Saturday 29 November 2014

Gita: Chapter 5: Slok 8, 9: श्लोक ८, ९ तत्व जान्ने सांख्ययोगी देखिरहँदा, सुनिरहँदा, छोइरहँदा, सुंघिरहँदा, हिंडिरहँदा, ग्रहण गरिरहँदा (विषय सेवन गरिरहँदा),

 No. 149

श्लोक ८, ९ 

तत्व जान्ने सांख्ययोगी देखिरहँदा, सुनिरहँदा, छोइरहँदा, सुंघिरहँदा, हिंडिरहँदा, ग्रहण गरिरहँदा (विषय सेवन गरिरहँदा), वोलिरहँदा, (मल-मुत्र) त्याग गरिरहँदा, सुतिरहँदा, श्वास लिइरहँदा र आँखा खोलिरहंदा र आँखा चिम्लिरहँदा पनि 'सम्पूर्ण इन्द्रियहरु इन्द्रियहरुका विषयहरुमा व्यवहार गरिरहेछन्' भन्ने सम्झेर 'म (स्वयम्) कुनै व्यवहार गर्दिन' भन्ने मानोस् ।

यो श्लोक सांख्ययोगको विवेकशील साधककोलागि आएको छ । विवेकशील साधक तत्ववित् महापुरुषले जस्तो निर्भ्रान्त अनुभव गर्न तत्पर रहन्छ । उसमा यस्तो विवेक जागृत भएको हुन्छ, 'सबै क्रियाहरु प्रकृतिमा नै भइरहेका छन्, ती क्रियाहरुसँग मेरो कुनै पनि सम्बन्ध छँदै छैन ।' 

आफूमा अर्थात् स्वरूपमा कहिले अलिकति मात्रै पनि कुनै क्रियाको कर्तापन नदेख्ने व्यक्ति 'तत्ववित्' हो । उसमा नित्य-निरन्तर स्वाभाविक नै यस्तो सावधानी रहन्छ, 'स्वरूपमा कर्तापन छँदै छैन ।' प्रकृतिको कार्य शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण आदिसँग ऊ कहिले पनि आफ्नो एकता स्वीकार गर्दैन, त्यसैले ती द्वारा हुने क्रियाहरुलाई ऊ आफ्ना क्रियाहरु कसरी मान्न सक्छ ?

वास्तवमा माथि वर्णन गरिएको स्थिति सबै मनुष्यको हो; तर साधारण मनुष्य भूलले गर्दा स्वरूपलाई क्रियाहरुको कर्ता मान्छन् । परमात्माको समष्टि शक्तिले संसारका क्रियाहरु भए जस्तै त्यही समष्टि शक्तिले व्यष्टि शरीरका क्रियाहरु पनि भइरहेका छन् । परन्तु समष्टिको नै सानो अंश व्यष्टिसँग आफ्नो सम्बन्ध मानेको कारण मनुष्य व्यष्टिका केही क्रियाहरुलाई आफ्ना क्रियाहरु मान्न थाल्छ । यही मान्यता हटाउन भगवान भन्नुहुन्छ, साधकले आफूलाई कहिले पनि कर्ता नमानोस् । कुनै पनि अंशमा कर्तापनको मान्यता रहुन्जेल व्यक्तिलाई साधक मानिन्छ । आफूमा कर्तापनको मान्यताको सम्पूर्ण अभाव भएर आफ्नो स्वरूपको अनुभव भएपछि त्यही साधक तत्ववित् महापुरुष भनिन्छ ।सपना देखेर बिउँझिएको व्यक्तिको सपनासँग विल्कुल सम्बन्ध नरहे जस्तै तत्ववित् महापुरुषको शरीर आदिवाट हुने क्रियाहरुसँग विल्कुल सम्बन्ध (कर्तापन) रहँदैन । 

प्रकृति र पुरुषको विभाग अर्थात् गुण र क्रिया सबै प्रकृतिमा छन्, प्रकृतिदेखि अतीत तत्वमा गुण र क्रिया छैनन् भन्ने कुरा राम्ररी जान्ने व्यक्ति नै तत्ववित् हो । प्रकृतिदेखि निर्विकार तत्व सबैको प्रकाशक र सबैको आधार हो । सबैको प्रकाशक भए पनि यो तत्व प्रकाश्य अन्तर्गत ओतप्रोत छ । प्रकाश्य (शरीर आदि)मा मिसिएर रहे पनि प्रकाशक प्रकाशक नै हो र प्रकाश्य प्रकाश्य नै हो । त्यस्तै त्यो तत्व सबैको आधार हुँदा हुँदै पनि सबै (आधेय)को कण-कणमा व्याप्त छ; तर त्यो आधार कहिले पनि आधेय हुँदैन । कारण, प्रकाशक  र आधारमा गर्नु र हुनु नै छैन । गर्नु र हुनुरुप परिवर्तन त प्रकाश्य अथवा आधेयमा नै छ । यस्तो किसिमले प्रकाशक र प्रकाश्य र आधार र आधेयको भेद (विभाग) राम्ररी जान्ने व्यक्ति नै तत्ववित् हो । यही प्रकृति (क्षेत्र) र पुरुष (क्षेत्रज्ञ)को विभागलाई जान्ने कुरा भगवानले अरु अध्यायहरुमा भन्नु हुन्छ । 

यहाँ चर्चा भएका देख्ने, सुन्ने, स्पर्श गर्ने, सुँघ्ने र खाने आदि पाँच इन्द्रियहरुका क्रियाहरु ज्ञानेन्द्रियहरुका हुन् । हिंड्ने, ग्रहण गर्ने, वोल्ने र मल-मुत्रको त्याग गर्ने आदि पाँच क्रियाहरु कर्मेंद्रियहरुका हुन् । सुत्ने क्रिया अन्तःकरणको हो । स्वाश लिने क्रिया प्राणको र आँखा खोल्ने तथा चिम्लने क्रियाहरु 'कुर्म' नामक उपप्राणको हो ।

माथि उल्लिखित तेह्र क्रियाहरु ज्ञानेन्द्रियहरु, कर्मेन्द्रियहरु, अन्तःकरण, प्राण र उपप्राणवाट हुने सम्पूर्ण क्रियाहरु हुन् । तात्पर्य, सम्पूर्ण क्रियाहरु प्रकृतिका कार्य शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण आदि द्वारा नै हुन्छन्, स्वयं द्वारा होइन । अर्को कुरा, सांख्ययोगी द्वारा वर्ण, आश्रम, स्वभाव, परिस्थिति आदि अनुसार शास्त्रविहित शरीर-निर्वाहका क्रियाहरु -- खान-पान, व्यापार गर्ने, उपदेश दिने, लेख्ने, पढ्ने, सुन्ने, विचार गर्ने आदि क्रियाहरु हुँदैनन् भन्ने कुरा होइन । ऊ द्वारा पनि यी सबै क्रियाहरु हुन सक्छन् ।                                         

हामी आफूले जानेर अर्थात् मन-बुद्धिपूर्वक गर्ने क्रियाहरुको मात्रै आफूलाई कर्ता मान्छौं, जस्तो पढ्ने, लेख्ने, सोच्ने, देख्ने, भोजन गर्ने आदि । परन्तु धेरै क्रियाहरु हामी जानेर गर्दैनौं -- श्वास आउने-जाने, आँखाहरु खुल्ने र वन्द हुने आदि । त्यसो भए यी क्रियाहरुको कर्ता आफूलाई नमान्ने यो श्लोकमा कुरो कसरी भनियो ? यसको उत्तर हो, सामान्यरूपले श्वास आउने-जाने आदि क्रियाहरु स्वाभाविक हुने खालका छन्, किन्तु प्राणायाम आदिमा हामी श्वास लिने आदि क्रियाहरु जानेर नै गर्छौं । यस्तै आँखा खोल्ने र बन्द गर्ने क्रिया पनि जानेर नै गर्न सकिन्छ । यसैले यस्ता क्रियाहरुको कर्ता पनि आफूलाई नमान्ने आदेश गीता हामीलाई दिन्छ । अर्को कुरो, हामीले श्वास लिने, आँखा खोल्ने र बन्द गर्ने जस्ता क्रियाहरुलाई आफ्नो नमाने जस्तै अरु क्रियाहरु पनि स्वाभाविक मानेर तिनमा कर्तापन मान्नु हुँदैन । 

यहाँ वर्णन गरिएका तेह्र क्रियाहरु विना कुनै आधार हुन सम्भव छैन । यी क्रियाहरुले आश्रय लिनेमा अर्थात् यी क्रियाहरुका आधारमा कहिले कुनै क्रिया हुँदैन । यस्तै प्रकाशित हुने यी सम्पूर्ण क्रियाहरु कुनै प्रकाश विना सिद्ध हुन सक्तैन । यी क्रियाहरु प्रकाशित हुने प्रकाशमा कहिले कुनै क्रिया भएको छैन, हुँदै हुँदैन, हुने छैन, हुन नै सक्तैन र हुन सम्भव पनि छैन ।यस्तो यो तत्व सबैको आधार, प्रकाशक र स्वयं प्रकाशस्वरूप हो । यो प्रकाश सबैमा रहँदा पनि आफू केही गर्दैन । त्यो तत्वतर्फ लक्ष गराउनमा नै यी तेह्र क्रियाहरुको तात्पर्य हो ।

स्वरूपमा कर्तापन छँदै छैन भने ती क्रियाहरु कसरी र को द्वारा भइरहेका छन् ? यसको उत्तर छ, सम्पूर्ण क्रियाहरु इन्द्रियहरु द्वारा इन्द्रियहरुको विषयहरुमा नै भइरहेछन् । यहाँ भगवानको आशय इन्द्रियहरुमा कर्तृत्व वताउनुमा नभई स्वरूपलाई कर्तृत्वरहित (निर्लिप्त) वताउनुमा छ । 

इन्द्रियहरुका पाँच विषयमा नै इन्द्रियहरुको व्यवहार हुन्छ । सम्पूर्ण इन्द्रियहरु र इन्द्रियहरुका विषय प्रकृतिका कार्य हुन् । यही कारण इन्द्रियहरु द्वारा हुने सम्पूर्ण क्रियाहरु पनि प्रकृति द्वारा नै भइरहेका छन् । 

क्रियाको अर्थ हो -- परिवर्तन । परिवर्तनरुप क्रिया प्रकृतिमा नै हुन्छ । स्वरूपमा परिवर्तनरुप क्रिया अलिकति पनि छैन । किनकि प्रकृति निरन्तर क्रियाशील छ र स्वरूपमा कहिले क्रिया हुन सक्तैन । सबै क्रियाहरु प्रकाश्य हुन् र स्वरूप प्रकाशक हो ।

'म (स्वरूपले) कर्ता होइन' भन्दा 'म (स्वरूप) पहिले कर्ता थिएँ' भन्न खोजिएको होइन ।स्वरूपमा कर्तापन न वर्तमानमा छ, न भूतकालमा थियो, न भविष्यमा हुनेछ । सबै क्रियाहरु प्रकृतिमा नै भइरहेछन्; किनकि प्रकृति सँधै क्रियाशील र पुरुष अर्थात् चेतन-तत्व सँधै क्रियारहित छ । धेरै अघिदेखिको गल्तीले गर्दा चेतन प्रकृतिको क्रियाहरुसँग तादात्म्य गर्छ र ऊ प्रकृतिका क्रियाहरुलाई आफ्नो क्रियाहरु मान्न थाल्छ र ती क्रियाहरुको कर्ता स्वयं वन्छ ।

कुनै व्यक्ति चलिरहेको ट्रेनमा वसिरहेको छ, ऊ आफू हिंडिरहेको छैन । तर ट्रेन चलिरहेको कारण ऊ नहिंडिकन नै हिंडिरहेको हुन्छ । त्यस्तै, क्रियाशील प्रकृतिको कार्यरूप स्थूल, सूक्ष्म र कारण, कुनै पनि शरीरसँग स्वयंले आफ्नो सम्बन्ध मानेपछि ऊ (स्वयं) कर्म नगरी रहे पनि ती शरीरहरूमा हुने क्रियाहरुको कर्ता नभई रहन सक्तैन ।

सांख्ययोगी शरीर, इन्द्रियहरु, अन्तःकरणसँग आफ्नो सम्बन्ध मान्दैन । यसैले ऊ कर्महरुको कर्तापन आफूमा कहिले अनुभव गर्दैन । शरीर वालक अवस्थावाट जवान हुनु, हाम्रा कपालको रंग कालोवाट सेतो हुनु, हामीले खाएको अन्न पच्नु, शरीर वलियो अथवा निर्धो हुनु आदि क्रियाहरु स्वाभाविक (आफैं) हुन्छन् । त्यस्तै अरु सम्पूर्ण क्रियाहरु पनि स्वाभाविक हुने अथवा भइरहने अनुभव गर्छ सांख्ययोगी । ऊ आफूलाई कुनै पनि क्रियाको कर्ता भन्ने मान्दैन र अनुभव पनि गर्दैन ।

गीतामा स्वयंलाई कर्ता मान्नेहरुको निन्दा गरिएको छ । त्यस्तै शुद्ध स्वरूपलाई कर्ता मान्नेहरुलाई मलिन अन्तःकरण भएका र दुर्मति भनिएको छ । तर स्वरूपलाई अकर्ता मान्नेहरुको प्रशंसा गरिएको छ । साधकमा कर्तापनको भाव नरहेपछि ऊ द्वारा हुने कर्महरुको नाम 'कर्म' नरही 'क्रिया' रहन्छ । ती क्रियाहरुलाई केवल चेष्टा भनिन्छ ।

अर्को कुरा, स्वयंको शरीरसँग जति नै तादात्म्य भए पनि, शरीरसँग स्वयं जति नै घुलमिल गरे पनि र आफूलाई 'कर्ता हुँ' भन्ने स्वयंले जति नै माने पनि स्वयंमा कहिले कर्तृत्व आउँदै  आउँदैन, आउन पनि सक्तैन। किन्तु प्रकृतिसँग तादात्म्य गरेर यो स्वयं आफूमा कर्तृत्व मान्छ, किनकि यसमा कर्तृत्व मान्ने र नमान्ने सामर्थ्य छ, स्वतन्त्रता छ, यसैले यो स्वयं आफूलाई कर्ता पनि मानिदिन्छ र आफूतिर हेर्दा उसलाई आफ्नो अकर्तापनको अनुभव पनि हुन्छ ।यी दुई कुराहरु (आफूमा कर्तृत्व मान्नु र नमान्नु) हुँदा हुँदै पनि स्वयंमा कहिले पनि कर्तृत्व आउँदैन । यही कारण भगवान भन्नुहुन्छ, शरीरमा रहँदा पनि यो स्वयं न गर्छ, न लिप्त नै हुन्छ । भोक्ता त प्रकृतिस्थ (प्रकृतिमा रहेको) पुरुष नै वन्छ । गुणहरुको, क्रियाफलको भोक्ता वन्दा पनि ऊ (स्वयं) वास्तवमा आफ्नो स्वरूपदेखि कहिले पनि तल झर्दैन; तर आफ्नो स्वरूपतिर दृष्टि नरहँदा आफूमा लिप्तताको भाव पैदा हुन्छ । 

पुरुष स्वयं स्वरूपले निर्लिप्त छ; उसमा भोक्तापन छँदै छैन, हुनै सक्तैन, तैपनि सुख-दुःखको भोक्ता त स्वयं पुरुष (चेतन) नै वन्छ । अर्थात् सुखी-दुःखी त स्वयं पुरुष (चेतन) नै हुन्छ, जड हुँदैन । किनकि जडमा सुखी-दुःखी हुने शक्ति र योग्यता छैन । त्यसो भए पुरुषमा भोक्तापन छँदै छैन र सुख-दुःखको भोक्ता पुरुष नै वन्छ -- यी दुई कुरा कसरी भए ? भोग भोग्दा भोगाकार -- सुख-दुःखाकार वनेको वृत्ति प्रकृतिको हुन्छ र प्रकृतिमा नै हुन्छ । तर त्यो वृत्तिसँग तादात्म्य हुँदा सुखी-दुःखी हुनु अर्थात् 'म सुखी छु, म दुःखी छु' भन्ने मान्यता आफूमा स्वयं पुरुष नै गर्छ । किनकि यस्तो मान्यता पुरुष विना हुँदैन अर्थात् यस्तो मान्नु पुरुषमा नै हुन सक्छ, जडमा होइन। यो दृष्टिले पुरुषलाई भोक्ता भनिएको हो । सुखी-दुःखी हुनु आफूमा माने पनि अर्थात् सुखको वेला सुखी र दुःखको वेला दुःखी भन्ने मान्यता आफूमा गरे पनि पुरुष स्वयं आफ्नो स्वरूपले निर्लिप्त र सुख-दुःखको प्रकाशक मात्रै नै रहन्छ । यो दृष्टिले पुरुषमा भोक्तापन छँदै छैन र हुन पनि सक्तैन । कारण एकदेशीयपनले नै भोक्तापन हुन्छ र एकदेशीयपन अहंकारवाट हुन्छ । अहंकार प्रकृतिको कार्य हो प्रकृति जड छ; त्यसैले प्रकृतिको कार्य पनि जड नै हुन्छ अर्थात् भोक्तापन पनि जडमा नै हुन्छ ।यसैले भोक्तापन पुरुष (चेतन) मा छैन । यदि यो पुरुष सुखको वेला सुखी र दुःखको वेला दुःखी हुने भए यसको स्वरूप परिवर्तनशील नै हुने थियो । किनकि सुखको पनि आरम्भ र अन्त हुन्छ तथा दुःखको पनि आरम्भ र अन्त हुन्छ । त्यस्तै यो पुरुष पनि आरम्भ र अन्तवाला हुने थियो । तर यस्तो धारणा विल्कुल नै अनुचित छ । कारण कि गीताले पुरुषलाई अक्षर, अव्यय र निर्लिप्त भनेको छ र तत्वज्ञ पुरुषहरुले यसको स्वरूप एकरस, एकरूप मानेका छन् । यदि यो पुरुषलाई सुखको वेला सुखी र दुःखको वेला दुःखी हुने नै मान्ने हो भने पुरुष सँधै एकरस, एकरूप रहन्छ कसरी भन्ने ?

कर्म गरेको वेला अथवा नगरेको वेला -- दुवै अवस्थाहरुमा स्वरूपमा अकर्तापन जस्ता-को-तस्तै छ । यसैले तत्ववित् पुरुष अनुभव गर्छ, 'कर्म गर्दा पनि म उही थिएँ र कर्म नगर्दा पनि म उही रहें' भने कर्म गर्दा अथवा नगर्दा आफ्नो स्वरूप-(सत्ता)मा के फरक पर्यो ? अर्थात् स्वरूप त अकर्ता नै रह्यो । यस्तो प्रकारले प्रकृतिको परिवर्तनको ज्ञान (अनुभव) त सबैलाई हुन्छ, तर आफ्नो स्वरूपको परिवर्तनको ज्ञान कसैलाई पनि हुँदैन । सम्पूर्ण क्रियाहरुको स्वरूप निर्लिप्तरूपले , आधार र प्रकाशक हो । उसमा कहिले अलिकति मात्र पनि परिवर्तनको सम्भावना छैन । 

स्वरूपमा कहिले अभाव हुँदैन । उसले प्रकृतिसँग राग द्वारा तादात्म्य मान्छ, त्यसपछि उसलाई आफूमा अभावको अनुभव हुन्छ । त्यो अभाव पूर्ति गर्न ऊ पदार्थहरुको कामना गर्न थाल्छ । कामनाको पूर्तिकोलागि उसमा कर्तापन आउँछ; किनकि कामना नभई स्वरूपमा कर्तापन आउँदैन ।

प्रकृतिसँग सम्बन्ध नभई स्वयं कुनै क्रिया गर्न सक्तैन । कारण कि कर्म हुने करणहरु पनि प्रकृतिका नै हुन् । कर्ता करणको अधीन हुन्छ । जति नै सिपालु सुनार भए पनि ऊ हथौडी आदि औजार नभई कुनै क्रिया गर्न सक्तैन । त्यसै गरी कर्ता करणहरु विना कुनै कार्य गर्न सक्तैन । यस्तो किसिमले योग्यता, सामर्थ्य र करण -- यी सबै प्रकृतिमा नै  र प्रकृतिको सम्बन्धले आफूमा भए जस्तो लाग्छन् । यी तीनै घट्ने, वढ्ने गर्छन् र स्वरूप सँधै जस्ता-को-तस्तो रहन्छ । अतः यिनको स्वरूपसँग सम्बन्ध छँदै छैन । 

कर्तापन प्रकृतिको सम्बन्धले छ, यसैले आफूलाई कर्ता मान्नु परधर्म हो । स्वरूपमा कर्तापन छैन, यसैले आफूलाई अकर्ता मान्नु स्वधर्म हो । ब्राह्मण आफ्नो ब्राह्मणपनामा (म ब्राह्मण हुँ)मा निरन्तर स्थित रहे जस्तै तत्ववित् आफ्नो अकर्तापन (स्वधर्म)मा निरन्तर स्थित रहन्छ । 

विवेकशील ज्ञानयोगी पहिले ज्ञानेन्द्रियहरु, कर्मेन्द्रियहरु, अन्तःकरण तथा                       प्राणहरु द्वारा हुने क्रियाहरु गरिरहँदा पनि 'म स्वयं केही पनि गर्दिन' भन्ने मान्छ, त्यसपछि उसलाई त्यस्तै अनुभव हुन्छ । वास्तवमा चिन्मय सत्तामा न गर्नु छ, न हुनु छ ।स्थूल, सूक्ष्म र कारणशरीरवाट हुने सम्पूर्ण क्रियाहरु प्रकृतिमा नै हुन्छन, स्वयंमा होइन ।यही कारण स्वयंको कुनै पनि क्रियासँग सम्बन्ध छैन । 

अविवेकपूर्वक  अहंलाई आफ्नो मानेको अहंकारयुक्त व्यक्ति विवेकपूर्वक आफूलाई अहंदेखि छुट्टै अनुभव गरेपछि 'तत्ववित्' हुन्छ अर्थात् उसमा कर्तृत्व रहँदैन । ऊ निरन्तर चिन्मय तत्वमा नै स्थित रहन्छ । 

अहंकारले मोहित भएर स्वयंले भूलले आफूलाई कर्ता मान्यो र ऊ कर्मसँग तथा ती कर्मको फलसँग बाँधियो र चौरासी लाख योनिमा गयो । अव उसले आफूलाई अहंदेखि अलग मानेर आफूलाई कर्ता नमाने अर्थात् स्वयं वास्तवमा जस्तो छ त्यस्तै अनुभव गरे उसलाई तत्ववित् हुनमा आश्चर्य नै के छ ? तात्पर्य, असत्यलाई सत्य मान्दा त्यो असत्य पनि सत्य जस्तो देखिन लाग्छ भने सत्यलाई सत्य मानेर सत्य नै देखिन लाग्यो भने यसमा आश्चर्य नै के छ र ? 

वास्तवमा स्वयंले आफूलाई कर्ता-भोक्ता मानेको वेला पनि ऊ कर्ता-भोक्ता छैन । कारण, आफ्नो स्वरूप सत्ता मात्रै हो । सत्तामा अहं छैन र अहंको सत्ता छैन । अतः 'म कर्ता हुँ' भन्ने मान्यता जति दृढ भए पनि त्यो भूल नै हो । भूललाई भूल मान्ने वित्तिकै त्यो भूल मेटिन्छ । कुनै गुफाको सयौं वर्षको अन्धकार पनि प्रकाश गर्ने वित्तिकै तत्काल मेटिन्छ, त्यो अन्धकार हट्न धेरै वर्ष लाग्दैन । यसैले साधकले दृढताले यस्तो मान्नु पर्यो, 'म कर्ता होइन' । त्यसपछि यो मान्यता मान्यतारूपले नरहेर अनुभवमा परिणत हुन्छ ।

जड-चेतनको तादात्म्य हुँदा 'म'को प्रयोग जड (तादात्म्यरूप अहम्)कोलागि पनि हुन्छ र चेतन (स्वरूप)कोलागि पनि हुन्छ । जस्तो, 'म कर्ता हुँ' भन्दा जडतर्फ दृष्टि भयो र 'म कर्ता होइन' भन्दा (जडको निषेध हुँदा) चेतनतर्फ दृष्टि भयो । जडतर्फ दृष्टि भएको अर्थात् अहंलाई आफ्नो स्वरूप मान्ने अहंकारी हो र चेतनतिर दृष्टि भएको व्यक्ति तत्ववित् हो ।

साधकले वर्तमानमा 'म स्वयं केही गर्दिन' भनेर स्वयंलाइ अकर्ता अनुभव गर्ने चेष्टा  
गर्दा उसको अगाडि एउटा ठूलो समस्या आउँछ । उसलाई भूतकालमा आफूवाट भएका राम्रा कर्मको सम्झना आऊँदा ऊ प्रसन्न हुन्छ र भन्छ, 'मैले धेरै ठूलो काम गरें, खूव ठीक गरें ।' त्यस्तै, उसलाई आफूले गरेको निषिद्ध कर्मको याद आउँदा ऊ दुःखी हुन्छ र भन्छ, 'मैले धेरै नराम्रो काम गरें, ठूलो गल्ति गरें ।' यसरी भूतकालमा गरिएको कर्महरुको संस्कार उसलाई सुखी-दुःखी गर्छन् । तर स्वरूपमा कर्तापन न वर्तमानमा छ, न भूतकालमा थियो, न भविष्यमा नै हुनेछ । त्यसैले साधकले यो बुझ्नु पर्यो, वर्तमानमा स्वयं अकर्ता भए जस्तै भूतकालमा पनि ऊ अकर्ता नै थियो । किनकि वर्तमान नै भूतकालमा गएको हो । स्वरूप सत्ता मात्रै हो र सत्तामात्रमा केही गर्नु हुनै सक्तैन । कर्म खालि अहंकारले मोहित अन्तःकरण भएका पुरुष द्वारा नै हुन्छन् । साधकलाई भूतकालमा गरिएको कर्महरुको सम्झना आउँदा हुने सुख-दुःख, चिन्ता पनि वास्तवमा अहंकारको कारण नै हो । वर्तमानमा पनि अहंकारसँग आफ्नो सम्बन्ध मानेर नै साधक सुखी-दुःखी हुने हो । अहिले भूतकालको अभाव भए जस्तै भूतकालमा गरिएका कर्मको पनि अहिले अभाव छ । अझ विचार गर्यो भने भूतकालमा वर्तमानको अभाव भए जस्तै भूतकालको पनि अभाव थियो । यसै गरी, वर्तमानमा भूतकालको अभाव भए जस्तै वर्तमानको पनि अभाव छ । परन्तु सत्ताको भाव नित्य-निरन्तर छ । तात्पर्य, सत्तामा भूत, भविष्य र वर्तमान -- तिनैको सर्वथा अभाव छ । अहिले हामीले वर्णन गरिरहेको सत्ता कालदेखि अतीत छ । त्यसैले यो सत्ता कुनै कालमा पनि कर्ता होइन । त्यस्तो कालातीत र अवस्थातीत सत्तामा कुनै कालविशेष र अवस्थाविशेषलाई लिएर कर्तृत्व र भोक्तृत्वको आरोप गर्नु अज्ञान हो । त्यसैले भूतकालमा गरिएका कर्महरुको स्मृति अहंकारीको स्मृति हो, तत्ववित् को होइन ।

साधकको दृष्टि सत्तामा मात्र रहनु पर्छ । त्यो सत्ता चिन्मय भएकोले ज्ञानस्वरूप छ, र निर्विकार हुनाले आनन्दस्वरूप छ । त्यो आनन्द अखण्ड, शान्त, एकरस छ ।                           
शरीरसँग तादात्म्य भएपछि प्रत्येक क्रियामा स्वयंको मुख्यता रहन्छ, 'म हेर्छु, म सुन्छु' भन्ने । क्रिया हुन्छन् शरीरमा, तर मानिन्छन् आफूमा । स्वयंमा कुनै क्रिया छैन, स्वयम् गर्ने र नगर्ने दुवैदेखि रहित छ । यसैले शरीरद्वारा क्रिया हुँदा पनि सत्तामात्र आफ्नो स्वरूपमा दृष्टि रहनु पर्छ, 'म केही पनि गर्दिन ।'  

No comments:

Post a Comment