No. 51
श्लोक ५८
जसरी
कछुवा आफ्नो अंगहरुलाई सबैतिरवाट समेटछ, त्यसै गरी यो कर्मयोगी
इन्द्रियहरुलाई इन्द्रियहरुका विषयहरुवाट सबै तरहले हटाउँछ । त्यो वेला
उसको बुद्धि स्थिर हुन्छ ।
कछुवाले हिंडदा उसको अंग देखिन्छ -- चार खुट्टा, एउटा
पुच्छर र एउटा टाउको । तर उसले आफ्नो अंग लुकाएको वेलामा त उसको ढाड मात्रै
देखिन्छ । त्यस्तै स्थितप्रज्ञ पाँच इन्द्रियहरु र एउटा मन -- यी छ
इन्द्रियहरुलाई आफ्नो आफ्नो विषयहरुवाट हटाउँछ । यदि साधकको सम्बन्ध यी
इन्द्रियहरुसँग रहन्छ भने ऊ स्थितप्रज्ञ हुन सक्तैन । स्थितप्रज्ञ
विषयहरुवाट आफ्ना इन्द्रियहरुलाइ हटाउँछ र मनले विषयको चिन्तन गर्दैन ।
इन्द्रियहरुलाई विषयवाट हटाएपछि हामीलाई आफ्नो स्वतःसिद्ध
तत्वको अनुभव हुन्छ । यो स्वतःसिद्ध तत्व कालको अधीन छैन, कालको सीमामा
छैन । किनकि यो अनुभव कुनै क्रिया अथवा त्यागको फल होइन । यो अनुभव उत्पन्न
हुने वस्तु होइन । जस्तो आकाशमा सूर्य रहँदा पनि आँखा बन्द गर्यो भने
सूर्य देखिंदैन र आँखा खोल्ने वित्तिकै सूर्य देखिन्छ । यहाँ सूर्य र
आँखाहरुमा कार्य-कारणको सम्बन्ध छैन अर्थात् आँखा खोल्दा सूर्य पैदा हुँदैन
। सूर्य त पहिलेदेखि जस्ता-को-तस्तो नै छ । आँखा बन्द गर्नु भन्दा पहिले
पनि सूर्य उस्तै छ र आँखा वन्द गर्दा पनि सूर्य उस्तै छ । खालि आँखा वन्द
गर्दा नै हामीलाई सूर्यको अनुभव नभएको हो । त्यस्तै इन्द्रियहरुलाई
विषयहरुवाट हटाउँदा हुने स्वतःसिद्ध परमात्मतत्वको अनुभव मनसहित
इन्द्रियहरूको विषय होइन । अर्को शब्दमा, भोगहरुसंग, विषयहरुसँग राख्दा
पनि, भोगहरु भोगी रहँदा पनि त्यो तत्व त्यस्तै नै छ । तर भोगहरुसँग
सम्बन्धरुप पर्दा रहँदा त्यो तत्वको अनुभव हुन नसकेको हो, पर्दा हट्ने
वित्तिकै यसको अनुभव भइहाल्छ ।
No comments:
Post a Comment