Wednesday 25 June 2014

90. No. 63 अर्जुनले भने श्लोक १, २ हे जनार्दन! यदि हजुर कर्म भन्दा बुद्धि

No. 63

अर्जुनले भने
श्लोक १, २ 
हे जनार्दन! यदि हजुर कर्म भन्दा बुद्धि (ज्ञान)लाई श्रेष्ठ मान्नुहुन्छ भने फेरि, हे केशव ! मलाइ हजुर घोर कर्ममा लगाउनुहुन्छ ? हजुरको बुझन नसकिने वचनले मेरो बुद्धि मोहित जस्तो भैरहेछ । त्यसैले हजुर निश्चय गरेर मेरो कल्याण हुने एउटा नै कुरा गर्नुहोस् ।
भगवानको एउटा नाम 'जनार्दन' हो । जनार्दनको अर्थ, याचना पूरा गर्ने । अर्जुन भनिरहेछन्, हजुर सबैको याचना पूरा गर्न सक्ने भएकोले मेरो याचना पनि पूरा गर्नुहोस् । 

साधारण व्यक्तिमा यस्तो कमजोरी हुन्छ, उसले गरेको प्रश्नको उत्तर आफूले खोजेको जस्तो आओस् अर्थात् उसले गरेको प्रश्नको जवाफ आफूले सोचेको जस्तो आओस् । अर्को शब्दमा, हामीले गीताको उपदेश सुन्दा, ग्रन्थले भनेको सिद्धान्त हाम्रो मन अनुकूल होस् अथवा प्रतिकूल, पालन गर्ने उद्देश्य हुनुपर्छ । यसैलाई शूरवीरता भनिन्छ । त्यस्तो प्रवचन मान्न तयार नहुनुलाई कातरपना भनिन्छ । यही कमजोरीले गर्दा नै हामीलाई प्रतिकूलता सहन गाह्रो पर्ने हो । जव हामी प्रतिकूलता सहन सक्तैनौं, त्यो वेला हामीलाई 'राम्रोपन'को चोला ओढ्नु पर्छ, अर्थात् हामीलाई राम्रोको भेषमा नराम्रो आउँछ, जस्तो सीताहरणको समयमा रावणलाई आयो । राम्रो ओढेर आएको नराम्रो छोड्न अत्यन्त कठिन पर्छ । यहाँ अर्जुनलाई पनि हिंसा-त्यागरुप राम्रोको भेषमा कर्तव्य-त्यागरुप नराम्रो आइरहेछ । अतः अर्जुन कर्तव्य-कर्म भन्दा ज्ञानलाई श्रेष्ठ भनिरहेछन् । त्यसैले अर्जुन भगवानलाई भन्छन्, 'यदि हजुर कर्म भन्दा ज्ञानलाई श्रेष्ठ मान्नुहुन्छ भने मलाइ युद्धरूप घोर कर्ममा किन लगाउनु हुन्छ ?'
भगवानले दोस्रो अध्यायमा समबुद्धि (समता)को कुरा गरेकोमा अर्जुनले त्यो समतालाई पनि ज्ञान नै हो भन्ने बुझे । अर्जुन भन्छन्, 'यदि हजुरको मान्यतामा कर्म भन्दा ज्ञान श्रेष्ठ हो भने मलाइ केवल ज्ञानमा मात्रै लगाउनु होस् । तर, हजुर त मलाइ युद्ध जस्तो क्रूर कर्ममा किन लगाउनु हुन्छ ?
गीताको शुरुमा अर्जुनलाई युद्ध गर्ने जोश आयो । उनले भगवानलाई त्यही जोशमा भने, 'हे अच्युत ! दुवै सेनाहरुको वीचमा मेरो रथलाई खडा गरिदिनुहोस् । म हेर्न चाहन्छु, यहाँ मसँग युद्ध गर्ने को को हुन् ।' तर भगवानले अर्जुनको रथ दुवै सेनाहरुको वीचमा भीष्म र द्रोणको अगाडि उभ्याउनु भयो र भन्नुभयो, 'अव तिमी यी कुरुवंशीहरुलाई हेर ।' त्यसपछि अर्जुनको युद्ध गर्ने जोश तुरुन्त हरायो र उनलाई कुटुम्बप्रति मोह भयो, त्यसपछि उनलाई संन्यासी हुन, जोगी हुन मन लाग्यो । हामीले आफ्नै घर-परिवारमा पनि कसैलाई वैराग लाग्यो भने 'म जोगी भैदिन्छु, आनन्द हुन्छ' भन्ने सुन्ने गरेका छौं, किन भने हामीले सोचेका छौं, जोगीले कुनै जिम्मेवारी वहन गर्नु पर्दैन, उसको जीवन अत्यन्त सुखी हुन्छ ।

त्यसैले अर्जुन  भन्छन्, 'हजुर मलाई घोर कर्ममा किन लगाउनु हुन्छ ?' 

सन्तहरुको वचन  छ,  हामीलाई वाहिरकासँग युद्ध गर्न सजिलो छ, आफ्नै भित्रकासंग युद्ध गर्न गाह्रो छ । हामी वाहिरवाट जति फूर्ति घर भित्र आए पनि आफ्ना परिवारसँग गलिहाल्छौं । अझ सूक्ष्म दृष्टिले विचार गर्दा हामी आफ्नै काम, क्रोध, इच्छा, आकांक्षासँग आक्रान्त भैरहेका छौं, तिनीहरुसँग विजय पाउन हामीलाई अत्यन्त अत्यन्त कठिन छ ।
अर्जुनलाई यसरी कौटुम्बिक मोह उठेपछि उनलाई युद्धवाट, कर्मवाट हटेर ज्ञानतिर  जान मन लाग्यो । यस्तो किसिमको अवस्था हामीहरुलाई पनि वेला वेलामा भइरहन्छ र हामी त्यस्तै किसिमको आचरण पनि गर्छौं वेला वखत, तर यो कुराको ज्ञान हामीलाई हुँदैन । तर जति जति हामी अध्यात्ममा अधि वढ़छौं, त्यति त्यति हामीलाई यस्तो अवस्थाको अनुभव हुन थाल्छ । अर्जुनको यो अवस्था, पहिले पनि निवेदन गरिसकियो, विल्कुल मनोवैज्ञानिक अवस्था हो ।          
यो श्लोकमा बुद्धिको अर्थ ज्ञान भनिएको छ । तर पहिले, दोस्रो अध्यायमा बुद्धिको अर्थ समबुद्धि (समता) लिइएको छ । यदि अर्जुनले बुद्धिलाई समता भन्ने बुझेको भए उनले यो प्रश्न गर्दैनथे । किनकि भगवानले समतामा रहेर युद्ध (व्यवहार) गर्ने आज्ञा दिइसक्नु भयो अर्जुनलाई ।
अर्जुन वेदान्त अनुसार अखंडाकार वृत्तिको, ब्रह्माकार वृत्तिको प्रतीक हुन् । उनको अन्तःकरण अत्यन्त शुद्ध छ, उनी ज्ञानका अधिकारी हुन् । तर पूर्ण ज्ञान नभएकोले उनलाई युद्धभूमिमा मोह भयो । तर  परमात्मामा अचल निष्ठा भएकोले स्वयं परमात्मा नै उनलाई उद्धार गर्न युद्धक्षेत्रमा उभिनुभयो । समग्रमा भन्नु पर्दा, गीताको उपदेशलाई हामीले कथाको रूपमा नलिई प्रतीकको रूपमा लिनु पर्छ, यसवाट हाम्रो आध्यात्मिक यात्रा सुगम हुन्छ ।
हामीवाट कुनै वक्तालाई प्रश्न गर्ने पनि धेरै तरिका हुन्छन् । चेलोको प्रश्न कति गहिराइको हो भन्ने कुरा प्रवचनकर्तालाई तत्काल ज्ञान हुन्छ । फेरि, प्रश्नकर्ताको प्रश्न आफ्नो जिज्ञासा मेट्न भएको हो कि, वक्ताको ज्ञानको परिक्षण गर्न भएको हो  भन्ने पनि वक्तालाई थाहा हुन्छ । त्यसो हुँदा वक्ताको उत्तर पनि प्रश्नकै अनुरुप आउँछ । यहाँ अर्जुनलाई भगवानमा पूर्ण श्रद्धा छ, त्यसैले उनको प्रश्नमा कुनै आक्षेप छैन । उनी भगवानको आज्ञाले नै फेरि युद्धमा प्रवृत्त भइरहेछन् । तर उनी यो पनि भनिरहेछन्, 'हजुर कहिले भन्नुहुन्छ, कर्म गर, कहिले भन्नुहुन्छ, ज्ञानको आश्रय लिऊ । हजुरको यस्तो छ्यासमिसे कुराले मेरो बुद्धि मोहित  जस्तो भइरहेछ अर्थात् मैले कर्मतिर लाग्ने हो कि ज्ञानतिर लाग्ने हो भन्ने कुरा स्पष्ट बुझिरहेको छैन ।'
यो श्लोकमा 'इव' 'जस्तो' भन्ने शब्दले अर्जुन भगवानलाई पूरा आक्षेप गरिरहेका छैनन् । त्यसैले उनी भन्छन् 'जस्तो' । श्रद्धाको कारणले भगवानको वचनलाई ठिक मानिरहेका छन् तर अल्मलिइ पनि रहेका छन्, त्यसैले अर्जुन भगवानलाई आफ्नो  यो जिज्ञासा मेट्ने आग्रह गरिरहेका छन् । अर्जुनले यो पनि बुझेका छन्, यदि भगवानले उनको बुद्धि मोहित गर्नुहुन्छ भने उनको मोह कसले हटाउने ?
अर्जुन भन्छन्, 'मेरो कल्याण कर्म गर्दा हुन्छ कि ज्ञानवाट हुन्छ -- यी दुई मध्ये हजुर निश्चय गरेर मेरोलागि एक कुरा भन्नुहोस्, जसवाट मेरो कल्याण होस्
संसारको सत्ता मानुन्जेल कर्म घोर अथवा सौम्य देखिन्छ । संसारको सत्ता मानेर नै कर्मतिर दृष्टि रहन्छ, आफ्नो कर्तव्यतिर रहँदैन । आफ्नो कर्तव्यतिर दृष्टि रहँदा कर्म घोर या सौम्य देखिंदैन ।      

No comments:

Post a Comment