Saturday 31 May 2014

82. No. 55 श्लोक ६४, ६५ परन्तु अन्तःकरण वशीभूत भएको कर्मयोगी साधक राग-द्वेषदेखि रहित हुन्छ ।

No. 55 
 
श्लोक ६४, ६५ 
 
परन्तु अन्तःकरण वशीभूत भएको कर्मयोगी साधक राग-द्वेषदेखि रहित हुन्छ । उसले आफ्नो वशमा भएका इन्द्रियहरुद्वारा विषयहरुको सेवन गरिरहँदा पनि उसको अन्तःकरण निर्लिप्त नै रहन्छ ।  अन्तःकरण निर्लिप्त भएपछि साधकको सम्पूर्ण दुःखहरुको नाश हुन्छ । यस्तो शुद्ध चित्त भएको साधकको बुद्धि निःसन्देह वहुत छिट्टै परमात्मामा स्थिर हुन्छ ।

आसक्ति नभए विषयहरुको सेवन गर्दा पनि उन्नति हुन्छ । साधकको अन्तःकरण आफ्नो वशमा रहनुपर्छ । हुन त सबै साधनामा अन्तःकरणलाई वशमा गर्नु आवश्यक हुन्छ, भए पनि कर्मयोगमा यसको वढी आवश्यकता छ । गीता अनुसार अन्तःकरण वशमा नगरी कर्मयोगी सिद्ध हुन सक्तैन ।

तात्पर्य, व्यवहार गर्दा इन्द्रियहरु हाम्रो वशमा हुनुपर्छ र इन्द्रियहरु हाम्रो वशमा रहन यिनीहरु राग-द्वेष रहित हुनु जरूरी छ । अर्को शब्दमा, इन्द्रियहरुवाट हुने विषय ग्रहण रागपूर्वक नहोस् र त्याग पनि द्वेशपूर्वक नहोस् । विषयको ग्रहण र त्याग भन्दा पनि धेरै खरावी  यिनीहरुको सेवन गर्दा हुने राग-द्वेष नै हो ।

अन्तःकरण शुद्ध भएको, इन्द्रियहरु राग-द्वेषले रहित भएका र आफ्नो वशमा भएका साधकले विषयहरु सेवन गर्दा, सबै प्रकारका व्यवहार गर्दा पनि विषयको भोग गर्दैन । भोगबुद्धिले गरिएका विषय-सेवन नै पतनको कारण हो । यही प्रसंगमा भोग बुद्धिको निषेध गर्छ गीता ।

राग-द्वेष रहित भएर विषयको सेवन गरेपछि साधक अन्तःकरणको प्रसन्नता प्राप्त गर्छ । यो प्रसन्नतालाई मानसिक तप भनिएको छ गीतामै । मानसिक तप शारीरिक र वाचिक तप  भन्दा धेरै उत्तम छ । राग-द्वेषवाट नै संसारसंग सम्बन्ध जोडिने हो, राग-द्वेष नभएपछि संसारसँगको सम्बन्ध तोडिन्छ र परमात्माको प्राप्ति हुन्छ ।

अर्को कुरा, राग-द्वेषसँग सम्बन्ध टुटेपछि हुने प्रसन्नतामा पनि साधकले भोग गर्नु हुन्न, आनन्द लिनु हुन्न । त्यस्तो आनन्द नलिएपछि मात्रै त्यो प्रसन्नताले परमात्माको प्राप्ति गराइदिन्छ । आशय, प्रसन्नतावाट दुई कुरा हुन्छन् -- संसारसँग सम्बन्ध-विच्छेद र परमात्मामा बुद्धिको स्थिरता ।

यहाँ यसो पनि भन्न खोजिएको होइन, स्थितप्रज्ञलाई सुखदायी-दुःखदायी परिस्थिति नै आउँदैनन् । उसलाई पनि अरुलाई जस्तै सुख-दुःख आइपर्छन्, तर उसको अन्तःकरणमा दुःख, सन्ताप, हलचल र विकृति हुन सक्तैन ।
   

चित्तमा प्रसन्नता भएपछि सम्पूर्ण दुःखहरुको नाश हुन्छ अर्थात् कुनै दुःख वांकी रहँदैन । किनभने हाम्रो चित्त खिन्न हुने राग-द्वेषले नै हो । खिन्नता हुने वित्तिकै कामना पैदा हुन्छ र कामनावाट सारा दुःख-सुख उब्जन्छन् । राग-द्वेष मेटिएपछि कसरी कामना निस्कने, कामना नै नभएपछि कसरी प्रसन्नता नहुने ?

हामीलाई भान हुने सबै दुःख प्रकृति र प्रकृतिका कार्य शरीर-संसारको सम्बन्धवाट नै हुने र शरीर र संसारसँग सम्बन्ध हुन्छ सुखको लिप्साले । सुखको लिप्सा हुन्छ हाम्रो चित्तको खिन्नतावाट । प्रसन्नता भएपछि खिन्नता मेटिइहाल्छ । खिन्नता मेटिएपछि सुखको लिप्सा रहँदैन । सुखको लिप्सा नरहेपछि शरीर-संसारसँग सम्बन्ध रहँदैन, सम्बन्ध नरहेपछि सम्पूर्ण दुःखको अभाव भइहाल्छ ।   
 
 यही सन्दर्भमा, भगवदविषयक प्रसन्नता होस् या व्याकुलता -- यी दुई मध्ये एक मात्र भए पनि अथवा वृद्धि भएपनि त्यो प्रसन्नता अथवा व्याकुलताले साधकलाई छिट्टै परमात्मा प्राप्ति गराइदिन्छ । जस्तो, भगवानकहाँ जाँदै गरेका गोपीहरुलाई उनीहरुका माता-पिता, आदिले रोक लगाउँदा ती गोपीहरुलाई भगवानको दर्शन गर्ने व्याकुलताले उनीहरुको राजोगुण-तमोगुण नष्ट भयो, साथै भगवानको चिन्तन गर्दा उनीहरुको सत्वगुण पनि नष्ट भयो । गुणको संगवाट रहित भएपछि उनीहरु शरीर त्यहीं, घरमै छोडेर अरु भन्दा पनि पहिले भगवानकहाँ पुगे ।

सांसारिक विषयहरुलाई लिएर हुने प्रसन्नता र खिन्नतावाट भोगका संस्कार दृढ हुन्छन् अर्थात् संसारको बन्धन दृढ हुन्छ । यसको उदाहरण त हामी जस्ता सामान्य प्राणी नै छौं नि !
प्रसन्नता र व्याकुलतामा (खिन्नता) अन्तःकरण द्रवित हुन्छ । द्रवित भएको अन्तःकरणमा भगवतसम्बन्धी अथवा संसारिक -- जुन भाव आए पनि ती भाव स्थायी हुन्छन् । ती स्थायी  भावहरुले हाम्रो  उत्थान पनि गर्छन्, पतन पनि गर्छन् । यसैले, साधकले गर्नु पर्ने, संसारको प्यारो भन्दा प्यारो वस्तु मिल्दा पनि प्रसन्न नहुने र अप्रिय भन्दा अप्रिय वस्तु मिल्दा पनि दिक्क नहुने ।

 भोगको र योगको दुई बिभाग छन् । राग-द्वेष युक्त 'भोगी' मनुष्यले विषयको चिन्तन गर्दा पनि उसको पतन हुन्छ । तर राग-द्वेष रहित 'योगी' मनुष्यले विषयको सेवन नै गरे पनि उसको पतन हुँदैन । उसलाई त झन् परमात्मा प्राप्त हुन्छ ।

राग-द्वेष रहित मनुष्यको विषय-सेवन भोगबुद्धिले हुँदैन, अथवा ऊवाट भोगजन्य सुख (रस) को सेवन हुँदैन, किनकि भोगजन्य सुखको रस लिने ध्येय उसको हुँदैन । राग-द्वेष रहित योगी विषयको भोग त्याग गरेर भोग्छ । यसो गर्दा उसको अन्तःकरण निर्मल हुन्छ । त्यागपूर्वकको भोग वास्तवमा भोग नै होइन । अरुको दृष्टिमा ऊवाट भोगको आचरण देखिए पनि उसले गरेको भोग भोग नभएर योग हुन्छ ।

राग-द्वेषदेखि रहित भएपछि 'प्रसाद' पाइन्छ । हरदम प्रसन्नता रहोस्, कहिले पनि खिन्नता न आओस्, नीरसता न आओस् -- यो प्रसाद हो । यो प्रसादको प्राप्तिमा पनि सन्तोष नगरे, यसको उपभोग नगरे धेरै छिटो परमात्माको प्राप्ति हुन्छ ।          

No comments:

Post a Comment