Saturday 29 November 2014

Gita: Chapter 5: Slok 20: श्लोक २० आफूलाई प्रिय, मन लागेको, पाउँदा हर्षित नहुने र र अप्रिय, मन नलागेको पाउँदा उद्विग्न नहुने,

No. 158

श्लोक २०

आफूलाई प्रिय, मन लागेको, पाउँदा हर्षित नहुने र र अप्रिय, मन नलागेको पाउँदा उद्विग्न नहुने, नआत्तिने, स्थिर बुद्धि भएको, मूढ़ताले रहित ज्ञानी तथा ब्रह्म जान्ने मनुष्य ब्रह्ममा स्थित छ ।

शरीर, इन्द्रियहरु, मन, बुद्धि, सिद्धान्त, सम्प्रदाय, शास्त्र आदि अनुकूल प्राणी, पदार्थ, घटना, परिस्थिति पाइनु नै 'प्रिय' पाइनु हो । 

शरीर, इन्द्रियहरु, मन, बुद्धि सिद्धान्त, सम्प्रदाय, शास्त्र आदि प्रतिकूल प्राणी, पदार्थ, घटना, परिस्थिति आदि पाइनु नै 'अप्रिय' पाइनु हो । 

प्रिय अथवा अप्रिय पाइंदा पनि साधकको अन्तःकरणमा हर्ष र शोक हुनु हुँदैन । यो श्लोकमा उल्लिखित प्रिय र अप्रियको प्राप्तिको अर्थ यो होइन, साधकको हृदयमा अनुकूल या प्रतिकूल प्राणी र पदार्थहरुप्रति राग या द्वेष छ । तर, यहाँ ती प्राणी र पदार्थहरुको प्राप्तिको ज्ञानलाई नै प्रिय र अप्रियको प्राप्ति भनिएको हो । प्रिय र अप्रियको प्राप्तिको ज्ञान हुनु कुनै दोष होइन । अन्तःकरणमा तिनको प्राप्ति या अप्राप्तिको असर पर्नु अर्थात् हर्ष-शोक आदि विकार हुनु नै दोष हो ।

प्रियता र अप्रियताको ज्ञान त अन्तःकरणमा हुन्छ, तर हर्षित र उद्विग्न कर्ता हुन्छ । अहंकारले मोहित अन्तःकरण भएको व्यक्ति प्रकृतिका करणहरुद्वारा  हुने क्रियाहरु लिएर 'म कर्ता हुँ' भन्ने मान्छ र हर्षित र उद्विग्न भइरहन्छ । परन्तु मोह हटेको व्यक्ति, तत्ववेत्ता, 'गुण नै गुणहरुमा व्यवहार गरिरहेछन्' भन्ने जानेर आफूमा (स्वरूपमा) वास्तविक अकर्तृत्वको अनुभव गर्छ । स्वरूप हर्षित र उद्विग्न हुन सम्भव नै छैन ।

स्वरूपको ज्ञान आफूद्वारा आफूलाई नै हुन्छ । यसमा ज्ञाता र ज्ञेयको भाव रहँदैन। यो ज्ञान करण-निरपेक्ष हुन्छ अर्थात् यसमा शरीर, इन्द्रियहरु, मन, बुद्धि, -- कुनै करणको पनि आवश्यकता छैन । करणहरुवाट हुने ज्ञान स्थिर तथा सन्देहरहित हुँदैन, यसैले यो ज्ञान अल्पज्ञान हो । परन्तु स्वयं (आफ्नो हुनुपन)को ज्ञान स्वयंलाई नै हुने हुनाले त्यसमा कहिले परिवर्तन या सन्देह हुँदैन । यस्तो करण-निरपेक्ष ज्ञानको अनुभव भएको व्यक्तिको, उसको भनिने बुद्धिमा यो ज्ञान दृढताले रहेको हुन्छ कि उसलाई त्यो ज्ञानमा कहिले पनि विकल्प, सन्देह, विपरीत भावना, असम्भावना हुँदै हुँदैन । यसैले यस्तो व्यक्तिलाई 'स्थिरबुद्धि' भनिएको हो । 

सदा-सर्वदा सर्वत्र विद्यमान परमात्मतत्वको अनुभव नहुने र स्वतन्त्र सत्ता नै नभएको र उत्पत्ति-विनाशशील संसारलाई सत्य मान्ने मूढता सामान्य मनुष्यमा रहन्छ । यस्तो मूढ़ताको सर्वथा अभाव भएको व्यक्तिलाई 'असम्मूढ़' भनिन्छ । 

परमात्मादेखि छुट्टै भएर परमात्माको अनुभव हुँदैन । परमात्माको अनुभव हुन अनुभविता, अनुभव र अनुभाव्य -- यस्तो त्रिपुटी रहँदैन; त्रिपुटी रहित अनुभव मात्र (ज्ञानमात्र) रहन्छ । वास्तवमा ब्रह्म जान्ने को हो -- यो वताउन सकिंदैन । कारण, ब्रहम जान्ने ब्रह्मदेखि अभिन्न हुन्छ । यसैले ऊ आफूलाई ब्रह्मवित् नै मान्दैन अर्थात् उसमा 'म ब्रह्म जान्दछु' भन्ने अभिमान रहँदैन ।

वास्तवमा सबै प्राणी तत्वले नित्य-निरन्तर ब्रह्ममा नै स्थित छन्; परन्तु भूलले आफ्नो स्थिति शरीर, इन्द्रियहरु, मन, बुद्धिमा नै मानिरहेको कारण मनुष्यलाई ब्रह्ममा आफ्नो स्वाभाविक स्थितिको अनुभव हुँदैन । ब्रह्ममा आफ्नो स्वाभाविक स्थितिको अनुभव भएका महापुरुषलाई यहाँ 'ब्रह्ममा स्थित भएको' भनिएको छ । यस्तो महापुरुषलाई प्रत्येक परिस्थितिमा नित्य-निरन्तर ब्रह्ममा आफ्नो स्वाभाविक स्थितिको अनुभव भइरहेको हुन्छ ।

एक वस्तुको अर्को वस्तुमा हुने स्थिति जस्तो ब्रह्ममा हुने होइन । कारण, ब्रह्मको अनुभव भएपछि सर्वत्र ब्रह्म नै ब्रहम रहन्छ । उसमा स्थिति मान्ने अर्को कुनै रहँदैन । कसैले आफ्नो स्थिति ब्रह्ममा मानुन्जेल उसमा ब्रह्मको वास्तविक अनुभूतिमा कमी छ, परिच्छिन्नता छ । 

सुषुप्ति र मूर्च्छामा मनुष्यको शरीरसँग अज्ञानपूर्वक सम्बन्ध-विच्छेद हुन्छ अर्थात् मन अविद्यामा लीन हुन्छ; अतः यी अवस्थाहरुमा व्यक्तिलाई प्रिय र अप्रियको, शारीरिक पीडाको ज्ञान नै हुँदैन । परन्तु जीवन्मुक्त महापुरुषको शरीरसँग ज्ञानपूर्वक सम्बन्ध-विच्छेद हुन्छ । यसैले उसलाई प्रिय र अप्रियको, शरीरको पीडाको ज्ञान त हुन्छ, तर तिनवाट ऊ हर्षित-उद्विग्न, सुखी-दुःखी हुँदैन । उसको शरीर-इन्द्रियहरु-मन-बुद्धिको परवशता मेटिएको हुन्छ । ब्रह्म जान्नु र त्यसमा स्थित हुनु एकै कुरा हो ।

श्लोक २१ 

बाह्यस्पर्श (सबै प्राकृत वस्तुहरुको सम्बन्ध) मा आसक्तिरहित अन्तःकरण भएको साधकको अन्तःकरणमा सात्विक सुख प्राप्त हुन्छ । त्यसपछि ब्रह्ममा अभिन्नभावले स्थित त्यो व्यक्ति अक्षय सुखको अनुभव गर्छ । 

परमात्मा भन्दा वाहेक शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण, आदिमा तथा शब्द, स्पर्श, आदि विषयहरुको संयोगजन्य सुखमा आसक्ति मेटिएको साधकलाई यहाँ 'प्राकृत वस्तुहरुको सम्बन्धदेखि आसक्ति छुटेको साधक' भन्ने नाम दिइएको छ । अहिले नै सबै आसक्ति छुटिनसकेको, तर आसक्ति मेट्ने उद्देश्य भएको साधकलाई पनि आसक्ति नभएको साधक नै मान्नु पर्छ । किनकि उद्देश्यको दृढताले गर्दा त्यस्ता साधक पनि छिट्टै आसक्तिदेखि छुट्छन् ।                    
                 
उत्पत्ति-विनाशशील सबै वस्तुहरुको नाम 'बाह्यस्पर्श' हो, चाहे त्यसको सम्बन्ध वाहिरवाट होस् अथवा अन्तःकरणवाट । वाह्यस्पर्शमा आसक्ति रहुन्जेल आफ्नो स्वरूपको अनुभव हुँदैन । वाह्यस्पर्श निरन्तर वदलिइरहन्छन्, तर आसक्तिले गर्दा व्यक्तिलाई त्यो वदलिनेतिर दृष्टि नै जाँदैन र त्यही वाह्यस्पर्शमा उसलाई सुखको अनुभव हुन्छ । पदार्थहरुलाई अपरिवर्तनशील, स्थिर मानेर नै मनुष्य तिनवाट सुख लिन्छ । परन्तु वास्तवमा ती पदार्थहरुमा सुख छैन । सुख पदार्थहरुको सम्बन्ध-विच्छेदले नै हुन्छ । यसैले सुषुप्तिमा, गाढा निद्रामा, पदार्थहरुको विस्मृति हुँदा सुखको अनुभव हुन्छ । 

हामीलाई यस्तो भ्रम छ, पदार्थहरु नभई व्यक्ति वाँच्न सक्तैन, तर वास्तवमा हेर्दा वाह्य पदार्थहरुको वियोग विना मनुष्य वाँच्नै सक्तैन । पदार्थहरुलाई विर्सन  नै ऊ निदाउने हो । पदार्थहरु विर्संदा पाइने सुख, ताजापन, वल, नीरोगता, निश्चिन्तता जाग्रत अवस्थामा पदार्थहरु पाउँदा पाइंदैन । यही कारण, व्यक्तिहरुलाई जाग्रत अवस्थामा पनि विश्राम पाउने, प्राणी-पदार्थवाट छुट्टिने इच्छा हुन्छ । यही कारण, ऊ निद्रालाई अत्यन्त आवश्यक ठान्छ, किनकि पदार्थहरुको वियोगवाट नै व्यक्तिलाई जीवन मिल्छ । 

निदाउँदा दुई कुरा हुन्छन् -- (१) मनुष्य वाह्य पदार्थहरुसँग सम्बन्ध-विच्छेद गर्न चाहन्छ;  (२) निदाएर उठेपछि फलानो काम गर्नु छ भन्ने भाव मनुष्यमा रहन्छ ।यी दुई कुराहरुमा पदार्थहरुसँग सम्बन्ध-विच्छेद खोज्नु त स्वयंको इच्छा भयो, (यो स्वयं सँधै एक नै रहन्छ) परन्तु काम गर्ने भाव भने वदलिइरहन्छ । काम गर्ने भाव प्रवल रहेको कारण नै मनुष्यको दृष्टि पदार्थहरुसँग सम्बन्ध-विच्छेद गर्नेतिर जाँदैन । ऊ पदार्थहरुसँग सम्बन्ध राखी राखी निदाउँछ र विउंझन्छ पनि ।                                
तर आश्चर्य छ, सम्बन्धी रहँदैन, तर सम्बन्ध रहँदैन । यसको कारण, स्वयं  (अविनाशी चेतन)ले मानेको सम्बन्ध छुट्दैन । यो मानेको सम्बन्ध मेटाउने उपाय हो -- आफूमा सम्बन्ध नै मान्ने । कारण, प्राणी-पदार्थहरुसँग सम्बन्ध वास्तवमा छँदै छैन, खालि मानिएको हो । मानिएको कुरा नमान्दा टिक्न सक्तैन र मान्यता समातिरहँदा अरु कुनै साधनवाट मेटिन सक्तैन । यसैले मानिएको सम्बन्धको मान्यतालाई वर्तमानमा (अहिले) नै हटाउनु पर्छ । त्यसो भए मुक्ति स्वतःसिद्ध छ ।

वाह्य पदार्थहरुको सम्बन्ध अवास्तविक छ, तर परमात्मासँगको हाम्रो सम्बन्ध वास्तविक छ । मनुष्य सुखको इच्छाले वाह्य पदार्थहरुसँग आफ्नो सम्बन्ध मान्छ, तर परिणाममा उसलाई दुःख नै दुःख हुन्छ । यसरी अनुभव गर्दा वाह्य पदार्थहरुको आसक्ति छुट्छ ।

वाह्य पदार्थहरुको आसक्ति मेटिएपछि अन्तःकरणमा सात्विक सुखको अनुभव हुन्छ । वाह्य पदार्थहरुको सम्बन्धले हुने सुख राजस हुन्छ । राजस सुख लिइरहे सात्विक सुखको अनुभव हुन सक्तैन । राजस सुखमा आसक्तिरहित हुँदा नै सात्विक सुखको अनुभव हुन्छ ।

संसारसँगको राग मेटिने वित्तिकै ब्रह्ममा अभिन्न भावले स्वतःस्थिति हुन्छ । अन्धकारको नाश हुनु र प्रकाश हुनु -- दुवै एकै चोटी हुन्छन्, तर पहिले अन्धकारको नाश हुने र त्यसपछि प्रकाश हुने भन्ने साधारण मान्यता छ । यसै गरी राग मेटिनु र ब्रह्ममा स्थित हुनु -- दुवै एकै चोटी हुँदा पनि पहिले रागको नाश र त्यसपछि ब्रह्ममा स्थिति मानिन्छ । यही क्रममा गीताकै तेह्रौं अध्यायमा जीवात्मा द्वारा आफू क्षेत्र भन्दा सर्वथा अलग अनुभव गर्ने कुरा आयो र फेरि क्षेत्रज्ञ द्वारा आफूलाई परमात्मादेखि सर्वथा अभिन्न अनुभव गर्ने कुरा आयो । त्यस्तै यहाँ पहिले शरीर-संसारदेखि आफूलाई सर्वथा अलग अनुभव गर्ने कुराको उल्लेख गरेर आफुलाई परमात्मतत्वसँग सर्वथा अभिन्न अनुभव गर्ने कुरा वताइएको छ गीतामा ।

भोगहरुमा विरक्ति भएर सात्विक सुख मिलेपछि 'म सुखी हुँ', 'म ज्ञानी हुँ', 'म निर्विकार हुँ', 'मेरोलागि कुनै कर्तव्य छैन' यस्तो किसिमले 'अहम्'को सूक्ष्म अंश शेष (वाँकी) रहन्छ । त्यो सूक्ष्म 'अहम्'को निवृत्तिकोलागि परमात्मतत्वसँग आफ्नो अभिन्नताको अनुभव गर्नु आवश्यक छ । किनभने परमात्मतत्वसँग पूर्णतया एक नभई आफ्नो सत्ता, आफ्नो व्यक्तित्व (परिच्छिन्नता या एकदेशीयता) को पूरापूर अभाव हुँदैन । 

साधकले सात्विक सुखको भोग गरुन्जेल उसमा सूक्ष्म 'अहम्', सूक्ष्म परिच्छिन्नता रहन्छ । सात्विक सुखको पनि उपभोग नगरे 'अहम्' को पूर्णतया अभाव हुन्छ र साधकलाई परमात्मस्वरूप, चिन्मय र नित्य एकरस रहने अविनाशी सुखको अनुभव हुन्छ । यही अक्षय सुखलाई 'आत्यन्तिक सुख', 'अत्यन्त सुख' र 'ऐकान्तिक सुख' भन्ने नामहरु दिइएको छ । यो सुखको अनुभव भएपछि त्यो परमात्मतत्वमा स्वाभाविक नै एक आकर्षण हुन्छ, त्यो आकर्षणलाई प्रेम भन्छन् । यो प्रेममा कहिले कमी आउँदैन, वरु यो प्रेम झन् झन् वढी नै रहन्छ । त्यो तत्वको प्रसंग चल्दा, त्यसमा विचार गर्दा पहिले पहिले केही नयाँपन देखिन्छ, यही नै प्रेम वढ्नु हो । यसमा बुझ्नु पर्ने कुरा, प्रेम प्रतिक्षण वढिरहँदा पनि 'पहिले अलि कम थियो अव पूर्ण भयो' भन्ने भाव आउँछ भने यो साधन अवस्था हो र यदि नयाँपन देखिंदा पनि 'पहिले कमी थियो र अव पूर्ण भयो' भन्ने भाव आउँदैन भने यो सिद्ध अवस्था हो ।

No comments:

Post a Comment