Wednesday 25 June 2014

94. No. 67 श्लोक ७ परन्तु हे अर्जुन ! जो मनुष्य मनले इन्द्रियमाथि नियन्त्रण गरेर आसक्तिरहित भएर

No. 67           
श्लोक ७
परन्तु हे अर्जुन ! जो मनुष्य मनले इन्द्रियमाथि नियन्त्रण गरेर आसक्तिरहित भएर (निष्कामभावले) कर्मेन्द्रियहरु (समस्त इन्द्रियहरु) द्वारा कर्मयोगको आचरण गर्छ, त्यही (मनुष्य) श्रेष्ठ  हो ।
यहाँ, यो श्लोकमा अनासक्त भएर कर्म गर्नेहरुलाई सांख्ययोगी भन्दा पनि श्रेष्ठ वताइएको छ ।
अर्जुन शब्दको अर्थ, पहिले नै वताइसकियो, स्वच्छ हो । यहाँ भगवान अर्जुनलाई यो शब्दले सम्बोधन गर्दै भन्नुहुन्छ, 'तिम्रो अन्तःकरण निर्मल  छ, अतः तिम्रो अन्तःकरणमा कर्तव्यकर्म विषयक सन्देह कसरी आयो ? किनकि भगवानको विचारमा शुद्ध अन्तःकरण भएको व्यक्तिमा सन्देह आउँदैन । सन्देह आउनु भनेको, गुरु र शास्त्रको वाक्यमा विश्वास नहुनु हो ।      

यो श्लोकमा भन्न खोजिएको, हामीले सुखी र सफल जीवन वनाउन चाहने हो भने हाम्रो  इन्द्रियहरु वशमा हुनु जरूरी छ । गीता भन्छ, इन्द्रियहरु भन्दा मन श्रेष्ठ छ, मन भन्दा बुद्धि श्रेष्ठ छ, बुद्धि भन्दा आत्मा श्रेष्ठ छ, तर आत्मा भन्दा श्रेष्ठ केही छैन । त्यसैले त्यस्तो श्रेष्ठ आत्माको अनुभव गर्न, जुन हाम्रो स्वरूप हो, हाम्रो इन्द्रिय, मन, बुद्धिले सक्तैनन् । हाम्रो आफ्नो भनिएको शरीर, मन र बुद्धिलाई पनि सत्ता दिने, यसलाई चलाउने, यसलाई शक्ति दिने सत्ताको अनुभव गर्न केही परिश्रम पर्ला, तर असम्भव भने छैन । त्यो सत्ताको बोध हुन, अनुभव हुन हाम्रा इन्द्रियहरु, मन, बुद्धि सहायक छन्, तर हामीहरुले यी इन्द्रिय, मन, बुद्धिलाई एक दिशा दिनु पर्ने रहेछ ।

हाम्रो स्थूल शरीरलाई हाम्रा इन्द्रियहरुले चलाउँछन् , हाम्रा   इन्द्रियहरुलाई मनले चलाउँछ, मनलाई चलाउने बुद्धि हो, बुद्धिलाई चलाउने आत्मा हो ।  शास्त्र अनुसार विचार गर्दा विग्रेको केही रहेनछ । हामीले हाम्रा apparatus (साधन) लाई ठीक तरिकाले संचालन गर्न जान्नु पर्ने रहेछ । अहिले सम्म हामीवाट भएको गल्ति यो रहेछ, जुन साधनले हामीले आफूलाई ठीक track मा राख्नु पर्थ्यो, त्यही साधनलाई नै हामीले साध्य मान्यौं । साधनलाई साधन मानिदिए कुनै समस्या नै रहेनछ । जस्तो हाम्रा शरीर, मन, बुद्धि, जहान परिवार, नाता सम्बन्ध, धन सम्पत्ति सबै हाम्रा यही जीवनलाइ सुखी र सफल तुल्याउने साधन हुन्, साध्य होइनन् । तर हामीले आफ्नै अज्ञानले भनौं, अथवा अरु केही कारणले, यी शरीर संसारदेखि समस्त साधनहरुलाई साध्य मान्नाले हामीमा गोलमाल शुरु भएको हो । अव हामीले केही गर्नु छैन, साधनलाई साधन मानिदिने, साध्यलाई साध्य मानिदिने र त्यही अनुरुप आफ्नो आचरण गर्ने ।

यहाँ अर्को कुरो, हामी अनासक्त हुनु पर्यो । हामीमा आउने आसक्ति कामना, ममताले गर्दा हो । मैले पहिले पनि निवेदन गरेको जस्तो लाग्छ, गीताको एक एक श्लोक नै एक एक गीता हो भन्छन् महात्माहरु । यो ग्रन्थको एउटा मात्र श्लोक हामीले राम्रो सँग बुझ्न सक्यौं भने हामीलाई पूरा गीताको ज्ञान हुन्छ । यसैले गीता सन्दर्भमा सन्तहरु भन्छन्,
'गीता सुगीता कर्तव्या:'
अर्थ, गीतालाई हामीले राम्ररी अध्ययन गरेर 'सुगीता' वनाउनु पर्छ । सुगीता वनाउने भनेको, यो ज्ञानको श्रवण, मनन, निदिध्यासनद्वारा यसलाई आफ्नो जीवनमा, आफ्नो व्यवहारमा लगाउन सक्नु पर्ने हो हामीले । हामी मध्ये धेरैलाई लाग्छ, यो वेदान्तको ज्ञान व्यावहारिक छैन, यो हाम्रो जीवनमा लागु हुन सक्तैन । तर मेरो आफ्नो विचारमा, कुनै पनि सिद्धान्त, यदि हाम्रो जीवनमा उपयोग हुन सक्तैन भने त्यो ज्ञान नै होइन ।
यसैले यहाँ भनिएको छ, कर्मयोगीले आफ्नो आचरण स्वच्छ गर्न मिथ्याचारी हुने होइन । तर विस्तारै विस्तारै मनले इन्द्रियहरुलाई संयम गर्दै आफ्नो लक्ष्य, परमात्मप्राप्ति वनाउने हो । कर्मयोगीले आफ्नो लक्ष्यमा लाग्न आफूले यो संसारवाट प्राप्त शरीर, इन्द्रिय, मन, बुद्धि, समस्त सम्बन्ध (जहान परिवार आदि) र संग्रह (घरजग्गा,धन सम्पत्ति) आदिलाई संसारकै सेवामा लगाउने । हामीले यो कुरा मान्नै पर्छ, हामीले  आफू जन्मँदा यो संसारमा केही लिएर आएका पनि होइनौं, लिएर जाने पनि होइनौं । वीचमा पाइने र पाइएका यहाँका वस्तु, पदार्थलाई आफूसंग सँधै रहने मानेर हामीमा कामना, ममता आएको हो । हैन भने हामी अत्यन्त स्वतन्त्र छौं ।

No comments:

Post a Comment