Saturday 29 November 2014

Gita: Chapter 5: Slok 7: श्लोक ७ सबै इन्द्रियहरु आफ्नो वशमा भएको, अन्तःकरण निर्मल र शरीर आफ्नो वशमा भएको साधकको सम्पूर्ण प्राणीहरुको आत्मा नै उसको

No148 

श्लोक ७ 

सबै इन्द्रियहरु आफ्नो वशमा भएको, अन्तःकरण निर्मल र शरीर आफ्नो वशमा भएको साधकको सम्पूर्ण प्राणीहरुको आत्मा नै उसको आत्मा हुन्छ । यस्तो साधकलाई कर्मयोगी भनिन्छ । यस्तो कर्मयोगी कर्म गरिरहँदा पनि लिप्त हुँदैन ।

इन्द्रियहरु वशमा हुनु भनेको -- हाम्रा इन्द्रियहरु राग-द्वेषदेखि रहित हुनु । राग-द्वेषदेखि रहित भएपछि मनलाई विचलित गराउने शक्ति इन्द्रियहरुम़ा  रहँदैन । साधक आफ्नो मनलाई जहाँ आवश्यक छ, त्यहीं लगाउन सक्छ ।  

कर्मयोगको साधकका इन्द्रियहरु आफ्नो वशमा हुनु धेरै जरूरी छ । यही कारण भगवान कर्मयोगको प्रकरणमा इन्द्रियहरु वशमा गर्नु पर्ने कुरोलाई विशेषरूपले भन्नुहुन्छ । कर्मयोगीको कर्महरुसँग धेरै सम्बन्ध रहन्छ; यसैले इन्द्रियहरु वशमा नभएको कर्मयोगी विचलित हुने सम्भावना रहन्छ । कर्मयोगको साधनमा अरुको हितकोलागि कर्तव्य-कर्म गर्नु पर्छ; यसकोलागि इन्द्रियहरु वशमा हुनु धेरै जरूरी छ । इन्द्रियहरु वशमा नभई कर्मयोगको साधन हुन धेरै गाह्रो छ ।

अन्तःकरणको मलिनतामा हेतु हो -- सांसारिक पदार्थहरुको महत्व । कामनाहरु रहने ठाउँ नै पदार्थहरुको महत्व भएको स्थानमा हो । साधकको अन्तःकरणमा सांसारिक पदार्थहरुको अलिकति मात्रै पनि महत्व नरहे ऊ निष्काम भइहाल्छ । पदार्थहरुको महत्व रहुन्जेल साधक कहिले पनि निष्काम हुन सक्तैन ।

परमात्मप्राप्तिको दृढ उद्देश्य भयो भने अन्तःकरणको चांडै शुद्धि हुन्छ । कर्मयोगमा शरीरको सुख-आराम त्याग्नु पर्ने ठूलो अवश्यकता छ । शरीरमा आलस्य, प्रमाद छ भने कर्मयोगको अनुष्ठान हुन पाउँदैन । यसैले यहाँ भगवानले शरीर वशमा गर्ने कुरो भन्नुभयो ।

कर्मयोगीलाई सम्पूर्ण प्राणीहरुसँग आफ्नो एकताको अनुभव हुन्छ । आफ्नो शरीरको कुनै अंगमा चोट लाग्दा अर्को अंग त्यो अंगको सेवा गर्न सजिलैसँग, कुनै अभिमान नगरी, कुनै कृतज्ञताको आशा नगरी आफैं लाग्छ, त्यस्तै कर्मयोगीद्वारा अरुलाई सुख पुर्याउने कोशीश सहजभावले, कुनै अभिमान र कामना विना, कृतज्ञताको अपेक्षा नै नगरी आफैं हुन्छ । उसले सेवा गर्दा कुनै पनि प्राणीलाई आफू भन्दा छुट्टै नै ठान्दैन, आफ्नो नै अंग मान्छ ।

आफ्नो शरीरमा भिन्न भिन्न अवयवमा भिन्न भिन्न व्यवहार भए पनि सबै अवयवसँग आफ्नोपन एउटा नै रहन्छ । त्यस्तै कर्मयोगी द्वारा मर्यादा अनुसार संसारमा यथायोग्य भिन्न-भिन्न व्यवहार हुँदा पनि सवैसँगको आत्मीयता समान रहन्छ । 

आफ्नो राग मेटाउन सबै प्राणीहरुसँग आफ्नो एकता मान्न धेरै जरूरी छ । कर्मयोगीको स्वभाव नै उदार हुन्छ । सबै प्राणीहरुसँग एकता नमानी उदारता आउँदैन हामीमा ।

हामी क्रिया र पदार्थसँग निरन्तर रहन सक्तैनौं । कारण कि क्रिया र पदार्थमा निरन्तर परिवर्तन हुन्छ, तर हामीमा (स्वरूप) कहिले परिवर्तन हुँदैन । यसै हुनाले क्रिया र पदार्थले निरन्तर हाम्रो त्याग गरिरहेछन् । हामी पनि यी पदार्थ र क्रियाको त्यागवाट नै मुक्ति पाउन सक्छौं, परमशान्ति पाउन सक्छौं । यी पदार्थ र क्रियासँग रहेर हामी मुक्ति, परमशान्ति पाउन सक्तैनौं, किनकि यिनीहरुसँग सँधै रहने स्वभाव हाम्रो होइन र यिनीहरुको स्वभाव पनि हामीसँग सँधै रहने होइन । यसैले क्रिया र पदार्थलाई अरुको सेवामा लगाउने हो । अरुको सेवामा हामीसँग भएका पदार्थ र क्रिया लगाऊँदा हामीले कुनै ठूलो काम गरेका होइनौं, यसो गर्नु त हाम्रो वास्तविकता हो, यो काम त हामीले गर्नै पर्छ । वास्तविकता सहज हुन्छ, यसमा परिश्रम र अभिमान हुँदैन ।अवस्ताविकतामा नै परिश्रम र अभिमान हुन्छ । 

हामीमा उदारता आएपछि नै क्रिया र पदार्थ अरुको सेवामा लाग्न सक्छन् । यहाँ ध्यान दिनुपर्ने कुरा -- उदारता हाम्रो स्वरूप हो । यसैले उदारतामा धन पनि खर्च गर्नु पर्दैन, परिश्रम पनि गर्नु पर्दैन । खालि यत्ति हो, सुखी व्यक्तिलाई देख्दा हामी सुखी हुनु पर्यो, दुःखीलाई देखेर हामी करुणित, दुःखी हुनु पर्यो । हृदयमा यस्तो करुणा उठ्नु पर्यो, 'यो व्यक्ति कसरी सुखी होला ?' सुखीलाई देख्दा सबै सुखी होऊन् भन्ने भाव हुनु पर्यो र दुःखीलाई देख्दा कसैलाई पनि दुःख नपरोस् भन्ने भाव हुनु पर्यो । 
                                     
भगवान भोग र संग्रहलाई साधनमा वाधा भन्नुहुन्छ । सुखीलाई देखेर प्रसन्न भइयो भने भोग भोग्ने इच्छा मेटिन्छ, किनकि भोग भोग्दा पाइने सुख भन्दा अरुलाई सुखी देखेर वढी मिल्छ, त्यसपछि भोग भोग्ने आवश्यकता हामीलाई रहँदैन । दुःखीलाई देखेर दुःखी हुँदा संग्रह गर्ने इच्छा हट्छ, किनकि आफ्नो दुःख हटाउन गरिने वस्तुहरुको संग्रह र खर्च स्वतः अरुको सेवामा दुःख हटाउनमा उपयोग हुन्छन् । आफूलाई  कुनै दुःख आइपर्दा त्यो दुःख हटाउने चेष्टा गरिए जस्तै अरुलाई दुःखी देख्दा आफ्नो शक्ति अनुसार उसको दुःख हटाउने चेष्टा आफैं हुन थाल्छ । 

प्रसन्नता र करुणामा विलक्षण रस छ । त्यो रस क्रिया र पदार्थसँग सम्बन्ध-विच्छेद गरेर जीवलाई परमात्मस्वरूप नित्य रससँग अभिन्न गराइदिन्छ । 

इन्द्रियहरु वशमा गरिएको, अन्तःकरण शुद्ध भएको, शरीर आफ्नो वशमा रहेको, र सम्पूर्ण प्राणीहरुको आत्मा नै आफ्नो आत्मा मान्ने व्यक्तिलाइ कर्मयोगी भनिन्छ ।    

साधनमा हाम्रो स्वाभाविक प्रवृत्ति नहुनुमा एउटा कारण हो -- उद्देश्य र रुचिमा भिन्नता । अन्तःकरणमा संसारको महत्व रहुन्जेल उद्देश्य र रुचिको संघर्ष हट्दैन । उद्देश्य अविनाशी परमात्माको हुन्छ र रुचि नाशवान् संसारको प्राणी, पदार्थ, परिस्थितिको हुन्छ । उद्देश्य र रुचि अभिन्न भएपछि मात्रै साधनले  आफैं रफ्तार लिन थाल्छ । यहाँ वर्णन गरिएको कर्मयोगीको उद्देश्य र रुचि अभिन्न हुन्छ अर्थात् उद्देश्य र रुचि अभिन्न भएको व्यक्ति परमात्मा नै हुन्छ । 

उत्पन्न र नष्ट हुने फल अलिकति मात्रै नचाहे कर्मयोग हुन्छ । फल र उद्देश्य दुवै भिन्न भिन्न हुन्छन् । कर्मयोगीमा फलको इच्छा त हुँदैन, तर उद्देश्य अवश्य हुन्छ ।कर्मयोगीको उद्देश्य सबैलाई प्राप्त हुने र सँधै सँगै रहने हुन्छ । यो दृष्टिले उसको उद्देश्य सँधै परमात्माको नै हुन्छ । परमात्मतत्व कुनै कर्म, अभ्यास आदिको फल होइन । फल उत्पन्न र नष्ट हुने वस्तु कर्मयोगी खोज्दै खोज्दैन, किनकि तिनीहरुप्रतिको चाहना परमात्मप्राप्तिमा वाधक हो । खालि परमात्माको उद्देश्य भएकोले कर्मयोगीलाई 'योगयुक्त' भनिन्छ ।

कर्मयोगी कर्म गरिरहँदा पनि कर्महरुसँग वाँधिंदैन । कर्मको बन्धनमा हेतु हो -- कर्महरुमा ममता, कर्महरुको फलको इच्छा, कर्मजन्य सुखको इच्छा तथा त्यो सुखको भोग र कर्तृत्वाभिमान । छोटोमा भन्नु पर्दा, कर्महरुवाट केही न केही पाउने इच्छा नै बन्धनको कारण हो । केही पनि पाउने इच्छा नभएकोले नै कर्मयोगी कर्म गरिरहँदा पनि बाँधिंदैन अर्थात् उसका समस्त कर्म अकर्म हुन्छन् ।

सांख्ययोगी 'गुणहरु नै गुणहरुमा व्यवहार गरिरहेछन्' भन्ने मानेर कर्महरुदेखि बाँधिंदैन, तर कर्मयोगी परहितकोलागि कर्म गरिरहँदा पनि कर्महरुदेखि बाँधिंदैन । खालि अरुकोलागि कर्म गरिंदा उसको कर्म पनि 'गुण नै गुणहरुमा व्यवहार गरिरहेछन्' जस्तै हुन्छन् । 

कर्मयोगी कर्म गर्दा निर्लिप्त त छ नै, कर्म नगर्दा पनि निर्लिप्त छ । उसलाई कर्म गर्नु र नगर्नुमा कुनै प्रयोजन रहँदैन । ऊ सँधै निर्लिप्त रहन्छ । 

सांख्ययोगी जडता त्यागेर चिन्मयतासँग आफ्नो एकता मान्छ र कर्मयोगी आफ्नो भनिने शरीर, मन, बुद्धि र तिनका क्रियाहरुलाई आफ्नो नमानेर केवल संसारको र संसारकोलागि मात्रै मान्छ ।  पदार्थ, मन, बुद्धि आदिलाई र तिनका क्रियाहरुलाई आफ्नो मान्दै नमानेर संसारको मात्रै मानेपछि ऊ द्वारा कसैको हित भयो भने, कसैलाई सुख पुग्यो भने, कसैको उपकार भयो भने ऊ 'मैले गरें' 'मवाट यस्तो भयो' भन्ने मान्दैन । यसैले ऊ कर्म गरिरहँदा कर्ता हुँदैन अर्थात् कर्महरुदेखि लिप्त हुँदैन ।

शरीर, इन्द्रियहरु, र अन्तःकरणसँग सम्बन्ध-विच्छेद भएको कारण कर्मयोगीलाई सम्पूर्ण प्राणीहरुसँग आफ्नो एकताको अनुभव हुन्छ । त्यसो हुनाले उसमा कर्तापन रहँदैन । कर्तापन नरहेपछि ऊ द्वारा हुने कर्म बन्धनकारक हुँदैनन् । 

No comments:

Post a Comment