थितिको अनुभव हुँदैन । परन्तु सांख्ययोगीलाई निरन्तर स्वरूपमा आफ्नो स्वाभाविक स्थितिको अनुभव भइरहन्छ । स्वरूप सँधै सुख-स्वरूप छ । त्यो सुख अखण्ड, एकरस र परिच्छिन्नतादेखि रहित छ ।

एक वस्तुको अर्को वस्तुसँग रहेको जस्तो स्थिति स्वरूपमा हुँदैन । किनकि स्वरूप जस्ता-को-तस्तो विद्यमान रहन्छ । त्यो स्वरूपमा मनुष्यको स्थिति स्वतःस्वाभाविक छ; अतः त्यसमा स्थित हुन कुनै श्रम, उद्योग छैन । स्वरूपलाई जानेपछि स्वरूप नै स्वरूप वांकी रहन्छ । समस्त उत्पन्न तत्व त्यही स्वरूप, अनुत्पन्न तत्वको आश्रित छ । त्यो सबैको अधिष्ठानरुप तत्वलाई कुनै आधारको आवश्यकता छैन । 

तत्वप्राप्तिमा गर्ने भाव नै बाधक छ । गर्ने भावले नै कर्तृत्व आउँछ र कर्तृत्ववाट भोक्तृत्व आउँछ । क्रिया प्रकृतिमा छ, स्वरूपमा स्वतः अक्रियता छ । अतः गर्दा प्रकृतिसँग सम्बन्ध जोडिन्छ र केही नगर्दा स्वरूपमा स्वतः स्थिति हुन्छ । 'मलाई केही गर्नु छैन' भन्ने भाव पनि गर्ने अन्तर्गत छ । अतःगर्नमा पनि मतलव हुनु हुन्न र नगर्नमा पनि मतलव हुनुहुन्न ।स्वरूप गर्ने र नगर्ने -- दुवैदेखि रहित अर्थात् निरपेक्ष तत्व हो ।

गुणहरुको संगले नै जीव 'अवश' अर्थात् पराधीन हुन्छ । ज्ञानयोगले अवशता मेटिन्छ र जीव 'वशी' अर्थात् स्वाधीन, निरपेक्ष जीवन हुन्छ ।    

 xx 
हालै भइरहेको व्याख्या कहिले त बुझे जस्तो लाग्छ, कहिले अलि नबुझे जस्तो लाग्छ हामीलाई । कुनै वेला यस्तो पनि लाग्छ, यो ज्ञान सिकेर के हुन्छ ? नसिके पनि हुन्छ यो ज्ञान ! 

यसको उत्तर: मैले पहिलेदेखि निवेदन गर्दै आएको छु, हामीले होश सम्हालेदेखि नै यही संसारका पदार्थहरुलाई सत्य मान्दै आएका छौं । सत्य मान्दा मान्दै हाम्रा जीवनमा 'यो संसार सत्य होइन' भन्ने कति घटना घटिसके । त्यस्तो समयमा हामीलाई यो संसारमा सुख रहेनछ जस्तो पनि लाग्छ, तर हामीलाई संसारप्रतिको आकर्षण यति गाढा छ, हामी केही अघिको त्यो घटना भुसुक्कै भुल्छौँ र यही संसारको रमझममा नै लाग्न थाल्छौं । फेरि प्रश्न आउँछ, 'यसो गरे पनि के हुन्छ त ?' उत्तर: केही हुँदैन, तर हाम्रा अध्यात्म शास्त्रको उद्देश्य नै मनुष्यलाई दुःख, शोक, भयदेखि हटाउनु हो । त्यसैले हाम्रा अध्यात्म शास्त्रले यिनै कुरा बुझाउन साधकलाई मदत गर्छ । हामीलाई क्षण क्षणमा दुःख, शोक र भय भइरहने कुरो त हाम्रो अनुभव नै छ । कहिले शरीरमा रोग लाग्ने, कहिले आफ्नो मनले चिन्ता गर्ने, कहिले आफ्ना परिजनहरु हामीवाट छुट्ने अथवा उनीहरुलाई रोग आदि रोग लाग्ने ।

गम्भीर भएर विचार गर्दा यहाँ, यो संसारमा यहाँ जन्म लिएका समस्त प्राणीहरुलाई यही शोक, चिन्ता र भयले दुःख भइरहेको छ । यस्ता शोक हटाउन मनुष्यले, विचरा अरु प्राणीले त के नै गर्न सक्छन् र, धेरै समयदेखि केही न केही गरिरहेकै छ । संसारमा हुने र भएका सबै आविष्कारहरु सबै मनुष्य र पशु पक्षीका शारीरिक दुःख हटाउन नै भइरहेका छन् । अझ, मनुष्य अलि वढी विकसित प्राणी भएकोले ऊ हाम्रो मानसिक दुःख हटाउन पनि तत्पर भइरहेको छ । यही प्रसंगमा हाम्रा सनातन ग्रन्थहरु, वेद, पुराण आदिले हाम्रा मानसिक ताप (दुःख) हटाउन मदत गरिरहेछन् हामीलाई । 

विचार आयो, हामी 'सुख भयो, दुःख भयो' भन्छौं । अझ विचार गर्दै जाँदा, हामीले सोचेको अवस्था, पदार्थ र परिस्थिति र व्यक्ति हाम्रो अगाडि आउँदा हामी त्यसलाई सुख भन्दा रहेछौं, नसोचेको अवस्था, पदार्थ र परिस्थिति र व्यक्ति हाम्रो सामुन्ने आउँदा दुःख भन्दा रहेछौं हामी । यो अनुसार त यहाँका समस्त मनुष्यका सुख-दुःखका परिभाषा विल्कुल अलग अलग हुँदा रहेछन् । अव यस्तो, आफूले सोचेको दुःखदायी अथवा सुखदायी परिस्थितिमा आफूलाई विचलित नगर्ने र वढी उत्ताउलो नहुनु पर्ने रहेछ हामीले । अझ विचार गरौं, हामी आफैं आफ्नो सुखदायी र दुःखदायी परिस्थितिको कल्पना गर्छौं, त्यही परिस्थिति आओस् भन्ने विचार गर्छौं, केही गरी त्यस्तो परिस्थिति आइहाले पनि त्यो परिस्थिति सँधै रहिरहोस् भन्ने चाहन्छौं । कस्तो किसिमको भुलभुलैयामा वसेका रहेछौं हामी । 

सुख दिने परिस्थिति, अवस्था, पदार्थ र व्यक्ति जाँदै नजाओस् र दुःख दिने परिस्थिति र व्यक्ति आउँदै नआओस् भन्दा रहेछौं हामी । हाम्रो यस्तो हठी प्रवृत्तिलाई भगवान श्रीकृष्ण नै हाम्रो अगाडि आए पनि हाम्रो यस्तो सोचमा परिवर्तन होला त ! यस्तो अवस्थामा कसले कसलाई ज्ञानका कुरा गर्ने र कसले कसरी ज्ञानको कुरा सुन्ने र बुझ्ने ? अचम्म लागिरहेछ मलाई ।   

यस्तो परिस्थितिमा वसेको व्यक्तिको सोच वदल्न धर्मशास्त्र हामीसँग छन् । यस्ता धर्मशास्त्र, अर्को शब्दमा, हाम्रो मनोवैज्ञानिक उपचार गर्छन् । धर्मशास्त्रको काम पहिलो स्तरको (सिकिस्त) मनोरोगीको उपचार गर्छ । त्यो उपचार गर्ने प्रविधिलाइ (कर्मकाण्ड) भनिन्छ । त्यसपछि पालो आउँछ उपासनाकाण्डको प्रविधि जसले कर्मकाण्डीय प्रविधिको उपचारले अलि कति रोग कम भएको रोगीको उपचार गर्छ । अझ ज्ञानकाण्डीय प्रविधिले पूरै होश आइसकेको, आफूलाई भइरहेको उपचार पद्धतिमा सहयोग गरी लाभ पनि उठाइरहेको रोगीको उपचार गर्छ । 


यस्तै छन् हजुर, मेरा कुरा, अरु पछि । 

No comments:

Post a Comment