Wednesday 25 June 2014

87. No. 60 श्लोक ७१ जो मनुष्य सम्पूर्ण कामनाहरु त्यागेर स्पृहारहित, ममतारहित

No. 60
श्लोक ७१
जो मनुष्य सम्पूर्ण कामनाहरु त्यागेर स्पृहारहित, ममतारहित र अहंतारहित भएर व्यवहार गर्छ, त्यो मनुष्यले शान्ति पाउँछ ।

अप्राप्त वस्तुको इच्छाको नाम 'कामना' हो । स्थितप्रज्ञ महापुरुष सम्पूर्ण कामनाहरुको त्याग गरिदिन्छ । कामनाहरुको त्याग गरेपछि शरीरनिर्वाहकोलागि देश, काल, वस्तु, व्यक्ति, पदार्थको आवश्यकता देखिन्छ, त्यसको नाम स्पृहा हो । स्थितप्रज्ञ व्यक्ति यो स्पृहाको पनि त्याग गर्छ । किनकि जसकोलागि शरीर मिलेको थियो, जसको आवश्यकता थियो, त्यो तत्वको प्राप्ति भइहाल्यो, त्यो आवश्यकता पनि पूरा भयो । अव शरीर चाहे रहोस् या नरहोस् -- यसमा ऊ  वेपर्वाह रहन्छ, यसैले ऊ निःस्पृह रहन्छ ।

यहाँ यो पनि स्पष्ट हुनु पर्छ, स्थितप्रज्ञ पुरुषले  आफ्नो शरीर निर्वाहको वस्तुहरुको पनि सेवन नगर्ने हो कि ? त्यसो होइन, स्थितप्रज्ञ व्यक्ति आफ्नो निर्वाहको वस्तुहरुको सेवन पनि गर्छ, आफूले के खान हुने, के खान नहुने भन्ने कुरामा पनि ध्यान राख्छ अर्थात् पहिले साधन अवस्थामा शरीर आदिसँग उसको जस्तो व्यवहार हुन्थ्यो, अहिले सिद्ध अवस्थामा पनि ऊवाट हुने व्यवहार उस्तै नै हुन्छ, तर उसलाई 'यो शरीर यस्तै भइरहे हुन्थ्यो, जीवन निर्वाहका वस्तुहरु मिलिरहे हुन्थ्यो' भन्ने धारणा चाहिं हुँदैन ।

कर्मयोगमा सम्पूर्ण कामनाहरुको त्याग हुनै पर्छ, स्थितप्रज्ञ हुनकोलागि । किनकि हाम्रो संसारसँगको सम्बन्ध कामनावाट नै उत्पन्न हुन्छ, कामनामा  नै अड्छ । कामनाहरुको सर्वथा त्याग भएपछि संसारसँग सम्बन्ध नै रहन सक्तैन ।

स्थितप्रज्ञ महापुरुष ममताको सर्वथा त्याग गरिदिन्छ । हामीले आफ्नो मानेका वस्तुहरु हाम्रा आफ्ना होइनन्, संसारवाट नै मिलेका हुन् । संसारमा आएपछि पाइएका वस्तुलाई आफ्नो मान्नु हाम्रो भूल हो, मूर्खता हो । यही भूल मेटिएको कारणले नै स्थितप्रज्ञ मनुष्य वस्तु, व्यक्ति, पदार्थ, शरीर, इन्द्रियहरु आदिवाट ममतारहित हुन्छ ।

'यो शरीर म होइन'--यस्तो मान्दा हामीलाई शरीरसँग तादात्म्य हुन्छ, तादात्म्य मानेपछि अहंकार हुन्छ । स्थितप्रज्ञमा अहंकार हुँदैन । शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि सबै कुनै प्रकाशमा देखिन्छन् र जुन 'म' पना छ, त्यसलाई कुनै  प्रकाशमा भान हुन्छ । अतः प्रकाशको दृष्टिले शरीर, इन्द्रियहरु, मन, बुद्धि, अहंता ('म' पना) -- यी सबै दृश्य हुन् । द्रष्टा दृश्यदेखि छुट्टै हुन्छ । यस्तो अनुभव हुने स्थितप्रज्ञ निरहंकार, अहंकाररहित हुन्छ ।

स्थितप्रज्ञलाई शान्ति प्राप्त हुन्छ । कामना, स्पृहा, ममता, र अहंतादेखि रहित भएपछि शान्ति पाइन्छ भन्ने कुरो होइन, किनकि शान्ति त सबै मनुष्यलाइ स्वतःसिद्ध छ । केवल उत्पन्न र नष्ट हुने वस्तुहरुवाट सुख भोग गर्ने कामना गर्दा, ती वस्तुहरुसँग ममताको सम्बन्ध राख्दा नै अशान्ति हुने हो । जव संसारको कामना, स्पृहा, ममता र अहंता सर्वथा छुट्छ, तव स्वतःसिद्ध शान्तिको अनुभव हुन्छ ।     

यो श्लोकमा वर्णन गरिएको कामना, स्पृहा, ममता र अहंता -- यी चारमा अहंता नै मुख्य छ  । कारण कि एक अहंता भएन भने सबै दुर्गुण हुँदैनन् अर्थात् यदि 'म'पना रहेन भने 'मेरो'पना त हुँदै हुने भएन, कामना गर्ने पनि कोही भएन ।

यी चार दुर्गुण मध्ये कामना स्थूल छ । कामना भन्दा सूक्ष्म स्पृहा, स्पृहा भन्दा सूक्ष्म ममता र ममता भन्दा पनि सूक्ष्म अहंता छ । साधकले (हामीले) पहिले कामनाको, त्यसपछि स्पृहाको, त्यसपछि ममताको र अहंताको त्याग गर्न सके उसको (हाम्रो) साधना सजिलो हुन्छ । यो विचार शास्त्रीय दृष्टिले आएको छ ।        


 अर्को मत भन्छ, साधकको दृष्टिले पहिले ममताको त्याग, फेरि कामना, स्पृहा र अहंकारको त्याग हुनु ठीक देखिन्छ । ममता प्राप्त वस्तुमा हुन्छ र कामना अप्राप्त वस्तुमा । सब भन्दा पहिले ममताको त्याग गर्नु सुगम हुन्छ । हामी धेरै जसो ममतावाट अर्थात् प्राप्त वस्तुसँगको सम्बन्धवाट नै फस्छों । पहिले ममता त्याग्न सकियो भने निष्काम हुने सामर्थ्य आउँछ हामीलाई । कामनाको त्याग गरियो भने निस्पृह हुने सामर्थ्य आउँछ र स्पृहाको त्याग हुन सक्यो भने निरहंकार हुने सामर्थ्य आउँछ । केवल शास्त्रीय दृष्टि अनुसार चल्ने हो भने मनुष्य पण्डित हुन्छ र साधकको दृष्टि अनुसार चल्ने हो भने मनुष्यलाई अनुभव हुन्छ ।

अव प्रश्न आउँछ, अहंता, ममता रहित कसरी हुने ?
कर्मयोगको दृष्टिले -- 'मेरो केही छैन'; किनकि मेरो कुनै वस्तु, व्यक्ति, परिस्थिति, घटना, अवस्था आदिमा स्वतन्त्र अधिकार छैन । मेरो केही पनि छैन भने 'मलाई केही पनि चाहिंदैन'; किनकि यदि शरीर मेरो हो भने मलाई अन्न, जल, वस्त्र आदिको आवश्यकता छ, तर शरीर नै मेरो होइन भने मलाई कसैको कुनै चीजको पनि आवश्यकता छैन । जव मेरो केही छैन भने मलाई केही पनि चाहिंदैन भने फेरि 'म' के वांकी रह्यो ? किनकि 'म' त कुनै वस्तु, शरीर, स्थिति आदिलाई समात्दा हुने त हो नि !
मेरो भनिएको शरीर आदिको खालि संसारसंग सम्बन्ध छ । यसैले आफ्नो भनिने शरीर आदिसंग जे जे गर्ने हो, ती सबै  संसारको हितकोलागि गर्ने हो, किनकि मलाई केही चाहिंदै चाहिंदैन । यस्तो भाव वनेपछि 'म'को एकदेशीयता आफआफैं मेटिन्छ र कर्मयोगी अहंता ममतादेखि रहित हुन्छ ।         
सांख्ययोगको दृष्टिले -- यो योगवाट सिद्ध  व्यक्तिलाई सम्पूर्ण प्राणीलाइ नै 'म हुँ' यस्तो आफ्नो स्वरूपले स्वतःसिद्ध सत्ताको ज्ञान  रहन्छ । 'म हुँ' मा 'म' प्रकृतिको अंश हो, र 'हुँ' सत्ता हो । यो 'हुँ' पनि 'म'लाई लिएर भएको हो । यदि 'म' रहेन  भने 'हुँ' पनि रहँदैन, खालि 'छ' मात्रै रहनेछ ।
'म हुँ', 'तिमी छौ', 'यो हो', 'त्यो हो' -- यी चारै शब्दहरु व्यक्ति र देश-काललाई लिएर वनेका हुन् । यदि यी चार शब्दले देशकाललाई छुंदैनन् भने केवल 'छ, हो' मात्र वांकी रहन्छ, 'छ' 'हो' मात्रै स्थिति हुन्छ । 'हो' र 'छ'मा  मात्रै स्थिति भए सांख्ययोगी अहंता ममतारहित हुन्छ ।
भक्तियोगको दृष्टिले -- जसलाई 'म' र 'मेरो' भनिन्छ, ती सबै प्रभुका नै हुन् । कारण कि मेरो भनिएका वस्तुहरुमा मेरो अलिकति पनि अधिकार छैन, प्रभुको नै ती वस्तुहरुमा पूरा अधिकार छ । प्रभुले ती  वस्तुहरु जसरी राख्नु हुन्छ, त्यस्तै हुन्छ । त्यसैले यो सबै प्रभुकै हो । त्यसैले यी वस्तुहरुलाई प्रभुकै सेवामा लगाउने हो, मेरो शरीर, इन्द्रियहरु, मन, बुद्धि पनि उहाँ (प्रभु)का नै हुन् र म पनि उहाँको नै हुँ । यस्तो भाव हुँदा भक्तियोगी अहंता ममतादेखि रहित हुन्छ ।  
अहंता आफ्नो स्वरूपमा मानिएको हो, वास्तवमा छैन । यदि यो अहंता वास्तवमा हुँदो हो त  हामी कहिले पनि निरहंकार  हुन सक्ने थिएनौं र भगवान पनि हामीलाई निरहंकार हुने कुरा गर्नु हुन्नथ्यो । यसैले हामी निरहंकार हुन सक्छौं । हाम्रो आफ्नै अनुभव छ, हाम्रो स्वरूप अहंकाररहित, निरहंकार हो । सुषुप्त अवस्थामा अहंको अभावको स्वयं (आफ्नो सत्ता)को भावको अनुभव सबैलाई हुन्छ, त्यसको स्पष्ट बोध गाढा निद्रावाट विउंझेपछि हुन्छ हामीलाई । सुशुप्तिमा अहं अविदयामा लीन हुन्छ, तर स्वयम् रहन्छ । त्यसैले सुषुप्तिवाट विउंझेपछि (त्यसको वृत्तिवाट) हामी भन्छौं, 'म एकदम सुखसँग निदाएँ, मलाई केही पनि थाहा भएन ।' यो स्मृतिवाट थाहा हुन्छ, सुखको अनुभव गर्ने र 'केही थाहा भएन' यो वताउने त कोही थियो । हैन भने सुखको अनुभव कसलाई भयो र मलाइ केही थाहा भएन भन्ने कुरो कसले जान्यो ? अतः 'केही थाहा थिएन' -- यो अहंको अभाव हो र यसको ज्ञान जसलाई  हुन्छ, त्यो अहंरहित स्वरूप हो ।
यसरी सुषुप्तिमा अहंको अभावको अनुभव त सवैलाई हुन्छ, तर आफ्नो अभावको अनुभव कसैलाई कहिले पनि हुँदैन । अहंकार हामी विना रहन सक्तैन, तर हामी (स्वयम्) अहंकार विना रहन सक्छौं र रहन्छौं पनि । हाम्रो स्वरूप चिन्मय सत्ता मात्रै हो । यो नित्य सत्तालाई कसैको पनि अपेक्षा छैन, तर सत्ताको अपेक्षा सबैलाई छ । जाग्रत र स्वप्नमा अहं प्रकट रहन्छ र सुषुप्तिमा अहं लीन हुन्छ; तर हामी स्वयं निरन्तर रहन्छौं । हाम्रो स्वरूप प्रकट र लीन हुँदैन ।
यो श्लोकमा अपरा प्रकृतिको निषेध छ । जीवले अहंकारको कारणले अपरा प्रकृतिलाई धारण गरेको छ । अतः निरहंकार भएपछि अपरा प्रकृतिसँग सम्बन्ध विच्छेद हुन्छ र जीव जन्म-मरणको चक्रवाट छुट्छ । सबैको त्याग भएपछि अहंकार शेष रहन्छ; तर अहंकारको त्याग भएपछि सबैको त्याग हुन्छ ।

No comments:

Post a Comment