Wednesday 25 June 2014

100. No. 70 श्लोक १०, ११ प्रजापति ब्रह्माजीले सृष्टिको आदिकालमा कर्तव्यकर्मको विधानसहित प्रजा (मनुष्य आदि)

No. 70
श्लोक १०, ११
प्रजापति ब्रह्माजीले सृष्टिको आदिकालमा कर्तव्यकर्मको विधानसहित प्रजा (मनुष्य आदि) को रचना गरेर (उनीहरुसँग, खास गरेर मनुष्यहरुसँग) भन्नुभयो, (तिमीहरु यो कर्तव्य कर्म द्वारा सबै (सृष्टि)को वृद्धि गर र यो कर्तव्य-कर्मरूप यज्ञ तिमीहरुलाई कर्तव्य-पालनको आवश्यक सामग्री दिनेछन् । यही कर्तव्य-कर्मद्वारा तिमीहरु देवताहरुलाई पनि उन्नत (तृप्त) गर र ती देवताहरुले पनि (आफ्नो कर्तव्य द्वारा) तिमीहरुलाई उन्नत (तृप्त) गर्नेछन् । यस्तो प्रकारले एक-अर्कोलाई उन्नत गर्दै (मदत गर्दै) रहे  तिमीहरुको  परम कल्याण हुनेछ ।

ब्रह्माजी सृष्टिको रचयिता र यसको स्वामी हुनुहुन्छ । यही कारण उहाँ आफ्नो कर्तव्यको पालन गर्नुहुन्छ, आफ्नो सृष्टिको रक्षा तथा यसको कल्याणको विचार पनि गरिरहनु हुन्छ । किनंभने आफूवाट उत्पन्न भएकाको रक्षा गर्नु त्यो उत्पन्न गर्ने व्यक्तिको कर्तव्य हुन्छ ।   आफ्नो प्रजाको रचना गर्ने, ती  प्रजाको रक्षामा सँधै तत्पर रहने  तथा सँधै त्यही प्रजाको हितको वारेमा नै सोचिरहने भएकोले उहाँलाइ  'प्रजापति'  भनिएको हो ।

सृष्टिको आरम्भमा ब्रह्माजीले कर्तव्य-कर्मकर्महरुकोलागि आवश्यक योग्यता र विवेक-सहित  मनुष्यहरुको रचना गर्नुभयो । अनुकूल र प्रतिकूल परिस्थितिको सदुपयोगले मनुष्यलाई कल्याण गर्छ । यसैले ब्रह्माजीले अनुकूल-प्रतिकूल परिस्थितिको सदुपयोग गर्ने विवेक समेत दिएर नै मनुष्यहरुको रचना गर्नुभएको हो ।

सत्-असत् को विचार गर्न नसक्ने पशु, पक्षी, वृक्ष आदिवाट स्वाभाविक परोपकार (कर्तव्य-पालन) हुन्छ, तर मनुष्यलाइ त भगवत्कृपाले विशेष  विवेक-शक्ति मिलेको छ । अतः यदि उसले   आफ्नो विवेकलाई महत्व दिएर अकर्तव्य नगरे ऊवाट पनि स्वाभाविक लोक कल्याणकोलागि कर्म हुन सक्छन् ।

देवता, ऋषि, पितृ, मनुष्य तथा पशु, पक्षी, वृक्ष आदि सबै प्राणीहरुलाई  प्रजा भनिन्छ । यी प्राणीहरुमा पनि योग्यता, अधिकार र साधनको विशेषताको कारण मनुष्यलाइ अरु सबै प्राणीहरुलाई पनि पालन गर्ने जिम्मेवारी छ । त्यसैले यहाँ 'प्रजा' शब्द विशेषरूपले मनुष्यहरुकोलागि प्रयोग गरिएको हो ।

ब्रह्माजी मनुष्यहरुलाई भन्नुहुन्छ, 'तिमीहरु आफ्नो-आफ्नो कर्तव्य-पालनद्वारा सबैको वृद्धि गर, उन्नति गर । यसो गर्यौ भने तिमीहरुलाई आवश्यक उपयोगी सामग्री मिलिरहन्छ, सामग्रीको कमी कहिले पनि हुँदैन ।

अर्जुनलाई कर्म नगर्ने रुचि थियो । त्यो कर्म नगर्ने रुचि हटाउनु थियो भगवानलाई । यहाँ भगवान इंगित गर्नुहुन्छ अर्जुनलाई, 'हेर अर्जुन, प्रजापति ब्रह्माजीको वचनहरुवाट पनि तिमीले कर्तव्य कर्म गर्नु पर्छ । अरुको हितकोलागि कर्तव्य कर्म गर्दा नै तिम्रो लौकिक र पारलौकिक उन्नति हुन सक्छ ।'
निष्कामभावले खालि कर्तव्य-पालनको विचारले कर्म गरे मनुष्य मुक्त हुन्छ र सकामभावले कर्म गरे मनुष्य वन्धनमा पर्छ । प्रस्तुत प्रकरणमा निष्कामभावले गरिने कर्मको विवेचन छ ।
कर्मयोगी अरुको सेवा अथवा हित गर्नकोलागि सँधै तत्पर रहन्छ । यसैले प्रजापति ब्रह्माजीको विधान अनुसार अरुको सेवा गर्ने सामग्री, सामर्थ्य, र शरीर-निर्वाहको आवश्यक वस्तुहरु त्यो कर्मयोगीलाई कहिले पनि कमी हुँदैन । उसलाई सेवाकोलागि उपयोगी वस्तुहरु सुगमतापूर्वक उपलब्ध भई रहन्छ । ब्रह्माजीको विधान अनुसार हामी सबैलाई  कर्तव्य-कर्म गर्ने  सामग्रीहरु पूरापूर प्राप्त छन् । कर्तव्य-कर्मका सामग्रीको कहिले पनि, कुनै वेला पनि, कसैसँग पनि कमी छैन ।
वास्तवमा हाम्रो मनुष्यशरीर भोग भोग्नकोलागि वनेकै होइन । यसैले 'संसारको सुख भोग' भन्ने कुनै पनि सत् शास्त्रमा विधान छैन । समाजले पनि हामीलाई स्वच्छन्द भोग भोग्ने आज्ञा दिंदैन । शास्त्र र समाज दुवै हामीलाई अरुलाई सुख पुर्याउने आदेश दिन्छन् ।
कर्मयोगीमा सँधै दिने नै भावना हुन्छ, लिने भावना हुँदैन; किनभने लिने भाव नै वन्धनकारक हुन्छ । हामीमा अरुवाट लिने भाव रह्यो भने हाम्रो कल्याणप्राप्तिमा वाधा आउँछ, साथै, संसारिक वस्तुहरुको प्राप्तिमा पनि वाधा हुन्छ । हामी सबैलाई थाहा छ, संसारमा लिन खोज्ने व्यक्ति कहिले पनि दिन चाहँदैन । यही सन्दर्भमा ब्रह्माजी भन्नुहुन्छ, 'हे प्रजाहरु, तिमीहरु वदलामा केही नखोजीकन नै निःस्वार्थभावले आफ्नो कर्तव्य-कर्म गर, यसैवाट तिमीहरुको उन्नति हुनेछ ।'      
कर्मयोगी आफ्नो  कर्तव्यकर्मवाट सबै प्राणीहरुलाई सुख दिन्छ । यही कारण प्रजापति ब्रह्माजी सम्पूर्ण प्राणीहरुको भलाइकोलागि हामीलाई आफ्नो कर्तव्य-कर्मरुप यज्ञ पालन गर्ने आदेश दिई रहनुभएको छ । आफ्नो आफ्नो कर्तव्य-कर्मको पालन गरे मनुष्यको कल्याण स्वतः हुन्छ । हामीलाई नै कर्तव्य-पालन गर्ने विधान अरु प्राणीलाई छैन ।

No comments:

Post a Comment