Saturday 29 November 2014

Gita: Chapter 5: Slok 14: श्लोक १४ परमेश्वर (प्रभु) मनुष्यहरूको, न कर्तापनको, न कर्महरुको र न कर्मफलसँगको संयोगको नै रचना गर्नुहुन्छ; स्वभाव चाहिं चलिरहेछ ।

No. 154

श्लोक १४ 

परमेश्वर (प्रभु) मनुष्यहरूको, न कर्तापनको, न कर्महरुको र न कर्मफलसँगको संयोगको नै रचना गर्नुहुन्छ; स्वभाव चाहिं चलिरहेछ ।

सृष्टिको रचनाको कार्य सगुण भगवानको हो, यसैले यहाँ 'प्रभु' पद आएको छ । भगवान सर्वसमर्थ हुनुहुन्छ र सबैको शासक, नियामक हुनुहुन्छ । सृष्टिरचनाको कार्य गर्दा पनि उहाँ अकर्ता नै हुनुहुन्छ । 

कुनै पनि कर्मको कर्तापनको सम्बन्ध भगवानले वनाएको होइन । मनुष्य स्वयम् नै कर्महरुको कर्तापनको रचना गर्छ । सम्पूर्ण कर्म प्रकृतिद्वारा गरिन्छन्; तर मनुष्य अज्ञानवश प्रकृतिसँग तादात्म्य गर्छ र ऊ द्वारा हुने कर्महरुको कर्ता वन्छ । कर्तापनको सम्बन्ध भगवानले वनाएको हुँदो हो त भगवान यही अध्यायको आठौँ श्लोकको कुरा गर्नु  हुन्नथ्यो । तात्पर्य, कर्तापन भगवानले वनाएको होइन, जीवले आफूले मानेको हो । अतः जीव यो कर्तापनको त्याग गर्न सक्छ । 

भगवान अमुक जीवले अमुक शुभ या अशुभ गर्नु पर्नेछ भन्ने कुरा गर्नुहुन्न । यदि भगवानले यस्तो विधान गर्ने हो भने विधि-निषेध गर्ने शास्त्र, गुरु, शिक्षा आदि सबै व्यर्थ हुन्थे, उनीहरुको कुनै सार्थकता नै हुने थिएन र जीवले कर्मको फल पनि भोग्नु पर्ने थिएन । 
अर्को शब्दमा, मनुष्य आफूले मन लागेको कर्म गर्न स्वतन्त्र छ ।

आफुले जस्तो कर्म गरिन्छ, त्यसको फल जीवले भोग्नै पर्छ । जड भएकोले कर्म स्वयं आफ्नो फल भोगाउन असमर्थ छन् । अतः कर्महरुको फलको विधान भगवान गर्नु हुन्छ भन्छ गीता । भगवान कर्महरुको फल त दिनुहुन्छ, तर त्यो फलसँग सम्बन्ध भगवान जोड्नु हुन्न, जीव स्वयं जोड्छ । अज्ञानवश कर्महरुको कर्ता वनेर र कर्मफलमा आसक्त भएर जीव कर्मफलसँग सम्बन्ध जोड्छ र यसैवाट सुखी-दुःखी हुन्छ । यदि जीव स्वयंले कर्मफलसँग आफ्नो सम्बन्ध जोडदैन भने ऊ सुख-दुःखदेखि मुक्त हुन सक्छ । कर्मफलसँग आफ्नो सम्बन्ध नजोड़ने पुरुषलाई गीताको अठारौँ अध्यायमा 'संन्यासी' भन्ने नाम दिइन्छ । त्यस्ता संन्यासीलाई यो लोक या परलोकमा कर्मको फल मिल्दैन । यदि कर्मफलसँगको सम्बन्ध भगवानले जोड्ने भए जीव कहिले पनि कर्मफलवाट मुक्त हुने थिएन ।                         
यही सन्दर्भमा, भगवान हामीलाई भन्नुहुन्छ, 'तिमी कर्मफलको हेतु नवन ।' तात्पर्य, सुखी-दुःखी हुन अथवा नहुन र कर्मफलको हेतु वन्न अथवा नवन्न मनुष्यको हातमा छ । यदि कर्मफलको सम्बन्ध भगवानले वनाएको भए मनुष्य कहिले पनि सुख-दुःखमा सम हुन सक्ने थिएन र निष्कामभावले कर्म पनि गर्न सक्ने थिएन । 

कर्तापन, कर्म र कर्मफलको सम्बन्ध -- यी तीनै कुरा मनुष्य आफ्नो स्वभावको वशमा भएर गर्छ । स्वभावमा राग-द्वेष रहुन्जेल स्वभाव शुद्ध हुँदैन । स्वभाव शुद्ध नहुन्जेल जीव स्वभावको वशीभूत रहन्छ । 

प्रकृति अर्थात् स्वभावसँग जीवको सम्बन्ध मानिएको हो । यही मानिएको सम्बन्ध हाम्रो अन्तःकरणमा रहुन्जेल कर्तापन, कर्म र कर्मफलसँग संयोग रहिरहन्छ । यी तीनैसँग जीवको परतन्त्रता वनिरहन्छ । यो परतन्त्रता पनि जीवले वनाएको हो ।

माथिका पदहरुवाट भगवान भन्नुहुन्छ, कर्तृत्व, कर्म र कर्मफलसंयोग (भोक्तृत्व) -- यी सबै जीवले आफैंले वनाइएका हुन् । यसैले जीव स्वयं यिनलाई छोडेर निर्लिप्तताको अनुभव गर्न सक्छ ।                    

कर्तापन, कर्म र कर्मफलको संयोग परमात्माको सृष्टि होइन, जीवको सृष्टि हो । यसैले यिनलाई त्याग्ने जिम्मेवारी जीवमा छ ।

वास्तवमा संसारसँग सम्बन्ध-विच्छेद स्वाभाविक छ; परन्तु अस्वाभाविकतामा स्वाभाविकता देखेको हुनाले संसारको सम्बन्ध स्वाभाविक देखिन लाग्यो । यो स्वभाव स्वतः होइन, प्रत्युत वनाइएको (कृत्रिम) हो ।    
श्लोक १५ 
    
सर्वव्यापी परमात्मा (विभु) न कसैको पापकर्म र न कसैको शुभ-कर्म ग्रहण गर्नुहुन्छ, तर अज्ञानले ज्ञान ढाकिएको हुनाले सबै जीव मोहित भइरहेछन् ।      
यो भन्दा अघिल्लो श्लोकमा प्रभु भनिएको परमात्मालाई यो श्लोकमा विभु भनिएको छ । 

कर्मफलको भागी दुई किसिमले भइन्छ -- आफैं कर्म गर्ने र अरु द्वारा कर्म गराउने । तर परमात्मा न त कसैको कर्म गर्ने हो र न कर्म गराउने हो । त्यसैले उ कसैको पनि कर्मको फलभागी हुन सक्तैन ।

सूर्य सम्पूर्ण जगतलाई प्रकाश दिन्छ र त्यो प्रकाश अन्तर्गत मनुष्य पाप र पुण्य कर्म गर्छन्; तर ती कर्महरुसँग सूर्यको अलिकति पनि सम्बन्ध छैन । यस्तै परमात्मतत्ववाट प्रकृति सत्ता पाउँछ अर्थात् सम्पूर्ण संसार सत्ता पाउँछ । उसको सत्ता पाएर प्रकृति र प्रकृतिको कार्य संसार-शरीर आदि क्रियाहरु गर्छन् । ती शरीर आदिवाट हुने पाप-पुण्यहरुको परमात्मासँग कुनै पनि सम्बन्ध छैन । कारण, भगवानले सबै मनुष्यलाई स्वतन्त्रता दिनुभएको छ; अतः मनुष्य ती कर्महरुको फलभागी आफूलाई पनि मान्न सक्छ र भगवानलाई पनि मान्न सक्छ अर्थात् सम्पूर्ण कर्महरु र कर्मफलहरु भगवानलाई अर्पण पनि गर्न सक्छ । भगवानले दिनुभएको स्वतन्त्रताको दुरुपयोग गरेर कर्महरुको कर्ता र भोक्ता आफूलाई मान्ने व्यक्ति बन्धनमा पर्छ । त्यस्तो व्यक्तिको कर्म र कर्मफल भगवान स्वीकार गर्नुहुन्न । परन्तु भगवानवाट पाएको स्वतन्त्रता सदुपयोग गरेर कर्म र कर्मफल भगवानलाई अर्पण गर्ने व्यक्ति मुक्त हुन्छ । त्यो व्यक्तिको कर्म र कर्मफल भगवान ग्रहण गर्नुहुन्छ । 

सातौं अध्यायको पच्चीसौं श्लोकको 'सर्वस्य' पदले र छब्बिसौं श्लोकको 'कश्चन' पदले सामान्य मनुष्यहरूको कुरो भयो । यहाँ पनि 'कस्यचित्' पदले आफूलाई कर्ता र भोक्ता मानेर कर्म गर्ने सामान्य मनुष्यहरूको कुरो आएको छ, भक्तहरुको कुरो आएको छैन । कारण, भावग्राही भएकोले भगवान भक्तहरुद्वारा अर्पण गरिएका पत्र, पुष्प आदि पदार्थहरु र सम्पूर्ण कर्महरु ग्रहण गर्नुहुन्छ । 

स्वरूपको ज्ञान सबै मनुष्यहरुमा स्वतःसिद्ध छ; किन्तु अज्ञानद्वारा यो ज्ञान ढाकिएको छ ।त्यही अज्ञानले गर्दा जीवहरु मूढ भइरहेका छन् । आफूलाई कर्महरुको कर्ता मान्नु मूढता हो । भगवान द्वारा सम्पूर्ण मनुष्यलाई विवेक प्राप्त छ । यही विवेकले नै मूढताको नाश गर्ने हो । यसैले यही अध्यायमा केही अघि वर्णन गरिसकियो, सांख्ययोगीले कहिले पनि आफूलाई कुनै कर्मको कर्ता नमानोस् र त्यसपछि पनि भनिएको छ, साधकले सम्पूर्ण कर्महरुको कर्तापन विवेकपूर्वक मनले छोडिदिनु ।

शरीर आदि सम्पूर्ण पदार्थहरुमा निरन्तर परिवर्तन भइरहेछ । स्वरूपमा कहिले कुनै परिवर्तन हुँदैन । स्वरूपले अपरिवर्तनशील हुँदा पनि आफूलाई परिवर्तनशील पदार्थहरुसँग एकता मान्नु अज्ञान हो । शरीर आदि सबै पदार्थ वदलिइरहेका छन् -- यस्तो अनुभव भएको स्वयं कहिले वदलिंदैन। यसैले स्वयं वदलिइएको अनुभव कसैलाई हुँदैन । अतः 'म वदलिने होइन' भनेर परिवर्तनशील पदार्थहरुसँग आफ्नो असंगताको अनुभव गर्यो भने अज्ञान मेटिन्छ र तत्वज्ञान स्वतः प्रकाशित हुन्छ । कारण कि प्रकृतिको कार्यसँग आफ्नो सम्बन्ध मानी रहेर नै अज्ञान ढाकिइरहेको हो । 

अज्ञान शब्दको अर्थ ज्ञानको अभाव नभएर अल्पज्ञान अर्थात् अधूरो ज्ञान भन्ने बुझिन्छ ।किनकि ज्ञानको अभाव कहिले पनि हुँदैन, चाहे त्यो ज्ञानको अनुभव होस् या नहोस् । यसैले अधूरो ज्ञानलाई नै अज्ञान भनिन्छ । इन्द्रियहरु र बुद्धिको ज्ञान नै अधूरो ज्ञान हो । यही अधूरो ज्ञानलाई महत्व दिंदा, यसको प्रभाववाट प्रभावित हुँदा वास्तविक ज्ञानतिर दृष्टि नै जाँदैन । यसैलाई अज्ञान द्वारा ज्ञान ढाकिने भनेको हो ।

इन्द्रियहरुको ज्ञान सीमित छ । इन्द्रियहरुको ज्ञान भन्दा बुद्धिको ज्ञान असीम छ । परन्तु बुद्धिको ज्ञान मन र इन्द्रियहरुको ज्ञान (जान्नु र नजान्नु)लाई मात्रै प्रकाशित गर्छ । बुद्धि नै प्रकृतिको कार्य र बुद्धिको कारण प्रकृति भएको हुनाले बुद्धिले प्रकृतिलाई प्रकाशित गर्न सक्तैन । बुद्धिले प्रकृतिलाई नै प्रकाशित गर्न नसक्ने भएपछि प्रकृति भन्दा अतीत चेतन तत्वलाई यो बुद्धिले कसरी प्रकाशित गर्न सक्ला ? यही कारण बुद्धिको ज्ञानलाई अधूरो ज्ञान भनिएको हो । 

भगवानले मनुष्यलाई 'जन्तु' भन्नु भएको कारण मनुष्यले आफूले पाएको विवेकलाई महत्व नदिनाले नै हो, किनकि विवेक नभएको मनुष्य र पशुमा कुनै अन्तर छैन । आकृतिले मात्रै कोही मनुष्य हुँदैन । आफ्नो विवेकलाई महत्व दिने व्यक्ति नै मनुष्य हो । इन्द्रियहरुद्वारा भोग त पशु पनि भोग्छन्, तर ती भोगहरु भोग्नु मनुष्य-जीवनको लक्ष होइन । मनुष्य-जीवनको लक्ष सुख-दुःखदेखि रहित तत्व प्राप्त गर्नु हो । आफ्नो कर्तव्य र अकर्तव्यको ठीक-ठीक ज्ञान हुने साधक नै मनुष्य भनिन योग्य छ ।      

आफूलाई कर्महरुको कर्ता मान्नु तथा कर्मफलमा हेतु वनाएर सुखी-दुःखी हुनु नै अज्ञानले मोहित हुनु हो । हामीलाई पाप-पुण्य गर्नु पर्छ । यिनवाट हामी कसरी छुट्न सक्छौं र ? सुखी-दुःखी हुनु हाम्रो कर्महरुको फल हो; यिनवाट हामी कसरी पार हुन सक्छौं र ? यस्तो किसिमको धारणा वनाउनु नै अज्ञानले मोहित हुनु हो । 

जीव स्वरूपले अकर्ता तथा सुख-दुःखदेखि रहित छ । केवल आफ्नो मूर्खताले गर्दा ऊ कर्ता वन्छ र कर्मफलसँग सम्बन्ध जोडेर सुखी-दुःखी हुन्छ । यही मूढताले अज्ञानी मनुष्य सुखी-दुःखी भइरहेछन् । 

सूर्यलाई ढाक्ने सामर्थ्य अन्धकारको नभए जस्तै अज्ञानमा ज्ञान ढाक्ने सामर्थ्य हुँदैन ।अस्वाभाविकलाई स्वाभाविक मानियो -- यही अज्ञान हो ।  यही अज्ञानवाट मनुष्य मोहित हुन्छ । त्यसैले अज्ञानद्वारा ज्ञान ढाकिने कुरो केवल मूढताले गरिएको मान्यता हो, वास्तविकता होइन । मनुष्य चाहन्छ भने आफ्नो विवेकलाई महत्व दिएर आफूमा भएको मूढता मेट्न सक्छ । 

बास्तवमा ढाकिने ज्ञान होइन, बुद्धि ढाकिने हो । तर मनुष्य ज्ञान ढाकिने मानिदिन्छ ।अज्ञान अभावरुप हो, यसको सत्ता नै छैन । अभाव द्वारा आवरण हुन सक्तैन । अतः उल्टो ज्ञान अर्थात् अस्वाभाविकतामा स्वाभाविकताको आरोप नै अज्ञान हो ।अस्वाभाविकता हटेर स्वाभाविकता भएपछि परमात्मासँग एकताको अनुभव हुन्छ ।व्यक्तित्व नै पाप-पुण्य, सुकृत-दुष्कृत ग्रहण गर्छ । अतः सर्वव्यापी परमात्मासँग एकताको अनुभव भएपछि अर्थात् व्यक्तित्व मेटिएपछि पाप-पुण्यको ग्रहण हुँदैन ।

अज्ञान अर्थात् उल्टो ज्ञान (अस्वभाविकमा स्वाभाविक बुद्धि)ले गर्दा मनुष्य 'जन्तु' हुन्छ । यसै गरी जडसँग सम्बन्ध मानेको कारण जीव 'जगत्' (जड) हुन्छ । 

आफूसँग मिलेजुलेको परमात्मालाई आफ्नो मानियो र आफ़ूदेखि छुट्टै शरीरलाई आफूसँग मिलेजुलेको मानियो -- यही नै अज्ञान हो ।   

No comments:

Post a Comment