Saturday 31 May 2014

86. No. 59 श्लोक ७० जस्तो सम्पूर्ण नदीहरुको जल चारैतिरवाट जलले परिपूर्ण समुद्रमा आएर मिल्छन्, तर समुद्र

No. 59
श्लोक ७०
जस्तो सम्पूर्ण नदीहरुको जल चारैतिरवाट जलले परिपूर्ण समुद्रमा आएर मिल्छन्, तर समुद्र आफ्नो मर्यादामा अचल स्थित रहन्छ, त्यस्तै सम्पूर्ण भोग-पदार्थहरु संयमी मनुष्यलाई कुनै विकार उत्पन्न नगरी प्राप्त हुन्छन् । त्यस्तो संयमी मनुष्य परमशान्ति प्राप्त गर्छ ।
वर्षा कालमा नदीहरुमा धेरै पानी हुन्छ, कति नदीहरुमा त वाढी नै आउँछ, तर जव त्यो जल चारैतिरवाट आएका जलद्वारा परिपूर्ण समुद्रमा आएर मिल्छ, त्यो वेला समुद्र वढ़दैन, आफ्नै मर्यादामा रहन्छ । तर गर्मीमा नदीहरुको र खोलानालाको पानी सुके पनि समुद्र घट्दैन । तात्पर्य, नदि र खोलाहरुको जल धेरै आउँदा अथवा कम आउँदा अथवा नआउँदा तथा वडवानल (जलमा पैदा हुने अग्नि) र सूर्य द्वारा जलको शोषण हुँदा समुद्रमा कुनै फरक पर्दैन, समुद्र वढ्ने घट्ने गर्दैन । उसलाई नदी अथवा खोलानालाहरुको जलको त्यति अपेक्षा रहँदैन । समुद्र सदा-सर्वदा जस्ता-को-तस्तो परिपूर्ण रहन्छ र आफ्नो मर्यादाको त्याग कहिले पनि गर्दैन ।        
यसै गरी यो संसारका सम्पूर्ण भोग परमात्म तत्व जान्ने संयमी मनुष्यलाई प्राप्त हुन्छन्, उसको अगाडि आउँछन्, तर ती भोगहरु उसका 'भनिने' शरीर र अन्तःकरणमा सुख-दुःख आदि विकार गराउन सक्तैनन् । अतः उसले परम शान्ति पाउँछ । उसले पाएको शान्ति संसारको पदार्थको कारणले नभएर परमात्म तत्वको कारणले भएको शान्ति हो ।
स्थितप्रज्ञ वसेको तत्व चेतन हो, नित्य हो, सत्य हो, असीम हो, अनन्त हो र सांसारिक भोग पदार्थ जड हुन्, अनित्य हुन्, असत् हुन्, सीमित हुन्, अन्त हुने स्वभावका हुन् ।
मनमा भोग पदार्थको कामना हुने, पदार्थहरुलाई महत्व दिने व्यक्तिलाई जति नै भोग पदार्थ मिले पनि तृप्ति हुँदैन, उनीहरुको शोक, सन्ताप, कामना, जलन मेटिन सक्तैन । त्यस्ता व्यक्तिलाई कसरी शान्ति मिल्न सक्छ र ? किनकि चेतन स्वरूपको तृप्ति जड पदार्थवाट पाउन सकिंदैन ।
कामनाले गर्दा नै यो संसार जड देखिन्छ, वास्तवमा यो संसार चिन्मय परमात्मा नै हो । जव व्यक्ति कामनारहित हुन्छ, त्यो वेला ऊसँग सबै वस्तु प्रसन्न हुन्छन् । यही कारण त्यो निष्काम व्यक्तिकहाँ आवश्यक वस्तुहरु आफैं आउन थाल्छन् । ऊकहाँ आएर सफल हुन वस्तुहरु लालयित हुन्छन् । तर स्थितप्रज्ञ पुरुषमा  कामना नरहेको कारण वस्तुहरु पाइए पनि ऊभित्र कुनै विकार (हर्ष आदि) उत्पन्न हुँदैन । उसको दृष्टिमा वस्तुहरुको कुनै महत्व छँदै छैन । तर, कामना भएका व्यक्तिहरुलाई वस्तुहरु प्राप्त हुन् अथवा नहुन्, उनीहरु भित्र सदा अशान्ति वनिरहन्छ ।      

No comments:

Post a Comment