No. 52
श्लोक ५९
निराहारी (इन्द्रियहरुलाई
विषयवाट हटाउने व्यक्ति) मनुष्यको पनि विषय त निवृत्त हुन्छ, तर रस
निवृत्त हुँदैन । परन्तु परमात्मतत्वको अनुभव भएपछि यस्तो स्थितप्रज्ञ
पुरुषको रस पनि निवृत्त हुन्छ अर्थात् उसलाई संसारमा रसबुद्धि रहँदैन ।
मनुष्य निराहारी दुई किसिमले हुन्छ -- (१) आफ्नो इच्छाले
भोजन त्याग्नु अथवा विरामीवाट भोजनको त्याग हुनु र (२) सम्पूर्ण विषयहरुको
त्याग गरेर एकान्तमा वस्नु अर्थात् इन्द्रियहरुलाई विषयहरुवाट हटाउनु ।
यो श्लोकमा इन्द्रियहरुलाइ विषयहरुवाट हटाउने साधकलाई नै निराहारी भनिएको हो ।
विरामीको
मनमा हुन्छ, के गर्नु, शरीरमा विषयका वस्तु भोग गर्न सामर्थ्य छैन,
अहिले म सबै कुरा खान सक्तिन । तर म ठीक भएपछि, शरीरमा शक्ति आएपछि अहिले
खान नपाएको कुराहरु खान पाउँछु । यस्तो किसिमले विरामी पनि केही कालकोलागि
निराहारी रहन्छ र उसमा रसबुद्धि रहन्छ । यस्तै इन्द्रियहरु विषयवाट हट्दा
विषय त निवृत्त हुन्छन्, तर साधकको भित्र हुने रसबुद्धि, सुखबुद्धि निवृत्त
हुँदैन ।
विषयमा राग नभएको, तीव्र वैरग्यवान साधकको रसबुद्धि
साधनावास्थामा नै निवृत्त हुन्छ । तर तीव्र वैराग्य नै नभई साधनामा लागेका
साधकलाई विषयको त्याग गर्दा पनि राग निवृत्त भएको हुँदैन ।
यो
स्थितप्रज्ञको रसबुद्धि परमात्माको अनुभव भएपछि निवृत्त हुन्छ । रसबुद्धि
निवृत्त भएपछि साधक स्थितप्रज्ञ भइ नै हाल्छ भन्ने नियम पनि छैन । तर
स्थितप्रज्ञ भएपछि रसबुद्धि रहँदैन -- यो नियम हो ।
रसबुद्धि साधकको अहंतामा 'म'पनामा रहन्छ ।
यही रसबुद्धि स्थूलरूपले रागको रुप लिन्छ । अतः साधकले आफ्नो अहंत़ादेखि
नै रसलाई निकाली देओस् । 'म निष्काम छु, राग गर्नु, कामना गर्नु मेरो काम
होइन' भनेर ' । यस्तो किसिमले निष्कामता आएपछि अथवा निष्काम हुने उद्देश्य
भएपछि रसबुद्धि रहँदैन र परमात्मतत्वको अनुभव भएपछि रसको सर्वथा निवृत्ति
हुन्छ ।
भोगहरुको सत्ता र महत्ता मान्दा नै अन्तःकरणमा भोगहरु
प्रति एक सूक्ष्म खिंचाव, प्रियता, मिठास पैदा हुन्छ, त्यसको नाम रस हो ।
भोग भोगिसकेपछि मनुष्य भन्छ, 'एकदम रमाइलो भयो' -- यो रसको स्मृति हो । यो
रस अहम् मा रहन्छ, यही रसको स्थूलरुप राग, सुखासक्ति हो ।
जवसम्म संयोगजन्य सुखमा रसबुद्धि रहन्छ, तवसम्म प्रकृति
तथा उसको कार्य (क्रिया, पदार्थ, व्यक्ति) को व्यक्तिसँग पराधीनता रहन्छ नै
। रसबुद्धि निवृत्त भएपछि पराधीनता सर्वथा मेटिन्छ, भोगहरुको सुखको
परवशता रहँदैन, भित्रदेखि भोगहरुको गुलामी रहँदैन।
जवसम्म अन्तःकरणमा अलि कति मात्र पनि भोगहरुको सत्ता र
महत्ता रहन्छ, भोगहरुमा रसबुद्धि रहन्छ, तवसम्म परमात्माको अलौकिक रस प्रकट
हुँदैन । परमात्माको अलौकिक रसको त के कुरा, परमात्माको प्राप्ति गर्नु
छ -- यस्तो निश्चय पनि हुँदैन । वाहिरवाट इन्द्रियहरुको विषयहरुसँग
सम्बन्ध-विच्छेद हुँदा पनि अर्थात् भोगहरुको त्याग गर्दा पनि भित्र
रसबुद्धि वनिरहन्छ । तत्वबोध भएपछि यो रसबुद्धि सुक्छ, निवृत्त हुन्छ ।
तात्पर्य, जव संसारवाट आफ्नो भिन्नता र परमात्मासँग आफ्नो अभिन्नाताको
अनुभव हुन्छ, तव नाशवान (संयोगजन्य) रसको निवृत्ति हुन्छ । नाशवान रसको
निवृत्ति भएपछि अविनाशी (अखण्ड) रसको जागृति हुन्छ ।
तत्वबोध भएपछि त रस सर्वथा निवृत्त भइहाल्छ तर
तत्वबोध हुनु भन्दा पहिले पनि त्यो रसलाई महत्त्व नदिए, विचार गरे,
सत्संगले, सन्तकृपाले रस निवृत्त हुन सक्छ । जसको रसबुद्धि निवृत्त भैसकेको
छ , त्यस्तो तत्वज्ञ महापुरुषको संगले पनि रस निवृत्त हुन सक्छ ।
कर्मयोग, ज्ञानयोग र भक्तियोग -- तीनै साधनहरुवाट नाशवान्
रसको निवृत्ति हुन्छ । जति जति कर्मयोगवाट सेवाको रस, ज्ञानयोगवाट तत्वको
अनुभवको रस र भक्तियोगवाट प्रेमको रस मिल्न थाल्छ, त्यति त्यति नाशवान्
रस स्वतः छुट्दै जान्छ । जस्तो, केटाकेटी अवस्थामा खेलौनावाट रस
पाइन्थ्यो, अलि ठूलो भएपछि रुपियाँ, पैसामा रस मिल्न थालेको छ, तर खेलौनाको
रस छुटेको छ, त्यस्तै साधनाको रस मिल्न थालेपछि भोगहरुको रस स्वतः छुट्छ ।
रसबुद्धि रहेको साधकलाई जव भोग उसको अगाडि आउँछ, त्यो
वेला उसको मन पग्लिन्छ तथा ऊ भोगहरुको वशमा पर्छ । परन्तु रसबुद्धि निवृत्त
भएपछि भोगहरु प्राप्त हुँदा पनि तत्वज्ञ महापुरुषको चित्तमा किञ्चित्
मात्र पनि कुनै विकार उत्पन्न हुँदैन । ऊ भित्र त्यस्तो भोग
खिंच्ने कुनै वृत्ति नै पैदा हुँदैन । जस्तो, पशुको अगाडि रुपियाँको थैली
राखिदियो भने उसमा लोभ वृत्ति पैदा हुँदैन, किनभने पशुलाई रुपियाँ भनेको
के हो भन्ने नै थाहा हुँदैन । तर तत्वज्ञ महापुरुषलाई रुपियाँ भनेको के
हो भन्ने थाहा हुन्छ, तर पनि उसमा लोभ-वृत्ति पैदा हुँदैन । जस्तो, हामी
आफ्ना औंलाहरुले आफ्नो शरीरको कुनै अंग चिलाएको भागमा कन्याउँछौं र चिलाइ
मेटिएपछि ती औंलाहरुमा कुनै फरक पर्दैन, कुनै विकृति आउँदैन, त्यस्तै
इन्द्रियहरुद्वारा विषयको सेवन हुँदा पनि तत्वज्ञको चित्तमा कुनै विकार
आउँदैन, ऊ निर्विकार नै रहन्छ । कारण, रसबुद्धि निवृत्त भएपछि ऊ आफ्नो
सुखकोलागि कुनै विषयमा प्रवृत्त नै हुँदैन । उसको प्रत्येक प्रवृत्ति अरुको
हित र सुखकोलागि नै हुन्छ । आफ्नो सुखकोलागि गरिएको विषयको चिन्तनले पनि
पतन गर्छ र आफ्नो सुखकोलागि नगरिएको विषयको सेवन पनि बन्धनकरक हुँदैन ।
नाशवान् रस तात्कालिक हुन्छ, धेरै वेर टिकदैन । रुपियाँ
प्राप्तिको वेला जुन रस मिल्छ, त्यो रस पछि रहँदैन । भोजन गर्दा आएको रस
प्रत्येक गाँसमा कम हुँदै गएर अन्तमा सर्वथा मेटिन्छ, हुँदा हुँदा त्यो
भोजनवाट नै अरुचि हुन्छ । परन्तु अविनाशी रस कहिले पनि कम हुँदैन, वरु
जस्ता-को-तस्तो (अखण्ड) रहन्छ । नाशवान् रसको भोग गर्दा परिणाममा जडता,
अभाव, शोक, रोग, भय, उद्वेग आदि अनेक विकार पैदा हुन्छन् । यी विकारहरुवाट
भोगी व्यक्ति वच्न सक्तैन, किनकि विकार नै भोगको अवश्यम्भावी परिणाम हो ।
गीता भन्छ, काम आदि दोषहरुवाट मुक्त भएपछि नै व्यक्ति आफ्नो कल्याणको आचरण
गर्न सक्छ ।
No comments:
Post a Comment