Saturday 29 November 2014

Gita: Chapter 5: Slok 19: श्लोक १९ अन्तःकरण समतामा स्थित भएका व्यक्तिहरुले यही जीवित अवस्थामा नै सम्पूर्ण संसारलाई

No. 157

श्लोक १९ 

अन्तःकरण समतामा स्थित भएका व्यक्तिहरुले यही जीवित अवस्थामा नै सम्पूर्ण संसारलाई जितेका छन् अर्थात् उनीहरु जीवन्मुक्त भएका छन्; किनकि ब्रह्म निर्दोष र सम छ, यसैले उनीहरु ब्रह्ममा नै स्थित छन् ।

परमात्मतत्व अथवा स्वरूपमा स्वाभाविक स्थितिको अनुभव भएपछि मन-बुद्धिमा राग-द्वेष, कामना, विषमताको सम्पूर्ण अभाव हुन्छ, मन-बुद्धिमा स्वतःस्वाभाविक समता आउँछ, ल्याउनु पर्दैन । वाहिरवाट हेर्दा महापुरुष र साधारण पुरुषमा खान-पान, हिंडाइ-डुलाइ  आदि व्यवहार एकै जस्ता लाग्छन्, तर महापुरुषहरुको अन्तःकरणमा निरन्तर समता, निर्दोषता, शान्ति रहन्छ र साधारण पुरुषहरुको अन्तःकरणमा विषमता, दोष र अशान्ति रहन्छ । 

पूर्वमा र पश्चिममा -- दुबैतिर पर्वत भए पूर्वमा सूर्य उदय भएको देखिंदैन, परन्तु पश्चिममा रहेको पर्वतको चुचुरोमा प्रकाश देखियो भने सूर्य उदय भएकोमा कुनै सन्देह रहँदैन । किनकि सूर्यको उदय नभई पश्चिमको पर्वतमा प्रकाश देखिन सम्भव नै छैन । त्यस्तै मन-बुद्धिमा मान-अपमान, निन्दा-स्तुति, सुख-दुःख आदिको कुनै असर नपर्ने र मन-बुद्धि, हर्ष-शोक आदि विकारहरुदेखि रहित पुरुषको स्वरूपमा अवश्य स्वाभाविक स्थिति हुन्छ ।  कारण, स्वरूपमा स्वाभाविक स्थिति नभई मन-बुद्धिमा अटल र एकरस समता रहन सम्भव नै छैन ।

यो श्लोकमा यो भन्न खोजिएको छ, सबै मनुष्य परमात्मप्राप्ति गर्न सक्छन् र सम्पूर्ण संसारमाथि विजय प्राप्त गर्न सक्छन् । अर्को एउटा आशय, मनुष्य जीवित अवस्थामा, वर्तमानमा नै, यहीं संसारलाई जित्न सक्छ अर्थात् संसारवाट मुक्त हुन सक्छ । 

शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राणी, पदार्थ, घटना, परिस्थिति सबै 'पर' हुन् र यीसँग अधीन रहने व्यक्तिलाई 'पराधीन' भन्छन् । यी शरीर आदि वस्तुहरुमा महत्व बुद्धि हुनु तथा यिनको आवश्यकता अनुभव गर्नु अर्थात् यिनको कामना गर्नु नै यिनको अधीन हुनु नै पराधीन हो । पराधीन व्यक्ति नै वास्तवमा पराजित (हारेको) हो । पराधीनता नछुटुन्जेल व्यक्ति पराजित नै रहन्छ । 

मनमा सांसारिक वस्तुहरुको कामना भएका व्यक्तिले यदि अरु प्राणी, राज्यमाथि विजय प्राप्त गर्यो भने पनि ऊ वास्तवमा पराजित नै हो । किनकि ऊ ती पदार्थहरुमा महत्व बुद्धि राख्छ र आफ्नो जीवनलाई उनीहरुको अधीन मान्छ ।शरीरवाट विजय त पशु पनि पाउँछ, तर वास्तविक विजय त हृदयैदेखि वस्तुको अधीनता छुटेपछि नै प्राप्त हुन्छ ।

पराजित व्यक्ति नै अर्कोलाई पराजित गर्न चाहन्छ, अरुलाई आफ्नो अधीन वनाउन खोज्छ । वास्तवमा आफूलाई पराजित नगरी अरुलाई पराजित गर्नै सकिंदैन । जस्तो कुनै राजा या विद्वान् अरु कसैलाई विजय गर्न चाहन्छ भने उसले सब भन्दा पहिले आफ्नो सेना, सामर्थ्य, बुद्धि, विद्या आदिको साहारा लिनै पर्छ । 

कामना उठ्ने वित्तिकै मनुष्य पराधीन हुन्छ । यो पराधीनता कामनाको पूर्ति हुँदा अथवा नहुँदा -- दुवै अवस्थाहरुमा जस्ता-को-तस्तै रहन्छ । कामनाको पूर्ति नहुँदा मनुष्य वस्तुको अभावको कारण पराधीनताको अनुभव गर्छ र कामनाको पूर्ति हुँदा अर्थात् वस्तु पाउँदा त्यो व्यक्ति त्यो वस्तुको पराधीन हुन्छ; किनकि उत्पत्ति-विनाशशील सबै वस्तु 'पर' हुन् ।कामनाको पूर्ति नहुँदा मनुष्यलाई पराधीनताको अनुभव हुन्छ, तर कामनाको पूर्ति हुँदा उसको बुद्धिमा यस्तो अँध्यारो छाउँछ  कि पराधीन हुँदा हुँदै पनि मनुष्यलाई पराधीनताको अनुभव हुँदैन, उल्टो स्वाधीनताको अनुभव हुन्छ । 

ज्ञानी महापुरुषमा कामनाको पूर्णतया अभाव हुँदा ऊ पूर्णतः स्वाधीन हुन्छ । स्वाधीन पुरुष नै विजयी हुन्छ । परन्तु स्वाधीन पुरुषको मनमा कहिले कसैलाई पराजित गर्ने भाव आउँदैन । त्यो ज्ञानी महापुरुष संसारको अलिकति पनि आवश्यकताको महशूस गर्दैन, परन्तु संसार नै उसको आवश्यकताको महशूस गर्छ । 

संसारलाई नै जितेका यस्ता समदर्शी पुरुषलाई संसारको ठूलो भन्दा ठूलो सुख (प्रलोभन) पनि आकृष्ट गर्न सक्तैन र ठूलो भन्दा ठूलो दुःखले पनि विचलित गर्न सक्तैन । 

त्यो महापुरुषको मनमा संसारको कुनै पनि प्राणी, पदार्थ, परिस्थिति, आदिको कुनै पनि कामना, वासना, स्पृहा, तृष्णा रहँदैन । उसलाई अनुकूलता-प्रतिकूलताको ज्ञान हुन्छ तथा त्यो ज्ञान अनुसार ऊवाट यथोचित चेष्टा पनि हुन्छ, तर त्यस्तो अनुकूलता र प्रतिकूलताको उसको अन्तःकरणमा कुनै असर पर्दैन । 

परमात्मामा दोष, विकार या विषमता छँदै छैन । हामीमा आउने सबै दोष या विषमताहरु सबै प्रकृतिसँग रागपूर्वक सम्बन्ध मान्नाले हुन्छ । परमात्मतत्व प्रकृतिको सम्बन्धदेखि सर्वथा निर्लिप्त छ, यसैले त्यो तत्वमा लेश मात्रै पनि दोष या विषमता छैन ।

xx 
सन्दर्भ 'दीपावली', लक्ष्मीपूजाको हो । यो चाड मृत्युदेव यमराज र उहाँकी वहिनी यमुना नदी वीचको सम्बन्धको छ । यो पर्व पाँच दिन चल्ने भएकोले यसलाई 'यम पंचक' पनि भन्छन् । हामी सबैलाई थाहा नै छ, यी दिनहरुमा क्रमशः काग, कुकुर, गाइ, गोरुलाई सर्वसाधारणद्वारा र दाजुभाइलाई दिदी बहिनीद्वारा पूजा-अर्चना, मान-सम्मान गर्ने परिपाटी छ । 

हाम्रो संस्कृतिले माथि भनिएका पक्षी, पशु, र दाजु भाईलाई वर्षको एक चोटी मात्रै पूजा-आज्ञा र मान-सम्मान गर भनेको त पक्कै भन्ने लाग्छ मलाई । यो प्रथाले आजको दिनलाई प्रतीक वनाएर वर्ष भरी नै यिनीहरुको हेर विचार गर, मान-सम्मान गर भन्छ । तर हामीले यसलाई सारै संकुचित अर्थमा लिएका छौं । यही कारण, हिजो मात्रै देखियो, सर्वसाधारणहरुले खोजी खोजी कुकुरलाई पूजा गरेर खान दिए र माला पनि लगाइदिए । आज गाइपूजा र भोलि गोरुपूजा पनि यही किसिमले नै गरिन्छ । सबै कुराको सतहगत अर्थ गर्ने प्रणालीले नै हाम्रो विचारधारा त्यति विकसित नभएको हो कि जस्तो लाग्छ मलाई । 

लक्ष्मीपूजा, दीपावलीको सन्दर्भमा, नेपालमा सब भन्दा वढी मन फुकाएर मनाइने चाड हो यो । हाम्रो आकर्षण धन-सम्पत्तिमा छ, लक्ष्मी धन-सम्पत्तिकी देवी हुनुहुन्छ, उहाँको पूजा राम्रोसँग गरियो भने आफूलाई धन-सम्पत्ति मिल्ला भन्ने धारणा जनमानसमा छ । हामीले मान्ने सबै चाडहरु नै कुनै न कुनै फलको अपेक्षा राखेर गरिएका छन्, त्यसमध्ये यो लक्ष्मीपूजा अझ वढी फलको आशा लिएर मानिने पर्व हो ।

अव यो लक्ष्मीपूजालाई अझ सूक्ष्मरूपले विचार गरौँ । वैदिक ज्ञान अनुसार 'लक्ष्मी' शब्दले 'लक्ष'सँग सम्बन्ध राख्छ । हाम्रो जीवनको लक्ष के हो भन्ने बुझ्नु पर्यो हामीले । लक्षको निर्णय नभई हाम्रो जीवनयात्रा अघि वढ्न सक्तैन । हाम्रो जीवनको लक्ष खालि खानु-लगाउनु, घुम्नु-डुल्नु छ भने कुरा नै अर्को भयो ।हैन अर्कै लक्ष छ भने के हो त त्यो लक्ष ? 

हाम्रो जीवनको लक्ष, मेरो विचारमा, शान्तिको प्राप्ति हुनु पर्छ । त्यो लक्ष प्राप्त गर्ने आधार 'लक्ष्मी' हो । लक्ष्मी अनुसार अर्थात् धर्मशास्त्र अनुसार हाम्रो जीवन चल्ने हो भने हामी हाम्रो लक्ष शान्ति प्राप्त गर्न सफल हुन्छौं । होइन, अलक्ष्मी अनुसार, अधर्म शास्त्र अनुसार, अनैतिक क्रियाकलाप अनुसार हाम्रो जीवन चल्यो भने हाम्रो जीवन शान्तितर्फ नलागी अशान्ति तर्फ लाग्छ । 

हामीले हरवखत खोजेको त शान्ति नै हो । हाम्रा जीवनका हरेक क्रियाकलाप शान्तिकैलागिका प्रयत्न हुन् । तर हामीले खोजेको शान्ति स्थायी नभई अस्थायी शान्ति भइरहेको छ । हामीले पाएको शान्ति अस्थायी भएकोले नै हामीलाई जुन वेला पनि यही शान्तिकोलागि फेरि फेरि प्रयत्न गरिरहनु परेको छ । यसको कारण हो, हामीले, आफ्नै अज्ञानले गर्दा, आफ्नो शान्ति यही संसारका व्यक्ति र पदार्थमा खोजिरहेका छौं । संसार नै नित्य-निरन्तर परिवर्तनशील छ, यो परिवर्तनशील संसारवाट हामीले सँधै रहने शान्ति खोजिरहेका छौं । हाम्रो शान्ति पाउने प्रयास जस्तो छ, हामीले पाउने र पाएको शान्ति पनि त्यस्तै छ । 

यही प्रसंगमा गीता हामीलाई भन्छ, 'तिमीहरु परमात्माको नै अंश हौ, त्यसैले तिमीहरु सनातन छौ । अंश भन्नाले हामीले सोचेको जस्तो होइन, यो अंश पनि पूर्ण छ, जस्तो परमात्मा पूर्ण छ ।' गीता अझ भन्छ, 'तिमीहरु पूर्ण भएकोले तिमीहरुमा कुनै पनि अभाव छैन, अपूर्णता छैन । आफूले आफूमा अपूर्णता मान्नु, अभाव मान्नु पनि तिमीहरुकै अज्ञानले हो । तिमीहरु आफू नै शान्तिको भण्डार छौ, त्यो शान्ति खोज्न तिमीहरु अन्त कतै जानु नै पर्दैन ।' आफूमा नै भएको शान्ति अन्त खोज्न जानु मूर्खता नभए अरु के त ? हामी शान्ति खोज्न अन्त गएको कारण पनि यो तथ्य नजान्नाले नै हो । 

भगवान रमण महर्षिकहाँ कुनै व्यक्ति गएर आफ्नो समस्याको समाधान गर्ने उपाय सोधेछ । उहाँले सोध्नु भयो --

'दुःखी को हो ?'
'म'
'म को ?
'म फलानाको छोरो।'
'मैले तिम्रो पिताको नाम सोधेको होइन ।'
'म फलानो देशको नागरिक ।'
'मैले तिम्रो देशको नाम सोधेको होइन ।'
'म फलानो दलको सदस्य ।'
'मैले तिम्रो पार्टीको नाम सोधेको होइन ।'
'म एक पुरुष ।'
'मैले तिम्रो लिङ्ग सोधेको होइन ।'

यसरी उहाँ त्यो प्रश्नकर्तालाई विस्तारै विस्तारै त्यो 'म' सम्म पुर्याउनु हुन्थ्यो, जहाँ पुगेर सबै प्रश्न समाप्त हुन्थे । जति जति हामी आफ्नो स्वरूप नजीक पुग्छौं, जुन स्वरूप सबैको अनुष्ठान हो, उति उति प्रश्न विलाउँदै जान्छन् ।     

यो प्रसङ्गले कस्तो शान्ति खोज्नु पर्ने रहेछ भन्ने कुरो त हामीलाई थाहा दिइसक्यो ।' लौ त हजुर, हजुरहरुलाई दीपावली भनौं, लक्ष्मीपूजा भनौं, को उपलक्षमा हार्दिक शुभकामना । ओं तमसो मा ज्योतिर्गमय, ओं शान्ति, शान्ति, शान्ति ।  

No comments:

Post a Comment