Wednesday 25 June 2014

89. No. 62 तेस्रो अध्याय अध्यायको पृष्ठभूमि

No. 62
तेस्रो अध्याय
अध्यायको पृष्ठभूमि 
गीताको उपदेश सबै मनुष्यको अनुभवमा आधारित छ । यो उपदेश आरम्भ गर्दा भगवान भन्नुहुन्छ, शरीर र शरीरी एक अर्कासंग   एकदम भिन्न छन् । शरीर अनित्य, असत्, एकदेशीय र नाशवान् छ, शरीरी नित्य, सत्, सर्वव्यापी र अविनाशी छ । त्यसैले, नाशवान् वस्तुहरुको नाश देखेर दुःखी हुनु भएन र अविनाशी वस्तुको अविनाशिता देखेर त्यसलाई त्यस्तै भइरहोस् भन्नु भएन । यसैलाई विवेक भन्नुभयो भगवानले । कर्मयोग, ज्ञानयोग र भक्तियोग -- तीनैमा विवेकको आवश्यकता छ । 'म शरीरदेखि सर्वथा अलग छु' -- यस्तो विवेक भएपछि मुक्तिको इच्छा जाग्रत हुन्छ । यही कारण, भगवान आफ्नो उपदेशको आरम्भ नै विवेकवाट गर्नुहुन्छ, जुन विवेकद्वारा व्यक्ति परमात्मप्राप्ति गर्न सक्छ ।
यो प्रकरणमा भगवानले 'बुद्धि' शब्दको प्रयोग गर्नुभएको छैन । किनभने नित्य-अनित्य, सत्-असत्, विनाशी-अविनाशी, शरीर-शरीरीलाई छुट्टा छुट्टै बुझ्नकोलागि 'विवेक'को नै अवश्यकता हुन्छ, बुद्धिको होइन । विवेक बुद्धि भन्दा श्रेष्ठ छ । प्रकृति र पुरुष अनादि भए जस्तै तिनीहरुको भिन्नता प्रकट गर्ने विवेक पनि अनादि छ । यही विवेक बुद्धिमा प्रकट हुन्छ । भगवानको अनुपम उपहार यो विवेक सबै प्राणीहरुलाइ सँधै प्राप्त नै छ । पशु-पक्षी पनि आफूले के खान हुने, के खान नहुने भन्ने कुरा यही विवेकद्वारा नै थाहा पाउँछन् । लतावृक्षमा पनि सर्दी-गर्मी, अनुकूलता-प्रतिकूलताको भिन्नताको ज्ञान रहन्छ । मनुष्यलाई यो विवेक अझ धेरै प्राप्त छ । पशु-पक्षीमा जीवन-निर्वाह्कोलागि जड-पदार्थको विवेक रहन्छ, तर मनुष्य आफ्नो विवेकले सँधैकोलागि जन्म-मरणरुप बन्धनदेखि मुक्त भएर शाश्वत शान्ति प्राप्त गर्न सक्छ । मनुष्यको विवेकको विशेषता नै यही हो ।
विवेक जाग्रत भएपछि अर्थात् शरीर र शरीरीको भिन्नताको अनुभव भएपछि आफ्नो भनिएको शरीर-इन्द्रियहरु-मन-बुद्धिसहित संसारसँग  सर्वथा सम्बन्ध-विच्छेद हुन्छ र बुद्धि शुद्ध तथा सम हुन्छ अर्थात् बुद्धिमा रहेको विषम भाव हट्छ ।
कर्मयोगमा  बुद्धिको एक निश्चयको प्रधानता छ । साधकलाई (हामीलाई) आफ्नो कल्याण अथवा परमात्मप्राप्तिको  एक निश्चय भएपछि उसलाई अनुकूलता-प्रतिकूलता वाधा पुर्याउँदैनन् र यसपछि केही विशेष प्रयास नगरिकन उसको बुद्धि सम हुन थाल्छ । हाम्रो बुद्धिमा संसारको महत्व, आकर्षण, खिंचाव रहुन्जेल मात्रै साधकले बुद्धि सम गर्ने प्रयत्न गर्ने हो । एक निश्चयात्मिका बुद्धि भएपछि संसारको महत्व, आकर्षण, खिंचाव आफैं मेटिन थाल्छ । निश्चयात्मिका बुद्धि हुनमा  वाधक भोग र संग्रहको आसक्ति नै हो ।
अर्जुनलाई युद्ध गर्न पहिलेदेखि नै मन थिएन । अर्जुनको यस्तो आग्रहले गर्दा उनले शुरुमा भगवानको आज्ञा सुन्दै सुनेनन् । त्यसैले अर्जुनलाई भगवानको दोस्रो अध्यायको उपदेश अलि गोलमाल जस्तो लाग्यो । त्यसैले यो तेस्रो अध्यायको शुरुमा नै अर्जुनले भगवानको आशय जान्न खोजे । उनी आफ्नो कल्याणको विषयमा भगवानलाई अझ स्पष्ट हुने अनुरोध गर्दै आफ्नो प्रश्न शुरु गर्छन् यो अध्यायमा ।  

No comments:

Post a Comment