जुन वेला तिम्रो बुद्धिले मोहरूपी दलदल भलिभाँती तर्नेछ, त्यही वेला तिमी सुनेको र सुन्नमा आउने भोगहरुवाट वैराग्य पाउँछौ ।
शरीरमा अहंता र ममता गर्नु तथा शरीर-सम्बन्धी माता -पिता,
दाजु-भाउजु, स्त्री-पुत्र, वस्तु, पदार्थ आदिमा ममता गर्नु 'मोह' हो । कारण
कि यी शरीर आदिमा अहंता, ममता छँदै छैन, खालि हामीवाट मानिएको हो ।
अनुकूल पदार्थ, वस्तु, व्यक्ति, घटना आदि प्राप्त हुँदा प्रसन्न हुनु र
प्रतिकूल पदार्थ,वस्तु, व्यक्ति आदि पाउँदा उद्विग्न हुनु, संसारमा,
परिवारमा विषमता, पक्षपात, मात्सर्य आदि विकार हुनु, यी सबै 'कलिल'
द्वन्द्व हुन् । यस्तो मोहरूपी दलदलमा जव बुद्धि फँस्छ, तव मनुष्य
किंकर्तव्यविमूढ हुन्छ । त्यसपछि उसलाई के गर्ने, के गर्ने थाहा हुँदैन ।
हामी स्वयम् चेतन हुँदा हुँदै पनि शरीर आदि जड पदार्थहरुमा
अहंता, ममता गरेर तिनीहरुसँग सम्बन्ध मान्छौं । तर वास्तवमा हामी जुन जुन
चीजहरुसँग सम्बन्ध जोड छौं, यी चीजहरु हामीसँग सँधै रहन सक्तैनन् र हामी
पनि यिनीहरूसँग सँधै रहन सक्तैनौं । तर मोहको कारण हामीलाई यसतिर दृष्टि
जाँदैन, उल्टै हामी अनेक प्रकारका नयाँ नयाँ सम्बन्ध जोडेर संसारमा झन् झन्
फँस्दै जान्छौं । अर्को कुरा, हामी यहाँको नाशवान् पदार्थहरुको संग्रह
गर्नमा र तिनीहरुवाट सुख लिनमा तथा व्यक्ति, परिवार आदिमा ममता गरेर
तिनीहरुवाट सुख लिन लाग्यौं । यही नै हामी मोहरूपी दलदलमा फँस्नु हो ।
हामीले गर्नु पर्ने कुरा:
हामीले त माथि वर्णन
गरिएका विषयहरुमा नफसेर आफ्नो कल्याण गर्नु छ -- यस्तो दृढ निश्चय हुनु नै
बुद्धिको मोहरूपी दलदलवाट तर्नु हो । यस्तो विचार भएपछि हाम्रो बुद्धि
सम्बन्धलाई लिएर अड्किंदैन, संसारमा टाँसिंदैन ।
मोहरूपी कलिलवाट तर्ने दुइ उपाय छन् -- विवेक र सेवा । हाम्रो
विवेक तीब्र छ भने त्यो विवेकले हाम्रो असत् विषयहरुवाट अरुचि गराइदिन्छ ।
मनमा अरुको सेवा गर्ने, अरुलाई सुख पुर्याउने धुन लाग्यो भने आफ्नो
सुख-आराम त्याग गर्ने शक्ति हामीलाई आउँछ । अरुलाई सुख पुर्याउने भाव जति
जति बढ्छ, त्यति नै आफ्नो सुखको इच्छाको त्याग हुन्छ । यस्तै प्रकारले
हामीलाइ (कर्मयोगीलाई) संसार मात्रको सेवा गर्ने भाव हुन्छ, त्यसपछि
हाम्रो सुख-भोगको इच्छा मेटिन्छ ।
शास्त्र भन्छ -- विवेक-विचार द्वारा आफ्नो भोगेच्छा मेटाउन केही
कठिन लाग्छ । यदि हाम्रो विवेक-विचार अत्यन्त दृढ छैन भने हाम्रो विवेकले
त्यही वेलासम्म काम गर्छ, जवसम्म हाम्रो अगाडि भोगका सामान आउँदैनन् ।
भोगको सामान आएपछि हामी ती भोगलाई देखेर विचलित हुन्छौं । तर यदि हामीमा
सेवा-भाव छ भने हाम्रा अगाडि एकदम गतिला भोग-सामग्री आउँदा हामी ती भोग
सामग्रीहरु अरुको सेवामा लगाउन सक्छौं । यसरी हामीलाई आफ्नो सुख-आराम गर्ने
इच्छाको त्याग सजिलोसँग हुन्छ । यसैले भगवानले सांख्य-योग भन्दा
कर्मयोगलाई श्रेष्ठ, सुगम र चांडै सिद्धि दिने साधन वताउनुभएको छ ।
यहाँ 'श्रुतस्य' पदको अर्थ हो -- हामीले सुनेका, भोगेका र
राम्रोसँग अनुभव गरिएका भोग हुन् । स्वर्गलोक, ब्रह्मलोक, आदिका जति भोग
सुनिन्छन्, ती सबै भोगहरुलाई 'श्रोतव्यस्य' भनिएका छन् । जव हाम्रो बुद्धि
मोहरूपी दलदल तर्छ, तव यी ऎहलौकिक र पारलौकिक भोगहरुदेखि, विषयहरुदेखि
हामीलाई वैराग्य हुनेछ । तात्पर्य, बुद्धिको मोहरूपी कलिल, दलदल सर्वथा नाश
भएपछि हाम्रो बुद्धिमा तीव्र वैराग्य जाग्रत हुन्छ । त्यसपछि हामीलाई
लाग्छ, यो संसार प्रतिक्षण वदलिइरहेछ र म उहीको उही नै रहन्छु; अव मलाइ यो
संसारवाट कसरी शान्ति मिल्न सक्ला ? मेरो अभाव कसरी मेटिन सक्ला ? त्यसपछि
'श्रुत' र 'श्रोतव्य' सबै विषयहरुवाट हामीलाई स्वतः वैराग्य हुन्छ ।
No comments:
Post a Comment