Saturday 31 May 2014

80. No. 53 श्लोक ६० किनकि हे पृथानन्दन ! रसबुद्धि रह्यो भने यत्न गरिरहेका विद्वानलाई पनि प्रमथनशील इन्द्रियहरु उसको मनलाई जवर्जस्ती हर्छन् ।

No. 53 
 
श्लोक ६० 
 
किनकि हे पृथानन्दन ! रसबुद्धि रह्यो भने यत्न गरिरहेका विद्वानलाई पनि प्रमथनशील इन्द्रियहरु उसको मनलाई जवर्जस्ती हर्छन् ।
 
यो प्रसङ्ग आफैं यत्न गर्ने, साधन गर्ने, हरेक कामलाई विवेकपूर्वक गर्ने व्यक्तिलाई प्रस्तुत छ । त्यस्तो व्यक्ति आसक्ति र फलको इच्छा त्याग गर्छ, अरुको कसरी हित हुन्छ, अरुलाई कसरी सुख पुर्याउने, अरुको कसरी कल्याण गर्ने भन्ने भाव उसमा रहिरहन्छ र ऊवाट त्यस्तै क्रियाहरु पनि हुन्छन् । त्यो व्यक्ति स्वयं कर्तव्य-अकर्तव्य, सार-असारकोवारेमा जान्दछ र कुन्-कुन् कर्म गर्दा ती कर्महरुको परिणाम कस्तो हुन्छ भन्ने ज्ञान पनि उसलाई हुन्छ । 
 
यहाँ भन्न खोजिएको कुरो, यस्तो असाधारण साधकको मनलाई  पनि प्रमथनशील इन्द्रियहरु वलपूर्वक हर्छन्, आफूतर्फ खिंचछन् अर्थात्       त्यो साधक विषयहरु तर्फ आफैं खिंचिन्छ, आकृष्ट हुन्छ । यसको एक मात्र कारण हो, जवसम्म हाम्रो बुद्धि परमात्मामा स्थित हुँदैन, हाम्रो बुद्धिमा संसारको अलिकति मात्रै पनि आकर्षण रहन्छ, विषय र इन्द्रियहरुको संयोगवाट हामी सुख लिन्छौं, हाम्रो बुद्धिमा भोगिसकेका भोगहरुको संस्कार रहन्छ, त्यो वेलासम्म साधनमा लागिरहेका बुद्धिमान् विवेकी पुरुषको इन्द्रियहरु पनि सर्वथा वशमा हुँदैनन् ।
 
इन्द्रियहरुका विषयहरु अगाडि आउँदा भोगिसकेका भोगहरुको संस्कारको कारणले इन्द्रियहरु मन-बुद्धिलाई जवर्जस्ती विषयहरुतिर तान्छन् । यसको उदाहरण धेरै ऋषीहरुको जीवनीमा देखिन्छ । अतः साधकलाई 'मेरा इन्द्रियहरु वशमा छन्' भन्ने धारणा हुनुहुन्न ।                
 
श्लोक ६१ 
 
कर्मयोगी साधक ती सम्पूर्ण इन्द्रियहरुलाई वशमा गरेर, मेरो परायण भएर रहोस्, किनकि जसको इन्द्रियहरु वशमा छन्, त्यसैको बुद्धि स्थिर छ ।
 
वलपूर्वक मन हरण गर्ने इन्द्रियहरुलाई वश गर्ने अर्थात् सजगतापूर्वक ती इन्द्रियहरुलाई कुनै वेला पनि विषयहरुमा विचलित हुन नदिने साधकले परमात्माको परायण हुनुपर्छ । आशय, साधकले आफ्ना इन्द्रियहरु वश गर्दा पनि उसमा आफ्नो वलको अभिमान रहन्छ । यही अभिमान साधकलाई उन्नति गर्न दिंदैन, जसले गर्दा ऊ भगवानदेखि विमुख हुन्छ । अतः साधकले आफ्नो इन्द्रियहरुलाई वशमा गर्दा आफ्नो वलको अभिमान गर्नु हुन्न । इन्द्रियको नियन्त्रणमा कहिले पनि आफ्नो उद्योगको कारण हो नभन्ने, खालि भगवत् कृपालाई नै कारण मान्ने । यसरी भगवानको परायण हुँदा साधकको साधन सिद्ध हुन्छ ।
 
मनुष्य शरीर पाइनु, साधनमा रुचि हुनु, साधनमा लाग्नु, साधन सिद्ध हुनु -- यी सबै भगवान-कृपावाट नै हुन सक्छन् । तर अभिमानले गर्दा हामीलाई यो तथ्यतिर ध्यान जाँदैन । अझ कर्मयोगीमा त कर्मकै प्रधानता हुने भएकोले ऊ आफूवाट भएको साधनमा र ती साधनको सफलतामा आफ्नो वल वुताकै प्रधानता मान्छ । यसैले भगवान कर्मयोगी साधकलाई विशेष कृपा गरेर भन्नुहुन्छ, 'तिमी मेरो परायण होऊ' ।
 
भगवत् परायण कसरी हुने ?
 
केवल भगवानमा नै महत्वबुद्धि हुने । यस्तो मान्ने कि 'भगवान नै मेरो हो र म भगवानको हुँ' 'संसार मेरो होइन, म पनि संसारको होइन ।' किनकि भगवान नै हरदम मसँग रहनुहुन्छ, संसार मसँग रहँदैन ।' यसरी साधकको 'म'पना भगवानसँग नै रहनुपर्छ । अर्को शब्दमा, साधनको सफलतामा केवल भगवत्-परायणता नै कारण छ । गीता भन्छ, योगीहरुमा पनि श्रद्धा-प्रेमपूर्वक भगवानको परायण भएर भगवानको भजन गर्ने योगी सर्वश्रेष्ठ हो । यहाँ यो पनि भन्न खोजिएको छ, इन्द्रियहरुको विषयमा रसबुद्धि नहुने अथवा इन्द्रियहरुको विषयसँग सम्बन्ध विच्छेद गर्ने व्यक्ति स्थितप्रज्ञ हुन्छ भन्ने नियम छैन, किनकि उसमा रसबुद्धि रहन सक्छ । परन्तु यो चाहिं नियम छ, स्थितप्रज्ञ भएपछि उसका इन्द्रियहरु वशमा हुन्छन् ।
 
कर्मयोगमा त्याग छ र शान्तिले सुख पाइन्छ । परन्तु यो सुख प्राप्तिको सुख होइन, दुःख छुटेको सुख हो ।  

No comments:

Post a Comment