Wednesday 25 June 2014

107. No. 75 पहिला श्लोकहरुको वांकी कामना, ममता, आसक्ति, पक्षपात, विषमता, स्वार्थ, अभिमान -- यस्ता दोष कर्महरुमा विष जस्ता हुन् ।

No. 75

पहिला श्लोकहरुको वांकी
कामना, ममता, आसक्ति, पक्षपात, विषमता, स्वार्थ, अभिमान -- यस्ता दोष कर्महरुमा विष जस्ता हुन् । हामीले गर्नु पर्ने प्रयास, हामीवाट गरिएका यी कर्महरुको यस्ता विषालु भागलाई निकालेर फ्याँक्ने हो । त्यसो गरेपछि तिनै कर्म अमृतमय हुन्छन् र हाम्रो जन्म-मरणरूपी महान भयलाई हटाउंछन्, यस्ता अमृतमय कर्मलाई नै 'यज्ञ' भनिन्छ ।
वेद कर्तव्य-कर्म गर्ने विधि वताउँछन् । हामीलाई कर्तव्य-कर्मको  विधिको ज्ञान वेदवाट हुन्छ । यसैले कर्महरूलाई वेदवाट उत्पन्न भएको भनिएको हो ।
'वेद' शब्दले चारै वेदको साथसाथै स्मृति, पुराण, इतिहास (रामायण, महाभारत) एवं भिन्न-भिन्न सम्प्रदायका आचार्यहरुका अनुभव-वचन आदि समस्त वेदानुकूल सत्-शास्त्रहरुलाई लिनुपर्छ ।
यहाँ 'ब्रह्म'  शब्दको वाचक हो । वेद सच्चिदानन्दघन परमात्मावाट नै प्रकट भएको हो । यही कारण नै परमात्मा सबैको मूल हुनु भयो ।
परमात्मावाट  वेद प्रकट हुन्छन् । वेद कर्तव्य-पालनको विधि वताउँछन् । मनुष्य ती कर्तव्य-कर्म विधिपूर्वक पालन गर्छन् । कर्तव्य कर्महरुको पालनले यज्ञ हुन्छ र यज्ञले वर्षा हुन्छ । वर्षावाट अन्न हुन्छ, अन्नवाट प्राणीहरु हुन्छन् र तिनै प्राणीहरुमध्येवाट मनुष्य कर्तव्य-कर्महरुको पालन द्वारा यज्ञ गर्छन् । यसरी यो सृष्टि चक्र चलिरहेछ ।
यहाँ 'ब्रह्म' शब्द अक्षर --(सगुण-निराकार परमात्मा--)को वाचक हो । अतः सर्वगत (सर्वव्यापी) परमात्मा हो, वेद होइन ।  
सर्वव्यापी हुँदा पनि परमात्मा विशेषरूपले 'यज्ञ' (कर्तव्य-कर्म) मा सदा विद्यमान रहनुहुन्छ । तात्पर्य, जहाँ निष्कामभावले कर्तव्य-कर्मको पालन हुन्छ, परमात्मा त्यहीं रहनुहुन्छ । त्यसैले परमात्माप्राप्ति चाहने मनुष्य आफ्नो कर्तव्य-कर्महरुद्वारा परमात्मा सजिलैसँग प्राप्त गर्न सक्छ ।
यहाँ शंका हुन सक्छ, यदि परमात्मा सर्वव्यापी भए उहाँलाई  केवल यज्ञमा नित्य प्रतिष्ठित किन भनियो ?
परमात्मा त सबैतिर समानरूपले नित्य विद्यमान हुनुहुन्छ । उहाँ सर्वदेशीय हुनुहुन्छ, एकदेशीय हुनुहुन्न । यही कारण उहाँलाई  'सर्वगत' भनिएको हो । यज्ञ (कर्तव्य-कर्म)मा परमात्मा नित्य रहने भन्नुको तात्पर्य, यज्ञ उहाँको उपलब्धि स्थान हो । जमीनमा सर्वत्र जल रहे पनि जल त कुवा, इनारवाट नै पाइन्छ, सबै ठाउँमा पाइंदैन । पाइपमा सर्वत्र जल रहे पनि जल पाइने ठाउँ धाराको टुटी नै हो । यस्तै परमात्मा सर्वगत भए पनि उहाँ यज्ञवाट नै प्राप्त हुनुहुन्छ ।
आफ्नोलागि कर्म गर्दा तथा जडता (शरीर आदि)सँग आफ्नो सम्बन्ध मान्दा सर्वव्यापी परमात्माको प्राप्तिमा वाधा आउँछ । निष्कामभावले  केवल अरुको हितकोलागि आफ्नो कर्तव्य-पालनवाट त्यो वाधा हट्छ र नित्यप्राप्त परमात्माको स्वतः अनुभव हुन्छ । यही कारण, अनेक कारणवाट आफ्नो कर्तव्य-कर्मवाट हट्न खोजेका अर्जुनलाई धेरै युक्तिहरुवाट कर्तव्य-पालन गर्न विशेष जोड दिइरहनु भएको छ भगवान ।
श्लोक १६
हे पार्थ ! यस्तो किसिमले यो लोकमा परम्परादेखि  प्रचलित सृष्टि-चक्र अनुसार नचल्ने, इन्द्रियहरुद्वारा भोगहरुमा नै रमाउने अघायु (पापमय जीवन विताउने) मनुष्य संसारमा व्यर्थ नै वाँचछ ।
'पार्थ' भन्ने शब्दले सम्बोधन गर्दै भगवान अर्जुनलाई भन्नु हुन्छ, 'हे अर्जुन ! आजीवन कष्ट सहेर पनि आफ्नो कर्तव्य पालन गर्ने कुन्तीका तिमी छोरा हौ । त्यसैले तिमीवाट पनि आफ्नो कर्तव्यको अवहेलना हुनु हुँदैन । जुन युद्धलाई तिमी घोर कर्म भनिरहेका छौ, त्यो तिम्रोलागि घोर कर्म हुँदै होइन, यो त यज्ञ (कर्तव्य-कर्म) हो । यसको पालन गर्नु नै सृष्टि-चक्र अनुसार व्यवहार गर्नु हो र यसको (कर्तव्य-कर्म)को पालन नगर्नु सृष्टि-चक्रको विपरीत व्यवहार गर्नु हो ।
जस्तो रथको सानो भन्दा सानो अंश पनि भाँचियो भने रथका समस्त अंगहरुमा वसेको रथी र सारथीलाई पनि धक्का लाग्छ, त्यस्तै सृष्टि-चक्र अनुसार नचल्ने मनुष्य सृष्टिको संचालनमा वाधा हाल्छ ।
संसार र वस्तु दुइटा होइनन् । जस्तो शरीरको अंगहरुसँग र अंगको शरीरहरुसँग घनिष्ठ सम्बन्ध छ, त्यस्तै संसारको व्यक्तिसँग र व्यक्तिको संसारसँग घनिष्ठ सम्बन्ध छ । जव व्यक्ति कामना, ममता, आसक्ति र अहंता त्यागेर आफ्नो कर्तव्य पालन गर्छ, त्यो वेला ऊ सम्पूर्ण सृष्टिलाई स्वतः सुख पुर्याउँछ ।
कामना, ममता र आसक्तिको वलमा इन्द्रियहरुद्वारा भोग भोग्ने व्यक्तिलाइ गीतामा 'भोगमा रमाउने' भनिएको छ । यस्तो मनुष्य पशु भन्दा नीचो हुन्छ । किनकि पशु नयाँ पाप गर्दैन; पहिले पहिले ऊवाट भएका पापहरुको फल भोगेर निर्मलता तर्फ लाग्छ, तर 'इन्द्रियाराम' मनुष्य नयाँ नयाँ पाप गरेर पतन तर्फ लाग्छ र सृष्टि-चक्रमा वाधा उत्पन्न गरेर सम्पूर्ण सृष्टिलाई नै दुःख दिन्छ ।
सृष्टि-चक्र अनुसार आचरण नगर्ने व्यक्तिको आयु, जीवन केवल पापमय हुन्छ । इन्द्रियहरु द्वारा भोग बुद्धिले भोग भोग्ने मनुष्य हिंसारुप पापवाट वच्न सक्तैन । स्वार्थी, अभिमानी र भोग र संग्रह चाहने व्यक्तिद्वारा अरुको अहित हुन्छ, त्यसैले त्यस्तो मनुष्यको जीवन पापमय हुन्छ ।
आफ्नो कर्तव्य-पालन नगर्ने मनुष्यलाई निन्दा गर्दै भगवान भन्नुहुन्छ, यस्तो मनुष्यले वांच्नु वेकार हो । उहाँको विचार, यदि कसैले आफ्नो कर्तव्यको पालन नगरेर सृष्टिलाई सुख नपुर्याए पनि दुःख त नपुर्याओस् । यो भन्दा अघिल्लो श्लोकमा सृष्टि-चक्र अनुसार आचरण नगर्ने मनुष्यलाई भगवान 'चोर', 'पाप खाने' भन्दै  यो श्लोकमा  त्यस्तो व्यक्ति वांच्नु वेकार हो भन्नुहुन्छ ।

No comments:

Post a Comment