Wednesday 25 June 2014

88 No. 61 श्लोक ७२ हे पृथानन्दन ! यही स्थितिलाई ब्राह्मी स्थिति भन्छन् ।

No. 61
श्लोक ७२
हे पृथानन्दन ! यही स्थितिलाई ब्राह्मी स्थिति भन्छन् । यो (ब्राह्मी) स्थिति पाएपछि कहिले पनि कोही पनि मोहित हुँदैन । यो स्थितिमा यदि कोही अन्तकालमा मात्रै  पनि स्थित हुन्छ भने उसले निर्वाण (शान्त) ब्रहम प्राप्त गर्छ ।
ब्रह्म प्राप्त गरेका मनुष्यहरुको स्थिति ब्राह्मी हुन्छ । अहंकार रहित भएपछि व्यक्तित्व मेटिन्छ, त्यसपछि हाम्रो (साधकको) स्थिति ब्राह्मी हुन्छ । किनकि यो स्थिति हुनु भन्दा पहिले संसारसंग सम्बन्ध थियो, त्यसैले साधकको व्यक्तित्व कुनै न कुनै मात्रामा थियो । संसारसंगको   सम्बन्धले नै व्यक्तित्व खडा भएको थियो, सम्बन्ध मेटियो, व्यक्तित्व पनि मेटियो ।
यहाँ भन्न मन लागेको कुरा, हामीले अहिलेसम्म महत्व दिएको, हाम्रो अथवा अरु कसैको व्यक्तित्व वेदान्तको दृष्टिमा त राम्रो रहेनछ । यहाँ व्यक्तित्वले, शारीरिक र मानसिक दुवै व्यक्तित्व जनाउँछ ।

वेदान्तले दुई सृष्टिको वर्णन गर्छ -- व्यष्टि सृष्टि र समष्टि सृष्टि । समष्टि सृष्टि परमात्माको हो र व्यष्टि सृष्टि जीवको हो । यही व्यष्टि सृष्टिमा व्यक्तित्व पनि आयो । यही व्यक्तित्वले नै हामीलाई एउटा सीमामा राख्यो, एउटा घेरामा राख्यो, त्यही व्यक्तित्वको घेरा, सामाजिक घेरा, पारिवारिक घेरा भन्दा वाहिर निस्कन नै दिएन । हामीले अहिलेसम्म पनि त्यही घेरालाई, त्यही व्यक्तित्वलाई महत्व दिइरहेका छौं । तर वेदान्त भन्छ, 'तिमीलाई शान्ति नभएको तिमी त्यही घेराभित्र रहेकोले नै हो, त्यसैले तिमी त्यो घेरावाट वाहिर आऊ।' घेरा भनेको, शरीर, इन्द्रियहरु, मन, बुद्धिको घेरा । त्यही शरीर, इन्द्रियहरु, मन, बुद्धिलाई र तिनीहरुका कामलाई नै हामीले अहिलेसम्म ठीक मानिरहेका छौं । हालै हामीलाई अनुभव पनि भइरहेछ, यी शरीर आदिले गरेका काम कारवाही ठीक रहेनछन्। यसको एक मात्र प्रमाण के हो भने, हामीले विगतमा गरेका कतिपय कामहरु वारे हामीलाई पछुतो हुन्छ धेरै जसो । पहिले गरेका काम ठीक भएको भए हामीलाई यस्तो विचार हुँदैनथ्यो । किनकि त्यो वेला हामीवाट भएको कामहरु रजोगुणको वशमा भएका रहेछन् । किनकि रजोगुणी कर्मले दुःख हुन्छ भन्छ गीता, 'रजसस्तु फलम् दुःखम् ।' रजोगुणी कर्म भनेको, लोभको वशमा, कामनाको वशमा, क्रोधको वशमा, राग-द्वेषको वशमा परेर गरिएका कर्म हुन् । दुःख पाउने काम गरेपछि दुःख हुँदैन त हामीलाई । त्यो व्यक्तित्वको निर्माण र निरन्तरता पनि रजोगुणवाट नै भयो । अव वेदान्तले हामीलाई त्यही रजोगुणवाट हट्न, व्यक्तित्वको अन्त गर्न सिकाइरहेछ ।
हामीहरु मध्ये कतिलाई लाग्न सक्छ, 'यो वेदान्तले त हामीले जे जे गरिरहेका छौं, त्यही त्यही नै नगर भन्छ वा' । विचार गर्दा यो भनाइ ठीक छ । शास्त्रको आफ्नो कुनै स्वार्थ छैन, उसलाई हामीसंग कुनै कमिशन लिनु परेको छैन । उसले त हाम्रो हितको लागि उपदेश गरेको छ, गर्ने, नगर्ने त हाम्रै हातमा छ ।  
अर्जुनले स्थितप्रज्ञको प्रसंगमा चार प्रश्न गरेका थिए भगवानसँग । ती चारै प्रश्नहरुको उत्तर दिएर भगवानले यो प्रसंगको उपसंहार गर्दै भन्नुभयो, 'तिम्रो स्थितप्रज्ञ सम्बन्धी  प्रश्नहरु र मैले दिएका उत्तर अनुसार जीवन यापन गर्ने व्यक्तिको यस्तो स्थितिलाई 'ब्राह्मी' स्थिति भनिन्छ ।' तात्पर्य, यो स्थिति व्यक्तिगत स्थिति होइन अर्थात् यो स्थितिमा व्यक्तित्व नै रहँदैन । यो स्थिति भनेको 'नित्ययोग'को प्राप्तिको स्थिति हो । त्यो स्थितिमा एक मात्रै तत्व रहन्छ । यो त नित्ययोगको प्राप्तिको स्थिति हो । त्यसमा एक मात्र तत्व रहन्छ ।
शरीरमा अहंकार रहुन्जेल मोहित हुने सम्भावना रहन्छ । परन्तु जव अहंकारको पूरापूर अभाव भएर आफ्नो स्थितिको अनुभव हुन्छ, व्यक्तित्व नै टुटेको हुनाले फेरि मोहित हुने कुनै सम्भावना नै रहँदैन ।
सत् र असत् लाई राम्रोसँग नजान्नु नै मोह हो । अर्को शब्दमा, स्वयं सत् हुँदा हुँदै असत् संग आफ्नो एकता मानिरहनु नै मोह हो । साधकले असत् लाई ठीक तरिकाले जान्नु पर्यो, त्यसपछि असत् सँग उसको सम्बन्ध-विच्छेद हुन्छ र सत् मा आफ्नो वास्तविक स्थितिको अनुभव हुन्छ । यस्तो स्थितिको अनुभव फेरि कहिले पनि मोह हुँदैन ।
यो मनुष्यशरीर केवल परमात्म प्राप्तिकोलागि नै मिलेको हो । त्यसैले गीता अनुसार मनुष्य जीवनको सफलता नै यही ब्राह्मी स्थिति प्राप्त गर्नु हो । यही ब्राह्मी स्थिति अन्तकालमा नै भए पनि कसैलाई मिल्यो भने मनुष्यलाई शान्ति मिल्छ । यस्तो स्थिति हुनमा एक मात्र वाधा हाम्रो राग नै हो । यही रागलाई हामीले अन्तकालमा भए पनि छोड्न सक्यौं भने हामीलाई स्वतःसिद्ध वास्तविक स्थितिको अनुभव हुन्छ ।
यहाँ शंका हुन्छ -- हाम्रो जीवनकालमा अनुभव हुन नसकेको ब्राह्मी स्थिति अन्तकालमा कसरी होला ? किनभने स्वस्थ अवस्थामा त हाम्रो (साधकको) बुद्धि स्वस्थ होला, विचार-शक्ति होला, सावधानी होला त हामी ब्राह्मी स्थिति प्राप्त गरौंला । तर अन्तकालमा, प्राण छुट्ने वेलामा बुद्धि विकल हुन्छ, सावधानी रहँदैन -- यस्तो अवस्थामा ब्राह्मी स्थितिको अनुभव कसरी हुन सक्छ ?
यो जिज्ञासाको उत्तर -- मृत्यु समयमा प्राण छुट्दा शरीर आदिसँग मनुष्यको सम्बन्ध विच्छेद स्वतः हुन्छ । यदि त्यो वेला पनि त्यो वेला त्यो स्वतःसिद्ध तत्वतिर लक्ष भयो भने त्यसको अनुभव सुगमताले हुन्छ । किनभने निर्विकल्प अवस्था हुन बुद्धि, विवेक आदिको आवश्यकता छ, तर अवस्थातीत तत्वको प्राप्तिमा लक्ष्य परमात्मातिर भए पुग्छ । त्यो लक्ष्य पहिलेदेखिको अभ्यासले भए पनि ठीकै छ, साधकको कुनै शुभ संस्कारले भए पनि ठीकै छ, भगवान अथवा सन्तको कृपाले भए पनि ठीकै छ, लक्ष्य भएपछि त्यो लक्ष्यको प्राप्ति स्वतःसिद्ध छ ।
अन्तकाल भन्दा पहिले नै अर्थात् जीवित-अवस्थामा यो ब्राह्मी स्थिति प्राप्त भयो भने साधक जीवन्मुक्त हुन्छ; तर अन्तकालमा पनि यो स्थिति भयो भने अथवा निर्मम-निरहंकार भइयो भने साधक मुक्त हुन्छ । तात्पर्य, यो स्थिति तत्काल हुन सक्छ । यो स्थितिकोलागि कुनै अभ्यास गर्ने, ध्यान गर्ने, समाधि लगाउने आदि केही पनि गर्नु पर्दैन ।
जड र चेतन -- दुई बिभाग छन् । हामी सबैको, सम्पूर्ण प्राणीहरुको स्वरूप चेतन हो, तर हामीले जडको संग (सम्बन्ध) गरेका छौं । जडतिर आकर्षित हुनु पतनतिर जानु हो र चिन्मयतिर आकर्षित हुनु उत्थानतिर जानु हो, आफ्नो कल्याण गर्नु हो । जडतिर जान मोहको मुख्यता हुन्छ, भगवानतिर जान 'विवेक'को मुख्यता हुन्छ ।
सम्झन सजिलोकोलागि यहाँ मोह र विवेकलाई नै दुई दुई बिभाग गर्नु पर्छ -- (१) अहंता-ममतायुक्त मोह एवं कामनायुक्त मोह, (२) सत्-असत् को विवेक एवं कर्तव्य-अकर्तव्यको विवेक ।
आफूसँग भएको वस्तु, शरीर आदिमा अहंता-ममता गर्नु अहंतायुक्त मोह हो; आफूसँग नभएको वस्तु, घटना परिस्थितिको कामना गर्नु कामनायुक्त मोह हो । शरीरी (शरीरमा रहने) छुट्टै छ र शरीर छुट्टै छ, शरीरी सत् छ र शरीर असत् छ; शरीरी चेतन हो र शरीर जड हो -- यो तथ्यलाई ठीक-ठीक छुट्टा-छुट्टै बुझ्नु सत् र असत् को विवेक हो र कर्तव्य के हो, अकर्तव्य के हो, धर्म के हो, अधर्म के हो -- भन्ने कुरालाई ठीक ठीक सम्झेर त्यही अनुसार कर्तव्य गर्नु र अकर्तव्यको त्याग गर्नु कर्तव्य-अकर्तव्यको विवेक हो । गीतामा अर्जुनलाई भएको मोह पनि अहंताको, ममताको र कामनाको हो । माथि उल्लिखित दुवै किसिमको मोह हटाउनकोलागि यही अध्यायको शुरुमा दुई प्रकारको विवेक वताउनु भयो । ती हुन् -- शरीर र शरीरीको र सत् र असत् को विवेक र कर्तव्य-अकर्तव्यको विवेक । शरीर र शरीरीको विवेक वताउंदै भगवानले भन्नुभयो, म, तिमी र यी राजाहरु पहिले थिएनन् र पछि हुँदैनन् भन्ने कुरा होइन अर्थात् हामी सबै पहिले पनि थियौं र पछि पनि रहन्छौं तथा यी शरीरहरू पहिले पनि थिएनन्, पछि पनि रहने छैनन् तथा वीचमा पनि प्रतिक्षण वदलिइरहेका छन् । शरीरमा कुमार, युवा र वृद्धावस्था वदलिंछन् ।  मनुष्य पुराना लुगाहरु छोडेर नयाँ लुगा धारण गर्छ, त्यस्तै जीव पनि पहिलेको शरीरलाई छोडेर अर्को शरीर लिन्छ -- यो त अकाट्य नियम हो । यसमा चिन्ताको, शोकको कुरा छैन ।
कर्तव्य-अकर्तव्यको विवेकको विषयमा भगवानले भन्नुभयो, क्षत्रियकोलागि युद्ध भन्दा ठूलो कुनै धर्म छैन । आफैं प्राप्त भएको युद्ध स्वर्गको खुला ढोका हो । त्यसैले तिमीले, हे अर्जुन, युद्धरूपी स्वधर्म पालन गरेनौ भने तिमीलाई पाप लाग्नेछ । तिमीले जय-पराजय, लाभ-हानि र सुख-दुःखलाई समान मानेर युद्ध गर्यौ भने तिमीलाई पाप लाग्ने छैन । तिम्रो अधिकार कर्तव्य कर्ममा छ, फलमा छैन । त्यसैले, तिमी कर्तव्य-कर्मको सिद्धि-असिद्धिमा सम भएर र समतामा स्थित भएर कर्महरु गर, किनकि समता नै योग हो । समबुद्धिले युक्त भएर कर्म गर्ने व्यक्ति जीवित अवस्थामा नै पुण्य-पापदेखि रहित हुन्छ ।

No comments:

Post a Comment