Wednesday 25 June 2014

106. No. 74 श्लोक १४, १५ सम्पूर्ण प्राणीहरु अन्नवाट उत्पन्न हुन्छन्।

No. 74
श्लोक १४, १५
सम्पूर्ण प्राणीहरु अन्नवाट उत्पन्न हुन्छन्। अन्नको उत्पत्ति वर्षावाट हुन्छ । वर्षा यज्ञवाट हुन्छ । यज्ञ कर्महरुवाट हुन्छ । कर्महरूलाई तिमी वेदहरुवाट उत्पन्न भएका भन्ने जान र वेदहरु अक्षर ब्रह्मवाट प्रकट भएको भन्ने जान । यसैले त्यो सर्वव्यापी परमात्मा यज्ञ (कर्तव्यकर्म)मा नित्य स्थित छ । 
प्राणहरुलाई धारणा (अडाउन) गर्न जे खाइन्छ, त्यसलाई अन्न भनिन्छ । जुन प्राणीवाट जे खाइन्छ, त्यो खानावाट उसको शरीरको उत्पत्ति, भरण र पुष्टि हुन्छ, त्यसैलाई यहाँ 'अन्न' नाम दिइएको छ, माटो खाएर वाँचने कीराको लागि माटो नै अन्न भए जस्तै ।
जरायुज (मनुष्य, पशु आदि), उद्भिज्ज (वृक्ष आदि), अन्डज (पक्षी, सर्प, कमिला आदि) र स्वेदज (जुका आदि)चारै प्रकारका प्राणीहरु अन्नवाट नै उत्पन्न हुन्छन् र अन्नमा नै वाँचछन् । 
समस्त खाद्य पदार्थको उत्पत्ति जलवाट हुन्छ । हरिया घाँस पात त जलवाट नै उत्पन्न हुन्छन् नै, माटो उत्पन्न हुन पनि जल नै कारण हो । अन्न, जल, वस्त्र, घर आदि शरीर निर्वाहका सामग्री स्थूल अथवा सूक्ष्मरूपले जलसँग नै सम्बन्ध राख्छन् ।
सोझै हेर्दा, 'यज्ञ'ले  हामीले आहुति दिने क्रियालाई बुझाउँछ, तर गीताको सिद्धान्त अनुसार र कर्मयोगको यो प्रकरण अनुसार 'यज्ञ' शब्दले सम्पूर्ण कर्तव्यकर्मलाई बुझाउँछ । यज्ञमा 'त्याग'को नै मुख्यता हुन्छ । 'आहुति'मा अन्न, घिउ आदिको त्याग हुन्छ, 'दान'मा वस्तुको त्याग हुन्छ, 'तप'मा आफ्नो सुख-आरामको त्याग हुन्छ, 'कर्तव्यकर्म'मा आफ्नो स्वार्थ, आरामको त्याग हुन्छ । अतः 'यज्ञ' शब्द यज्ञ (हवन), दान, तप आदि सम्पूर्ण शास्त्रविहित कर्महरुको परिसूचक हो ।
उपनिषद्को एउटा कथा -- प्रजापति ब्रह्माजीले देवता, मनुष्य र असुर -- यी तीनैलाई 'द' अक्षरको उपदेश दिनुभयो । देवताहरुसँग भोग-सामग्रीको अधिकता थियो । त्यसैले उनीहरुले 'द'को अर्थ 'दमन गर' भन्ने बुझे । मनुष्यमा संग्रहको प्रवृत्ति धेरै भएको कारण उनीहरुले 'द'को अर्थ 'दान गर' भन्ने बुझे । असुरहरुमा हिंसा (अरुलाई कष्ट दिने) भाव धेरै भएकोले उनीहरुले 'द'को अर्थ 'दया गर' भन्ने बुझे । यस्तो किसिमले देवता, मनुष्य र असुर -- तीनैलाई दिइएको उपदेशको तात्पर्य अरुको हित गर्ने नै हो । वर्षाको वेला 'द द द.…' को शब्दले गरिएको मेघको गर्जन आज पनि ब्रह्माजीको उपदेश (दमन गर, दान गर, दया गर)को रूपमा हाम्रो कर्तव्य कर्मको उपदेश दिइरहेछ ।                  
यहाँ प्रश्न छ, आफ्नो कर्तव्य-कर्म पालन गर्दा वर्षा कसरी हुन्छ ?
वचन भन्दा हाम्रो आचरणको असर अरुमा धेरै पर्छ । हामीले हाम्रो कर्तव्य-कर्मको पालन गर्यौं भने यो कर्तव्य पालनको असर देवतहरुमा पनि पर्छ, जसले गर्दा उनीहरु पनि आफ्नो कर्तव्य-पालन गर्नेछन् ।
निष्कामभावपूर्वक गरिने समस्त लौकिक र शास्त्रीय कर्महरुको नाम 'यज्ञ' हो । जस्तो, ब्रह्मचारीकोलागि अग्निहोत्र गर्नु 'यज्ञ' हो । हामी महिलाहरुले खाना वनाउनु 'यज्ञ' हो । आयुर्वेदका वैद्यले केवल अरुको हितकोलागि गरिने कर्म 'यज्ञ' हो । यस्तै, विद्यार्थी आफ्नो अध्ययन र व्यापारी आफ्नो व्यापार, यदि केवल अरुको हितकोलागि निष्कामभावले गर्छ भने, त्यो 'यज्ञ' हो । छोटोमा, वर्ण, आश्रम, देश, कालको मर्यादा राखेर निष्कामभावले गरिएका सबै शास्त्रविहित कर्तव्य-कर्म 'यज्ञ' रुप हुन्छन् । यज्ञ, जस्तो होस्, क्रियाजन्य नै हुन्छन् ।   
यहाँ अहिलेको प्रसङ्ग साधारण तवरले त हामीले बुझेका नै हुन्छौं, तर, यहाँ बुझेरै छोड्नु पर्ने दुइटा शब्दहरु हुन् -- निष्कामभाव र शास्त्रविहित । यो कुरा हामीले राम्रोसँग बुझ्न सक्यौं भने हामीले कर्मयोग बुझ्छौं । वेदान्त भनौं या गीता भनौं, यहाँका धेरै जसा शब्दहरुले हाम्रो बुद्धिको 'पक्डन सक्ने' क्षमताको पनि विकास गरिरहेका हुन्छन्, यदि हामीले यसका concept हरुलाई वारम्वार मनन गरिरह्यौं भने । जस्तो 'निष्काम भाव' शब्दकै अर्थ, आफ्नो कामना र फलेच्छाको त्याग हो । तर यही शब्द अनुरुप हाम्रो thinking र application भयो भने हाम्रो साधना धेरै पर पुग्छ हजुर । यही निष्काम भावलाई गीताको अठारौँ अध्यायमा 'नैष्कर्म्य सिद्धि' र 'निष्कर्मा स्थिति' भनेर धेरै प्रशंसा गरिएको छ । अर्को शब्दमा, गीतामा वर्णित निष्कामभाव साधन पनि हो, साध्य पनि हो ।    

No comments:

Post a Comment