Wednesday 3 December 2014

Gita: Chapter 5: Slok 23: श्लोक २३ यो मनुष्य-शरीरमा नै शरीर छुट्नु भन्दा पहिले नै काम-क्रोधवाट उत्पन्न हुने वेगलाई

No 160 

श्लोक २३ 

यो मनुष्य-शरीरमा नै शरीर छुट्नु भन्दा पहिले नै काम-क्रोधवाट उत्पन्न हुने वेगलाई पूर्णरूपले सहन सक्ने व्यक्ति योगी हो र त्यही व्यक्ति सुखी हो ।

हामी सबै प्राणीलाइ अलौकिक विवेक मिलेको छ । यो विवेक पशु-पक्षी आदि प्राणीहरुमा लुकेर रहन्छ । उनीहरुमा खालि आफ्नो शरीर अनुसार शरीर-निर्वाह मात्रकोलागि विवेक रहन्छ । देव आदि शरीरहरुमा यो विवेक ढाकिएर रहन्छ, किनकि यी शरीरहरू भोग गर्नकालागि हुन् । यही कारण उनीहरुमा भोगहरुको वहुलता र भोगहरुको नै उद्देश्य रहन्छ । मनुष्य शरीरमा पनि भोगी र संग्रही (भौतिक पदार्थ जम्मा गर्ने) को बुद्धि ढाकिएको हुन्छ । ढाकिइरहे पनि यो विवेकले मनुष्यलाई समय-समयमा भोग र संग्रहमा दुःख र दोषको दर्शन गराइरहन्छ । परन्तु यसलाई महत्व नदिएको कारण मनुष्य भोग र संग्रहमा फसिरहन्छ । अतः हामीले यो विवेकलाई महत्व दिनुपर्छ र यसलाई स्थायी वनाउनु पर्छ । आफूलाई प्राप्त विवेकलाई स्थायी वनाएर ऊ राग-द्वेष, काम-क्रोध, आदि विकारहरुलाई पूर्णरूपले समाप्त गर्न सक्छ । 

मृत्यु कहिले आउने हो केही थाहा छैन । अतः मनुष्य शरीर दुःखहरुदेखि छुट्न नै पाइएको हो । यसैले हामी सबैले काम-क्रोधको वेग सहनु पर्छ । काम-क्रोधको वशीभूत हुने होइन भन्ने सावधानी जीवन भरी राख्नु पर्छ । यो काम (काम-क्रोधको वेगलाई सहने)  हामी आफैं गर्न सक्छौं, अरु कसैले हाम्रोलागि गर्न सक्तैन । यो काम गर्ने अवसर पनि मनुष्य शरीरमा नै छ, अरु शरीरहरुमा छैन । यही कारण, हामीले हाम्रो शरीर छुट्नु भन्दा पहिले नै आफ्नो काम र क्रोधको वेगलाई अवश्य सहन गर्न सक्नु पर्छ ।

यो श्लोकको भाव यस्तो छ, हाम्रो शरीरले काम-क्रोधको वशीभूत भएर केही काम गर्नु भन्दा पहिले नै तिनको (काम-क्रोधको) वेगलाई सहन सक्नुपर्छ हामीले । किनकि काम-क्रोध अनुसार क्रिया आरम्भ गरिसकेपछि शरीर र वृत्तिहरु आफ्ना वशमा रहँदैनन् । 

भोगहरु पाउने इच्छा हुनु भन्दा पहिले ती भोगहरुको संकल्प हुन्छ । त्यस्तो संकल्प हुने वित्तिकै साधकले सावधान हुनु पर्यो, 'म त साधक हुँ, मलाई भोगहरुमा फस्नु छैन, किनकि यो काम साधकको होइन।' यसरी संकल्प हुने वित्तिकै त्यो संकल्पको त्याग गरिदिनु पर्छ ।

पदार्थहरुप्रति राग (काम) रहेकोले 'फलाना पदार्थहरु सुन्दर र सुखमय छन्' भन्ने संकल्पहरु उत्पन्न हुन्छन् । संकल्प उत्पन्न भएपछि ती पदार्थहरु पाउने कामना उत्पन्न हुन्छ र तिनको प्राप्तिमा वाधा दिने व्यक्तिसँग हामीलाई उत्पन्न हुन्छ ।

काम-क्रोधको वेग सहने भनेको -- काम क्रोधको वेग उत्पन्न नै हुन नदिने । काम-क्रोधको संकल्प उत्पन्न भएपछि वेग आउँछ र वेग आएपछि काम-क्रोध रोक्न गाहारो हुन्छ । यसैले काम-क्रोधको संकल्प उत्पन्न हुन नै नदिने । कारण, काम-क्रोधको संकल्प उत्पन्न भएपछि अन्तःकरणमा अशान्ति, उत्तेजना, संघर्ष हुन थाल्छन् । यस्तो किसिमको अशान्ति, उत्तेजना र संघर्ष रहँदा व्यक्ति सुखी हुन सक्तैन । तर यहाँ, यो श्लोकमा, काम-क्रोधको वेग सहने मनुष्यलाई नै सुखी भनियो । अर्को कुरा, काम-क्रोधको वेगलाई व्यक्ति आफू भन्दा शक्तिशाली व्यक्तिको सामुन्ने त रोक्न सक्ला अथवा आफूले गरिरहेको व्यापारमा आम्दानी भइरहेको देखेर पनि रोक्न सक्ला । परन्तु यसरी कुनै भय र लोभले काम-क्रोधको वेग सही सही कुनै मनुष्य सुखी हुन सक्तैन । किनकि ऊ क्रोधमा फसेको जस्तै भय र लोभमा पनि फस्यो । फेरि अर्को कुरा, यो श्लोकमा काम-क्रोधको वेग सहने व्यक्तिलाई 'योगी' भनियो; तर संकल्पको त्याग नगरी कोही पनि योगी हुन सक्तैन पनि भनिएको छ यही गीताको छैठौं अध्यायमा । यही कारण, काम-क्रोधको वेग रोक्नु राम्रो भए पनि साधकले यिनको (काम-क्रोधको) संकल्प नै छोड्नु पर्छ । 

काम-क्रोधको संकल्प रोक्ने उपाय, आफूमा काम-क्रोध नमान्ने । कारण, हामी (स्वयं) रहन्छौँ र काम-क्रोध आऊँछन्, जान्छन् ।यसैले, यी (काम-क्रोध) हामीसँग रहिरहने होइनन् । अर्को कुरा, हामी काम-क्रोधलाई आफ़ूदेखि छुट्टै भन्ने पनि जान्दछौं । हामीले आफूसँग छुट्टै भनेको वस्तु हामी आफूमा हुँदैनन् । फेरि अर्को कुरा, काम-क्रोधदेखि रहित हुन सकिन्छ । पहिलेदेखि नै यीदेखि (काम-क्रोध) रहित भइरहने  व्यक्ति नै यीदेखि रहित हुन सक्छ । फेरि अर्को कुरा, भगवानले काम-क्रोधलाई (राग-द्वेषको नै स्थूलरूप) क्षेत्र अर्थात् प्रकृतिको विकार वताउनु भएको छ । अतः यी (काम-क्रोध) प्रकृतिमा नै हुन्छन्, आफूमा हुँदैनन्, किनकि हामी (स्वरूप) निर्विकार छौं । यसवाट सिद्ध हुन्छ, काम-क्रोध आफूमा छैन । यिनलाई आफूमा मान्नु यिनलाई निमन्त्रणा दिनु हो ।

अज्ञानद्वारा ज्ञान ढाकिएका मनुष्यहरुलाई भगवानले यही अध्यायमा 'जन्तु' भन्नुभयो । तर यो श्लोकमा भगवान काम-क्रोधको वेग सहने व्यक्तिलाई नर भन्नुहुन्छ । तात्पर्य, काम-क्रोधको वशमा हुने व्यक्ति नै मनुष्य भनिन योग्य छ । काम-क्रोधमथि विजय गरेको व्यक्ति वास्तवमा नर हो, शूरवीर हो ।

समतामा स्थित मनुष्यलाई योगी भन्छन् । आफ्नो विवेकलाई महत्व दिएर काम-क्रोधको वेग उत्पन्न नै हुन नदिने व्यक्ति समतामा स्थित हुन सक्छ ।

मनुष्य मात्रै होइन, पशु-पक्षी पनि काम-क्रोध उत्पन्न हुँदा सुख-शान्तिसँग रहन सक्तैनन् । यसैले काम-क्रोधको संकल्प मेटाउने व्यक्ति नै वास्तवमा सुखी हो ।

पहिले स्फूरणा हुन्छ । त्यो स्फूरणामा सत्ता, आसक्ति र आग्रह हुँदा त्यो स्फूरणा समातिइन्छ र संकल्प वन्छ । संकल्पवाट मनोरथ (मनोराज्य) हुन थाल्छ, जसवाट काम-क्रोध आदिको वेग उत्पन्न हुन्छ । साधनकोलागि पहिलो कुरा, वेग उत्पन्न हुन नदिने अर्थात् संकल्प नगर्ने । त्यसपछि वेग उत्पन्न भए पनि त्यस्तो क्रिया नगर्ने ।

xx 
यो श्लोकमा आफ्नो मनलाई वशमा लिने क्रममा काम-क्रोधले हामीलाइ दिने वाधाको विशद चर्चा गरियो । काम (इच्छा)ले गर्न सक्ने कुकृत्यको वर्णनले यो काम हामीमा हुँदा हामी कति दुःखी हुँदा रहेछौं भन्ने पनि हामीलाई ज्ञान भयो । अर्को कुरा, हामीमा इच्छा र रीसवाट हुने वाधा भन्दा पनि यसको वेग थाम्न सक्ने र नसक्ने सामर्थ्यको महत्वको वर्णन भयो यो प्रसङ्गमा । अव हामीले यो पनि थाहा पायौं, यसको वेग सहन नसक्ने व्यक्ति मान्छे नै होइन रहेछ अर्थात् पशु रहेछ । अर्कोतिर, यसको वेग सहन सक्ने व्यक्ति नै वास्तवमा 'नर' रहेछ, 'सुखी' रहेछ र 'योगी' रहेछ । अझ भन्नु पर्दा, यसको वेग सहन नसक्ने व्यक्तिले जति नै साधना गरे पनि ऊ काँचोको काँचो नै रहेछ । 

हामीले कसैलाई रीस गर्नु हुँदैन, कसैलाई नराम्रो गर्नु हुँदैन, कसैसँग कुनै कुराको पनि चाहना (लोभ) गर्नु हुँदैन भन्ने कुरा जानेका छौं । तर यदि हामी नै वेला वेलामा इच्छाको, क्रोधको र लोभको वशमा पर्छौं भने हाम्रो पतन हुने रहेछ । अर्को शब्दमा, हामीले आफूले जानेको ज्ञानको, यदि साँचो अर्थमा जानेको भए, आदर गर्न सकेका रहेनछौं । यसरी आफ्नो ज्ञानको आफैंले आदर गर्न नसक्ने हामीलाई अरु कसले आदर गर्ला त ? आफूले नै आफ्नो ज्ञानको आदर गर्न नसक्ने व्यक्तिले अरुवाट आदर खोज्नु कति युक्तिसंगत होला त ? 

आजलाई यत्ति । अरु पछि । 

No comments:

Post a Comment