Saturday 29 November 2014

Gita: Chapter 5: Slok 18: श्लोक १८ ज्ञानी महापुरुष विद्याविनययुक्त ब्राह्मणमा र चाण्डालमा तथा गाइ, हात्ति र कुकुरमा पनि समरूप परमात्मालाई नै देख्छ ।

No. 156

श्लोक १८ 

ज्ञानी महापुरुष विद्याविनययुक्त ब्राह्मणमा र चाण्डालमा तथा गाइ, हात्ति र कुकुरमा पनि समरूप परमात्मालाई नै देख्छ ।      

यहाँ ब्राह्मणलाई दुइटा विशेषण दिइएका छन् -- विद्यायुक्त र विनययुक्त ब्राह्मण जो विद्वान् पनि छ र विनम्र स्वभावको (ब्राह्मणपनाको अभिमानदेखि रहित) पनि छ । ब्राह्मण हुनाले ऊ जातिले त ऊँचो छ नै, साथ-साथै विद्या र विनयले पनि सम्पन्न छ -- यो ब्राह्मणत्वको पूर्णता हो ।  पूर्णतामा अभिमान रहँदैन । पूर्णता नभएको ठाउँमा नै अभिमान रहन्छ । 

ब्राह्मण र चाण्डालमा तथा गाइ, हात्ति र कुकुरमा व्यवहारको विषमता अनिवार्य छ । यिनीहरुमा समान व्यवहार शास्त्र पनि गर्दैन, यसो गर्नु उचित पनि छैन र गर्न पनि सकिंदैन । जस्तो, विनययुक्त ब्राह्मणको नै पूजन हुन सक्छ, न कि चाण्डालको ; दूध गाइको नै पिइन्छ, न कि कुकुरको; सवारी हात्तिको नै हुन्छ, न कि कुकुरको । यी पाँच प्राणीहरुको उदाहरण दिएर भगवान यो भनिरहनु भएको छ, यिनीहरुमा व्यवहारको समता सम्भव नहुँदा पनि तत्वतः सबैमा एकै परमात्मतत्व परिपूर्ण छ । महापुरुषहरुको दृष्टि त्यही परमात्मतत्वमा नै सँधै रहन्छ । यसैले उनीहरुको दृष्टि कहिले विषम हुँदैन । 

यहाँ शंका उठ्न सक्छ, दृष्टि विषम नभई व्यवहारमा भिन्नता कसरी हुन्छ ? यसको समाधान: आफ्नो शरीरका सबै अंगहरु (टाउको, खुट्टा, हात आदि) मा हाम्रो दृष्टि अर्थात् आफ्नोपन र हितको भावना समान रहन्छ, तैपनि हामी उनीहरुसँगको व्यवहारमा भेद राख्छौं । जस्तो, कसैलाई खुट्टा लाग्यो भने क्षमा माग्छौं, तर कसैलाई हात लाग्यो भने क्षमा माग्दैनौं । प्रणाम गर्दा टाउकोले गर्छौं, खुट्टाले गर्दैनौं । आफ्नै अंगको फोहोर ठाउँमा छुँदा हात धुन्छौँ, हातले हात छोइयो भने धुँदैनौं । यति मात्रै होइन, एउटा नै हातको औंलाहरुमा पनि व्यवहार गर्दा भेद हुन्छ । कसैलाई चोर औंला देखाउँदा र साहिँली औंला देखाउँदाको भेद त सबैलाई थाहा नै छ । यसरी आफ्नो शरीरको भिन्न-भिन्न अंगहरुका व्यवहारमा त भेद हुन्छ तर तिनीहरुप्रतिको आत्मीयतामा भेद हुँदैन । यसैले हामी हाम्रा शरीरका कुनै पनि पीडित अंगको उपेक्षा गर्दैनौं । व्यवहारमा भेद हुँदा पनि हामी ती प्राणीहरुको पीडा मेट्न समानताको व्यवहार गर्छौं । आफ्नो शरीरका सबै अंगहरुको सुख-दुःखमा हाम्रो एकै भाव रहन्छ । यस्तै, प्राणीहरुमा खान-पान, गुण, आचरण, जाति आदिको भेद हुने हुनाले उनीहरुसँग ज्ञानी महापुरुषहरुको व्यवहारमा पनि हुन्छ र हुनु पनि पर्छ । परन्तु ती सबै प्राणीहरुमा एकै परमात्मतत्व परिपूर्ण भएको कारण महापुरुषको दृष्टिमा भेद हुँदैन । ती प्राणीहरु प्रति महापुरुषको आत्मीयता, प्रेम, हित, दया, आदि भावमा कुनै फरक पर्दैन । उहाँहरुको अन्तःकरणमा राग-द्वेष, ममता, आसक्ति, अभिमान, पक्षपात, विषमता आदिको सर्वथा अभाव हुन्छ । आफ्नो शरीरको कुनै अंगको दुःख हटाउने चेष्टा स्वाभाविक नै भए जस्तै आफूलाई थाहा भएपछि अरु प्राणीको दुःख हटाउने र सुख पुर्याउने चेष्टा उहाँहरुद्वारा स्वाभाविक हुन्छ । यही कारण, भगवानले यस्ता महापुरुषलाई समदर्शी भन्नुभयो, समवर्ती भन्नुभएन । गीतामा अरु अरु ठाउँमा पनि सम देख्ने या समबुद्धिको कुरा आएको छ ।  
                                   
समता परमात्माको साक्षात् स्वरूप हो । मन समतामा स्थित भएको व्यक्तिले यहाँ जीवित अवस्थामा नै संसारमा विजय पाउँछन् र परब्रह्म परमात्माको अनुभव गर्छन् । अरुको दुःख आफ्नो दुःख र अरुको सुख आफ्नो सुख भएपछि हामीमा समता आउँछ । गीतामा भगवान भन्नुहुन्छ, 'हे अर्जुन ! जो व्यक्ति आफ्नो शरीरलाई जस्तो मलाई सबै ठाउँमा सम देख्छ र सुख अथवा दुःख पनि सबै ठाउँमा सम देख्छ, त्यो योगीलाई परम श्रेष्ठ मानिएको छ ।

शरीरको कुनै अंगमा पीडा हुँदा त्यो पीडा हटाउने धून हामीलाई लाग्ने जस्तै कुनै प्राणीलाई दुःखसन्ताप आदि हुँदा त्यो व्यक्तिको दुःख हटाउने लगन लाग्यो भने त्यो व्यक्तिमा समता आउँछ ।

आफ्नो नै सुखको लालसा रहुन्जेल जति नै उद्योग गरे पनि समता आउँदैन । परन्तु जव हृदयदेखि अरुलाई कसरी सुख होला, अरुलाई आराम कसरी होला, अरुलाई कसरी लाभ होला, अरुलाई कल्याण कसरी होला भन्ने भाव आयो भने समता स्वतः आउँछ । यो समताको आरम्भ सबै भन्दा पहिले आफ्नो घरवाट हुनुपर्छ । हृदयमा यस्तो भाव होस्, कसैलाई अलिकति मात्र पनि दुःख अथवा कष्ट नहोस्, कसैलाई कहिले पनि अनिष्ट नहोस् भन्ने । चाहे म कति नै कष्ट पाउँ, तर मेरा माता-पिता, दाजु-भाउजुलाई सुख हुनुपर्छ भन्ने । घरका परिवारलाई सुख पुर्याए आफ्नो हृदयमा शान्ति आउँछ नै । आफ्नो घरसँग पनि सम्बन्ध नभएकालाई सुख पुर्याउन सकियो भने अझ विशेष आनन्द हुन्छ । तर त्यही सुख ममतापूर्वक पुर्याइयो भने हाम्रो उन्नति हुँदैन । हाम्रो ममता नभएको ठाउँमा सुख पुग्नुपर्छ र हामीले ममतापूर्वक सुख पुर्याएको ठाउँवाट ममता हटाउनु पर्छ । जसो गरे पनि दुबैको परिणाम एकै हुनेछ । 

जोसँग हामीलाई केही लिनु छैन, जोसँग हाम्रो कुनै स्वार्थ छैन, त्यस्तो व्यक्तिसँग पनि हामीले प्रेमपूर्वक उसलाई हित हुने राम्रो व्यवहार गरौँ । यसो गर्दा पाइने सुखले हाम्रो हृदयमा प्रसन्नता ल्याउनेछ । यस्तो सुखले हाम्रो कल्याण गर्नेछ ।' अरुले दुःख पाऊन्, म सुख पाऊं' भन्ने विचारले हाम्रो पतन गर्छ । यस्तो विचारले न त व्यवहारमा उन्नति गर्छ न परमार्थमा । 

सबैको हितमा प्रीति हुने व्यक्तिलाई भगवान प्राप्त हुन्छ । भगवान सम्पूर्ण प्राणीको हित गर्नुहुन्छ, सबै प्राणीको पालनपोषण गर्नुहुन्छ, किनकि सबै प्राणी उहाँका नै सन्तान हुन् । आस्तिक भन्दा आस्तिक अथवा नास्तिक भन्दा नास्तिक, दुवै थरीका व्यक्तिसँग भगवानको विधान वरावर छ । यसै गरी सूर्य समान रीतिले सबैलाई प्रकाश दिन्छ, हावा समान रीतिले सबैलाई श्वास लिन दिन्छ, पृथ्वी समान रीतिले सबैलाई वस्ने स्थान दिन्छ । भगवानको सृष्टिका सबै वस्तु सबैलाई समान रीतिले मिल्छन् ।

समताको अर्थ यो होइन, समान रीतिले सबैसँग भोजन र विवाहको व्यवहार गर्नु । व्यवहारमा समताले महान् पतन गर्छ । समान व्यवहार यमराज, मृत्युको नाम हो, किनकि उसको व्यवहारमा विषमता हुँदैन । चाहे महात्मा होस् या गृहस्थ, चाहे साधु होस्, चाहे पशु होस्, चाहे देवता होस्, मृत्यु सबैलाई वरावर छ । यसैले यमराजलाई 'समवर्ती' (समान व्यवहार गर्ने) भनिन्छ । अतः समान व्यवहार गर्ने, हामी नै भए पनि, यमराज हो । 

पशुहरुमा पनि समान व्यवहार पाइन्छ । कुनै कुकुर ब्राह्मणको भान्छामा गयो भने खुट्टा धोएर जाँदैन । ब्राह्मणको   
भान्छा अथवा हरिजनको भान्छा, जहाँ गए पनि ऊ यसै जान्छ, खुट्टा धोएर जाँदैन; किनकि उसको समता नै त्यही हो । तर मनुष्यकोलागि यो समता होइन, ठूलो पशुता हो । समता त त्यो हो, जसवाट अरुको दुःख कसरी छुटोस्, अरुलाई कसरी सुख होस्, कसरी दुःख नहोस् भन्ने भाव हुनु । यस्तो समता राखेर व्यवहार गर्यो भने अन्तःकरण पवित्र, निर्मल हुन्छ । परन्तु व्यवहारमा अपवित्रता राख्दा, खान-पान आदि एकै गर्दा अन्तःकरणमा अपवित्रता आउँछ, यो अपवित्रताले अशान्ति वढ्छ । भित्री व्यवहारमा समता नगरेर खालि वाहिरी व्यवहार समान गर्नु शास्त्र र समाजको मर्यादा विरुद्ध छ । यसले समाजमा संघर्ष पैदा हुन्छ ।

वर्णहरुमा ब्राह्मण ठूला हुन् र शुद्र साना हुन् भन्ने शास्त्रहरूको सिद्धान्त होइन । ब्राह्मण उपदेशद्वारा, क्षत्रिय रक्षाद्वारा, वैश्य धन-सम्पत्ति, आवश्यक वस्तुहरु द्वारा र शुद्र शरीरको परिश्रमद्वारा सबै वर्णहरुको सेवा गरोस् भन्ने हो । यसको अर्थ यो पनि होइन, अरु आफ्नो कर्तव्य-कर्मको पालन नगरुन् । सबै आफ्नो कर्तव्यपालनमा समान तरिकाले परिश्रम गरून् । जोसँग जस्तो किसिमको शक्ति, विद्या, वस्तु, कला छ, ती ती वस्तु र सामर्थ्य द्वारा चारै वर्णहरु चारै वर्णहरुको सेवा गरून्, सहायक वनून्, तर चारै वर्णहरुको सेवा गर्न भेद भाव नराखून् भन्ने शास्त्रको आशय हो । 

यदि हामीले आफ्नो जीवनमा समताको आचरण गर्ने हो भने कुनै पनि वर्ण, आश्रम, धर्म, सम्प्रदाय, मत आदिको व्यक्तिलाई पनि हामीले सुख दिन सक्नुपर्छ, उसको दुःख हटाउन सक्नुपर्छ र उसको हित गर्न सक्नुपर्छ । कसैले कृष्ण कृष्ण भने पनि, कसैले राम भने पनि, कोही वैष्णव भए पनि, म शैव भए पनि, हजुर मुसलमान भए पनि, म हिन्दु भए पनि अरुको हित गर्न कुनै वाधा आउनुहुँदैन हामीलाई । वाधा त्यो वेला आउँछ, जव हामीलाई यो मेरो हो, त्यो मेरो होइन भन्ने भाव आउँछ ।यस्तो भावले नै महान् पतन गर्ने हो हामीलाई । यही कारण, कहिले कुनै वर्ण आदिका मनुष्यहरुलाई कष्ट भयो भने पनि उनीहरुको हितको चिन्तन समान रीतिले गर्नुपर्छ र उनीहरुलाई सुख भएको वेला उनीहरुको प्रसन्नता देखेर त्यसै गरी प्रसन्न हुन सक्नु पर्छ हामी । यस्तो प्रकारले कुनै पनि वर्ण, आश्रम, धर्म, सम्प्रदायलाई लिएर पक्षपात हुनुहुँदैन हामीमा ।सबै प्रति समान रीतिले हितको व्यवहार हामीवाट हुनुपर्छ । यदि कुनै निम्नवर्गका व्यक्तिहरुलाई हामी माथि उठाउन चाहन्छौं भने त्यो वर्गका व्यक्तिहरुको भावहरु र आचरणहरु शुद्ध र श्रेष्ठ वनाउनु पर्छ, उनीहरुसँग कुनै वस्तुको कमी छ भने तिनको पूर्ति गरिदिनु पर्छ, उनीहरुको सहायता गर्नुपर्छ; तर उनीहरुलाई उक्साएर उनीहरुको हृदयमा अर्को वर्गप्रति ईर्ष्या, द्वेषको भाव भरिदिनु अत्यन्त अहितकर,घातक हो र लोक र परलोकको पतन गर्ने खालको हो । यदि यस्तो स्वभाव ब्राह्मणहरुमा छ भने उनीहरुको पनि पतन हुन्छ र हरिजनमा छ भने उनीहरुको पनि पतन हुन्छ । हाम्रो उत्थान त सद्भावहरू, सद्गुणहरु र सदाचारहरुवाट नै हुन्छ ।   
                                                 
भोजन, वस्त्र, घर आदि निर्वाहका वस्तुहरुको कमी भएकाहरुलाई, ती व्यक्तिहरु जुनसुकै वर्ण, आश्रम, धर्म, सम्प्रदाय आदिका भए पनि, ती वस्तुहरु दिनुपर्छ । सबै सुखी होऊन्, सबै निरोगी होऊन्, सबैको हित होस्, कहिले कसैलाई अलिकति मात्रै पनि दुःख नहोस् भनेर यथायोग्य व्यवहार गर्नु नै समता हो । यही समता सम्पूर्ण मनुष्यहरुकोलागि हितकर छ ।


ब्राह्मण, चाण्डाल, गाइ, हात्ति र कुकुर -- यी सबै हरदम वदलिइरहन्छन् र अभावमा गइरहेछन्, तर तिनमा रहने भावरुप सत्-तत्व छ, त्यो कहिले वदलिंदैन, नित्य-निरन्तर जस्ता-को-तस्तो रहन्छ । ज्ञानीहरू त्यही सत्-तत्व नै देख्छन् । कमिलाले वालुवामा मिसिएको चिनीको दाना टिपी टिपी खाएको जस्तो ज्ञानीहरू पनि विवेकवती सूक्ष्म दृष्टि असत् संसारमा व्याप्त सत्-तत्व पक्ड़न्छन् । तात्पर्य, ब्राह्मण हुन् या चाण्डाल, गाइ हुन् या कुत्ता, हात्ति हुन् या कमिला -- विषम भन्दा विषम प्राणीहरुमा पनि त्यस्ता ज्ञानीहरूको दृष्टि सँधै सम रहन्छ । व्यवहार विषम (यथायोग्य) हुँदा पनि उनीहरुको दृष्टि कहिले विषम हुँदैन ।

No comments:

Post a Comment