Saturday 31 May 2014

84. No. 57 श्लोक ६७ श्लोक ६८ माथिकै श्लोकलाई पुष्टि गर्दै यो श्लोक भन्छ, किनकि आफ्ना आफ्ना विषयमा डुलिरहेका

श्लोक ६७
माथिकै श्लोकलाई पुष्टि गर्दै यो श्लोक भन्छ, किनकि आफ्ना आफ्ना विषयमा डुलिरहेका इन्द्रियहरु मध्ये एउटा मात्र इन्द्रियले पनि मनलाई आफ्नो अनुगामी वनाइदिन्छ । यस्तो अवस्थामा  मन एक्लो भइदिन्छ । यस्तो मनले व्यक्तिको बुद्धिलाई पनि हरिदिन्छ । यो प्रसंगमा डुंगा र वायु (हावा)को राम्रो दृष्टान्त दिइएको छ ।

हाम्रो यो मनुष्य शरीर केवल परमात्मा प्राप्तिकोलागि नै पाइएको हो । त्यसैले, 'मलाई त केवल परमात्मप्राप्ति नै गर्नु छ' भन्ने ध्येय दृढ हुनुपर्छ हाम्रो । ध्येय दृढ हुँदा साधकलाई भोगहरुको महत्व हट्छ । महत्व हटेपछि हाम्रो व्यवसायात्मिका बुद्धि दृढ हुन्छ । यो  व्यवसायात्मिका बुद्धि दृढ नहुन्जेल साधकको कस्तो दशा हुन्छ भन्ने वर्णन छ यो श्लोकमा ।

साधकले उसको कार्यक्षेत्रमा व्यवहार गर्दा उसको अगाडि इन्द्रियहरुले ग्रहण गर्ने विभिन्न विषयहरु आउँछन् । ती विषयहरुमध्ये जुन इन्द्रियलाई आफ्नो विषयमा राग हुन्छ, त्यही इन्द्रियले  मनलाई आफ्नो अनुगामी वनाउँछ, त्यो इन्द्रियले मनलाई जित्छ । त्यसपछि मन त्यो विषयको सुखभोग गर्न थाल्छ अर्थात् मनमा ती ती वस्तुप्रति सुखबुद्धि, भोगबुद्धिको अनुभव हुन्छ, मनमा त्यो विषयको रंग चढ्छ, त्यसको महत्व वस्छ । जस्तो हामीले कुनै खाना खाँदा त्यो  पदार्थको स्वादले  हाम्रो रसना (जिव्रो) त्यसमा आसक्त हुन्छ । आसक्त भएको जिव्रोले मनलाई पनि खिंचछ । त्यसपछि मन त्यो स्वादमा रमाउँछ, खुशी हुन्छ ।

मनमा कुनै पनि विषयको महत्व वसेपछि त्यो एक्लो मन नै साधकको बुद्धिलाई हरिदिन्छ । त्यो वेला साधकमा कर्तव्य-परायणता नरहेर भोगबुद्धिको विकास हुन्छ । त्यही भोगबुद्धिले साधकमा 'म त परमात्मा प्राप्त गर्ने हो' भन्ने व्यवसायात्मिका बुद्धि रहँदैन । अहिले हामीले गरिरहेको यस्तो विवेचनमा समय लागेको जस्तो लाग्छ हामीलाई । तर हामीवाट सम्झना रहनु पर्ने कुरा,साधकको अगाडि विषय आउनु, उसका इन्द्रिय कुनै विषयमा आकर्षण हुनु, त्यसमा रसबुद्धि हुनु, त्यो विशेष इन्द्रियले मनलाई आफूतिर आकृष्ट गर्नु, मन आकृष्ट भएपछि त्यो विषयको भोग गर्नु आदि आदि प्रक्रियाहरु हुन केही समय लाग्ला जस्तो लाग्छ हामीलाई । तर शास्त्र भन्छ, यी सबै प्रक्रियाहरु हुन एक सेकेन्ड पनि लाग्दैन अर्थात्, हाम्रो पतन हुन एक सेकेन्ड पनि लाग्दैन ।

यो बुद्धि कसरी हरिन्छ भन्ने प्रश्नमा, यो कुरालाई दृष्टान्तद्वारा बुझाइएको छ, जस्तो पानीमा चलिरहेको डुंगालाई हावाले विपरीत दिशातिर लैजान्छ, त्यसै गरी हाम्रो मनले बुद्धिलाई विपरीत दिशातिर, आफ्नो ध्येयदेखि उल्टो दिशातिर लगिदिन्छ । अझ पनि हामी आफूलाई यसरी स्पष्ट गरौँ, जव हामी व्यवसायात्मिका बुद्धिरूपी डुंगामा वसेर संसार-सागररूपी डुंगा पार गर्दै परमात्मातिर लाग्छौं, त्यो वेला एउटा मात्रै इन्द्रियले पनि हाम्रो मनलाई अनुगामी वनाइदिन्छ र त्यो एक्लो मनले नै हाम्रो बुद्धिरूपी डुंगालाई हर्छ अर्थात् संसारतर्फ लगिदिन्छ । यसवाट हाम्रों विषयहरुमा सुखबुद्धि र ती विषयहरुका उपयोगी पदार्थहरुमा महत्वबुद्धि हुन्छ ।  

हावाले डुंगालाई दुई तरिकाले विचलित गर्छ -- डुंगालाई पथभ्रष्ट गरिदिन्छ अथवा जलमा डुवाइदिन्छ ।   त्यस्तै इन्द्रियको अनुगामी भएको मन बुद्धिलाई दुई तरिकाले विचलित गर्छ -- परमात्मप्राप्तिको निश्चय दवाएर भोगबुद्धि जगाइदिन्छ अथवा निषिद्ध भोगहरुमा लगाएर पतन गरिदिन्छ । परन्तु मन र बुद्धि वशमा भएको साधकको बुद्धिलाइ मन  विचलित गर्न सक्तैन ।  यस्तो साधकलाई मन अनुगामी भएको बुद्धि परमात्मा प्राप्त गर्न सहायता गर्छ । जवसम्म कुनै इन्द्रियसँग मन रहँदैन, तवसम्म इन्द्रियलाई आफ्नो  विषयको ज्ञान पनि हुँदैन । श्रीमदभागवतमा दत्तात्रेय  भन्नुहुन्छ,जसको चित्त आत्मामा नै निरुद्ध हुन्छ, उसलाई वाहिर-भित्र  कुनै पदार्थको भान हुँदैन । तात्पर्य, मनसँगै रहँदा नै इन्द्रियलाई आफ्नो विषयको ज्ञान हुन्छ ।
श्लोक ६८
यही कारण हे महाबाहो ! जुन मनुष्यका इन्द्रियहरु वशमा गरिएका इन्द्रियहरुको विषयवाट सर्वथा वशमा गरिएका हुन्छन्, उसको बुद्धि स्थिर हुन्छ ।
यहाँ भनिएको, मन र इन्द्रियदेखि नै संसारको आकर्षण नभएको व्यक्तिको बुद्धि प्रतिष्ठित हुन्छ ।
संसारमा व्यवहार गर्दा गर्दै अथवा एकान्तमा चिन्तन गर्दा गर्दै, कुनै पनि अवस्थामा त्यो स्थितप्रज्ञको बुद्धि भोगहरुमा, विषयहरुमा प्रवृत्त हुँदैन । व्यवहारकालमा उसको सम्पर्कमा जति नै विषय आए पनि ती विषयले उसलाई विचलित गर्न सक्तैनन् । उसको मन पनि इन्द्रियहरुसँग मिलेर उसलाई विचलित गर्न सक्तैन । जस्तो पहाडलाई कसैले हल्लाउन सक्तैन, त्यस्तै स्थितप्रज्ञको बुद्धिमा यति दृढता आउँछ कि उसलाई मन कुनै पनि अवस्थामा हल्लाउन सक्तैन । कारण कि त्यो मुनिको मनमा विषयहरुको महत्व नै रहेन । उसका इन्द्रियहरु विषयहरुवाट यति  राम्ररी वशमा गरिएका हुन्छन् कि उसलाई विषयहरुमा लेश मात्र पनि राग, आसक्ति, खिंचाव रहँदैन । अर्को शब्दमा, इन्द्रियहरुलाई राग-द्वेषदेखि रहित गर्नु नै महत्वपूर्ण भयो हामी जस्तो साधककोलागि ।
यो श्लोकको आशय, साधकले दृढताले यस्तो निश्चय गर्ने, 'मेरो लक्ष्य परमात्माको प्राप्ति गर्ने हो भोग भोग्ने र संग्रह गर्ने मेरो लक्ष्य होइन ' । यस्तो सावधानी निरन्तर रहने साधकको बुद्धि स्थिर हुन्छ ।          

No comments:

Post a Comment