No. 56
श्लोक ६६ मन र इन्द्रियहरु समाहित नभएका व्यक्तिहरुको बुद्धि व्यवसायात्मिका हुँदैन र व्यवसायात्मिका बुद्धि नहुँदा त्यस्ता अयुक्त मनुष्यहरुमा निष्काम भाव अथवा कर्तव्यपरायणताको भाव हुँदैन । निष्कामभाव नहुँदा उसलाई शान्ति मिल्दैन । त्यस्तो शान्तिरहित मनुष्यलाई सुख कसरी मिल्न सक्छ र ?
अहिलेको विषय कर्मयोग भएकोले यो साधनमा मन र इन्द्रियहरु
संयम हुनु जरूरी छ । विवेकपूर्वक संयम नगरी कामना नष्ट हुँदैन । कामना नष्ट
नभई बुद्धि स्थिर हुँदैन । यही हुनाले कर्मयोगी साधकले सब भन्दा पहिले मन र
इन्द्रियहरुको संयम गर्नुपर्छ ।
तर यो श्लोकले मन र इन्द्रियहरु संयमित नभएका साधकहरुको वर्णन गर्छ ।
मन
र इन्द्रियहरु संयमित नभएका अयुक्त व्यक्तिहरुलाई 'मलाई त खालि परमात्मा
प्राप्त गर्नु छ' भन्ने निश्चयात्मिका बुद्धि हुँदैन । संयमित नभएको मनले
सांसारिक भोगहरु र संग्रहहरुमा नै लागिरहन्छ । त्यो मनले कहिले मान
चाहन्छ, कहिले सुख-आराम चाहन्छ, कहिले धन चाहन्छ, कहिले भोग चाहन्छ । यस्तो
प्रकारले अयुक्त व्यक्तिको मनमा अनेक तरहका कामनाहरु भइरहन्छन् । यही
कारणले नै उसको बुद्धि परमात्मप्राप्तिकोलागि दृढ हुन सक्तैन ।
फेरि, अयुक्त व्यक्तिको बुद्धि व्यवसायात्मिका पनि हुन
सक्तैन । व्यवसायात्मिका बुद्धि भएको व्यक्तिलाई 'मलाइ त केवल आफ्नो
कर्तव्य पालन गर्नु छ र फलको इच्छा, कामना, आसक्ति आदिको त्याग गर्नु छ'
भन्ने भावना हुन्छ । तर अयुक्त व्यक्तिलाई यस्तो किसिमको भावना पनि हुँदैन ।
यस्तो भावना नहुनुको एक मात्र कारण हो -- आफ्नो ध्येय स्थिर नहुनु ।
आफ्नो कर्तव्यको पालना नगर्ने व्यक्तिलाई शान्ति मिल्दैन ।
आफ्नो कर्तव्य-परायण नहुने व्यक्तिलाई शान्ति मिल्न सक्तैन । आफ्नो
कर्तव्य-पालनमा दृढता नहुनाले नै अशान्ति हुन्छ ।
अशान्तलाई
कसरी सुख हुन्छ र ? किनकि अशान्त व्यक्तिको मनमा हरदम हलचल भइरहन्छ ।
वाहिरवाट जति नै अनुकूल भोग आदि मिले पनि उसको हृदयको हलचल मेटिन सक्तैन
अर्थात् त्यस्तो व्यक्ति सुखी हुन सक्तैन ।
No comments:
Post a Comment