Saturday 29 November 2014

Gita: Chapter 5: Slok 6: श्लोक ६ तर हे महावाहो ! कर्मयोग विना सांख्ययोग सिद्ध हुन गाहारो छ ।

No147

श्लोक ६ 

तर हे महावाहो ! कर्मयोग विना सांख्ययोग सिद्ध हुन गाहारो छ । मननशील व्यक्तिले शीघ्र नै ब्रह्म पाउँछ । 

सांख्ययोगको सफलताकोलागि कर्मयोगको साधन आवश्यक छ; किनकि कर्मयोगको आचरण नगरी सांख्ययोगको साधन गाहारो हुन्छ । परन्तु कर्मयोग सिद्ध हुन सांख्ययोगको साधन गर्ने आवश्यकता पर्दैन ।

सांख्ययोगको लक्ष परमात्मतत्वको अनुभव गराउनु हो । तर अन्तःकरणमा राग हुँदा हुँदै परमात्मतत्वको अनुभव हुने कुरा त के गर्नु, यो साधन बुझ्न पनि गाहारो छ । 

राग मेटिने सजिलो उपाय हो -- कर्मयोगको अनुष्ठान गर्नु । कर्मयोगमा प्रत्येक क्रिया अरुको हितकोलागि नै गरिन्छ । हामीमा अरुको हितको भाव मात्रै भयो भने हाम्रो राग स्वतः घट्छ । यसैले कर्मयोगको आचरण द्वारा राग मेटिएपछि मात्रै सांख्ययोगको साधन गर्न सजिलो हुन्छ । कर्मयोगको साधन नगरी सांख्ययोग सिद्ध हुँदै हुँदैन ।

आफ्नो निष्कामभावको र अरुको हितको विचार गर्ने कर्मयोगीलाई यो श्लोकमा मुनि भनिएको छ । 
           
कर्मयोगी व्यक्ति सानो या ठूलो, हरेक क्रिया गर्दा 'मेरो कर्म निष्काम छ कि सकाम छ' भन्ने विचार गरिरहन्छ । आफूमा सकाम भाव आएको थाहा हुने वित्तिकै ऊ त्यो भावलाई हटाई दिन्छ, किनकि सकामभाव आउने वित्तिकै त्यो क्रिया आफ्नो र आफ़्नोलागि भइदिन्छ । अरुको हित कसरी होला भन्ने विचार गर्दा पनि कर्मयोगीको राग सजिलोसँग मेटिई रहेको हुन्छ । 

यो कुरावाट भगवान कर्मयोगीको विशेषता वताइरहनु भएको छ, साथै यो पनि भनिरहनु भएको छ, कर्मयोगी चांडै नै परमात्मतत्व प्राप्त गर्छ । भगवानकै अनुसार परमात्मतत्वको प्राप्तिमा ढिलाइको एउटा मात्र कारण संसारप्रतिको हाम्रो आकर्षण हो । निष्कामभावपूर्वक खालि अरुको हितकोलागि कर्म गरि रहे कर्मयोगीको सबै रागको नाश हुन्छ र स्वतःसिद्ध परमात्मतत्वको अनुभूति हुन्छ ।यही आशयलाई भगवानले चौथो अध्यायमा वताउनु भयो, 'योग संसिद्ध हुने वित्तिकै तत्वज्ञानको प्राप्ति हुन्छ ।' यो कर्मयोगको साधनमा अरु साधनको जरुरत हुँदैन । यो योगको सिद्धिमा कुनै कठिनाइ अथवा ढिलाइ हुँदैन ।

अर्को कारण, देहधारी -- देहाभिमानी मनुष्य सम्पूर्ण कर्म त्याग गर्न सक्तैन, तर कर्मफलको त्याग चाहिं गर्न सकिन्छ, त्यसैले कर्मफलको त्याग गर्ने व्यक्तिलाई नै साँचो त्यागी भनिन्छ गीता अनुसार । अर्को शब्दमा, देहधारी मनुष्य  कर्महरुको त्याग त गर्न सक्तैन, तर कर्मफलको त्याग चाहिं गर्न सक्छ । यही कारण, कर्मयोग आचरणमा ल्याउन सजिलो छ । 

कर्मयोगको महिमाको प्रसंगमा भगवान अझ भन्नुहुन्छ, कर्मयोगीलाई तत्कालै शान्ति मिल्छ, त्यस्तो कर्मयोगी संसारबन्धनदेखि सुखपूर्वक मुक्त हुन्छ ।त्यसैले कर्मयोगको साधन सुगम, चांडै सिद्धि दिने र अरु कुनै साधन विना परमात्मप्राप्ति गराउने स्वतन्त्र साधन हो ।                        

xx 
गीतामा युद्ध हुने प्रसंग चाहिं एउटा मात्रै छ -- त्यो हो आफ्ना कुलका वन्धु- वान्धवप्रतिको अर्जुनको मोह । हामी सबैलाई थाहा छ, अर्जुन कुशल योद्धा हुन् । उनले आफ्ना गुरु द्रोणाचार्यवाट धनुर्विद्या प्राप्त गरे, भगवान शिववाट पनि अरु धनुर्विद्या सिके । उनले द्रौपदीसँग विवाह हुनु भन्दा पहिले नै आफ्नो युद्ध कुशलता द्वारा गुरु द्रोणाचार्यको इच्छा पूरा गर्न राजा द्रुपदसँग युद्ध गरेर द्रोणाचार्यलाई द्रुपद्को आधा राज्य दिलाइदिएका थिए । यो कुरावाट सिद्ध हुन्छ, अर्जुनले कातर भएर महाभारतको युद्धवाट पलायन हुन खोजेका होइनन् । 

महाभारतको प्रसङ्गमा गीताको उपदेश जोडिनुको कारण -- अर्जुनलाई गीता सुन्नु भन्दा भगवानलाई नै गीता भन्नु थियो भन्छन् सन्तहरु । अर्जुन कुशल योद्धा थिए, उनलाई आफ्नो निरन्तरको सफलतामा अहंकार थियो । अर्जुनमा दैवी सम्पत्तिहरू प्रचुर मात्रामा थिए, तर उनको अहंकार नै उनमा मोह पैदा गर्न पर्याप्त भयो ।  गीतामा प्रसंग आउँछ, अर्जुन युद्धको मैदानमा अस्त्र-शस्त्रले सुसज्जित भएर, निकै उत्साहित हुँदै कुरुक्षेत्रको युद्धभूमिमा आए । त्यो वेला उनी युद्धकोलागि पूर्ण कटिवद्ध थिए । 

भगवानप्रतिको भक्तिको कारणले नै  उनले भगवानको विशाल नारायणी सेना त्यागेर निःशस्त्र भगवानको मदत मागेका थिए महाभारत युद्धकोलागि । गीताको प्रसंग महाभारतको युद्धको मात्रै होइन, मानव चरित्रको पूरा विश्लेषण पनि हो । यो युद्ध प्रतीकात्मक पनि हो, दैवी र आसुरी सम्पत्तिको संघर्ष पनि हो मनुष्यको अन्तरहृदयमा । यही दैवी सम्पत्तिलाई सकारात्मक सोच र आसुरी सम्पत्तिलाई नकारात्मक सोच पनि भन्छौं हामी । नकारात्मक सोचले हाम्रो पतन गर्छ, सकारात्मक सोचले उत्थान । यस्ता किसिमका नकारात्मक सोच आउनुको कारण पत्ता लगाएर यस्ता सोच हटाउनु र सकारात्मक सोच वनाउने कला सिकाउने शास्त्रको नाम नै हो गीता ।

मैले हजुरहरुलाई वारम्वार निवेदन गरिरहेको छु, गीता हामीले ठानेको जस्तो धर्म गर्न सिकाउने ग्रन्थ होइन, यो ग्रन्थले हामीलाई हाम्रा आफ्ना नकारात्मक विचार हटाएर सकारात्मक सोच द्वारा मानसिक उर्जाको विकास गरेर आफूले आफूलाई पूर्ण सन्तुष्ट राखेर, आफ्नो क्षमता भन्दा परको साधन र स्रोत विना नै आफूमा भएको साधन र स्रोतलाई पूर्ण उपयोग गरेर सुखमय, शान्तिमय जीवन वाँच्न सिकाउँछ । अर्को कुरा, यो गीताको ज्ञानले हामीलाई आफ्नो आत्मवल पूर्णरूपमा प्रस्फुटित गर्न सिकाउँछ । यहाँका  सम्पूर्ण शब्दका अर्थहरू, सबै concept हरु बुझेर, ती concept हरुलाई आफ्नो जीवनमा उतार्ने कलाहरु सिकाउंदै एउटा सन्तुष्ट साधुको, Three Questions मा चित्रण गरिएको hermit को जीवन विताउन सिकाउँछ मैले अध्ययन गरिरहेको गीताले । खालि भौतिक सुख-सुविधाले नै सबै सुख पाइन्छ भन्ने हाम्रो साधारण सोचलाई challenge गर्छ यो ग्रन्थ । मेरो आफ्नो अनुभव अनुसार, मैले वारम्वार गीताको अध्ययन गरिरहने क्रममा, मेरो समझमा आउने अर्थको पनि वेला वेलामा नयाँ नयाँ अर्थ लागिरहन्छ, म अचम्ममा पर्छु, 'यो शब्दको अर्थ मेरो दिमागमा पहिले नै किन चढ़ेन भनेर' ।     
      
मैले नै यहाँ प्रयोग गरेको 'धर्म'को वारे हजुरहरुलाई केही भन्न मन लाग्यो । धर्म के हो हो भन्ने कुराको व्याख्या हाम्रो सोचको हैसियतले गर्छ । कसैको सोचले यसलाई आफ्नो घरमा राखेको देवतालाई मात्रै विहान-वेलुकी पूजा गर्ने र वांकी समयमा जे गरे पनि हुने भन्ने व्याख्या गर्छ । कसैको सोचले मूर्तिको पूजा गर्ने होइन, जीवित प्राणीको नै सेवा गर्ने भन्ने सिकाउँछ । यस्तै, यस्तै, हामी सबैका धर्मका परिभाषा विल्कुल अलग छन् । यो हिसावले, हामीवाट परिभाषित 'धर्म'ले हाम्रो सोचलाई विभाजन गर्छ, जति जति विभाजन, उति उति झगडा, उति उति संघर्ष । तर मेरो अध्ययनले भन्छ, हामीवाट हुने, सोच, कर्म, वोली र व्यवहारले कसैको हृदयमा चोट पर्छ भने त्यो 'धर्म' नै होइन । धर्मले कसैलाई फुटाउन होइन, जुटाउन सिकाउँछ, अपूर्णतावाट पूर्णतातिर जान सिकाउँछ, किनभने पूर्णतामा नै आनन्द छ, पूर्णतामा नै शान्ति छ ।          

अहिलेलाई यत्ति, अरु पछि ।   

No comments:

Post a Comment