Saturday 31 May 2014

70. No. 42 श्लोक ४९ बुद्धियोग (समता)को अपेक्षा सकामकर्म अत्यन्त नै निकृष्ट छ ।

No. 42 
 
श्लोक ४९ 
 
बुद्धियोग (समता)को  अपेक्षा सकामकर्म अत्यन्त नै निकृष्ट छ । त्यसैले हे  धनन्जय ! तिमी बुद्धि (समता)को आश्रय लिऊ, किनकि फलको हेतु वन्ने व्यक्ति अत्यन्त दीन हुन्छन् ।
 
यहाँ बुद्धियोगको अपेक्षा  सकामकर्मलाइ अत्यन्त निकृष्ट भनियो, यसको अनुष्ठान गर्ने मनुष्यलाई अत्यन्त दीन भनियो । कारण कि कर्म पनि उत्पन्न र नष्ट हुन्छन्, तथा ती कर्महरुको फलको  पनि संयोग र वियोग हुन्छ । परन्तु योग (समता) नित्य छ, योगको कहिले पनि वियोग हुँदैन, यसमा कहिले पनि कुनै पनि विकृति आउँदैन ।
 
सम्पूर्ण कर्महरुमा समता नै श्रेष्ठ छ । समता विना सम्पूर्ण जीव कर्म गरि रहनछन् तथा ती कर्महरुको परिणाममा जन्मने, मर्ने पनि गरिरहन्छन् र दुःख भोगी रहन्छन् । किनकि समता विना कर्ममा उद्धार गर्ने ताकत नै छैन । कर्महरुमा समता नै कुशलता हो । यदि कर्महरुमा समता छैन भने शरीरमा अहंता, ममता हुनेछ र शरीरमा अहंता,ममता हुनु नै पशुबुद्धि हो ।
 
जस्तो प्रकाश र अन्धकार परस्पर विरोधी छन्, त्यस्तै बुद्धियोग र सकाम कर्म   पनि परस्पर विरोधी छन् । यी दुइमा दिन रात जस्तो महान् अन्तर छ । किनकि बुद्धियोग परमात्मा प्राप्ति गराउँछ, र सकाम कर्म जन्म -मरण दिन्छ  । 
 
भगवान अर्जुनलाई माध्यम वनाएर हामीलाई भन्नुहुन्छ, 'तिमी समताको शरण लेऊ ।' समतामा नित्य-निरन्तर स्थित हुनु नै समताको शरण लिनु हो । समतामा स्थित रहंदा नै हामीलाई स्वरूपमा आफ्नो स्थितिको अनुभव हुन्छ ।
 
भगवान अझ भन्नुहुन्छ, कर्महरुको फलको हेतु वन्नु अत्यन्त निकृष्ट हो । कर्म, कर्मफल, कर्मसामग्री र शरीर आदि करणहरुसँग सम्बन्ध जोड्नु नै कर्मफलको हेतु वन्नु हो । 
 
कर्म र कर्मफलको बिभाग अलग छ, यी दुइदेखि रहित नित्य-तत्वको बिभाग अलग छ । त्यो नित्य तत्व अनित्य कर्मफलको आश्रित हुनु -- यो जस्तो निकृष्ट अरु के होला ?
 
कर्मयोगमा 'कर्म' करणसापेक्ष हो, तर योग करण निरपेक्ष हो ।  योगको प्राप्ति कर्मले होइन, सेवा, त्यागले हुन्छ । अतः कर्मयोग कर्म होइन । कर्मयोग करणनिरपेक्ष अर्थात् विवेकप्रधान साधन हो । सेवा, त्यागको प्रधानता नभए कर्म हुन्छ, कर्मयोग हुँदैन ।
 
समता परमात्मालाई प्राप्ति गराउँछ, तर सकाम कर्म जन्म-मरण दिन्छ । त्यसैले हामीले समताको नै आश्रय लिनुपर्छ, समतामा नै स्थित रहनुपर्छ । समतामा स्थित हुन सके हामी दीन हुँदैनौं, वरु कृतकृत्य, हुन्छौं । तर सकामभावपूर्वक आफ़्नोलागि कर्म गर्ने व्यक्ति सँधै दीन, वद्ध नै रहन्छ ।              
 
गीतामा कर्मयोगकोलागि तीन शब्द आएका छन् -- बुद्धि, योग र बुद्धियोग । कर्मयोगमा कर्मको प्रधानता छैन, योगको प्रधानता छ । कर्मयोगमा व्यवसायात्मिका बुद्धिको प्रधानता भएकोले यसलाई बुद्धियोग भनिएको हो र विवेकपूर्वक त्यागको प्रधानता भएकोले यसलाई 'योग' या 'बुद्धियोग' भनिएको हो ।
 
ध्यानयोगमा मन र कर्मयोगमा बुद्धिको प्रधानता छ । मनको निरोधमा स्थिरता र चंचलता दुवै धेरै पछिसम्म रहिरहन्छ । हाम्रो दृष्टिमा अर्को सत्ताले मान्यता पाउन्जेल मनको निरोध सर्वथा हुन सक्तैन । यसैले समाधिसम्म पुग्दा पनि दुइ अवस्था -- समाधि र व्युत्थान -- रही रहन्छन् । परन्तु बुद्धिको प्रधानता रहंदा कर्मयोगमा विवेकको मुख्यता रहन्छ । विवेकमा सत् र असत् दुवै रहन्छन् । कर्मयोगी असत् वस्तुहरुलाई सेवा-सामग्री मानेर ती वस्तुहरुलाई अरुको सेवामा लगाउँछ । यसो गर्दा असत् को छिट्टै र सजिलोसँग त्याग  हुन्छ ।
 
मनको निरोध नित्य-निरन्तर हुँदैन, समय समयमा र एकान्तमा हुन्छ । परन्तु व्यवसायात्मिका बुद्धि अर्थात् बुद्धिको निश्चय निरन्तर रहन्छ ।   
 
वेदमा एक लाख मन्त्रहरु छन्, ती मध्ये असी हजार मात्र कर्मकाण्डको लागि  छन्, वांकी वीस हजारमा सोह्र हजार उपासना काण्डकोलागि छन्, वाट वांकी चार हजार ज्ञान  काण्डकोलागि छन् । कर्मकाण्डकोलागि यति धेरै मात्र दिइनुको कारण, संसारमा ज्ञानका अधिकारी थोरै हुनुले नै हो । तमोगुणमा वसिरहेको 'निष्क्रिय' व्यक्तिलाई कर्ममा लगाउन पनि वेदले भन्यो, 'हे बाबु, यसरी नसुत, उठ, हेर तिमी देवताको पूजा गर, आराधना गर, त्यसो भए देवताहरुले तिमीलाई इच्छा लागेको फल दिन्छन् ।' यस्तो सुनेपछि त्यसरी सुतिरहेको व्यक्ति कर्ममा प्रवृत्त हुन्छ । तर, वेदले भनेको छैन, 'तिमी कर्म मात्रै गरिरहु' । वेदको उद्देश्य जो व्यक्ति जुन स्तरको छ, त्यसको स्तर माथि उठाउनु हो ।
 
तर, हालै देख्नमा पनि आएको छ, हामी पूजाको नाममा, उपासनाको नाममा 'यान्त्रिक' पूजा, उपासना गरिरहेछौं । केही दिन मात्रै हामीले हाम्रो घरमा राखेको 'सहयोगी'को वारेमा कसैले सोध्यो भने हामी त्यसको पूरा 'biodata' भन्न सक्छौं, तर आफूले वर्षौँदेखि पूजा गरिरहेको भगवान 'के हो, को हो' भनेर कसैले हामीलाई सोध्यो भने हामीसंग जवाफ छैन । यस्तो किन भएको भन्ने प्रश्नको जवाफ: हामीले यसको खोजी नै गरेका छैनौं । सँधै पूजाकोठामा जान्छौं, पूजा गर्छौं, तर, आफूले नै पूजा गरेको तत्वको ज्ञान नै नहुने हामी जस्ता व्यक्तिलाई हामीले नै के भन्ने ? यस्तो 'यान्त्रिक' जीवन विताउने हामीलाई के भन्ने? हामीलाई यतिका दिनसम्म किन प्रश्न आएन, 'मैले पूजा गरिरहेको तत्व के हो ? 'म' पूजा गरिरहेको तत्व को हो, के हो' भनेर ? अचम्म लाग्छ, विचार गर्दा पनि । यन्त्रवत् कर्म गर्ने हामी जस्तालाई कसरी सुख हुन्छ ? अज्ञानवश कर्म भैरहेछ हामीवाट, तर हामी आफूलाई त्यस्तो ठानी रहेका छैनौं ।
 
अहिले मैले सोचेको विषयमा हजुरहरुले  थोरै भए पनि समय दिने हो कि ? हजुरहरुको मुख देखेर कुरा गर्न पाएको छैन, हजुरहरु रिसाउने हो कि भन्ने डर पनि लाग्यो मलाई त ! 

No comments:

Post a Comment