No. 46
श्लोक ५३
जुन
वेला शास्त्रीय मतभेदहरुले विचलित भएको तिम्रो बुद्धि निश्चल हुनेछ
र परमात्मामा अचल हुनेछ, त्यो वेला तिमीलाई योग प्राप्त हुनेछ ।
अर्जुनको मनमा यस्तो धारणा छ कि आफ्नो गुरुजनलाई र आफ्ना
कुटुम्बलाई मार्नु पनि ठिक छैन र आफ्नो क्षात्रधर्म (युद्ध गर्नु)को त्याग
गर्नु पनि उचित छैन । एकातिर आफ्नो कुटुम्बको पनि रक्षा गर्नु छ, अर्कोतिर
क्षात्रधर्मको पालना पनि गर्नु छ । कुटुम्बको रक्षा गर्ने हो भने युद्ध
हुँदैन र क्षात्र धर्मको रक्षा गर्ने हो भने कुटुम्बको रक्षा हुँदैन ।
यी दुई कुराहरुमा अर्जुनको 'श्रुतिप्रतिपत्ति' छ । जसवाट अर्जुनको बुद्धि
विचलित भइरहेछ । त्यसैले यहाँ भगवान शास्त्रीय मतभेदहरुमा बुद्धि निश्चल र
परमात्मतत्वको विषयमा बुद्धिलाई अचल गर्न प्रेरणा गर्नुहुन्छ अर्जुनलाई ।
साधकलाई यस्तो सन्देह हुन्छ, संसारिक व्यवहार ठीक गर्ने
हो कि परमात्मप्राप्ति गर्ने हो ? यस्तो विचार गर्दा गर्दा उसको निर्णय
हुन्छ, मलाइ त केवल संसारको सेवा गर्नु छ र संसारवाट केही लिनु छैन । यस्तो
निर्णय गर्ने वित्तिकै साधकलाई भोगहरुदेखि उपरति हुन थाल्छ, वैराग्य हुन
थाल्छ । यस्तो हुँदा साधक परमात्मातर्फ लाग्छ, तव उसको अगाडि साध्य र
साधन-विषयक किसिम किसिमका मतभेदहरु आउँछन् । त्यो वेला उसलाई 'मैले कुन
साध्यको स्वीकार गर्नु पर्छ र कुन साधन-पद्धतिले अघि वढ्नु पर्छ' भन्ने
कुराको निर्णय गर्न वडो कठिन हुन्छ । यही वेला साधकलाई सत्संग जरुरत पर्छ ।
सत्संग, द्वारा नै ऊ आफ्नो रुचि श्रद्धा-विश्वास र योग्यताको निर्णय गर्न
सक्छ अथवा निर्णय गर्न नसकेको अवस्थामा भगवानको शरण भएर भगवानलाई पुकार्छ ।
त्यसपछि परमात्माको कृपाले उसको बुद्धि निश्चल हुन्छ । अर्को कुरा,
सम्पूर्ण शास्त्र, सम्प्रदाय आदिमा जीव, संसार र परमात्मा -- यी तीनैको
अलग-अलग रुपहरुले वर्णन गरिएको छ । यसमा विचारपूर्वक हेर्यो भने जीवको
स्वरूप चाहे जस्तो होस्, तर जीव म हुँ -- यसमा सबै एकै मत छन्, र संसारको
स्वरूप चाहे जस्तो होस्, अतः संसारलाई छोड्नु छ -- यसमा सबै एक मत छन्; र
परमात्माको स्वरूप चाहे जस्तो होस्, तर यसलाई प्राप्त गर्नु छ -- यसमा सबै
एक मत छन् । यस्तो निर्णय गरेपछि साधकको बुद्धि निश्चल हुन्छ । मलाई
त केवल परमात्मा प्राप्त गर्नु छ -- यस्तो दृढ निश्चय भएपछि बुद्धि अचल
हुन्छ । तव साधकलाई सुगमतापूर्वक योग -- परमात्मासँग नित्ययोग प्राप्त
हुन्छ ।
हामीलाई यो साधनमा ढिलाइ हुनुको कारण शास्त्रीय
निर्णयमा र आफ्नो कल्याणको निश्चयमा हुने कमी नै हो । तर यी दुइमा आफ्नो
बुद्धि निश्चल र अचल भएपछि परमात्मासँग नित्य-योगको अनुभव हामीलाई हुन्छ ।
संसारसँगको सम्बन्ध विच्छेद गर्नकोलागि हाम्रो बुद्धि 'निश्चल'
हुनुपर्छ र परमात्मासँग सम्बन्ध जोड्न हाम्रो बुद्धि 'अचल' हुनुपर्छ । यो
अचल बुद्धिलाई यही अध्यायमा समता भनिएको छ ।
यसपछिको प्रसंग 'स्थितप्रज्ञ'को छ, यसको वर्णन विस्तारमा गरिन्छ ।
No comments:
Post a Comment