No. 54
श्लोक ६२, ६३
विषयको
चिन्तन गर्ने मनुष्यलाई ती विषयहरुमा आसक्ति पैदा हुन्छ, आसक्तिवाट कामना
पैदा हुन्छ । कामनामा वाधा पर्यो भने क्रोध पैदा हुन्छ । क्रोध हुँदा
सम्मोह (मूढ भाव) हुन्छ । सम्मोहवाट स्मृति भ्रष्ट हुन्छ । स्मृति भ्रष्ट
हुँदा बुद्धि (विवेक) नाश हुन्छ,बुद्धिको नाश भएपछि मनुष्यको पतन हुन्छ ।
भगवान परायण नहुँदा, भगवानको चिन्तन नहुँदा विषयको चिन्तन
हुन्छ । कारण, जीवको एकातिर परमात्मा हुनुहुन्छ, अर्कोतिर संसार छ । जीवले
परमात्माको आश्रय छोडेपछि ऊ संसारको आश्रय लिन्छ र संसारको नै चिन्तन
गर्छ । किनकि संसार वाहेक उसकोलागि चिन्तनको अर्को विषय नै हुँदैन । यसरी
चिन्तन गर्दा गर्दा व्यक्तिको त्यो विषयमा आसक्ति हुन्छ, राग, प्रियता पैदा
हुन्छ । आसक्ति पैदा भएपछि व्यक्ति त्यो विषय प्रयोग गर्न थाल्छ । विषयको
भोगवाट हुने सुखवाट, चाहे त्यो मानसिक होस् अथवा शारीरिक, विषयहरुमा
प्रियता पैदा हुन्छ । प्रियतावाट त्यो विषयको वारम्वार चिन्तन हुन थाल्छ ।
त्यसपछि त्यो व्यक्तिवाट, चाहे त्यो विषयको भोग होस् वा नहोस, ती विषयमा
राग पैदा हुन्छ, यो त नियम नै छ ।
विषयमा राग भएपछि त्यो विषय पाउने कामना पैदा हुन्छ ।
आफूले कामना गरेको वस्तुहरु मिलिरहे 'लोभ' पैदा हुन्छ तर त्यो कामनामा
कसैवाट वाधा भयो भने त्यो व्यक्तिसँग क्रोध हुन्छ ।
'कामना' रजोगुणी वृत्ति हो, 'सम्मोह' तमोगुणी वृत्ति हो र 'क्रोध' रजोगुण र तमोगुणको वीचको वृत्ति हो ।
क्रोधमा सम्मोह हुन्छ अर्थात् मूढता आउँछ, अर्थात् काम, क्रोध, लोभ र ममता -- यी चारैवाट सम्मोह हुन्छ ।
(१) कामवाट हुने सम्मोहाले विवेक्शक्ति ढाकिन्छ । यसो हुँदा व्यक्ति गर्न नहुने काम पनि गर्छ ।
(२) क्रोधवाट आउने सम्मोहले व्यक्ति आफ्ना मित्रहरु तथा पूज्यजनहरुलाई पनि भन्न नै नहुने कुराहरु भनिदिन्छ ।
(३) लोभवाट आउने सम्मोहवाट व्यक्तिलाई सत्य-असत्य, धर्म-अधर्म आदिको विचार रहँदैन र व्यक्ति कपट गरेर अरुलाई ठग्छ ।
(४) ममतावाट आउने सम्मोहवाट व्यक्तिमा समभाव रहँदैन, पक्षपात रहन्छ ।
गीतामा
भन्न खोजिएको, माथि उल्लिखित चार लक्षणहरुमा काम, लोभ र ममतामा आफ्नो
सुखभोग र स्वार्थको वृत्ति जाग्रत रहन्छ, तर क्रोधमा अरुको अनिष्ट गर्ने
वृत्ति जाग्रत रहन्छ । अतः क्रोधवाट हुने सम्मोह अरु तीन वृत्तिवाट हुने
सम्मोह भन्दा धेरै भयानक हुन्छ । यसैले यहाँ, यो श्लोकमा भगवानले खालि
क्रोधवाट सम्मोह हुने कुरा गर्नुभयो ।
मूढ़ता आएपछि स्मृति नष्ट हुन्छ अर्थात्, शास्त्रहरूवाट
सद्विचार हरुवाट गरिएको 'यस्तो गर्नु पर्छ, यस्तो गर्नु हुन्न, यस्तो साधन
गर्नुपर्छ, यस्तो साधन गर्नु हुन्न ' भन्ने स्मृति पनि व्यक्तिमा रहँदैन ।
स्मृति नष्ट भएपछि बुद्धिमा प्रकट हुने विवेक लुप्त हुन्छ अर्थात् मनुष्यमा नयाँ विचार गर्ने शक्ति आउँदैन ।
विवेक
लुप्त भएपछि व्यक्ति आफ्नो स्थितिवाट गिर्छ । अतः यस्तो किसिमको पतनवाट
वच्नकोलागि सबै साधकहरुलाई भगवानको परायण हुनु आवश्यक छ ।
No comments:
Post a Comment