Saturday 29 November 2014

Gita: Chapter 5: Slok 16: श्लोक १६ तर जसले आफ्नो ज्ञानद्वारा त्यो अज्ञानको नाश गरिदिएको छ, उसको त्यो ज्ञानले सूर्य जस्तो परमतत्व परमात्मा प्रकाशित गरिदिन्छ ।

No. 155

श्लोक १६ 

तर जसले आफ्नो ज्ञानद्वारा त्यो अज्ञानको नाश गरिदिएको छ, उसको त्यो ज्ञानले सूर्य जस्तो परमतत्व परमात्मा प्रकाशित गरिदिन्छ ।

आफ्नो सत्ता र शरीर छुट्टा-छुट्टै मान्नु 'ज्ञान' हो र एउटा नै मान्नु 'अज्ञान' हो ।

उत्पत्ति-विनाशशील संसारको कुनै अंशमा हामीले आफूलाई राख्यौं अर्थात् 'मपना' (अहंता) गर्यौं र कुनै अंश आफूमा नै राख्यौं अर्थात् 'मेरोपन' (ममता) गर्यौं । आफ्नो सत्ताको निरन्तर अनुभव हुन्छ, र 'म-मेरोपन' वदलिएको प्रत्यक्ष देखिन्छ । पहिले म वालक थिएँ र खेलौना आदि मेरा थिए, अव म युवा अथवा वृद्ध छु र स्त्री, पुत्र, धन, घर आदि मेरा हुन् । यसरी 'म-मेरोपन'को परिवर्तनको ज्ञान मलाई छ, तर आफ्नो सत्ताको परिवर्तनको ज्ञान मलाई छैन -- यो ज्ञान अर्थात् विवेक हो ।

म-मेरोपनलाई जडसँग नमिलाएर साधकले आफ्नो विवेकलाई महत्व दिनु कि 'जोसँग म-मेरोपन मिलाउँछु, त्यो सबै वदलिन्छ; परन्तु म-मेरो भनिने म (मेरो सत्ता) उही रहन्छ । जडको वदलिने र अभाव त समझमा आउँछ, तर स्वयंको वदलिनु र अभाव कसैको पनि समझमा आउँदैन; किनकि स्वयंमा परिवर्तन र अभाव छँदै छैन । यही विवेकद्वारा म-मेरोपन त्यागिदिने, शरीर 'म' हैन र वदलिने वस्तु 'मेरो' होइन भनेर । यही विवेकद्वारा नै अज्ञानको नाश गर्नु छ हामीलाई । परिवर्तनशीलसँग अपरिवर्तनशीलको सम्बन्ध अज्ञानले अर्थात् विवेकको  महत्व नदिनाले भएको हो । विवेकलाई जाग्रत गरेर परिवर्तनशील म-मेरोपनसँग सम्बन्धविच्छेद गर्ने व्यक्तिलाई त्यो विवेकले सच्चिदनान्दघन परमात्मा प्रकाशित गरिदिन्छ अर्थात् अनुभव गराइदिन्छ ।

विवेक पूर्णरूपले जाग्रत भएपछि परिवर्तनशीलको निवृत्ति हुन्छ । परिवर्तनशीलको निवृत्ति भएपछि आफ्नो स्वरूपको स्वच्छ बोध हुन्छ । बोध हुने वित्तिकै सर्वत्र परिपूर्ण परमात्मतत्व प्रकाशित हुन्छ अर्थात् परमात्मासँग आफ्नो अभिन्नताको अनुभव हुन्छ ।

सूर्य उदय भएपछि नयाँ वस्तुको निर्माण हुँदैन, अन्धकारले ढाकिएको कारण पहिले नदेखिएको वस्तु देखिन्छ । यसै गरी, परमात्मतत्व स्वतःसिद्ध छ, तर अज्ञानले गर्दा त्यो तत्वको अनुभव भइरहेको थिएन । विवेक द्वारा अज्ञान मेटिने वित्तिकै त्यो स्वतःसिद्ध परमात्मतत्वको अनुभव हुन थाल्छ ।

अज्ञानको नाश विवेकले नै हुन्छ, उद्योगले होइन । कारण, अज्ञानको नाश क्रियासाध्य, परिश्रमसाध्य होइन । परिश्रम गर्दा सम्बन्ध वनिरहन्छ; किनकि शरीरसँग सम्बन्ध नजोडी परिश्रम हुँदैन । अर्को कुरा, अज्ञान हट्ने उद्योग गर्दा अज्ञान दृढ हुन्छ; अज्ञानको सत्ता मानेर नै अज्ञान हटाउने उद्योग गरिन्छ । 

अस्वाभाविकतामा स्वाभाविकताको विपरीत भावना (अज्ञान) आफूमा नै छ । अतः विवेकको आदर गरे अज्ञानको निराकरण हुन्छ ।

श्लोक १७ 

मन तदाकार भएको, बुद्धि तदाकार भएको, परमात्मा स्थित परमात्मपरायण साधक ज्ञान द्वारा पापरहित भएर अपुनरावृत्ति (परमगति) पाउँछ ।

परमात्मप्राप्तिको दुई साधन छन् -- (१) विवेक द्वारा असत् को त्याग गर्दा सत् मा स्वरूप-स्थिति स्वतः हुन्छ र (२) सत् को चिन्तन गरी गरी सत् को प्राप्ति हुन्छ । चिन्तनवाट सत् को प्राप्ति हुन्छ, असत् को प्राप्ति कर्महरुले हुन्छ, चिन्तनले होइन । उत्पत्ति-विनाशशील वस्तु कर्मले पाइन्छन् र नित्य परिपूर्ण तत्व चिन्तनले पाइन्छ । चिन्तनले परमात्मा कसरी पाइन्छ भन्ने विधि यो श्लोकमा वताइन्छ ।

निश्चय गर्ने वृत्तिको नाम बुद्धि हो । साधक पहिले बुद्धिले निश्चय गरोस्, सर्वत्र एक परमात्मतत्व नै परिपूर्ण छ भनेर । संसार उत्पन्न हुनु भन्दा पहिले पनि परमात्मा हुनुहुन्थ्यो र संसार नष्ट भएपछि पनि परमात्मा रहनु हुन्छ । वीचमा पनि, संसारको प्रवाह चलिरहंदा पनि, परमात्मा जस्ता-को-तस्तो नै हुनुहुन्छ । यसरी परमात्माको सत्ता (हुनुपना) मा अटल निश्चय हुनु नै बुद्धि तदाकार हुनु हो । 

बुद्धिमा परमात्मतत्वको निश्चय भएपछि मनवाट स्वतः स्वाभाविक नै चिन्तन हुन थाल्छ । सबै क्रियाहरु गरेको वेलामा पनि यो चिन्तन अखण्ड रहन्छ, 'सत्तारूपले परमात्मा सबै ठाउँमा एक परमात्मा नै परिपूर्ण हुनुहुन्छ ।' यो चिन्तनवाट संसारको सत्ता आउँदै आउँदैन । 

साधकको मन र बुद्धि परमात्मामा लागेपछि ऊ जुन वेला पनि परमात्मामा आफ्नो (स्वयं)को स्वतःस्वाभाविक स्थितिको अनुभव गर्छ । मन-बुद्धि परमात्मामा नलागुन्जेल अर्थात् मनले परमात्माको चिन्तन र बुद्धिले परमात्माको निश्चय नगरुन्जेल परमात्मामा आफ्नो स्वाभाविक स्थिति हुँदा हुँदै पनि परमात्माको अनुभव हुँदैन । 

परमात्मादेखि छुट्टै आफ्नो सत्ता नरहनु नै परमात्माको परायण हुनु हो । परमात्मामा आफ्नो स्थितिको अनुभव भएपछि आफ्नो सत्ता परमात्माको सत्तामा लीन हुन्छ र स्वयं परमात्मस्वरूप हुन्छ । 

साधक र साधनको एकता नहुन्जेल साधन छुटिरहन्छ, अखण्ड रहँदैन । साधकपन अथवा अहंभाव मेटिएपछि साधन साध्यरुप नै हुन्छ; वास्तवमा साधन र साध्य दुबैमा नित्य एकता छ । 

ज्ञान अर्थात् सत्-असत् को विवेकको वास्तविक जागृति भएपछि असत् को सर्वथा निवृत्ति हुन्छ । असत् सँगको सम्बन्धले पाप-पुण्य हुने हो । पाप-पुण्यले नै मनुष्य बाँधिने हो ।असत् सँग पूर्ण सम्बन्ध-विच्छेद भएपछि पाप-पुण्य समाप्त हुन्छन् । 

असत् को सम्बन्ध नै पुनरावृत्तिको (पुनर्जन्म) कारण हो । असत् को सम्बन्ध पूरापूर मेटिएपछि पुनरावृत्तिको प्रश्न नै रहँदैन । 

एकदेशीय वस्तु नै आउने जाने हुन्छ । सर्वत्र परिपूर्ण कहाँवाट आउनु र कहाँ जानु ? परमात्मा सम्पूर्ण देश, काल, वस्तु, परिस्थिति आदिमा एकरस, परिपूर्ण रहनुहुन्छ । उहाँको कहिं पनि आउनु जानु हुँदैन । यसैले परमात्मस्वरूप नै भएका महापुरुषको पनि कहिं आउनु जानु हुँदैन । उपनिषद् भन्छ 'त्यस्तो महापुरुषको प्राणहरुको उत्क्रमण हुँदैन; ऊ ब्रह्म नै भएर ब्रह्म प्राप्त गर्छ ।'

उसको भनिने शरीरलाई नै लिएर भनिन्छ, उसको पुनर्जन्म हुँदैन । वास्तवमा आफ्नो स्वरूपको बोध हुनुपर्ने हो, बोध हुने वित्तिकै नित्यप्राप्त परमात्मतत्वको अनुभव हुन्छ ।  
                           
अस्वाभाविकतामा स्वाभाविकताको भावना मेटिएपछि एक परमात्मा सिवाय अरु कसैको स्वतन्त्र सत्ता रहँदैन र साधक परमात्मस्वरूप नै हुन्छ, जुन ऊ धेरै अघिदेखि नै छ । त्यसैले ऊ संसार बन्धनमा आउने कुनै प्रश्न नै उठ्दैन । 

No comments:

Post a Comment