105. No. 73 श्लोक १२ यज्ञवाट पुष्ट भएका देवताहरु पनि तिमीहरुलाई माग्दै नमागी कर्तव्य-पालनकोलागि
यज्ञवाट
पुष्ट भएका देवताहरु पनि तिमीहरुलाई माग्दै नमागी कर्तव्य-पालनकोलागि
आवश्यक सामग्री दिइरहने छन् । यस्तो किसिमले ती देवताहरुवाट प्राप्त
सामाग्रीहरु अरुको सेवामा नलगाई आफूले नै उपभोग गर्ने मनुष्य चोर नै हो ।
पहिलो श्लोकमा वर्णित कल्याण कसरी हुन्छ
भन्ने उद्देश्यले नै यो श्लोक आएको छ । हामीलाई 'कल्याण कसरी हुन्छ त् ?
भन्ने प्रश्नको उत्तर हो यो ।
यही
सन्दर्भमा गीता भन्छ, भोगहरुको इच्छा भई भई हाम्रो कल्याण हुनै सक्तैन ।
यहाँ यो पनि भन्न खोजिएको छ, देवताहरु त आफ्नो अधिकार भन्ने मानेर
मनुष्यहरुलाई आवश्यक सामग्री जुटाइदिन्छन्, मनुष्यले नै आफ्नो कर्तव्य
पूरा गर्नु छ ।
हाम्रो शरीर मत-पितावाट पाइएको हो र यसको
लालन-पालन पनि उहाँहरुवाट नै भएको हो । विद्या गुरुहरुवाट पाइएको हो ।
देवताहरु हामीहरु सबैलाई कर्तव्य-कर्मको सामग्री दिन्छन् । ऋषि सबैलाई
ज्ञान दिन्छन् । पितृहरु हाम्रो सुख सुबिधाको उपाय वताउँछन् । पशु, पक्षी,
वृक्ष, लताहरु अरुलाई सुख पुर्याउन स्वयम् लाई नै समर्पित गर्छन्,
उनीहरुलाई यो कुराको ज्ञान नभए पनि उनीहरुवाट परोपकार भैरहेछ । यस्तो
प्रकारले, हामीसंग भएका सबै सामग्री -- वल, योग्यता, पद, अधिकार, धन,
सम्पत्ति, सबै हामीलाई अरुवाट मिलेको छ । यसैले यिनीहरुलाई हामीले अरुको
सेवामा लगाउनु छ ।
शरीर, इन्द्रियहरु, मन, बुद्धि सबै पदार्थ
हामीलाई संसारवाट मिलेको छ । यिनीहरु कहिले पनि हाम्रा होइनन्, हाम्रा
हुने पनि होइनन् । त्यसैले, यिनीहरुलाई आफ्नो मान्नु र आफ़्नोलागि मानेर
यिनीहरुवाट सुख भोग्नु नै बन्धन हो । यो बन्धनवाट छुट्ने एक मात्र सरल
उपाय, जोवाट हामीले यी पदार्थहरु पाएका छौं, ती पदार्थहरु उनीहरुकै मानेर
उनीहरुकै सेवामा निष्कामभावपूर्वक लगाइदिने ।
हामी मध्ये कसैलाई यस्तो पनि लाग्छ, यो
संसारको सेवा गर्यौं भने त्यसैमा आसक्ति हुन्छ र हामी फस्छौं । तर भगवान
भन्नुहुन्छ, फँस्नुको कारण आसक्ति होइन, आफ्नोलागि केही न केही लिने भाव नै
हो । यसैले लिने भाव छोडेर देवताहरुले जस्तो अरुलाई सुख पुर्याउनु नै
मनुष्य मात्रको परम कर्तव्य हो ।
कर्मयोगको सिद्धान्तमा आफूले पाएका
सामग्री, सामर्थ्य, समय र समझदारीको सदुपयोग गर्ने नै विधान छ । प्राप्त
सामग्री भन्दा वढी नयाँ नयाँ सामग्री जोड्ने पनि होइन । अतः हामीलाई
मिलेका सामग्रीलाई नै अरुको हितमा लगाउने हो । आफूसँग भएको भन्दा धेरैको
आवश्यकता पनि छैन । अर्को शब्दमा, जसको जति शक्ति छ, त्यति नै आशा गरिन्छ
ऊसँग । झन् भगवान र देवतावाट साधकसँग भएको भन्दा वढी आशा नै कसरी हुन
सक्थ्यो र ?
आफ्नो कर्तव्य-पालन नगर्ने मनुष्य
सबैकोलागि मिलेको (अन्न, जल, वस्त्र आदि) भाग अरुलाई दिंदै नदिई आफू एक्लै
लिइदिन्छ । त्यस्तो व्यक्तिलाई भगवान चोर भन्नुहुन्छ ।
अरुलाई
दिनु पर्ने भाग नदिएर आफूले मात्रै उपभोग गर्ने व्यक्ति त चोर हो नै, तर
जो सेवा-सामग्रीलाई सेवामा लगाएर आफ्नो कुनै स्वार्थ सिद्ध गर्न चाहन्छ,
त्यो व्यक्ति पनि चोर नै हो । यस्तो व्यक्तिको अन्तःकरण कहिले पनि शुद्ध र
शान्त हुन सक्तैन ।
हाम्रो अथवा अरु कसैको व्यष्टि शरीर कुनै
पनि प्रकारले समष्टि शरीर भन्दा छुट्टै छैन र छुट्टै हुन पनि सक्तैन; किनकि
समष्टिको अंशलाई नै व्यष्टि भनिन्छ । यसैले व्यष्टि (व्यक्ति)लाई आफ्नो
मान्नु र समष्टि (संसार)लाई आफ्नो नमान्नु नै राग-द्वेष आदि द्वन्द्वको
कारण हो, यही अहंकार, व्यक्तित्व र व्यवहारको विषमता हो । कर्मयोगको
अनुष्ठानवाट यी राग-द्वेष आदि सजिलैसँग हराउँछन् । यसको कारण, कर्मयोगीको
भाव यस्तो हुन्छ, 'मैले गरिरहेका सबै कामहरु मेरोलागि नभएर संसारकोलागि नै
हो । अझ महत्वपूर्ण कुरो, कर्मयोगीवाट हुने कर्म आफ्नो व्यक्तिगत
कल्याणकोलागि नभएर संसारको हितको उद्देश्यले प्रेरित हुन्छ । किनभने
समष्टिको कल्याण भन्दा छुट्टै आफ्नो कल्याण मान्नु नै व्यक्तित्व र
विषमतालाई जन्म दिनु हो, साधकको उन्नतिमा वाधा दिने पनि यही नै हो ।
हाम्रा शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि सबै हामीलाई संसारवाट नै
मिलेको हो । संसारवाट पाइएको वस्तु केवल आफ्नो स्वार्थसिद्धिमा लगाउनु
इमान्दारी होइन ।
हामीले यो विचार गर्नु पर्यो, कर्मयोगका यी
बुँदाहरु मध्ये हामीवाट के, कतिसम्म र कस्तो हिसावले यी बुँदाहरुको सेवन
भैरहेछ त ? वेला वेलामा, अझ पलपलमा आत्म मूल्यांकन हुनु पर्नेछ हाम्रो ।
आफ्नो मूल्यांकन आफूवाट भन्दा वढी राम्रो अरुवाट हुन सक्तैन । यसरी आफूले
नै आफ्ना विगतका व्यवहारको र हालैका व्यवहारको पनि आध्यात्मिक विकासको
अवलोकन नगरे त हामीले जानेका ज्ञान पनि हाम्रो भार मात्र हुनेछ । स्वामी
अनुभवनान्दजी भन्नुहुन्छ, नपचेको ज्ञानी 'philosopher' हुन्छ । त्यस्तो
ज्ञानीले शास्त्र त जानेको हुन्छ, तर उसको मनमा हुन्छ, 'मैले जानेको ज्ञान
मेरोलागि होइन, केवल अरुकोलागि हो' । त्यसैले कर्मयोगको साथर्कता यसैमा
छ, यो सिद्धान्त अनुसार हामीले जे जे जान्छौं र मान्छौं, त्यो त्यो ज्ञान
हामीले व्यवहारमा लगाउनै पर्छ । नत्र यो ज्ञान 'हात्तिको स्नान' जस्तो
हुनेछ, समयको वर्वादी मात्रै, अरुलाई प्रभाव पार्ने मात्रै, कुनै वस्तुको
उपभोग गरेर होइन, त्यो वस्तुको चित्र हेरेर सन्तुष्ट भए जस्तो मात्रै ।
अहिले हामीलाई ज्ञानको भारले थिचेको छ, ज्ञानको भार भनेको अज्ञान नै हो ।
यस्तो भारी बोक्ने मान्छे कहिले पनि शान्त हुन सक्तैन । ज्ञानको काम नै
अशान्तिको नाश गर्नु हो । अशान्तिको नाश गर्न नसक्ने ज्ञानलाई के भन्नु त
हामीले । व्यवहारको ज्ञानले हाम्रो अशान्ति नष्ट हुन सक्तैन, यसैले
व्यवहारको ज्ञान पनि अज्ञान नै भयो । यसरी हाम्रोलागि हितकारी के हो,
अहितकारी के हो भन्ने विवेचन गर्ने काम पनि हाम्रो नै हो ।
No comments:
Post a Comment