Saturday 29 November 2014

177. No.146 श्लोक ५ सांख्ययोगीहरु द्वारा पाइने तत्व नै कर्मयोगीहरू द्वारा पनि पाइन्छ ।

No.146

श्लोक ५ 

सांख्ययोगीहरु द्वारा पाइने तत्व नै कर्मयोगीहरू द्वारा पनि पाइन्छ । त्यसैले सांख्ययोग र कर्मयोग फलरूपमा एक देख्ने व्यक्ति नै ठीक देख्ने व्यक्ति हो । 

पूर्वश्लोकको पछिल्लो भागमा भगवानले  भन्नुभएको थियो, एउटा नै साधनमा राम्रोसँग लागेको व्यक्ति दुवै साधनरूप परमात्मा पाउँछ । त्यही कुराको पुष्टि भगवान् उपर्युक्त पदहरुवाट अर्को ढंगले भन्नुहुन्छ, 'सांख्ययोगीले पाउने तत्व कर्मयोगीले पनि पाउँछ ।' 

सांख्ययोगी र कर्मयोगी -- दुबैको अन्तमा कर्महरुसँग अर्थात् क्रियाशील प्रकृतिसँग सम्बन्ध-विच्छेद हुन्छ । प्रकृतिसँग सम्बन्ध-विच्छेद भएपछि दुवै योग एकै हुन्छन् । साधन-कालमा पनि सांख्ययोगको विवेक (जड-चेतनको सम्बन्ध-विच्छेद) कर्मयोगीले मान्नु पर्छ । सांख्ययोगको विवेक प्रकृति-पुरुषको सम्बन्ध-विच्छेद गर्न हुन्छ र कर्मयोगको कर्म संसारको सेवा गर्न हुन्छ । सिद्ध भएपछि सांख्ययोगी र कर्मयोगी -- दुबैको स्थिति एकै हुन्छ; किनकि दुवै साधकहरुका आफ्ना आफ्ना निष्ठाहरु हुन्छन् ।

संसार विषम छ । घनिष्ठ भन्दा घनिष्ठ सांसारिक सम्बन्धमा पनि विषमता रहन्छ । परमात्मा सम हुनुहुन्छ । अतः समरूप परमात्माको प्राप्ति संसारवाट पूरै सम्बन्ध-विच्छेद भएपछि नै हुन्छ । संसारसँग सम्बन्ध विच्छेद गर्ने मार्ग दुई छन् । ती हुन् -- ज्ञानयोग र कर्मयोग । 'मेरो सत्-स्वरूपमा कहिले पनि अभाव हुँदैन; जवकि कामना र आसक्ति अभावमा नै पैदा हुन्छन् ।' यस्तो जानेर असंग हुनु ज्ञानयोग हो । आफूलाई राग भएका वस्तुहरु अरुको सेवामा लगाइदिनु र आफूलाई राग भएका व्यक्तिहरुको निःस्वार्थभावले सेवा गर्नु  कर्मयोग हो । यसरी ज्ञानयोगमा विवेक विचार द्वारा र कर्मयोगमा सेवा द्वारा संसारसँग सम्बन्ध-विच्छेद हुन्छ । यी दुवै साधनहरुको फल-दृष्टिले एकै देख्ने व्यक्तिले नै यथार्थरूपमा देखेको हुन्छ ।

यसरी अहिलेको र यो भन्दा अघिल्लो श्लोकको सार हो, भगवान सांख्ययोग दुबैलाई स्वतन्त्र साधन मान्नुहुन्छ र दुबैको फल एकै परमात्मा मान्नुहुन्छ । यो वास्तविकता नजान्ने व्यक्तिलाई भगवान् यथार्थ जान्ने बुद्धिमान् भन्नुहुन्छ ।  

कुनै पनि साधनको पूर्णता भएपछि वाँच्ने इच्छा, मर्ने डर, पाउने लालच, र गर्ने राग सबै मेटिन्छन् ।

निरन्तर मरिरहेको, अर्थात् निरन्तर अभावमा गइरहेको शरीर मर्ने हुन सक्तैन र नित्य-निरन्तर रहने स्वरूपलाई वाँच्ने इच्छा हुन सक्तैन भने वाँच्ने इच्छा र मर्ने डर कसलाई हुने ? स्वरूपले शरीरसँग तादात्म्य गरेपछि उसलाई वाँच्ने इच्छा र मर्ने डर हुन्छ । वाँच्ने इच्छा र मर्ने डर -- यी दुवै 'ज्ञानयोग'ले (विवेक द्वारा) मेटिन्छन् ।

कुनै अभाव भएकोलाई नै पाउने इच्छा हुन्छ । भावरूप स्वरूपमा कहिले अभाव हुन सक्तैन । यसैले स्वरूपमा कहिले पनि पाउने इच्छा हुँदैन । स्वयं (आफू) भावरूप हुँदा हुँदै स्वरूपले अभावरूप शरीरसँग तादात्म्य गरेपछि उसलाई आफूमा अभाव भए जस्तो लाग्न थाल्छ, जुन अभाववाट उसमा पाउने इच्छा पैदा हुन्छ र पाउने इच्छाले गर्ने राग पैदा हुन्छ । पाउने इच्छा र गर्ने राग -- यी दुवै 'कर्मयोग'ले मेटिन्छन् ।

सांख्ययोग र कर्मयोग -- दुवै साधन लौकिक भएकाले एकै हुन् । सांख्ययोगमा साधक चिन्मयतामा स्थित हुन्छ र चिन्मयतामा स्थित भएपछि जडताको त्याग हुन्छ । कर्मयोगमा साधक जडताको त्याग गर्छ र जडताको त्याग भएपछि उसको स्थिति चिन्मयतामा हुन्छ । यस्तो किसिमले सांख्ययोग र कर्मयोग -- दुवै साधनहरु परिणाममा चिन्मयताको प्राप्ति अर्थात् चिन्मय स्वरूपमा स्थितिको अनुभव हुन्छ । 

शरीरलाई संसारको सेवामा लगाउनु कर्मयोग हो र शरीरदेखि स्वयं (आफू) छुट्टिनु ज्ञानयोग हो । चाहे शरीरलाई संसारको सेवामा लगाइदिउँ, चाहे शरीरदेखि स्वयं छुट्टिऊँ -- दुबैको परिणाम एक नै हुनेछ अर्थात् दुवै साधनहरुवाट संसारसँग सम्बन्ध-विच्छेद भएर स्वरूपमा स्थिति हुनेछ ।

कर्मयोग, ज्ञानयोग र भक्तियोग -- यी तीन साधनहरुमा ज्ञानयोग र भक्तियोगको प्रचार त धेरै छ, तर कर्मयोगको प्रचार चाहिं धेरै कम छ । भगवानले गीतामा भन्नुभयो, 'धेरै समय वितेको कारण यो कर्मयोग मनुष्यलोकमा हराए जस्तो भएको छ ।' यसैले कर्मयोगको सम्बन्धमा यस्तो धारणा वनेको छ, कर्मयोग परमात्मप्राप्तिको स्वतन्त्र साधन होइन । त्यसैले कर्मयोगको साधक कि त ज्ञानयोगमा जान्छ अथवा भक्तियोगमा जान्छ । 

तर यहाँ भगवान ज्ञानयोग जस्तो कर्मयोगलाई पनि परमात्मप्राप्तिको स्वतन्त्र साधन भन्नुहुन्छ । कुनै कुनै ठाउँमा वाहेक धेरै ठाउँमा कर्मयोगवाट स्वन्त्रतापूर्वक तत्वज्ञान, परमशान्ति, मुक्ति अथवा परमात्मतत्वको प्राप्ति हुने कुरा आएको छ ।अरु शास्त्रमा पनि भनिएको छ, 'स्वधर्ममा रहेर तथा भोगहरुको कामना त्यागेर आफ्नो कर्तव्य-कर्महरु द्वारा भगवानको पूजन गर्ने तथा सकामभावपूर्वक कर्म नगर्ने व्यक्तिलाई स्वर्ग अथवा नरकमा जानु पर्दैन अर्थात् त्यो व्यक्ति कर्मबन्धनदेखि मुक्त हुन्छ ।'

फेरि भनिएको छ, 'स्वधर्ममा रहेको त्यो कर्मयोगी यो लोकमा कर्तव्य-कर्महरुको आचरण गर्दा गर्दै पनि पाप-पुण्यदेखि मुक्त भएर कुनै परिश्रम नै नगरी तत्वज्ञान अथवा परमप्रेम (पराभक्ति) प्राप्त गर्छ।' 

तात्पर्य, कर्मयोग साधकलाई ज्ञानयोग अथवा भक्तियोगको अधिकारी त वनाइहाल्छ र स्वतन्त्रताले कल्याण पनि गरिदिन्छ । अर्को शब्दमा, कर्मयोगवाट  साधन-ज्ञान अथवा साधन-भक्ति हुन सक्छ, र साध्य-ज्ञान (तत्व-ज्ञान) अथवा साध्य-भक्ति (परम प्रेम अथवा पराभक्ति) को प्राप्ति पनि हुन सक्छ ।

xx 

हामीले जान्ने भएदेखि गरिआएका धेरै कामहरु धेरै जस्तो आफ्नो स्वार्थ सिद्दिकालागि भएका हुन् कि जस्तो लाग्छ गीता पढ्दा । हामीले पनि हाम्रा गुरुहरुवाट सुनेको, तीन थरीका ज्ञान छन् हाम्रा अगाडि । ती हुन् -- फिल्मी ज्ञान, पौराणिक ज्ञान र वैदिक ज्ञान । फिल्मी ज्ञान भनौं अथवा गोठाले गफ, तिनीहरुले हाम्रो हित गर्दै गर्दैनन् । पौराणिक ज्ञानले हामीलाई गोठाले गफ भन्दा अलि माथि त लग्न खोज्छन् तर दुःख र सुखको प्रभाववाट छुटाउन सक्तैनन् । त्यस्ता ज्ञानले हामीलाई 'यो गर्यो भने पुण्य हुन्छ, यो गर्यो भने पाप हुन्छ' भन्ने कुरा सिकाउँछन् । पौराणिक ज्ञानले बिभिन्न देवी देवताको उपासना गरेर उहाँहरुलाई खुसी वनाएर यही संसारकै भौतिक पदार्थ पाउन प्रोत्साहित गर्छन् । त्यसैले हाम्रो समाजमा व्रत, उपासना पनि यही पौराणिक ज्ञानले सिकाउँछन् । हामी मध्ये धेरैले देवी देवताको उपासना गर्ने पनि केही पाउँला भनेर हो । केही पनि नपाउने हो भने हामी देवताको उपासना पनि गर्दैनौं । अर्को कुरा, हामीले भगवानको पूजा गरि नै हाले पनि हामीमा यही संसारको सुखको नै कामना हुन्छ । जस्तो, हामी आफ्नो छोराको भलाइकोलागि भगवानको पूजा गर्छौँ, आफ्नो श्रीमानको पदोन्नतिकोलागि भगवानको उपासना गर्छौं, आफूले जागिर नपाएको भए जागिर पाउनकोलागि भगवानको उपासना गर्छौं । अर्को शब्दमा, भगवान हाम्रो साध्य नभएर हाम्रो इच्छा पुर्याइदिने साधन वनाउँछौं । भगवान नै पाउँ भनेर उपासना गर्ने मनुष्य धेरै कम हुन्छन् । यस्तो कर्मलाई सकाम कर्म, फलको इच्छा राखेर गरिने कर्म भन्छन् शास्त्रहरू । हामीले गरेको उपासनाको फल पनि के हुन्छ त ? यसरी गरेको उपासनाको फल विनाशी नै हुन्छ । भगवानको उपासना गर्यो, त्यो उपासना विधिपूर्वक भयो भने पुण्य भयो, पुण्यको फल सुख भयो, त्यो पाइएको सुख पनि धेरै समय नरहने भयो । सुख भयो, सुख सकियो, दुःख आयो। यस्तै कहिले पनि नसकिने सुख-दुःखको चक्करमा परिरह्यो, सुख भयो, हाँस्यो, दु:ख भयो, रोयो, करायो । यो भन्दा वाहिर हामी निस्कनै सक्तैनौं हामी । हामीले अहिलेसम्म जानेको पौराणिक ज्ञानको फल यही नै हो ।

तेस्रो ज्ञान 'वैदिक' ज्ञान हो । वैदिक ज्ञानले हामीलाई सुख-दुःख भन्दा माथि उठ्न सिकाउँछ, फलको आशा नराखेर भगवानको उपासना गर्न सिकाउँछ, यस्तो उपासना गर्ने विधि पनि सिकाउँछ । वैदिक ज्ञान भन्छ, 'यो संसार दुःखमय छ, यहाँ तिमी जति गरे पनि कहिले पनि नहराउने सुख पाउन सक्तैनौ ।किनभने यो संसार नै दुःखले भरिएको छ । दुःखै दुःखले भरिएको संसारवाट सुख खोज्नु त मूर्खता मात्रै हो । तिमीले शाश्वत सुख पाउने हो भने र तिमीलाई कहिले नहराउने सुख पाउने इच्छा छ भने तिमी सुख पाउनकोलागि संसारको आशा नगर, साँच्चिकै सुख पाउन तिमीले अन्त कतै जानु पर्ने जरुरत पर्दैन । तिमी आफू नै सुखको खानी छौ । तिमीले आफ्नै अज्ञानले गर्दा सुखकोलागि वाहिर हेर्ने गरेका छौ । अव तिमी वाहिर हेर्न छोड, आफ्नै भित्र आफ्नै अन्तःकरणमा रहेको अनन्त सुखको खोजी गर । त्यसकोलागि तिमीलाई वेदले उपाय पनि वताइदिएको छ, उसको निर्देशन अनुसार तिमी कर्म गर, त्यही अनुसार तिमी आफ्नो जीवन चर्या वनाऊ । तिमी थाहा पाउँछौ, आनन्दको अखण्ड सागर भएर पनि त्यो ज्ञानको अनुभव गर्न सकेका रहेनछौं हामीले ।' वेदको ज्ञानले हामीलाई स्थूलवाट सूक्ष्म तिर लैजान्छ । हाम्रो स्थूल बुद्धिले स्थूल संसार बुझ्छ, सूक्ष्म बुद्धिले सूक्ष्म संसार बुझ्छ । हाम्रो विचार जति जति सूक्ष्म हुँदै गयो, हामी जीवनका अद्भूत रहस्यहरु बुझन सक्छौँ । यस्तै हो हजुर वैदिक ज्ञानको काम । 

२०७१ को विजया दशमीमा म नयाँ दिल्ली जाँदैछु । मेरो यो visit को उद्देश्य हो, स्वामी अनुभवानन्द सरस्वतीको प्रवचन सुन्ने । यो प्रवचन दिल्लीको विरला मन्दिरमा हुँदैछ नौ दिनकोलागि, दिनमा दुई पटक । स्वामी अनुभवानन्दजीको प्रवचन मैले करिव तीन महिना अघि पनि यहींको Park Village Hotel मा सुनेकी थिएँ । उहाँका ठाउँ ठाउँमा गरिएका प्रवचनहरु you tube मा छन् । फुर्शद भएको वेला हजुरहरुले पनि हेर्ने गर्नु भयो भने राम्रै हुनेछ भन्ने लाग्छ । 

त्यसपछि म करिव पाँच दिनकोलागि वृन्दावन जाँदैछु । त्यसपछि म October को 10 मा काठमाडौँ आएपछि हजुरहरुको सम्पर्कमा रहने नै छु । विजया दशमीको हार्दिक शुभकामना हजुरहरुलाई !!! ओम् असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतम् गमय । ओम् शान्ति: शान्ति: शान्ति: । हरिः ओम् तत् सत् श्री गुरुभ्यो नमः हरिः ओम् तत् सत् ।                        

No comments:

Post a Comment