Saturday 31 May 2014

85. No. 58 श्लोक ६९ सम्पूर्ण प्राणीहरुको रात (परमात्मासंगको विमुखता)मा संयमी मनुष्य जागा रहन्छ, विउंझन्छ ।

No. 58
श्लोक ६९
सम्पूर्ण प्राणीहरुको रात (परमात्मासंगको विमुखता)मा संयमी मनुष्य जागा रहन्छ, विउंझन्छ । जसमा सबै प्राणीहरु विउंझंछन्, भोग विलास र  संग्रहमा लागिरहन्छन्, त्यो तत्व जान्ने मुनिको दृष्टिमा रात हो ।   

इन्द्रियहरु वशमा नभएका, भोगमा आसक्त व्यक्तिहरु परमात्म तत्व तर्फवाट सुतेका जस्ता छन् । परमात्मा के हो ? तत्वज्ञान के हो ? हामी किन  दुःख पाइरहेका छौं ? सन्ताप-जलन किन भइरहेछ ? हामीले गरिरहेका कर्मको परिणाम के होला ? भन्ने तिर वास्ता नै हुँदैन उनीहरुलाई । उनीहरुकोलागि परमात्मतत्व विल्कुल अंध्यारो हुन्छ ।

यहाँ यो श्लोकमा खालि खाने, लुगा लगाउने, वच्चा जन्माउने, सुख-आराम मात्र  खोज्ने तर परमात्मतत्वदेखि विमुख हुने   मनुष्यलाई पशुसँग गणना गरिएको छ । किनकि पशु र यस्ता मनुष्य परमात्मतत्वदेखि सुतेका छन्, विमुख छन् । पशुमा त विवेकदृष्टि मनुष्यको भन्दा धेरै सीमित छ, त्यसैले  उनीहरु खान पिउनमा नै लागिरहन्छन्, तर, मनुष्यमा भगवानले प्रदान गर्नु भएको विवेकशक्ति जाग्रत छ, जुन विवेक्शक्तिवाट ऊ आफ्नो कल्याण गर्न सक्छ, सम्पूर्ण प्राणीको सेवा  गर्नसक्छ, परमात्मा प्राप्त गर्न सक्छ । तर यति महत्वपूर्ण विवेकशक्तिको दुरुपयोग गरेर मनुष्य पदार्थहरुको संग्रह र तिनीहरुको भोग गर्नमा नै लाग्छ । यसो हुँदा उसको जीवन पशुको भन्दा पनि दुःखदायी भइदिन्छ । किनकि पशु-पक्षी त आफूलाई जतिले पेट भरिन्छ, त्यति मात्रै खान्छन्,    संग्रह गर्दैनन्, तर मनुष्य जहाँ कहिं पनि कुनै चीज पाइयो भने, उसलाई ती चीज चाहिए पनि, नचाहिए पनि वटुलिहाल्छ र अरुलाई त्यो चीज काम लाग्ने भए पनि ती चीजको उपयोग गर्न दिंदैन ।      
परमात्मा तर्फको विमुखता, आफ्नो कल्याण तर्फको विमुखता भोगी मनुश्यहरुको रात हो, परमात्मा तर्फको, कल्याण तर्फको सम्मुखता संयमीहरुको दिन हो । यही दिनमा संयमी मनुष्य जागा रहन्छ । इन्द्रिय र मनलाई संयममा राख्ने, भोग र संग्रहमा आसक्त नहुने, खालि आफ्नो ध्येय परमात्मामा राख्ने मनुष्यलाई संयमी भन्छ गीता । परमात्मतत्वलाई, आफ्नो स्वरूपलाई र संसारलाई जस्ता-को-तस्तो जान्नु नै साधारण मनुष्यको रात र संयमीको दिन हुन्छ । त्यही दिनमा नै संयमी जागा रहन्छ ।
भोग र संग्रहमा नै सावधान रहने, एक-एक पैसाको हिसाव राख्ने, जमीनको एक-एक इन्चको याद राख्ने, न्यायपूर्वक अथवा अन्यायपूर्वक जति रुपियाँ आफ्नो अधिकारमा आउँछ, त्यसैमा खुशी हुने, अहिले 'यति जम्मा गरें, पछि अरु जम्मा गर्छु' भन्ने अभिलाषा राख्ने, यो संसारको क्षणभंगूर भोगहरु नै वटुल्न लागिरहने अज्ञानी व्यक्तिहरुको जाग्नु हो, जुन जाग्नु ज्ञानीहरुको रात हो ।
जुन सांसारिक पदार्थहरुको भोग र संग्रह गर्न मनुष्य आफूलाई वडो बुद्धिमान, चतुर मान्छन्, त्यसैमा खुशी हुन्छन्, संसार र परमात्मतत्वलाई जान्ने मननशील संयमी मनुष्यको दृष्टिमा ती सबै रात समान हुन्, विल्कुल अंध्यारो हो ।
भोग र संग्रहमा लागेका मनुष्य भोगहरुकोलागि लडाई-झगडा, झूठ-कपट वेइमानी आदि गर्छन् र ती भोगहरुलाई पाएर खुशी हुन्छन् । तर संसारलाई र परमात्मालाई जान्ने मननशील संयमी मनुष्यलाइ स्पष्ट छ कि जति नै भोग मिलोस्, जति नै आदर-सत्कार मिलोस्, जति नै सुख-आराम मिलोस्, जति नै खाइयोस्, पिइयोस्, जति नै सिंगार पटार गरियोस्, त्यसवाट के भयो र के हुन्छ ? यसवाट मनुष्यलाई के मिल्छ ? यी सबै मनुष्य कहिलेसम्म यी भोगहरुलाई साथमा राख्न सक्छन् ? यी भोगहरुवाट हुने वृत्ति कति दिनसम्म अडछन् ? यस्तो किसिमले सामान्य प्राणीहरुको विउंझनु त्यो संयमी मनुष्यको रातको समान हो ।
त्यो संयमी मननशील मनुष्य परमात्मालाई, आफ्नो स्वरूपलाई र संसारको परिणामको वारेमा त जानी नै हाल्छ, साथै ऊ पदार्थलाई पनि राम्रोसंग जान्दछ कि कुन चाहिं पदार्थ कसको हितमा  लाग्न सक्छ, यसवाट अरुलाई कति लाभ हुन्छ । ऊ पदार्थहरुलाई आफ्नो-आफ्नो ठाउँमा ठिक तरहले सदुपयोग गर्छ । ती पदार्थहरुलाई अरुको सेवामा लगाउँछ । सारा इन्द्रिय र अन्तःकरण द्वारा संसार देखिंदा पनि मननशील संयमी मनुष्यको बुद्धिमा यो निश्चय अटल रहन्छ कि वास्तवमा संसार छँदै छैन, केवल प्रतीति हो ।
 संसारिक मनुष्य रात-दिन भोग र  संग्रहमा नै लागिरहन्छन्, तिनैलाई महत्ता दिन्छन्, सांसारिक कामहरुमा वडो सावधान र निपुण हुन्छन्, किसिम  किसिमका कलाहरु सिक्छन्, किसिम किसिमका आविष्कारहरु गर्छन्, लौकिक वस्तुहरुको प्राप्तिमा आफ्नो उन्नति मान्छन्  सांसारिक वस्तुहरुको ठूलो महिमा गाउँछन्, सँधै जीवित रहेर सुख भोग्नकोलागि ठूला ठूला तपस्या गर्छन्, देवताहरुको उपासना गर्छन्, मन्त्र आदि जप गर्छन् । तर तत्वज्ञ, जीवन्मुक्त महापुरुष तथा साँचो साधकको दृष्टिमा त्यो विल्कुल रात हो, अन्धकार हो, त्यसको अलिकति पनि महत्व छैन । कारण कि उनको दृष्टिमा ब्रह्मलोकसम्म सम्पूर्ण संसार विद्यमान नै छैन । संसारिक व्यक्तिहरु यही संसारमा नै भिजिरहेका हुन्छन्, जे छ यही संसारमा छ भन्ने मानिरहेका हुन्छन् । पारामार्थिक विषयमा उनीहरुको बुद्धि नै जाँदैन । परन्तु पारमार्थिक साधक पारमार्थिक विषय सँगसँगै संसार पनि जान्दछ । संसारी मनुष्यहरु खालि रात मात्रै देख्छन्, दिन देख्दै देख्दैनन्, तर योगी दिन पनि देख्छ र रात पनि -- संसारी मनुष्य र संयमी मनुष्यमा हुने फरक यही हो ।  यो त नियम नै हो, संसारमा लागेको मनुष्य संसारलाई जान्न सक्तैन । संसारदेखि छुट्टै वसेर नै ऊ संसारलाई जान्न सक्छ; किनकि वास्तवमा मनुष्य संसारदेखि छुट्टै छ । यस्तै प्रकारले परमात्मासँग एक भएर नै मनुष्य परमात्मालाई जान्न सक्छ; किनकि  वास्तवमा ऊ परमात्मासँग एक छ ।  

No comments:

Post a Comment