Saturday 31 May 2014

76. No. 49 श्लोक ५६ जसको मनमा दुःखहरुको प्राप्ति हुँदा उद्वेग हुँदैन र सुखहरुको प्राप्ति हुँदा स्पृहा हुँदैन

No. 49 
 
श्लोक ५६ 
 
जसको मनमा दुःखहरुको प्राप्ति हुँदा उद्वेग हुँदैन र सुखहरुको प्राप्ति हुँदा स्पृहा हुँदैन (तथा) जो राग, भय र क्रोधदेखि सर्वथा रहित भएको छ, त्यो मननशील मनुष्यलाई स्थिरबुद्धि भनिन्छ ।
 
दुःखको सम्भावना अथवा ती दुःखको प्राप्ति हुँदा पनि जसको उद्वेग हुँदैन अर्थात् कर्तव्य-कर्म गर्दा पनि वाधा हुनु, कर्मको फल प्रतिकूल हुनु आदि आदि प्रतिकूलताहरू आउँदा पनि उसको मनमा उद्वेग हुँदैन ।
 
सुखहरुको सम्भावना र तिनीहरुको प्राप्ति हुँदा पनि जो भित्र स्पृहा हुँदैन अर्थात् वर्तमानमा कर्म राम्रोसँग सफल हुनु, तात्कालिक आदर र प्रशंसा हुनु, अनुकूल फल मिल्नु आदि अनुकूलाताहरु आउँदा पनि उसको मनमा 'यो परिस्थिति यस्तै नै वनिरहोस्; यस्तो परिस्थिति सदा भइरहोस' -- यस्तो स्पृहा हुँदैन । उसको अन्तः:करणमा अनुकूलताको कुनै पनि असर हुँदैन ।
 
संसारका पदार्थहरुको मनमा जुन रंग चढ्छ, त्यसलाई 'राग' भन्छन् । पदार्थहरुमा राग भएपछि  यदि कोही आफू भन्दा वलियो व्यक्तिवाट  ती पदार्थहरुको नाश भयो भने, ती पदार्थहरुवाट साधकको सम्बन्ध-विच्छेद भयो भने, ती वस्तुहरुको प्राप्तिमा बिघ्न पार्छ भने साधकको मनमा एक प्रकारको 'भय' हुन्छ । तर त्यस्तो बिघ्न पार्ने व्यक्ति हामी भन्दा कमजोर छ भने हामीलाई ऊसँग रीस पनि उठ्छ । तर जसको मनमा अरुलाइ सुख पुर्याउने, तिनीहरुको हित गर्ने, तिनीहरुको सेवा गर्ने भाव जाग्रत हुन्छ, त्यो व्यक्तिको राग स्वाभाविक तरिकाले मेटिन्छ । राग मेटिएपछि भय र क्रोध पनि रहँदैन। त्यसैले त्यस्तो व्यक्ति राग,भय र क्रोधदेखि सर्वथा रहित हुन्छ ।
 
जवसम्म आंशिकरूपले उद्वेग, स्पृहा, राग, भय र क्रोध रहन्छ, तवसम्म त्यो साधक हुन्छ । यिनीहरुवाट सर्वथा रहित भएपछि त्यही साधक सिद्ध हुन्छ ।
 
यस्तो मननशील कर्मयोगीको बुद्धि स्थिर, अटल हुन्छ । कर्मयोगीको प्रकरण भएकोले यहाँ मननशील कर्मयोगीलाई मुनि भनिन्छ । मननशीलताको तात्पर्य, सावधानीको मनन, जसवाट मनमा कुनै कामना, आसक्ति नआओस् । निरन्तर अनासक्त रहनु नै सिद्ध कर्मयोगीको सावधानी हो; किनकि पहिले साधक-अवस्थामा उसको यस्तो सावधानी रहन्छ ।

No comments:

Post a Comment